म जिन्दगीको अस्तित्व खोज्न कहाँ जाऊँ?
म जिन्दगीलाई बुझ्न कुन तीर्थ धाऊँ?
म जिन्दगीलाई सुन्न कुन राग गाऊँ?
म जिन्दगीलाई हेर्न कुन दुरविन ल्याऊँ?
मेरै यत्र तत्र छरिएका छन् जिन्दगीका अस्तित्वहरू
मेरै अन्तरस्थलमा ताण्डव गर्दैछन् यी जिन्दगीहरू
मेरा हरेक दिनका नगर परिक्रमामा म देख्दछु,
एउटै माटोमा उब्जेका विभिन्न विजहरू
एउटै हाजिर कपीमा हस्तक्षर गरेका भिन्नभिन्नै पानाहरू
सुकिला बस्त्र र नफुटेका हात गोडाहरू,
चर्किएको मन, कचमचिएको जिन्दगीहरू,
रङ्गिएर हलक्क निर्वाध बढेका जवानीहरू,
रोगाएर जबरजस्ती थाक्रोमा उकालो चडेका ढलेको बैँशहरू,
अलपत्रसँग लत्रिँदा निस्केको स्पन्दनको आँसुहरू
स्वर्णीम आसनमा बिराजमान भएका मृदुल मुस्कानहरू
एकान्तमा महसुुस गरेको मुच्र्छना र आघात चित्कारहरू
भीडभाडमा रेशमी रुमालले नाक पुछ्दै हिँड्ने भलादमीहरू
अग्निलाई टेकेर वारपार गरेको फूलजस्तो पाउहरू,
फूलहरूलाई कुल्चेर यात्रा कोर्ने काडेँ जुत्ताहरू,
यसरी,
कतै जीवन कथा स्वइच्छाले ‘श्री’ भइरहेछ
कतै जीवन स्वइच्छाबिनै ‘इतिश्री’ भइरहेछ
कसैको चुल्ठो समातेर संसार सुसेली हाल्दै मच्चिँदैछ,
कसैलाई दिव्यरथमा राखेर संसार परिक्रमा गराउँदैछ
कोही दमित, दास भई सांसारिक आँगन पोतिरहेका छन्।
कोही आफू दूधको पोखरीमा नुवाएको घोषित गर्दैछन्।
यी खम्बाहरू र भित्ताहरूमा विभिन्न बाजाहरू घन्किरहेछ
साथी,यही जीवनको अस्तित्व मेरो जन्मेको भूमिमा पनि थियो
यही जीवनको अस्तित्व मेरो कर्मभूमिमा पनि छ,
जीवनहरू त्यहाँमात्रै ठोक्किएर, हुत्तिएर लड्ने होइन रहेछ
जीवनमा रगतको खोला त यहाँ पनि बग्दोरहेछ।
कुनै जिन्दगी लुछेपछि, भोगेपछि निकाल्ने ढकार बन्दोरहेछ,
कुनै जिन्दगी सधै सम्मोहित गर्न निलिने अमृत हुँदोरहेछ,
कयौँ जिन्दगीहरूको अस्तित्व हराएका छन् त,
कयौँ जिन्दगीको अस्तित्वहरू भेटाएका छन्
कयौँ जिन्दगीहरू ओख्खलिएर, नालीको डङ्गुरमा फ्याँकिएका छन् त,
कयौँ जिन्दगीहरू महलमा अत्तरको वासनामा सजिएका छन्।
यो सृष्टिले यी अस्तित्वहरूलाई चलाइरहेका छन् त,
यी अस्तित्वहरूले सृष्टिको अस्तित्वलाई जर्गेना गरिरहेका छन्
हाँसो छ, रोदन छ
छल छ, कपट छ,
आत्मीय छ, पराइ छ
विश्वास छ, धोका छ
रिस छ, राग छ,
माया छ, घृणा छ,
हृदय छ, सन्नाटा छ
र,
हाजिर कपी छ, हस्ताक्षर भिन्नभिन्न छ
श्री एउटा छ, इतिश्री बेग्लै छ।