यात्रा अझै चार घण्टा बाँकी थियो। महेन्द्रनगरबाट विराटनगरको बाटो करिब चौध-पन्ध्र घण्टा होला। पट्यारलाग्दो तरिकाले मैले दस घण्टा कटाइसकेको थिएँ। शिक्षक सेवा आयोगको विज्ञान विषय मावि तहको परीक्षा उत्तीर्ण गरी शिक्षकको रुपमा म मोरङ जिल्लाको गोविन्दपुर गाविसको मावि स्कुलमा नियुक्ति थाप्न गइरहेको थिए। सुदूरपश्चिमको परिवेशमा हुर्केको अल्लारे ठिटो सुदूरपूर्वको भूमिमा कर्मथलो बनाउन कस्सिएको थिए। नयाँ ठाउँ, नयाँ मानिस, नयाँ वातावरण कस्तो होला कल्पना गर्दै म दिउँसो दुई बजेतिर गोविन्दपुर विध्यालयको प्राङगणमा पुगेको थिएँ।
सिसौका रुखहरुमा नयाँ पालुवाबाट वसन्त ऋतुको छनक प्रष्टै आइरहेको थियो। विध्यालयको प्राङणमा पुग्नेवित्तिकै आउँदो जेठ महिना प्रशस्तै लिचीको स्वाद चाख्न पाइने आभाष त्यहाँ रहेका लिचीका बोटहरुमा फूलेका फूलले परैबाट दिइरहेको थियो। विध्यालय हातामा प्रवेश गर्नेबित्तिकै मैले एक जना सरलाई भेटेँ। सामान्य परिचयपछि उहाँले मलाई हेडसरको अफिस दोस्रो तल्लामा रहेको अवगत गराउनुभयो। हेडसरको अफिसमा सबैसँग परिचय गरेर त्यस दिनको हाजिरपश्चात उहाँले मेरो लागि कोठा खोजिदिनुभएको घरमा लानुभयो। काठको घर, दक्षिण-पूर्व फर्किएको, अगाडि बार्दली, राम्रै थियो कोठा। थकानले गर्दा त्यसदिन मैले केही गर्न सकिनँ, आराम गरेर कोठामा बिताएँ।
भोलिदेखि गोविन्दपुर मुटुमा रहेको विध्यालयको स्थायी शिक्षकको रुपमा मेरो दिनचर्या सुरु भयो। नयाँ ठाउँ सुरु–सुरुमा अप्ठ्यारो लागे पनि सबै कुरा विस्तारै सहज हुँदै गयो। महिना, दुई महिनामै म सबैसँग हेलमेल भए।
दिनहरु बित्दैथिए। जेठ-असारको घाम, साउने झरीको हिलाम्मे बाटोहरु, पुस-माघको सितलहरु र चैत-वैशाखको कोइलीको सुमधुर आवाज सबैसँग साइनो गाँस्दै गोविन्दपुर बस्न थालेको नि एक वर्ष पूरा भइसकेको रहेछ। यस्तैमा एक दिन घाम ताप्दै हामी स्टाफ साथीहरु गफिँदै थियौँ। कुरैकुरामा हेडसरले जिस्काउँदै भन्नुभयो, ‘विजय सर, यसपालि त बिहे गर्ने होइन।’
जिस्किँदै मैले नि भने, ‘गर्ने त हो सर। तर लगन जुर्नुपर्यो नि।’
‘लगन त जुराउने हो, अचेल आफैँ जुर्दैन,’ सामजिक पढाउने तामाङ सरले कुरा थप्नुभयो।
यस्तैमा अम्बिका मेमले, ‘सिरियसल्ली सर, तपाईंलाई सुहाउने एउटी केटी मेरो नजरमा छे। सायद जात पनि मिल्छ क्यारे। तपाईं इन्ट्रेस्टेड हुन्नुन्छ भने म कुरा अगाडि बढाउन सक्छु’ भन्नुभयो। मैले हुन्छ भन्नुभन्दा अगाडि नै अरु साथीहरुले ‘हुन्छ हुन्छ, कुरा अगाडि बढाउनु मेम्’ भनेर गिज्याउन थाले। कुरोको पोको फुकाउँदै मेमले उनको नाम शान्ता हो। स्टाफ नर्स सकेकी। घर–परिवार सबै राम्रो हुनुहुन्छ’ भन्दै उसको बारेमा थुप्रै कुराहरू सुनाउनुभयो।
सबैको दबाबमा परेपछि मैले, ‘हुन्छ मेम, पहिला उनको फोटो हेरौँ अनि सोचौँला’ भनेर कुरा टारे। तत्कालै मेमले फेसबुक खोलेर शान्ताको तस्बिर देखाउनुभयो।
लगभग ५.५ इन्च हाइट, असिमेट्रिक हेयर स्टाइल, लाम्चो अनुहार, फिक्का गोरी, नर्स ड्रेसमा सजिएकी फेसबुकको त्यो फोटो मलाई राम्रै लाग्यो। ख्याल ठट्टामा निस्केको बिहेको कुरा मेरो मनमा चाहिँ गहिरो असर पर्यो। भोलिपल्ट स्कुलको ब्रेक टाइममा म आफैँले अम्बिका मेमलाई एकचोटी केटी र केटीको घर–परिवारसँग भेटघाटको चाँजोपाँजो मिलाउनुपर्यो भनेर अनुरोध गरेँ।
अम्बिका मेमले ‘म कोसिस गर्छु’ भन्नुभयो।
माघीको दिन शान्तालाई पहिलोचोटी प्रत्यक्ष भेट्न पाएँ। अम्बिका मेम, हेडसर र म शान्ताको घर गएका थियौँ। कुराको गणेश हेडसरले गर्नुभयो। शान्ताको बुबा आमासँग घर–परिवार, जात, गोत्र आदी इत्यादिको बारे कुराकानीपश्चात शान्ता र मलाई बैठक कोठामा एक्लै छाडेर सबै बाहिर निस्के। दुबै जना अलिअलि आत्तिएका, बोल्न अप्ठ्यारो, मुहारमा लज्जाभाव र नर्भसले गर्दा बोली नै लर्बराइरहेको थियो। जसोतसो सामान्य कुराकानी गर्यौँ। फेसबुकमा एड गर्यौ। र पछि फेसबुकमा कुराकानी गर्ने सल्लाह भयो।
भेटघाटको करिब चार दिनपछि बल्ल ऊ सँग च्याट गर्ने अवसर जुट्यो। यसपश्चात फेसबुकमा हाम्रो घण्टौँ गफ हुन थाल्यो। एकछिन अनलाइन नहुँदा फेसबुकका मेसेज बक्सहरु उनको सन्देशले टन्न भरिन्थियो। समय सगँसँगै सम्पर्क बढ्दै गयो। फेसबुकबाट हुँदाहुँदै फोनमा समेत घण्टौँ कुराकानी गर्न थाल्यौँ। नजिकिँदै गएको हाम्रो सम्बन्धमा अप्ठ्यारो लाग्ने सीमाका सम्पूर्ण रेखाहरु धुमिल भइसकेको थियो।
चैत्र तीन गतेका दिन उनको जन्म दिनमा मैले बिहेको प्रस्ताव राखे। हामीले एक–अर्कालाई राम्ररी बुझिसकेको, घर-परिवारको मन्जुरी र एक प्रकारको हामीबीच पलाएको प्रेमले गर्दा उनलाई मेरो बिहे प्रस्ताव स्वीकार्न समय लागेन। अनि दुबैतर्फको परिवारको सल्लाहमा जेठ १७ गते हाम्रो बिहेको डेट फिक्स भयो।
खुसीको महासागरमा हामी छलाङ लाउँदै थियौँ। भविष्यको कल्पनाहरु, जीवनको योजनाहरु र सुखको त्यान्द्राहरु उन्दै थियौँ। पलभरमै सबै सपनाहरुमा डढेलो लाग्यो।
‘शान्ताको ब्लड रिपोर्टमा एचआईभी पोजेटिभ,’ मेरो इन्बक्समा उर्मिलाको मेसेज आयो। उर्मिला शान्तासँगै कोसी अस्पतालमा काम गर्थिन्।
म छाँगाबाट खसेजस्तै भए। अवाक भए एकछिन। मेरो खुट्टाहरु चलेन। म स्कुलमै बेहोश भएँछु। पखांको हावामा एकछिन बसेपछि होसमा आएँ। र अम्बिका मेमलाई इन्बक्सको मेसेज पढ्न दिए। तुरुन्त मेमले शान्ताको बुबालाई फोन गर्नुभयो। फोनमा बुबा रुन थाल्नुभयो। बाँकी कुरा हुनै पाएन। तत्कालै म र भक्त सर शान्ताको घर गयौँ। आँगनभरि मान्छेहरु थिएँ। आँगनको उत्तरपट्टिमा थिइन् सेतो कपडाभित्र सधैभरिलाई निदाएकी मेरी शान्ता। बनिसकेको घर एकाएक भत्कियो। उनीसँग बिताएका प्रत्येक समयहरु मस्तिष्कमा झल्झली आइरह्यो। सिसौका छहारीमा उनको काखमा ढल्केर बिताएका क्षण होस् वा नजिकिने नाममा हामीबीच रहेका सबै पर्खालहरु भत्काएका पल, सबै फनफनी घुमिरह्यो।
केही समयपछि एकदिन जिशिका छेऊमा उर्मिलासँग मेरो भेट भयो। कफी खाँदै गफ गर्दा उर्मिलाले भनिन्, ‘दाइ एकचोटी तपाईं पनि रगत जाँच गर्नुस्।’
त्यसैदिन उनैले चिनेको ल्याबमा गएर एचआईभी जाँच गराए। तीन दिनपछि धन्न मेरो रगतको रिपोर्टमा एचआईभी नेगेटिभ आयो। ब्लड रिपोर्टको एचआईभी नेगेटिभसँगै मनमा अनेकन प्रश्नहरु उब्जियो। मलाई एचआईभी नेगेटिभ आउनुको अर्थ शान्तालाई पहिला कहिल्यै एचआईभी थिएन। सुसाइड गरेर यो संसारबाट उनी बिदा भए पनि बेला–बेला आज पनि एउटै प्रश्नले सताइराख्छ, ‘आखिर उनलाई एचआईभी कसरी लाग्यो?’