देशको बजेट जब अरब पुग्यो, युवा भागे अरबतिर
अब देशको बजेट खरब नाघ्यो, यो खरब देश छ कतातिर?
(१)
बायुसेवा निगमको त्यो लगानी उड्यो सिद्धियो
अब जलसेवा निगम खोल्छन्, नउड्ने डुब्ने भित्रियो।
(२)
जता फर्क्यो झिलिमिली बिजुली, खानिखानी तेलैतेल
यतै एयरपोर्ट उतै हेलीप्याड देशैभरि रेलैरेल
शहर गाउँ जता जाउँ मेट्रै मेट्रो ठेलम ठेल
घरघरमा ग्यास टोलटोलमा उद्योग, सर्प विच्छी भ्यागुतो मेल
तलब भत्ता बढीबढाउ छ, तक्मा सम्मान बाढी भेल
आयो मदारी मसान जगाई काला जादु हेरौं खेल!
(३)
बजेट पास, विधेयक पास, नीति कार्यक्रम पास
प्रस्ताव पास, सरकार पास, आसे पासे सप्पै पास
डिस्टिङ्सन् र फस्ट डिभिजन भन्दा कम कोही छैन
देश र जनता यी दुई बाहेक फेल हुने कोही छैन।
(४)
बजेट भाषणको किताब जोख्दा जम्मा चार सय ग्राम भयो
किन्नेलाई बेच्न खोजेको जम्मा दुई रूपिया दाम दियो
मैले भने, -
‘अरे भै’या, देश विकासको किताब हो यो
कत्रा कत्रा सिद्धान्त छन् यसमा, खर्बौं को हिसाब हो यो’
उसले भन्यो -
‘अरे साहुजी, यसको काम त सकी सक्यो
यसबाट हुने फाइदा भाषण करनेले लिई सक्यो
छोक्रा फाइदा अरू बाँकी अरूलेनै उठाई सक्यो
अब आठ आनाको चना न अटाउने छ पाना
तै पनि मैले त दुई रूपियाँ दिई सक्यो
अर्को वर्ष बरू साहुजी अझ ढेर भाषण कराउनुहोस्
भाषणको अलि ठूलो चाक्लो किताब छपाउनुहोस्
यो बजेटबाट तपाईँ पनि
कमसेकम पाँच रूपिया त कमाउनुहोस्!’
(५ )