‘आइया! मरेँ नि। यो पेटले मलाई पूरा आयु बाँच्न नदिने भयो। नानी लौन केही इलाज गरिदेऊ?’
हत्तपत्त पुतलीले ढोकातिर हेरी। एक जना बृद्ध बुबा हातमा लौरो समातेर बर्बराँउदै थिए। पुतलीले ती बृद्धलाई आफ्नो कोठामा लगी र चेकजाँच गर्नथाली।
करिब एक हप्तापछि तिनै ‘मृत्यु बोकेर आएका’ बृद्ध उज्यालो जिन्दगी बोकेर पुतलीलाई धन्यवाद दिँदै फर्किए।
सहरमा नाम चलेका हस्पिटलहरू छोडेर बिरामीहरू यातायातसम्म राम्ररी नपुगेको दुर्गम गाँउको पुतली हस्पिटलमा उपचार गर्न आँउछन् आजकल।
पुतली हस्पिटलले छोटो अवधिमै देशैभरि राम्रो नाम कमाउन सफल भएको छ।
हस्पिटलको उचाई देखेर डाहा गर्नेहरूको लामै लाम छ तर यसको सफलतामा भने आफ्नै गहिरो कथा लुकेको छ।
***
रामे दलित परिवारको सदस्य हो। एक चोक्टा बारीबाहेक सम्पत्तिको नाममा केही थिएन उनीहरूको। त्यही बारी पनि एक दिन खहरेले बगायो। बारीसँग बगेर रामेका बाबुआमा पनि गए।
रामे सात वर्षको उमेरमै टुहुरो भयो। गाउँ–गाउँ मागी हिँडेको देखेर गाउँकै एउटा स्कुलको हेडसरले रामेलाई घडी हेर्न र समय चिन्न सिकाएर स्कुलको घण्टी बजाउने काम दिए।
दिनभर घण्टा–घण्टामा घण्टी बनाउने स्कुलको फोहरमैला सफा गर्नु उसको दैनिकी थियो।
रामेले पढ्न कहिल्यै पाएन। कक्षाकोठाको ढोकामा चिहाएर सरले अरूलाई पढाएको हेरी बस्थ्यो। तर उसलाई रामे आइज बसेर तँ पनि पढ कसैले कहिल्यै भनेन। बरू विध्यार्थीहरू दलित भन्दै तर्केर हिँड्थे।
समय काँटाहरू घडीमा घुमेको हेर्ने रामेले आफ्नो जिन्दगी घुमेको पत्ता नपाँउदै रामे बढेर लक्का जवान भयो।
बैंसमा मातेको रामेले बजार घुम्ने क्रममा अर्को गाँउबाट यौटी फुलजस्तै फुलकुमारी भगाएर ल्यायो। अब स्कुलको ग्राउण्ड छेउको रामेको चिमे घरमा अर्को सदस्य थपियो।
रामे गाउँ घरमा बनिबुतो गर्न जान्थ्यो, फुलकुमारी स्कुलमा घण्टी बजाउँथी।
बिहे गरेको एक वर्षपछि रामे बुबा बन्यो। फुलकुमारीले पुतलीजस्तै यौटी स्यानी छोरी जन्माई। सर–मिसहरूले उसको नाम ‘पुतली’ राखिदिए।
काखमा छोरी च्यापेर घण्टी बजाउँदै ढोकाबाट सरले पढाएको चियाएर दिन बित्थ्यो फुलकुमारीको।
उसले ढोकाबाट चियाएर नै आकासमा उड्ने हवाईजहाज चरा नभएर मान्छेले बनाएको सामान हो, त्यसभित्र मान्छे चढेका हुन्छन्। हवैजहाजमा चढ्नलाई धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ। रेडियोभित्र मान्छे होइन, मान्छेले बनाएका सामान हुन्छन्। रेडियो बनाउन धेरै पढ्नुपर्छ। गाडी कसरी कुद्छ? चराहरूले कसरी चराको भाषा बुझ्दछन्? चर्पी गएपछि साबुन पानीले हात किन धुनुपर्छ? सफा बसे बिरामी हुँईदैन भन्ने सयौं कुराहरू जानी सकेकी थिई।
फुलकुमारीको ठम्याई थियो– सबै राम्राराम्रा कुराहरूगर्न पढ्नै पर्ने रहेछ।
त्यही सम्झेर उसले आफ्नी छोरी पुतलीलाई पढाउने सपना देखी। रामेले पनि नाई भनेन। सरहरूले पनि साथ दिए। पुतली स्कुलमा भर्ना भई।
पुतली पढाईमा टाठी थिई। स्कुल हाताभित्रै र सर–मिसहरूकै छत्रछायामा हुर्किएर पनि होला सधैं प्रथम हुन्थी। पुरस्कार पाउँथी। यो देखेर रामे र फुलकुमारी गदगद हुन्थे।
रामेको झुपडीमा खुसीका रस्मीहरू मौलाउन थाल्दैमात्र थिए। समयले कोल्टे फेर्यो। देशैभरि माओवादीहरूले सर्वहारा वर्गको प्रतिनिधित्व गरेर जनयुद्ध थाले। स्कुलको ग्राउण्डमा दिनैजसो आमसभाहरू हुन थाले।
माओवादीहरू भन्थे– सर्वहारा गरिबहरू कति दिन थिचिएर बस्ने? दलित भएकै भरमा कतिदिन पानि बाराबार गरेर बस्ने? अब हामी सामन्तीहरूका किल्लाहरू ढाल्नेछौं र हामी गरिब किसानहरू राज गर्नेछौं। देश किसान गरिब पिछडिएको वर्गको पनि हो। तपाईंहरू पनि आउनुहोस् हातमा हात मिलाएर हामीलाई साथ दिनुहोस्।
आगनमै दिनदिनै यस्ता भाषण सुनेर रामेको मन बहकियो। ऊ माओवादीमा लाग्यो। घरमा पुतली र फुलकुमारी मात्र रहे।
***
अब गाउँ पहिलेजस्तो रहेन। कहिले माओवादी सेनाहरू त कहिले सरकारी सेनाहरू आउन थाले। केरकार र दु:ख दिनथाले।
एक दिन सहरबाट सेनाको ठूलो समूह स्कूलमा आयो। स्कूल बन्द गरेर कक्षाकोठामा परेड खेल्न थाले। क-कसका आफन्तहरू माओवादीमा छन् खोजीखोजी परिवारका सदस्यहरूलाई सताउन थाले।
पुतलीका घरमा पनि सेनाहरू घुसे र पुतलीकी आमालाई कुटपिट गरे। तेरो लोग्ने कहाँ लुकाइस्? भन्दै पालैपालो सेनाहरूले पुतलीकी आमालाई बलात्कार पनि गरे। कुनामा लुकेर टुलुटुलु हेरिरहेकी पुतलीको बाल मस्तिष्कमा यसले नराम्रो छाप पार्यो। ऊ सुस्तजस्तै भई। तर सरहरूले सम्हाले।
सरकारी सेनाहरू गए। फेरि माओवादी सेनाहरू आए। सेनालाई घरमा बस्न दिएको र सुराकी गरेको भन्दै माओवादीले फुलकुमारीलाई जंगलमा लगे। रूखमा बाँधेर शरीरभरि कोर्रा लगाए र छातीमा गोली हानी अर्धमृत अवस्थामा छोडेर भागे।
रूखको आडमा लुकेर एकनास हेरिरहेकी पुतलीले रगतपिच्छे भएर मृत्युसँग छट्पटाइरहेकी आफ्नी आमालाई बाँधेको डोरी फुकाई। आमा भुइँमा लडी। बोक्न नसकेपछि घिसार्दै घर लान खोजी आमालाई। त्यो पनि सकिन। केही उपाए नलागेपछि ठूल ठूलो स्वरमा चिच्याई, रोई, कराई तर कसैले सुनेन। बरू उसकै आवाज रूख बुट्टाहरूमा ठोकिएर पुतलीतिरै फर्किएर आयो।
अन्तत: पुतलीकी आमाले पानी–पानी भन्दै सास फेर्न छाडी। पुतली आमाको काखमा घोप्टो परेर दिनभर रातभर रोइरही। पुतलीलाई कालो जंगलसँग कुनै डर लागेन त्यो रात।
यता आमाछोरी नै हराएपछि भोलिपल्ट सखारै हेडसर जंङ्गलमा खोज्दै पुगे। पुतली र उसकी आमाको त्यो हालत देखेपछि हेडसरले फकाई फुल्याई गरेर पुतलीलाई घर पुर्याए।
दिनभर रूँदारूँदा थाकेर निदाएकी पुतलीले आफू डाक्टर भएको र झारपात माढेर निस्किएको रस आमाको घाउमा लगाइदिँदा आमा निको भएको सपना देखी।
आमालाई माओवादीले मारे, बुबा पनि घर नआएपछि पुतली हेडसरकै घरमा बस्न थाली।
बिहान बेलुका घाँस दाउरा गर्थी। जुठा भाँडा मस्काँउथी। भकारो सोर्थी। १० बज्न नपाँउदै घण्टी बजाउन स्कुल पुग्थी र घण्टा–घण्टामा घण्टी बजाउँदै दिनभर डाक्टर बन्ने सपना देखेर मेहनत गरी पढ्थी।
एसएलसी परीक्षामा स्कुल टपी पुतलीले। सबैले बधाई दिए तर आमा मरेका दिन देखी। हाँस्न छाडेकी पुतली त्यो खुसीमा पनि हाँसिन।
एसएलसीपछि पुतलीको पढाइ त्यतिमै रोकियो। उसलाई सहर पढ्न पठाउने कोही भएनन्। गाउँमा त्यो भन्दा माथिल्लै कक्षाको पढाइ हुन्थेन।
हेडसरले सहर जाँदा डाक्टर बन्ने किताबहरू भने ल्याइदिएका थिए। त्यही पुस्तकहरू पढ्दै बस्थी पुतली दिनभर।
***
सरकारी सेनाहरू फेरि गाउँमा आए। माओवादीका आफन्तहरूलाई खोजीखोजी कुटपिट गर्नथाले।
त्यत्तिकैमा स्कुललाई तारो बनाएर माओवादीहरूले आक्रमण गरे। दिनरात भिडन्त भयो। सयौँ माओवादीहरू मरे। सयौँ सरकारी सेनाहरू पनि मरे। स्कुल बमले भत्काइदियो। गाउँमा पुरै रूवाबासी चल्यो।
केही दिनपछि विदेशी संस्थाका मान्छेहरू गाउँमा आए। गाउँलेहरूलाई केही सहयोग गरे। सान्तवना दिए।
विदेशीहरू फर्किने बेलामा बिन्ति चढाएर हेडसरले डाक्टर बनेर आउनु भन्दै पुतलीलाई उनीहरूकै जिम्मा लगाएर पठाइदिए।
पुतली उनीहरूसँगै सहर पुगी। पुतलीको बाठोपन र लगनशीलताले उसलाई विदेशसम्म पुर्यायो।
***
सहर छिरेको बीस वर्षपछि पुतली गाउँ फर्की डाक्टर बनेर। पुतलीसँग केही विदेशी साथीहरू पनि आए।
आफू हुर्केको चिमे घर भएको ठाउँमा एउटा भवन बनाउन लगाई। लडाइँका बेला खुट्टामा गोली लागेर कुँजिएका हेडसरको उपचार गरेर पुतलीले ‘पुतली हस्पिटल लिमिटेड’को उट्घाटन गरी र न्यूनतम शुल्कमा उपचार गर्न थाली।
हिजो दलित भनेर एउटै बेन्चमा बस्नसम्म नमान्ने पुतलीका साथीहरू, गाउँलेहरू आज पुतलीकै हातबाट दबाई खान तँछाडमछाड गर्छन्। पुतली भगवान बनी सबैका निम्ति।