‘...लामो कुरा थाहा छैन, अब खुरूक्क डिभोर्स दे,’ पतीका कठोर शब्दहरु उसका कानमा तातो झिर झैँ बज्रिए। हातगोडा गले, खुईया गर्दै थचक्क बसी। ‘म किन डिभोर्स दिने? बरू तिम्रै अगाडि आगो ला’र मर्छु,’ भन्दै भक्कानो फुटाई।
बच्चाको पास्नी सकेको साँझदेखि पतिको क्रोध टुप्पीमा पुगेको छ। ल हेर राईको बच्चा बाहुन जस्तो छ, के अचम्म? विकासे पो भएछ त, भन्दै छिमेकी बज्यैले टिप्पणी गरेदेखि ऊ आफ्नो शंका सही हो भन्ने निष्कर्षमा पुगेको छ। यस विषयमा पहिलेदेखि जम्दै गरेको कुण्ठा उसले फुकाएको थिएन।
बच्चा तीन महिना जति पुगेपछि उसले एक पटक खै यसमा त हाम्रो अनुहारको झलक नै आएन नि भनेको थियो। यो सुनेर पत्नीले किन हतार गर्छौ पछि मिल्दै जान्छ भन्दै आश्वस्त पार्न खोजेकि थिई। पत्नीको कुरा सुनेपछि झन उल्टै बाउँटियो।
त्यस दिनदेखि बच्चाको अगाडि पर्यो कि सधैँ नाँक, आँखा र पुरै अनुहार नियालेर हेर्ने गथ्र्यो। तर उसले सोचेजस्तो बच्चामा मंगोल बर्णको झलक देखिएन, बरु आर्य बर्णतिर स्पष्ट हुँदै आयो। यो देखेर उसलाई पत्नीको केही कैफियत छ, टेष्टट्यूव गर्ने बहानामा उसले छल गरिछ भन्ने पर्यो।
बल्ल बल्ल जन्मिएको सन्तान, उसलाई निल्नु न ओकल्नु भो। तैपनि उसले व्यक्त गरेर रडाको झिकिहाल्न आँट कसेको थिए । बज्यैको टिप्पणी पछि भने शंका गहिरिदै गयो। विवाद बढेर आज डिभोर्स नै माग्ने स्थिति बन्यो।
भनाभन चर्किदै जाँदा दुवैले मर्यादा तोडे। तैँले झुक्याइस्, मेरो सन्तान कहीँ यस्तो हुन्छ? पतीले अन्तरमनको पीडा ओकल्यो। तँलाई यस्तै गर्नु थियो भने किन मेरो पैसा उडाइस्? ऊ जुरुक्क उठ्यो। चरित्रमा नै कालो पोतिएपछि पत्नीले पनि आफूलाई सम्हाल्न सकिन। ‘यो सव तिम्रो कारणले भएको हो, तिमी मर्द भएको भए, आज यस्तो सुन्नु पर्दैनथ्यो,’ ऊ पनि आक्रामक बनी।
पत्नीको बचनरूपी बाणले ऊ मर्माहत भयो । घायल सिहँ झैँ जाइलाग्न पुग्यो। एकछिनको धक्मधक्का पछि पत्नीले डि एन ए परीक्षणको चुनौती दिई। यो सुनेर ऊ पनि हच्कियो।
भोलिपल्टै डि एन ए परीक्षणका लागि छोरो लिएर प्रयोगशाला पुग्यो। फर्केपछि झन बेचैनी बढ्यो, रातभर सुत्न सकेन। मनमा प्रश्न उठ्यो, मेरो सन्तान होइन भने कस्को होला? सम्भावित बाउको अनुहार सम्झिदै गयो।
पहिलो शंका छिमेकी देवी प्रसादतिर गयो। पहले देखि नै उसलाई त्यो बाहुनको बढी आउजाउ मन परेको थिएन। तर ऊ बढी नै हिमचिम बढाउन खोज्थ्यो। कहिले आज खिर पकाएको भन्दै बोकेर आउँथ्यो, कहिले रुद्रीको प्रसादी। उसकी पत्नीलाई बहिनी त भन्थ्यो तर बहिनीकै नाममा उसले पाप गरेछ भन्ने उसलाई पर्यो। उसको च्याँसे अनुहार सम्झियो र एकै मुड्किमा घित्रिक्कै पार्दिउँ जस्तो झोँक चल्यो। फेरि उसलाई लाग्यो, त्यो त साह्रै कालो छ, त्यसबाट यस्तो गोह्रो बच्चा के होला र?
बिहान झिसमिसमै दुध पुर्याउन आउने पल्लो टोलको जैसी त निकै गोह्रो छ। त्यसले पो गडबढ गर्यो कि भन्ने पर्यो । आफू बाहिर हिँडिरहनु पर्छ, त्यो जैसी अरु नउठ्दै आइपुग्छ, ठट्टामट्टा पनि गर्छ। हो, यसैले सिध्याएछ क्यार। यसलाई बाटो ढुकेर बिहान अँध्यारैमा खुकुरीले छप्काइदिउँ कि क्या हो। रिसको पारो चढ्दै गयो।
उसको मनमा औडाह भइरहेछ। पटक्कै निन्द्रा परेको होइन। कोल्टो फेर्यो। फेरि उपचार गर्ने डाक्टरको अनुहार याद आयो। त्यो पनि गोरो सलक्क परेको छ। बाहुन नै त हो नि। उपचार गर्ने भनेर त्यसैले पो झुक्यायो कि भन्ने लाग्यो। पत्नीको अनुहार सम्झियो, फक्रेको गुलाफ जस्तो उज्याली छे, पक्कै त्यो डाक्टरले मलाई बेवकुफ बनायो। मलाई बाहिर राखेर उसलाई त्यत्रो वेर भित्र राख्थ्यो, जान नमिल्ने, जे जे गरे नि भो। थुक्क त, त्यसले पैसा पनि खाएछ, मोज पनि गरेछ। त्यसको घाँटीमा झुन्ड्याउने यन्त्रले कसेको कसै पारेर अस्पतालमै सिध्याउन पाए त...। पसिना खलखली आयो, उठेर पानी खायो।
सुत्न खोज्यो, फेरि उसलाई ससुरालीतिरको अर्को एकजना बाहुनको याद आयो। मेरो सामू भेट्दा साखुल्ले बनेर मित मामाको छोरा हो भन्थ्यो। माइत जाँदा उसँग भेट भयो होला। आफूले देखिएन, तीन दिन बस्दा के के गरे के के? ऊ मुरमुरिदै झ्यालतिर गयो, चम्किएका ताराले गिज्याए झैँ लाग्यो, पर्दा तान्यो।
ऊ रातभरि नै छटपटियो। अनगिन्ती केटाहरुप्रति शंका भयो, तर एकिन गर्न सकेन। जे भए पनि अर्कैको पेट बोकेर झुक्याइछ भन्ने निस्कर्षमा पुग्यो। उठेर कता जाउँ के गह्रौँ भयो ।उसलाई छिमेकी बज्यैप्रति पनि रिस उठ्यो। तँ यस्ती राम्री छस् नानी, सन्तान नभएर बुढेसकालमा दुःख पाउने भइस् भन्थि, आफैंले कुनै साँढे भिडाइ दिई कि भन्नेसम्म उसले शंका गर्यो। बुढीलाई नै घाँटी समातेर ङयाक्न मन लाग्यो ।
विवाह गरेको ७ वर्षसम्म सन्तान लाभ नभएपछि उनीहरुले जानेसुने जति सवै पूजापाठ, दान, धर्म, धामीझाँक्री गरे, सफलता मिलेन। गर्भ नरहनुमा पत्नीको दोष होला भनेर विभिन्न उपचार गराए, पार लागेन। डाक्टरले परीक्षणका लागि पतीलाई पनि ल्याउन सल्लाह दिए, म ठीक छु भन्ने कुरा तिमीलाई थाहा छैन र? भन्दै पाखुरा फुलाएर देखायो तर गएन।
यसो गर्दा गर्दै विवाहका दश वर्ष विते। सन्तान प्राप्तीको उत्कट मोहले उनीहरुलाई भित्र देखि पिरोलिरहेको थियो । कसैले बच्चा लिएर घरमा आउँदा पनि समाएर छातीमा टाँसौँ जस्तो लाग्थ्यो। तुरुन्तै मन भारी हुन्थ्यो, नछोई हच्किन्थे। कोठामा पसेर मुखामुख गर्थे, एकअर्काप्रति घृणा गरेजस्तो हुन्थ्यो, फेरि मायाँको भाव तरंगित हुन्थ्यो। अंगालो मारेर एकअर्कालाई मायाँ गर्थे, कहिले रून थाल्थे । फेरि दैवको खेल भनेर चित्त बुझाउँथे।
अरू उपायले सन्तान नभए पछि टेष्टट्यूव प्रविधि गर्दा हुन्छ कि भनेर अस्पताल गए। पत्नीको अवस्था ठीक भए पनि पतिको वीर्यमा चाहिँदो मात्रामा शुक्रकिट नभएकोले गर्भ नरहेको निस्कर्ष आयो। डाक्टरले टेष्टट्यूव प्रविधिले फाइदा हुन सक्ने सल्लाह दिए। उनीहरु त्यसको तयारीमा लागे।
कृत्रिम विधिबाट पतीको वीर्य र पत्नीको अण्ड निकालेर ट्युवमा निषेचन गरी ४८ घण्टामा भ्रुण विकास गरेर पत्नीको पाठेघरमा राखियो। यो विधिबाट पहिलो पटक नै गर्भ रहन गएकोमा दुवैजना अत्यन्त हर्षित भए। उसले पत्नीको खुव स्याहार गर्यो । कुनै गह्रौँ सामान बोक्न, लुगा धुन, भाँडा मााझ्न दिएन। यतिसम्म कि भर्याङ उक्लिन पनि दिएन। उसलाई मन पर्ने जति सवै गहना र खाने कुरा पुर्यायो। सकेसम्म उसले छोड्दै नछोडी मायाँ गरेर बस्यो। लोग्नेको मायाँ देखेर सात जन्मसम्म यही लोग्ने पाउँ भनेर कामना गर्न थाली। नभन्दै बच्चा पनि सकुशल जन्मियो। न्वारन कै भोलिपल्ट इष्टमित्रलाई ठूलो पार्टी दिएर खुसी व्यक्त गर्यो। तर, यही बच्चा आफ्नो हो कि होइन भनेर जचाउनु पर्दा भने उसको मुटु छियाछिया भयो।
केही दिन पछि बच्चासहित दुवै जना डिएनएको रिपोर्ट लिन प्रयोगशाला गए। डाक्टरले निकै वेर अलमल गरे। सवैजसो आगन्तुक हिंडेपछि पतिलाई धैर्य गर्न आग्रह गर्दै बाबु छोराको डिएनए म्याच नगरेको रिपोर्ट सुनाए। दुवै जना छाँगाबाट खसेजस्तै भए। एक अर्कालाई हेरे, बोली फुटेन। बोकिराखेको छोरालाई भुईँमा थेचारेर पति बाहिरियो।
ऊ पहिला सिधै भट्टितिर हानियो। विचैमा बाटो मोडेर वकिलकहाँ पुग्यो र डिभोर्सका लागि कागजात तयार गरिदिन आग्रह गर्यो।
पत्नी चाहिँ मैले कुनै पाप गरेको छैन भनेर दुःख पोख्दै रून थाली। प्रयोगशालाका डाक्टर निकै असमाञ्जस्यमा परे। उनले टेष्टट्युव गरिदिने डाक्टरलाई भेटेर कुरा गर्न सल्लाह दिएर पठाए।
पति त्यो रात घरै आएन। एकैचोटी भोलिपल्ट वकिलसहित आयो। पत्नी बिहानै अस्पताल गएर डाक्टरसँग व्यथा पोख्दै थिई। उसको कुरा सुनेर अस्पतालका डाक्टर छक्क परे। आफैं ल्यावमा पसेर रेकर्डहरु पल्टाउन थाले। सहयोगीहरुलाई उपस्थित हुन उर्दि दिए। यसैबीच पत्नी खोज्दै पती पनि अस्पतालमै पुग्यो। वकिलले अब जे हुनु भइगो भाउजु, डिभोर्स पेपरमा सही गर, दुवैलाई सजिलो हुन्छ, झगडा गरेर कति बस्छौ? भन्यो। यो सुनेर उसको होस उड्यो। डिभोर्सको कुरा भन्दा पनि आफ्नो चरित्रमा औँला उठाएकोमा बढी असह्य भयो।
एक्कासी अस्पतालको ल्यावमा हल्लीखल्ली भयो। पतीपत्नी दुवैलाई डाक्टरले भित्र बोलाए। अत्यन्त नम्रभावमा हात जोडर डाक्टरले शुरुमै माफी मागे र उचित क्षतिपूर्तिको कुरा पनि गरे। यो सुनेर पतिपत्नी मुखामुख गरे, तर के हो बुझ्न सकेनन्। डाक्टरले भने, तपाईँहरुबाट लिइएको शुक्रकिट र डिब्ब राखिएको ट्युवमा नम्बर गलत लेखिएछ। हाम्रो भुल भएर दुईवटा ट्युवमा एउटै नम्बर लेखिदा भ्रुण साटिन गएर यस्तो भएको हो। यसमा तपाईँहरुको गल्ती होइन हाम्रो गल्ति हो।
यो सुनेर पती डाक्टरप्रति आक्रोशित बन्दै जाइ लाग्न खोज्यो। पत्नीले छेकी र राहतको सास फेरि। एकाएक पति पत्नीलाई माफ गर प्रिय भन्दै अंगालो मार्न पुग्यो। पत्नीले चाहीँ अंगालो छोडेर वकिलको हातमा रहेको कागजमा सही गरी।