‘तिनकुने–एयरपोर्ट–चक्रपथ...।’ सहचालक बानेश्वर अगाडि कराउँदै थियो। बेलाबेलामा गाडीको ढोका नजिकै ‘ड्याम–ड्याम’ हान्थ्यो। सिठी फुक्थ्यो। फेरि उही रटान चालु गथ्र्यो–तिनकुने–एयरपोर्ट–चक्रपथ ।’
मान्छेहरु ढोकाबाट फुत्त–फुत्त छिर्थे। कोही लुत्तलुत्त निस्कन्थे । लुत्त निस्कनेसँग झपारेरै पैसा असुल्न उनि तम्सीन्थे । फुत्त छिर्नेहरुलाई पुठ्ठामा छोएरै घँचेट्थ्यो। घँचेटीहरुमा जिन्स पेन्ट लगाएका केटीहरु बढी पर्थे । तिनले अन्त भए निहुरिएर जुत्ता फुकाल्न थाल्थे होलान्। कुन्नी केमा ताकेर बजारी सक्थे होलान्। हुलमुलमा भएर सानुतिनु हिसावकिताब फत्ते भइरहेको थियो ।
‘दाइ, मलाई गाम्कामा रोकी दिनुस है?’ ढोकाबाट छिर्दैै एक केटोले भन्यो । केटोको हातमा ‘क्लियर ब्याग’ थियो । ब्यागमा बाहिरबाट पासपोर्ट स्पष्ट देखिन्थ्यो । केही कागज पनि देखिन्थे । ‘एयरपोर्ट अगाडि हो । भर्खर बानेश्वर आइपुग्यो । तपाईँ पछाडि जानुस् त?’ भन्दै सहचालकले उसलाई धकेलिदियो ।
‘महिला’ सिट लेखिएको ठाउँबाट केही पुरुषहरु उठे । जे लेखिए पनि त्यति बेलासम्म त्यो सिट महिला पुरुष दुवैको साझा थियो । महिलाहरु ‘यो हाम्रो सिट हो’ भन्दैन थिए । केटो त्यही सिट नजिकै थियो । उनीहरु उठ्नासाथ केटो हत्तपत्त बसिहाल्यो ।
तीनकुने नपुग्दै गाडी फेरि जाममा प¥यो । ‘ट्राफिक चेकिङ छ । पछाडि जानुस् पछाडि।’ सहचालकले भन्यो। मान्छेहरु कोचिए। केहीबेरमा एक ट्राफिक प्रहरी गाडी भित्रै छिरे । केटोलाई जुरुक्क उठाए–ओ भाइ, यो महिला सिट भन्ने थाहा छैन ? उनले थर्काए । केटो रातोपीरो भयो । जवाफ केही फर्काएन । उ जुरुक्क उठ्यो । म नजिकै आएर उभियो ।
आजकल महिला सिटमा बस्न पाइँदैन नि थाहा थिएन भाइ? मभन्दा पछाडि उभिएको अलि जान्नेसुन्ने जस्तो देखिने मान्छेले केटोलाई भनिहाले । ‘म ठक्करकान्त हुँ दाइ । जहाँ गए नि ठक्कर खानेलाई के थाहा हुन्छ र ?’ उसले हाँसेर जवाफ फर्कायो ।
तिनकुनेमा ओर्लन लागेका एक यात्रुले भाडा तिरेनन् । सहचालकले उनको सट च्यात्ने गरी ताने । चालक पनि ओर्लिएर झगडालाई मलजल गर्न थाले । गाडी थप जाममा प¥यो ।
केटोले आफू परदेश जाने जान लागेको सुनायो । पहिलो चोटी बाले सुन्तला बेचेर राखेको पैसा चोरेर प्रहरी बन्छु भनेर घरबाट दौडिएको रहेछ । भर्नाको समयमा दौडदेखि हरेक परीक्षामा उ दोस्रो÷तेस्रो हुन्थ्यो । आखिर नाम निस्कने बेलामा आफूभन्दा पछाडि दौडने लुरेको नाम निस्कियो । लुरेको पावर ठूलै रहेछ । उसको बाउ नै ठुलो नेता रहेछ । ‘आफ्ना बा कृषिबाट न माथि उठन सके । न ठूलो मान्छे भए । मैले कसको पावर लगाउनु?’ उसले भन्यो ।
अर्काे वर्ष फेरी भर्ना खुल्यो । उसले बारीका डिलभरीको सबै निगाला बेच्यो । त्यही पैसा बोकेर भर्ना हुन गयो । दोस्रो पटक भने सबैमा उत्कृष्ट भएको थियो । अन्तर्वार्तामा दुई लाख घुस मागियो । ऊ त्यही घुसमा ठोक्किएर फर्कियो । परदेशी हुनुभन्दा अगाडि उसले सेक्युरिटी गार्ड हुन्छु भनेर गएको रहेछ । भर्ना हुनलाई पहिला एक महिना बराबरको पैसा तिर्नु पर्नेरे । पत्रिकाको वर्गीकृत डिस्प्लेमा ‘आर्कषक तलब सुविधा’ भनेका सबैमा चहारेको रहेछ । चहार्दाचहार्दै उ हारीसकेछ । यो देशमा जहाँ जागिर खुल्यो भनेर विज्ञापन हुन्छ त्यहाँ जागीर होइन जाल फिँजाइएको हुँदो रहेछ भन्ने उसको बुझाई रहेछ । ‘जालसाँजी, झेली गर्न नसक्नेले यो देशमा टिक्न सक्दैनन् दाजु’, उसले भन्यो।
विदेश जाने तयारी गर्ने बेलामा पनि दुई रुपैयाँको फोटोकपीलाई पाँच रुपैयाँ तिर्नु परेको, फोटो प्रिन्ट निकाल्न एक सयले हुनु पर्नेमा पाँच सय तिरेको, निःशुल्क भिसा भनिएको ठाउँमा एजेन्टलाई पैसा दिन्छु नभनी नाम ननिस्किएको सुनाएका उनले एयरपोर्ट अगाडि ओर्लदै भनेका थियो–यो देशमा सबैले ठग्नलायक म बाहेक को छ र? एक बेरोजगार बाहेक को हुन सक्छ र ? ऊ ओर्लने बेला सम्म सहचालकले तिनकुने र एयरपोर्ट भन्न छाडिसकेको थियो। अब ऊ भन्दै थियो– गौशाला, चाबेलm, चक्रपथ...।’
***
गाम्का पुग्दा केटो केही गुण्डा पाराका केटाहरुको घेरामा थियो । एउटा कपाल रातो पारेको केटोले उसको कठालामा समातेको थियो । ‘सय रुपैयाँ दिन्छस् कि सबैको अगाडि उठबस गर्छस्?’
‘दाइ, थाहा नभएर हो । एक चोटीलाई माफ दिनुस्’ उसले भन्यो ।
‘सालेलाई एक मुक्का देन अनि मान्छ।’ टोली सदस्य एक ट्याक्सी चालकले भन्यो । त्यसपछि उसले घर जान जोगाएको एक सय रुपैयाँ दियो।
अरब छिर्ने हजारौं युवा मेडिकल गर्नु अघि गाम्का पुग्ने गर्छन्। गाम्काको भवनमा सर्वसाधरणले प्रयोग गर्ने शौचालय छैन। त्यसको फाइदा ट्याक्सी चालक र स्थानीय टोले गुण्डाले उठाउँदा रहेछन् । खिया लागेको टिनको बार बेर पारेको ट्वाइलेटमा पिसाब फेरेको प्रति व्यक्ति ५ रुपैयाँ उठाएर बाँडीचुडी खाने रैछन्। केटोले उक्त शौचालय नदेख्नुको सजाय भोगेको रहेछ।
गाम्काले थापाथली नजिकैको एक मेडिकल सिफारिस गरेको थियो । बीचमा सार्वजनिक बिदा परेकोले हामी दुई दिन पछि पुनः भेट्यौं। पैसा र कागज बुजाएर नाम बोलाउने प्रतिक्षा गर्दैगर्दा ऊ टुप्लुक्क आइपुगेको थियो । ‘दही खाएको हो यार ?’ उसले सोध्यो ।
‘किन र ?’
‘हामीलाई रोक्ने भनेको नै मेडिकल ले हो नि, थाहा छैन ? धेरै जसोलाई त छातीको दागले रोक्छ । त्यसैले दही खानु पर्छ । दाग देखिदैँन।’ उसले भन्यो ।
मेरो नाम आउनै लागेकोले गइन् । उसले भने दही खान गयो।
भोलिपल्ट उसकै नाम ननिस्केपछि अचम्म लाग्यो ‘हिजो दही नखाएको?’ मैले सोधेँ ।
‘खान त खाएको नि । त्यसपछि पानी खान र्बििसएछ । नत्र घालघुल भएर दागसाग देखिदैँन थियो होला।’ उसले पीडामा हाँसो फुराएर भन्यो।
हामी दिक्क मानेर चउरमा कुरा गरेर बसिरहेका थियौं। एक जना मान्छे कानेखुसी गर्न आइपुग्यो– अलिअलि पैसा दियो भने मेडिकलको रिपोर्ट मिलाउन मिल्छ। मात्र दश हजार लाग्छ।’
‘त्यत्रो पैसा ?’ उसले सोध्यो ।
‘आठ हजारसम्ममा मिल्छ होला। मेरो मान्छे हुन कुरा गरी दिन्छु।’ कानेखुसी गर्ने मान्छेले भन्यो।
उ अन्तिम पटक यो देशमा ठगिन तयार भयो । गत नोभेम्बर महिनाको पहिलो हप्ता उसले एजेन्टलाई कबुल अनुसारको पैसा पनि बुझायो ।
एयरपोर्टमा बिदाई गर्न उसकी श्रीमती आएकी थिई। उनीहरुको पाँच महिना अगाडि मात्रै विवाह भएको थियो। उसका कानमा गहना थिएनन्। श्रीमतीका गहना बन्धकी राखेको पैसाले उसले एजेन्टको गोजी भरेको थियो ।
ठक्कर कान्त नभई पासपोर्टमा उसको नाम शोभा कान्त रहेछ । उसले आफ्नी श्रीमतीलाई बन्धक परेको गहना फिर्ता गरेर छिटै शोभा भरी दिने एयरपोर्ट भित्र बाचा ग¥यो । श्रीमतीले बिदाईको आँसु खसाली। श्रीमतीको आँसु नबिलाउँदै आकाशै आकाश ऊ ३ हजार ९ सय १७ किलोमिटर टाढा अरबमा हाम फाल्यो।