मौसम ठ्याक्कै यस्तै थियो, सिमसिमे पानी परिरहेकै थियो, कर्कलाका पातहरूले पानी एकैछिन भन्दा थाम्न सकिरहेका थिएनन्। त्यसैले होला उत्तानो पर्ने गरी पानीलाई भुइमा पछारीदिन्थे। ती भ्यागुताहरुलाई पनि पानी परिरहँदा दिक्क लागेरै हुनुपर्छ पल्लो पाखोसम्म सुनिनेगरी कराउथें। जुंगा मैलाउदै गरेका घरबारिका मकैले भने खुशीयाली मनाएथे र पानिलाई स्वागत गरिरहेथे चमर भुँइभरी बिछ्याएर ।
असारको बेला, सबैलाई मुठी खाएर मानो रोप्न चटारो छ। हाम्रो घरमा पनि म बाहेक सबै गैरी मेलामा गएका छन्। म भने धेरै जसो घर कुरूवा पर्ने गरेको थिएँ। भर्खर १३ वर्ष लागेको थिएँ, मेलामा गएर पनि दिनभर तगेर मेलो गर्न सक्दिनथेँ। दिनमा दुई डोका घाँस काट्नु, दिउँसोमा गाई भैंसीलाई घाँस दिनु र बेसी मेलामा खेतालालाई खाजा पुर्याइदिनु मेरो नित्यकर्म नै बनिसकेको थियो।
खाजा पुर्याएर घर के मात्र पुगेको थिएँ बिरे टुप्लुक्क आइपुग्यो । बिरेको खास नाम बीर बहादुर थापा हो। हामी एउटै कक्षामा पढ्थ्यौँ। बिरे गाउँकै हरामी मध्येमा गनिन्थ्यो। यतीसम्म कि कस्को बारीको कुन बुटोमा के फलफूल पाकेको छ त्योसम्म थाहा हुन्थ्यो। हातमा गुलेली कहिल्यै पनि छुटाउँदैनथ्यो। हुन त म नि त्यती असल त थिईनँ। आफ्नो बारीमा आएर बेलाउती टिपेर अरूले खाइदिए भनेर बुटै भरिको फलमा टोकेर जुठो हालेर राख्थ्येँ तर बिरेको तुलनामा म धेरै सज्जन थिएँ। कसैको चोरेर खाँदिनथेँ।
बिरेले मलाई देख्नासाथ एउटा प्रस्ताव अघि सार्यो। हाम्रा साइलाबाको घरमा कुखुरा चोर्न जाने र मैले मान्छे हेरिदिने। मैले सिधै अस्वीकार गरेँ। ऊ झन कडा रुपले प्रस्तुत भयो। कुखुरा चोर्न नगए स्कुल जाँदा बाटो कुरेर पिट्नेसम्मको धम्की दियो। मलाई प्रष्ट याद थियो, पहिले स्कुल जाँदा पनि उसले भनेको नमान्दा मेरो ब्यागमा मरेको मुसा राखिदिएर दिनुसम्म दु:ख दिएको थियो। त्यही सम्झेर उसको प्रस्ताव मान्न तयार भएँ।
हुन त साइला बाको घरमा पनि कोही थिएनन्। मेरो जिम्मा मान्छे हेरिदिने थियो । म डहरमै बसेर नजर डुलाइरहेँ। घरअघिको करेसाबारिमा एक हुल कुखुराहरू चर्दै थिए, बिरेले टाढैबाट गुलेली तन्काएर ठूलो भालेलाई ताकेर हान्यो। भाले तीनफन्को घुमेर भुईमा ढल्यो। अरू कुखुराहरु हल्ला-खल्ला गर्दै भागे। बिरे भने भाले च्याप्प समाएर आफ्नो बाटो ततायो।
बिरे र मेरो स्कुल एउटै, कक्षा एउटै, अनी विषय पनि। स्कुलमा पनि चकचक नगरी बस्नै सक्दैनथ्यो। कहिले कस्लाई पिट्छ कहिले कस्को के चोर्छ। दिनको एक पटक त अफिसमा पुगेकै हुन्थ्यो र सकेसम्म हेड सरको गाली खाएर फर्कन्थ्यो। अरू धामाधुस लाएर सुत्र घोक्थ्ये उ भने झ्याल झ्यालबाट ढुङ्गा हान्दै हिड्थ्यो । यस्तै गर्दा गर्दै एस.एल.सी परीक्षा आयो। सबैले आफूले सकेसम्मको तयारी गरे र मैले पनि।
परीक्षाको दिन आयो। बिरे त कस्तो भाग्यमानी। ठ्याकै फस्ट ब्वाइको पछी परेछ । के गर्नु हामीले आरिस गरेर भएन। जे जानेको त्यही लेख्नुभन्दा बिकल्प नै केही भएन। परीक्षा राम्रो गर्न सक्दो प्रयास सबैले गरेकै हुन्छन्। त्यसमा म पनि अछुतो रहिनँ।
केही महिनामा एस.एल.सी नतिजा आयो। विद्यालयबाट परीक्षामा सम्मिलित २६६ जना मध्ये ३३ जना पास भएको सूचना टाँसियो। हतारिदै हेरेँ । प्रथम श्रेणीमा ७ जना, द्धीतिय श्रेणिमा २३ र तृतियमा ३ जनाको नाम रहेछ। द्धितिय श्रेणिमा मेरो नाम अटेछ मन गदगद भो। अझ अचम्मको कुरा त के भयो भने बिरेको नाम त प्रथम श्रेणीमा थियो। सबैले अचम्म माने।
मैले कुरा बुझेपनि चुपचाप बसेँ। केही दिन पछि मार्कसिट आयो तर चोरेर पास भएको भनेर कतै लेखिएन। बिरे फस्ट डिभिजनमा पास भयो।
शिक्षाले मानिसको सोच विचारमा परिवर्तन ल्याउँछ भन्ने सुनेको थिएँ तर एस.एल.सी पास भैसक्दा पनि बिरेको फटाहा बानी प्रवृत्ति रोकिएन। गाउँका काँक्रादेखि मुलासम्म चोरेर हैरान पार्थ्यो। एकदिन त राति छिमेकिको घरमा नै लामो हात गर्न पुगेछ। खोरमा बसेका कुखुरा समाउन भ्याउँदा नभ्याउदै पल्तिरे काकाले घरमा चोर पसेको मेसो पाएछन् र बिरेलाई रंगेहात समातेछन्।
त्यसको भोलिपल्ट चौतारीमा ठूलो कचहरी भयो। गाउँले जतिले आफ्नो हराएको नहराएको सबै सामानको चोर बिरेलाई नै पारे। सबैले सकेसम्म गाली गरे, दुई चार लात्तिसमेत भेट्यो। बानी जस्तो भए पनि त्यती बेला बिरेको निन्याउरो अनुहार देख्दा कम्ती माया लागेको थिएन। तर टुलुटुलु हेर्नुबाहेक मैले गर्न सक्ने केही थिएन।
त्यसको भोलिपल्ट साँझपख मलाई भेटेर 'भागेर इन्डिया जाउँ' भनेको थियो । म आफू केही वर्ष पढ्ने र जागिर खाने बताएँ। त्यतिबेला भने मलाई कर गरेन। एक पटक मतिर हेर्यो र सरासर आफ्नो बाटो लाग्यो। मैले तीन चार पटक चिच्याएँ अहँ पुर्लुक्क फर्केर हेरेन। त्यसको भोलि पल्ट बिरे घरमा छैन भनेर हल्ला चल्यो। गाउँलेले थरिथरी अड्कलबाजी गरे। कसैले आत्महत्या गर्यो कि? सम्म भने। मैले अघिल्लो दिन मसँग भएको कुरा सुनाएँ । सबैले सीमा तरेको अनुमान लगाए।
बिरे सम्पर्क बिहिन भएको ६ बर्ष बितिसकेको थियो। अचानक एकदिन बिरेको चिट्ठी आएछ। बिरे भारतको बिहारमा बसेर पढ्दै जागिर गर्दै पनि गरेको छ रे। अब केही महिना पछि पढाई पुरा गरेर नेपाल आउछ रे! गाउँभरी हल्ला चल्यो। बिरे सुध्रिएर सही बाटोमा हिँडेको खबर सुन्दा सबै खुसी भए।
मैले जेनतेन ब्याचलर सम्मको अध्ययन पुरा गरेँ। त्यो भन्दा माथि पढ्नका लागि केन्द्रतिरै जानुपर्ने थियो। घरको आर्थिक स्थिती निकै कमजोर थियो। पल्तिरेले तीनतले घर बनाएर टिनले छाइसकेका थिए। जब बिहान उठेर हेर्थें, पल्तिरेका घरको टिनले मेरो झुप्रोलाई गिज्याइरहेझैँ लाग्थ्यो। अनी बाबा आमाको अनुहारमा हेर्थें । बर्षौंदेखिको दु:ख प्रस्ट देख्न सकिन्थ्यो।
वर्षौं पुरानो बाबाको टोपी र आमाको धोती फेरिएकै थिएन। बाबा दौरा र आमाको चोली फेर्ने सपना नदेखेको पनि होइन। तैपनी ती सपनाहरुलाई थांती राखेर जागिर गर्दै डिग्रीसम्मको पढाई पुरा गर्ने सोचले शहर छिरेँ। करिब २ महिना जागिर खोज्ने क्रममा नै भौतारिएँ। धेरै ठाउँमा सर्टिफिकेटका खोस्टाहरु फिजाउँदै हिँडेँ। अहँ कतै सर्टिफिकेट हेरेर जागिर पाइएन। बरू आफ्ना मान्छे खोजियो। तर मेरो लागि आवाज उठाइदिने कोही थिएन। हो, मैले जागिर पाइन र उही थोत्रो झोला, थोत्रा कपडा र तिनै सर्टिफिकेटका खोस्टाहरु बोकेर पुनः गाउँ फर्किएँ।
त्यसको ठ्याक्कै तीन दिनपछि पहिलेको बिरे त डाक्टर बिर बहादुर थापा बनेर गाउँ आइपुगेछ। अहो गाउँमा खुसीको त सीमा नै रहेन। बिरे त गाउँको मात्रै होइन जिल्लाकै पहिलो डाक्टर भएको थियो। पहिले ज-जसले बिरेलाई गाली गरे, लात हाने, तिनै मिलेर गाउँमा भब्य कार्यक्रमको आयोजना गरे र डा. बिर बहादुर थापालाई सम्मान गरे। आफ्नै साथी डाक्टर भएर आएकोमा मेरो पनि छाति गर्वले ढक्क फुल्यो । अबिर लगाइदिएँ फूल थमाएँ र अंकमाल गरेँ।
केही दिनपछि ऊ काठमाडौं तिर छिर्यो। मेरो अरु उपाय केही लागेन। ॠण खोजेर राहदानी बनाएँ र ॠण खोजेरै बिदेशिएँ आमाको चोली र बाबाको दौरा फेर्ने र झुप्रो घर फालेर तीन तले घर बनाउने, त्यसमा टिनको छानो हालेर टिलिक्क टल्काउने सपना बोकेर।
म बिदेशिएको केही महिनामै खबर पाएको थिएँ बिरेले त काठमाडौंको ठूलो हस्पिटलमा जागिर सुरू गरेको छ भनेर। त्यसपछि त अनलाइन राष्ट्रिय पत्रपत्रिकामा डाक्टर बिर बहादुर थापा अर्थात बिरेको बडेमानको फोटो राखेर मुख्य पानामा नै बर्णन गर्थे। मैले दोहोर्याइ दोहोर्याइ पढ्थेँ र सम्झन्थेँ कुखुरा चोर हुँदै डाक्टर वीर बहादुर थापासम्मको रामकहानी र तुलना गर्थें म र मेरो कुल्ली जीवनसँग।
जब अस्पताल अनी डाक्टरका समाचारहरू आउथे, मलाई पढ्न हतार हुन्थ्यो । एकदिन त्यस्तै समाचार आएको थियो 'डाक्टरको लापर्बाहिले बिरामीको मृत्यु' भनेर त्यो पनि बिरेले काम गर्ने हस्पिटलकै नाममा। मन झस्क्यो, समाचार पढेँ । डाक्टर बिर बहादुर थापाको नाम कतै देखिनँ। मन अलिक ढुक्क भयो र गर्व गरेँ मेरो साथीले नराम्रो गरेको छैन र गर्दैन भनेर।
बिदेशको त म बयान गर्नै चाहन्नँ। आखिर कसैको पनि रहर होइन बिदेश न त मेरो नै । बिदेशको दु:ख लेखेर कलमको मसी खर्च त म गर्दै गर्दिनँ। जती दु:ख छ यही मनमा छ। यदी जिउँदो घर फर्किन सकेँछु भने घर पुग्नासाथ आमाको काखमा लम्पसार परेर सुत्नेछु र स-विस्तार सुनाउनेछु मेरो दु:ख।
हिजो अकस्मात केही तस्बिरहरु देखा पर्यो मोबाइल स्क्रिनमा र हतपत खोलेर हेरेँ । यताउता प्रहरी घेरा छ बिचमा केही मानिसहरु मुख लुकाउँदै छन्। समाचारको शीर्षक छ ‘३६ जना नक्कली डाक्टर सिआइबिको फन्दामा’ ती तस्बिरहरु नियालेर हेरेँ। मेरो साथी डाक्टर बिर बहादुर थापा जस्तै देखिने तस्बिर पनि देखा पर्यो। मुटु चसक्क घोंच्यो। फोटो जुम गरिगरी हेरेँ। जताबाट हेर्दापनी छटपटी रोकिएन। ती फोटाहरुको डिक्टेलमा हेरेँ। दोस्रो नम्बरमै डाक्टर बिर बहादुर थापाको फोटो नाम थर र ठेगानासहित देखा पर्यो। मन भक्कानिएर आयो। कयौँ पटक भगवानसँग प्रार्थना गरेँ यो फोटो बिरेसँग नमिलोस भनेर। कयौँ पटक आफ्नै छाति पिटेँ मेरो बिरेले यस्तो गरेको छैन भनेर। तर मेरो केही लागेन।
कुनै बेला मलाई साक्षी राखेर कुखुरा चोर्दै गरेको बिरे, सारा गाउँलेको बारी चाहर्दै हिंड्ने बिरे, एस.एल.सी फस्ट डिभिजनमा पास हुने बिरे, छिमेकीको खोरैबाट कुखुरा थुत्ने बिरे, चौतारीमा समाजको अघी शिर झुकाउने बिरे, सीमा तरेको केही वर्षमा नै डाक्टर बीर बहादुर थापा भएर फर्कियो ।
ठूलो हस्पिटलमा बिरामी जाच्ने, ठूला ठूला अप्रेसन गर्नेसम्म डाक्टर बिर बहादुर थापा नै थियो। उसले कतिको ज्यान बचायो र गुमायो भन्ने त मसँग हिसाब छैन। बिरेलाई कसरी कसले डाक्टर बिर बहादुर थापा बनाइदियो त्यो त म सोध्दै सोध्दिनँ।
म त यत्ती मात्र भन्छु ‘सलाम छ बिरेहरु! राम्रो काम गरेछौं, अब सबै डा. बिरेहरुको बाँकी जीवन जेलमय बनोस्।’
देव सागर,
स्याङ्जा हाल कोरिया ।