मलाई अफिस जान ढिलो भईसकेको थियो! बिहानीको १० बजेको हुँदो हो! हतार-हतार म आफ्नै पर्स खोज्दै थिएँ,कहाँ राखे छु कुन्नी! भनेको समयमा सामान पनि कहाँ भेटिन्छ र फेरि? एक्लै फत्फताउँदै थिएँ।
'कोही हुनु हुन्छ?'केटी मान्छेको मसिनो आवाज सुनेँ। हतार भएकोले केही जवाफ फर्काइन।
'कोही हुनुहुन्छ?घरमा कोही हुनु हुन्छ?' अल्लि जोड दिएको आवाज आयो।
म आफ्नो कोठा बन्द गरेर भर्याङ्मा निस्कीएँ,अफिसका लागि। गेट बाहिर एउटी युवती उभिएकी थिई। २५-२६ वर्षकी, असाध्यै राम्री र माया लाग्दी।
'हजुर कसलाई खोज्नु भयो होला?' मेरो आवाज सुनेर उसको शरिरमा सानोतिनो हलचल भयो। झस्कीएर उसले माथि तिर हेरी।
'कोठा खाली छ रे यहाँ,दिन मिल्छ?' उसको मसिनो आवाज असाध्यै मिठो थियो।
'दिन त मिल्छ अहिले मलाई हतार छ,घरमा कोही हुनुहुन्न। बेलुका आउनुहोस है!'
मैले निर्णय सुनाएँ र ढोका ढ्याप्प लगाएँ। हाँस्ने पनि मलाई फुर्सद थिएन, वास्ता नगरि हिँडेँ।
बेलुका अफिसवाट घर आउँदा ती युवती त्यहीँ रहिछन्। म झस्किएँ।
'लौ तपई अहिले सम्म यही?'
'हजुर...!' यति छोटो उत्तर दिएर उनि चुपचाप लागिन्। मैले गेट खोलेँ र उनलाई भित्र आउन इशारा गरेँ।
'एउटामात्रै कोठा खाली छ, कतिजना हो?'
'म मात्रै,' उसको जवाफ सुनेर मैले तल देखि माथि सम्म हेरेँ। गुलावी कुर्ता सुरवाल लिगाएकी खै कताकता हराएका निर्दोष तर उदास आँखा! तर रहस्यमय लाग्ने गरि उनको शरिरको भाषा समेत चुपचाप थियो।
'तपाईको परिवार?,' शंकालु आँखाले मैले उनलाई गढेर हेरेँ।
'हुनुहुन्न।'
'के गर्नुहुन्छ,' मैले फेरी सोधेँ। 'अहिलेसम्म त केही गर्दिन, जब खोज्दैछु,' उनका ओठ बल्ल तन्किए।
'घर कहाँ हो नि, बुवाआमा के गर्नुहुन्छ?,' मैले लत्तो छोडिन। घरमा बस्न दिने जो भएको थिएँ।
'धादिङ,' उनले मिठो आवाजमा सुस्तरी तर एकशब्दे उत्तर दिन्थिन् त्यसैले यहाँ भन्दा बढि कुरा सोध्ने आँटै आएन।
कोठा यत्तिकै खाली थियो। बुवाआमा दाई भाउजु भेट्न अमेरिका जानुभएको थियो। मैले कोठामा बस्न दिने भएँ।
सुविधा र भाडा को कुरा मिलेपछि मैले सोधेँ,'कहिले देखि बस्नु हुन्छ?'
'अहिलै देखि,' उनले भनिन्।
म फेरि झस्किएँ।
उनले थाहापाइन्। उनका आँखा चुपचाप भित्तामा हेरेर टोलाउन थाले।
म निस्किएँ।
बेलुका तिर उनको कोठामा मान्छेको आवाज आयो म बाहिर निस्किने निहुँले झरेँ।त्यही चोकको पसलबाट विस्तरा ल्याइदिएका मानिस रहेछन्।
भोली पल्ट देखी लगातार ३ दिन विदा थियो म घरमै थिए!उनि पनि थिइन्। तर उनको कोठाबाट केही आवाज पटक्कै आएन। न त खानापकाएको बास्ना आउँछ।
संझेँ,सामानको नाममा एउटा झोला मात्र थियो उनिसँग! नजाने झोला भित्र के-के थियो! दुई दिन सम्म त उनी कतै निस्केको मैले देखिन। कस्तो गुप्तवास हो यो?
यति अचम्मकी मानिस मैले देखेकै त थिइन।
मनमा उनका बारे धेरै कुरा खेलेपछि मैले त्यो कोठाको ढोका ढकढकाएँ। घर्याक्क ढोका उघार्दै भनिन, 'ए तपाईँ पो! आउनुस भित्रै,' अहिले भने उनको अनुहार केही उज्यालो भएको थियो।
आँखा भने उस्तै उदास र टोलाइरहेजस्ता! किनकिन मलाई उनको चुपचाप रहने बानी देखेर भित्र-भित्र डर लागिरहेको थियो! म उनको खाटको छेउमा बसेँ।धन्न हाम्रै खाट थियो र उनले त्यहाँ विस्तरा ओच्छाएकि थिइन्। उनको झोला त्यही खाटको मुनि तिर अलमलिएको थियो। खाट र झोला सिवाय केही थिएन। आफ्नै घरको एउटा कोठा मसान घाट जस्तो लाग्यो मलाई!
'तपाईको नाम के हो नि? हेर्नु त मैले आजसम्म सोध्नै विर्सेको!' हाँसेँ।
'मिरा!' उनी मुस्कुराइन्। हाँसेको त सबैलाई राम्रो हुन्छ तर उनको मुस्कानले अहिलेसम्मको मेरो डरलाई नै पखालिदियो।
'अनि हजुरको विहे भैसक्यो?' मैले नसोधुँ भन्दा भन्दै सोधिदिएँ।
उनको ओठ र अनुहारबाट झ्याप्प निभ्यो त्यो मनै हर्ने मुस्कान। अमिलो अनुहार पारेर ति टोलाएजस्ता आँखाले मलाई उनले हेरिरहिन्। झन डर पो लाग्यो मलाई! अघिजस्तै डर फेरी मनभरी मडारीयो।
धत, किन सोधेछु! उनले केही जवाफ दिइनन्।
'म जान्छु है?' बस्न पनि अप्ठेरो लागेपछि म हिँडिदिएँ।
'हस,!' मायालु आवाज थियो क्यार तर म त झन् डराएँ। अनेक कल्पना आइरहे मनमा।उनका बारे नराम्रा शंकाले मेरो मन सल्किएको सल्कियै भयो। उनका बारे जान्न हरेक पटक नजिक हुन खोज्छु! जति म नजिक हुन खोज्छु उनि त्यतिनै टाढा हुन खोजिरहिन! आखिर कस्तो रहस्य लिएर यहाँ आएकी हुन् उनी? बोलाउँदा 'हजुर' र सन्चो विसन्चो वाहेक अहँ, उनको मुखवाट कहिलै केही सुन्न पाइदैन! कोठा सँधै थुनेर वस्छिन! भित्र मान्छे छ कि भुत केही थाहा हुदैन!
महिना दिन हुनै लागेको थियो। र मेरो मन पनि खाइरहेको थियो।
मसंग मात्रै होइन उनि कसै सँग घुलमिल भइनन्! रहस्य झन खतरानाक हुदै थियो!
एकदिन वेलुकीपख,चोकमा उनलाई देखेँ दौडिदैँ म उनि भएको तिर लागे! आज भने उनको अनुहार खुशीले धप्प बलेको थियो।
'कता हिँड्नु भएको?'मैले सोधेँ।
'मन्दिर!' उनी हाँसीन र फेरि भनिन्,'जाने हो ?हिड्नुस जाउँ,' उनी बोल्न थालिन् भनेत कति छिटै मन पगालिदिन्छिन भने।
हामी सँगै मन्दिर तर्फ लाग्यौँ। उनि अघि म पछि थिएँ।कति राम्री! मोटि मोटि मिलेको जिउ डाल हेर्दा भने खानदानीनै लाग्छिन।मनमन अनेक शंका उपशंका हुँदा हुँदै पनि म भने उनको नजिक हुन खोज्दै थिएँ। हामी मन्दिर बाट फर्किदै थियौ! स्वस्थ्य चौकी पसिन्। मैले बाहिरनै उनको प्रतिक्षा गरेँ खोई के औषधी लिएर आइन!
'किन कोठामै बस्नु हुन्छ? नयाँ लागेर हो?' मेरो चुलबुले मन नबोलि कहाँ बस्न दिन्थ्यो र?फेरि पनि उनि केही वोलिनन्! मैले नै सहज वनाइदिए 'त्यस्तो अफ्ठ्यारो मान्नु पर्दैन आफ्नै घर जस्तो सोचे हुन्छ है,'
उनी हाँसिन मात्र! उनको हाँसोले मेरोमनको बादल फेरि हट्यो।किन सवै कुरा छोडेर यिनी यहाँ आइन् होला शंकाले मलाई छोडेन।
'ल म जान्छु है माथि पनि आउने गर्नुस न है?' घर आएपछि मैले भनेँ।
'चिया पिएर जाने कि?'
हुँदैन भन्न सकिनँ! मलाई जति सक्दो उनि सँग नजिक हुनु थियो! म उनको कोठा भित्र दोस्रो पटक पस्दै छु। उस्तै छ कोठा जस्तो पहिला थियो! न धेरै सामन छ न केही सजावट!चिया पनि इलेक्ट्रोनिक पटमा पकाइन्। उनको त भान्सा नै कहाँ छ र।अचम्म मानिरहेँ।मेरो नजर झ्याप्प सिरानी मा राखिएको डायरी र त्यसमाथि राखिएको फोटोमा परे। एउटा छोरा मानिसको तस्विर छ! मैले यसो तन्किएर हेर्न खोजेँ उनले देखिन्। सामान्य हुन खोज्दै मैले सोधेँ 'तपाईको श्रीमानको तस्विर हो? कहाँ हुनु हुन्छ नि?'उनको अनुहारमा पसिना निस्कन थाल्यो!एक्कासी अनुहारको परिवर्तन देखेर मलाई अफ्ठेरो लाग्यो! फोटो सिरानीले छोपिन् र मलाई चिया दिइन्।
सँगै चिया पियौँ।उनले त मलाई केही पनि सोध्दैनथिन्। मलाई देखेपछि उनी डराउँथिन् पनि। मलाई पनि उनीसंग डर लाग्थ्यो।
'त्यो फोटो कस्को होला?प्रियको फोटो होला कि शत्रुको?' त्यो फोटोमा भेटिएको मान्छेलाई भेटेर यीनले के गर्छिन होला? अंगालो मार्छिन कि ज्यान लिन्छिन? अनुहार हेर्दा त एकदमै मायालु र निरास छ! तर यो अनुहारमा म कस्तो कस्तो रहस्य पनि देख्छु। अनुहारमा एउटा दृढता छ त्यसैले रहस्यलाई झन् बढी गहिरो बनाइदिएझैँ लाग्छ। के कारण होला त म अलमलमा छु कति सोधुँ एउटै कुरा! फेरी,सोधेर जवाफ पनि त आउँदैन। उल्टो डराएको आत्तिएको र मायालाग्दो अनुहार भैजान्छ उनको।
एकदिन उनैले मलाई बोलाइन्। म उनी देखि आजित भैसकेकी थिएँ। मनमनै उनी कहिले जालिन् भन्ने लाग्न थालेको थियो। उनले केही नराम्रो काम गरिन् भने? यस्तो डरले मेरो मन खान थालेको थियो। उनलाई माथि नै बोलाएँ। उनले मलाई भाडा दिइन्।
आज चैँ मैले उनलाई भने, 'तपाई आफ्नाबारे केही भन्नु हुन्न।मलाई पनि आफ्नो घरमा बस्ने मानिस को हो भन्ने कुराको तनाव हुन्छ। कि त तपाई अन्तै डेरा खोजेर जानुस।' उनको अनुहार रातो भयो र आँखाबाट आँशुका धारा बरबरी झरे। केही नबोलि उनी जुरुक्क उठेर तल गइन्। रुवाइले मलाई उल्टो पछुतो पनि भयो। मेरो मनमा जमेर वसेको उत्सुकता यसै मरेर गयो!
'अव कहिल्यै सोध्न आँट गर्ने छैन!' मैले कसम खाएँ।
भोलीपल्ट, म आफिस जाँदै थिएँ!
बाटोमा मानिसहरुको छिचोल्नै नसकिने भिड थियो। 'के को भिड होला ?' एउटालाई सोधेँ!
'उ केटी पार्कको रुखमा झुण्डिएर मरिछे!' उसले भन्यो।
'कहाँकी मान्छे?' नजिकै जान आँट नभएर मैले उनैलाई सोधेँ।
'खै, कहाँकि भन्ने कसैलाई थाहै छैन रे, पार्कको रुखमा झुण्डेकी थि,'
जवाफ सुन्दासुन्दै मैले पर आँखा तन्काएँ। म भिड छिचोल्दै, लास निर पुगेँ। पुलिसले रुखबाट तल झारीसकेको रहेछ। त्यो लासमा मैले मिराको अनुहार देखेँ। मेरो मुटु खुम्चियो। लगलग खुट्टा काँपे। ओठमुख सुक्यो। अनि मन र शरिरमा ह्वारह्वार आगो बलेजस्तै भयो। चिटचिट पसिना आयो।
म त्यहीँ बाट फरक्क फर्किएँ। मिरा बस्ने कोठाको चावी खोलेँ।
कोठामा सबै सामान थिए। सिरानीमुनि हेरेँ त्यही डायरी थियो। डायरीमा च्यापिएको फोटो पनि साथै थियो।
उनले लेखेकि थिइन- म आफुले आफैलाई कसरी दोषि ठानूँ? समाजले जात पो ठूलो सानो बनाईदिएको थियो। संयोगले पो म सानो जातमा जन्मिएँ। मैले सजाय किन भोग्दै छु? यो सब परम्परा अन्धविश्वासका कारण बसेको भन्ने थाहा हुँदाहुँदै पनि किन म दुखि छु?यो कस्तो उल्झन हो!
मान्छेहरु मेरो दुखको कारण खोज्छन् । मेरो अस्तित्वको हिसाब माग्छन्। मेरो परिचयको निसान माग्छन्। म किन दिन सक्दिन?के मैले यो समाजको रितिथितिलाई स्वीकार गरेँ? मान्छेहरुका प्रश्न जायज थिए! तर मैले नाजायज सम्झिँए! किन संझिएँ कुन्नी?
यस्को मतलव यो होइन कि मैले वास्ता गरिन!
शायद म विवस छु। त्यो अतित सँग जोडिन मन छैन!
तर जति म मेरो अतित सँग भाग्न खोजेँ उतिनै त्यो अतितले मलाई पछ्याईरह्यो! यो प्रश्न गर्ने समाजलाई एकदिन गतिलो उत्तर दिन सकुँ।
यो दुनियाले प्रमेको कदर गर्न सकेन! समाज त जातसंगको प्रेममा छ म मान्छेसंग प्रेममा परेँ। दलितले माथिल्लो जात सँग प्रेम गर्नु पनि पाप हुने समाजमा मैले के गर्नु पर्छ थाहै पाइन। मलाई प्रेम गर्छु भन्नेले नै मेरो जातलाई तगारो माने पछि मैले के गर्नु? एक अर्कालाई साथ दिने वाचा उसले विर्से पछि के लाग्छ र? समाज त्यागेर मलाई विहे त गर्यो तर साथ भने दिएन!
अनि मलाई गर्भमा हुर्किरहेको शिशुलाई लिएर माइतिमा बस्ने आँट पनि भएन। विश्वासै लुट्नेसंग मायाको आश गर्न पनि मन लागेन। उसले गर्दै गरेको विहे विगारीदिन मन लागेन कुन्नी किन। किनकि उसलाई मैले आफुलाई भन्दा बढी माया गर्थेँ।
सबै छोडेर आएँ यहाँ तर यहाँ पनि प्रश्नहरुले मलाई घेर्छन्। मैले के गर्ने भन्ने कुराको उत्तर दिन सक्दिन अरुलाई कसरी दिउँ?के अतित भूल्नलाई मैले यो धर्तिबाट विदा लिन पर्ने हो ?
कोशिश त गरेको हो नि तर सकिन। मर्न पनि नसक्ने कति कमजोर भएछु ?
जम्मामा मैले बुझेँ - यहाँ साँचो प्रेमको जीत हुदैन रहेछ!
डायरी पढेर मलाई भाउन्न भयो।
तस्ब कस्को थियो मैले बुझिहालेँ। मेरा आँखाबाट बलिन्द्र आँसु झरे।
मैले किन उनलाई हिजो त्यति रुखोगरि भनेहुँला भन्ने पश्चातापको आगो शायद करुणा र आँशु बनेर बगिरहेथ्यो।
'सरि !' मेरो ओठबाट खुस्कियो।
त्यही बेला हो, मिरा कोठाको ढोका घक्रक्क गरेको र मलाई त्यही मायालु आवाजले बहिनी भन्दै बोलाएको।