उसको शरीर मृत्यु शैयामा छ,
उसको नै विचार हो त्यो, जुन हिमालय झैं अटल उभिराखेको छ,
उसको नै विचार हो त्यो जुन पञ्चामृत झैं पवित्र बगिरहेको छ,
उसको एउटा हत्केलामा विषको घडा छ,
उसको नै अर्को हत्केलामा करोडौ मुटु धुक-धुक गरिरहेका छन्,
यस्तो लाग्दैछ- निष्पट्ट अन्धकारमा एउटा घाम झुल्किँदै छ,
यस्तो लाग्दैछ- एउटा शुकरातको उदय भइराखेको छ यहाँ।
राजा-रजौटाहरु भन्दैछन्,
तीनका नालायक चाकरहरु दुर्गान्दित नाराहरु लगाइरहेका छन्,
झार्ला र खाम्ला भनी कुरी बसेका स्यालहरु एक तमास कराइरहेछन्,
‘उ आफ्नो अपराधको न्यायाधीश हो, पिउनदेऊ उसलाई जहर’
तर, उसले गर्जिँदैछ, ‘म तिमीहरुको अपराधको गवाही हुँ, म पिउन तयार छु जहर’
यस्तो लाग्दै छ यहाँ, एउटा शुकरातको उदय भइसकेको छ।
दयालाग्दा छन्, प्लटोहरुका वयान : निर्लज्ज अनl काएरताले सुशोभित छन् लवजहरु।
शून्य मान भएका मगज बोकेर उभिएका छन् अदालतको पैरवी गर्दै आरस्तुहरु।
लाग्दै छ, तिनको गुरु दक्षिना उनीहरुको मौनता हो,
लाग्दै छ, तिनको मौनताले यस्तो भन्दै छ, ‘हो गुरु पिउनुहोस् तपाईंले हेम्लोक्।’
यस्तो लाग्दैछ, एउटा शुकरातको उदय भइसकेको छ यहाँ।
उस्ले भन्दै छ,
छचल्किएको जहरको घडा लिएर,
‘मलाई पगल वा सन्की भन,
मलाई गधा वा गोरु भन,
भन मलाई रहिथाने भेडा,
स्वतन्त्र मनिस त आफ्नैलाई बिर्सिएर लाखौंको लागि कराइहिँड्ने ‘पागल’ हो,
स्वतन्त्र मनिस त नितान्त आफ्नै विचारको भारी बोक्ने ‘गधा’ हो,
स्वतन्त्र मनिस त नितान्त आफ्नै नैतिकताले बाँधिने ‘गोरु’ हो।’
यस्तो लाग्दैछ- उसलाई सुनिरहँदा लाग्दैछ,
उसलाई उसको मृत्यु शैयामा सहर्स लडिरहेको देख्दा लाग्दैछ,
आज एउटा शुकरातको उदय भइसकेको छ यहाँ।