ईश्वर वल्लभ मलाइ मनपर्ने कवि हो। उहाँको आफ्नैखाले एउटा पन छ, त्यसले कवितामा बेजोड अभिव्यक्ति पाएको हुन्छ। यति हुँदाहुँदै पनि ईश्वर दाइ मलाई सबैभन्दा मनपर्ने कवि चाहिँ होइनन्। कवितामा उहाँको पुस्ता नै एकसे एक कविहरुले भरिएको थियो।
तर, जब कुरो गीतको आउँछ। भन्न मनलाग्छ, ‘गजब इश्वर दाइ।’ कवितामा जति क्लिस्टता छ, उहाँका गीतमा त्यति नै सरल शब्द बग्छन्।
चाहे नारायण गोपालको ‘दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ’ होस् वा भक्तराज आचार्यको ‘हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहरजस्तो फेरि भएर आउँछ’, यी शब्दहरुमा म जहिल्यै पनि उहाँलाई अनुभूत गरिरहन्छु।
विद्यार्थीकालदेखि नै म उहाँका गीत सुन्थेँ। ०३२ सालमा एसएलसी दिएर काठमाडौं आएपछि त मलाई साहित्यको राम्रै चस्का बसिसकेको थियो। त्यसपछि ईश्वर दाइका गीत सुन्ने मात्र होइन शब्द पनि पढ्न सुरु गरेँ।
त्यसको केही अघिमात्र उहाँले कविता संग्रह ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’का निम्ति मदन पुरस्कार पाइसक्नुभएको थियो।
ईश्वर दाइ त्यसै पनि रमाइलो मान्छे । कविता र साहित्यमा रुचीको कारणले उहाँसँग नजिकिन झनै सजिलो भयो । त्यो बेला रेडियो सुनिन्थ्यो । कुनै गीत मनपर्नेबित्तिकै रेडियोमा बजेको गीतको स्पीडमै त्यसलाई म सारिदिन सक्थेँ। त्यसरी सारेका गीतहरुको डायरी नै छ ।
काठमाडौं आएको केही समयमै ईश्वर दाइसँग भेट पनि भयो। उहाँ युवा पुस्तासँग घुलमिल हुन रुचाउने। पछि रुपरेखामा उहाँले ‘बल्लभ र नयाँ प्रतिभा’ भनेर पाँच छ जना हाम्रो पुस्ताका साथीहरुको बारेमा लेख्नुभयो। यद्यपि, अन्तर्वार्ता मसँग पनि लिइसकिएको थियो। तर, छ अंकपछि बन्द नै भयो। पछि बन्द भएको सन्दर्भसहित मेरा बारेमा कान्तिपुरमा दुई तीनवटा लेख ईश्वर दाइले लेख्नुभएको थियो। इश्वर दाई रमाइलो मान्छे। हामी ठट्टा गथ्र्यौं।
एक जना हाम्रा समकालीन साथी थिए जीवन आचार्य। उनी कविता पनि लेख्थे, चित्र पनि कोर्थे। उनको पेन्टिङ प्रदर्शनी एकपटक सिटी हलमा भएको थियो। त्यो बेला ईश्वर दाइसँगको घटना म सम्झन्छु। उहाँले भन्नुभएको थियो, ‘रंगको पनि आफ्नै लय हुन्छ, ताल हुन्छ, संगीत हुन्छ।’ हामीले पक्क परेर सुन्यौं। उहाँले फेरि त्यो लाइनलाई पुरा गर्दै भन्नुभयो, ‘हुँदैन कसैले भन्छ भने आजदेखि ईश्वर बल्लभले भन्यो र हुन्छ ।’
यस्तो विशिष्ट चेतमात्र होइन। लागेको कुरालाई यसरी कमाण्डसहितको भाषामा बोल्ने मान्छे पनि हुनुहुन्थ्यो, ईश्वर बल्लभ। ईश्वर दाइसँग ठट्टा पनि हुन्थ्यो। ठट्टा रमाइलो कस्तो हुन्थ्यो भने जस्तो कि जीवन आचार्यको घरमा म एकचोटी जाँदाखेरी कविताको माहोल थियो।
त्यहाँ मैले भने ‘ईश्वर दाइका आगोका फूल हुन्, आगोका फूल होइनन् भन्ने कविता संग्रहको विषय सूची आफैँमा कविता छ।’ सबैले सोधे कसरी? मैले भर्खरै पढेर सिध्याएको त्यो संग्रहको विषय सूची आगाडि राखेर ईश्वर दाइकै सामुन्ने वाचन गरेर सुनाएँ– ‘नितान्त, गीतान्त, म नेपाल सोच्न थालेको छु।’
त्यहाँ सबै हाँसे। एकछिन दाइ पनि आफैँ जिल्लिनुभयो।
ईश्वर दाइको गीत किन राम्रो हुन्थ्यो भने उहाँको गीत साहित्यका लागि हुन्थ्यो। हरेक कुराका थुप्रै उद्देश्य हुन्छन्। ‘ईश्वर दाइका गीत के का लागि?’ भनेर सोच्ने हो भने मनले एकसाथ भन्छ साहित्यका लागि।
कसैले संगीतमा मिलाउनका निम्ति गीत रचना गर्छन्, कतिले चलचित्रमा दिइएको दृश्यका निम्ति भनेर गीत लेख्छन्, अरु पनि थुप्रै उद्देश्य हुन्छन्। तर, ईश्वर बल्लभको गीतसँग कवि ईश्वर बल्लभ नै अर्को रुपमा गीतकार भएर प्रकट हुन्छ। रचनामा हुने साहित्यिक आनन्द नै उहाँको गीतको विशेषता हो। कतिपय गीत संगीत भरेपछि मात्र आनन्द दिने हुन्छ। उहाँका गीत शब्दमै आनन्दित पार्ने हुन्छन्। ईश्वर बल्लभको गीत पढ्दा पनि आनन्द लाग्छ, सुन्दा पनि आनन्द लाग्छ।
त्यो समय एक किसिमको समय थियो। व्यावसायिक भन्ने शब्द यहाँनेर प्रयोग गर्नु ठीक हो कि होइन मलाई थाहा छैन। व्यावसायिकताभित्र धेरै कुरा पर्छ। हामीले आर्थिक हिसाबले मात्र व्यावसायिकतालाई बुझ्दै आइरहेका छौं। त्यही हिसाबले भन्ने हो भने अहिलेका सर्जकहरु बढी व्यावसायिक हुन थालेका छन्।
यो गीत संगीतमा मात्र होइन, सबै क्षेत्रमा धमिलिएको अवस्था हो। सबै क्षेत्रमा व्यावसायिकता हावी हँुदै गएका कारणले त्यस्तो भएको हो। पछिल्लो पुस्तामा पनि साहित्यिक मूल्यका गीत लेख्ने भाइबहिनीहरु नभएका होइनन् । श्रवण मुकारुङ, रमेश क्षितिज, भावेश भूमरीका गीतहरु अहिले पनि राम्रो हुन्छन्। अरु पनि छन्।
तर, त्यसलाई प्रश्रय कति दिएका छौं? मिडिया कतिको जिम्मेवार छ? मिडिया जिम्मेवार नभइदिएकैले राम्रा कुराहरु छायामा पो परे कि? त्यो सँगसँगै अर्को कुरा चाहिँ हाम्रै क्षेत्रको पनि छ। जस्तो कि एकपटक कालिप्रसाद रिजाल दाइले भन्नुभएको थियो। ‘आँखा छोपी नरोउँ भनी भन्नु पर्या छ’ र ‘झ¥यो जिन्दगी’जस्ता शब्द लिएर गयो भने अहिले कसले गाउने? उतिबेला नारायणगोपाल थिए। अहिले छैनन्।
गीतकार मात्र भएर पनि हुँदैन, उसको शब्दलाई त्यहीस्तरमा पुगेर बुझ्नेदेखि लिएर संगीत भर्ने चाहियो। अनि त्यहीस्तरमा पुगेर वा भनौं डुबेर गाउने चाहियो। त्यो पनि छ। व्यावसायिकताको नाममा हामी जुन कुद्या छौं, आर्थिक हिसाबले मात्र सोच्ने काम भइरहेको छ ।
सुरु–सुरुमा मैले गीत लिएर संगीतकारहरुकहाँ जाँदा विनम्र भएर अनुरोध गर्थें, ‘दाइ यति एउटा गीत लेखेको थिएँ...।’ यसरी पुगेको बेला त्यो बेलाका नामी संगीतकारहरु मलाई आश्चर्यमा पार्दै, ‘तपाईं त कवि होइन?’ भनेर सोध्थे। मैले लेखेका कविताहरु सुनाउँथे। अर्थात् त्यो स्तरको अध्ययनशीलता थियो। त्यो हराउँदै गएको छ। संगीत क्षेत्रको नोक्सानी भनेकै यही हो। हिजो नारायणगोपालले पैसा पाउँछु भनेर कार्यक्रम गरेनन्। सिद्धान्तमा संघर्ष त गरे। ‘पैसा नदिए गाउँदिनँ’ त भने तर प्राथमिकतामा पैसालाई भन्दा सिर्जनामा आफूलाई राखे।
मैले पनि अहिले गरिरहेको त्यही हो। पारिश्रमिक नलिइकन फोकटमा गीत दिन्नँ भन्ने मेरो पनि सिद्धान्त हो। तर, गीतै लेखेर घर चलाउँछु भन्ने कहिल्यै सोचेको छैन। हो, त्यो किसिमको पन चाहिन्छ। पछिल्लो समय यो छैन भनेको होइन। छ। तर, पैसाको पछि लाग्ने हुलका सामुन्ने निकै पातलो छ।
नारायणगोपालकै समयमा हामी सँधैभरि बाँच्छौं भन्ने पनि होइन। कतिपय त राम्रा पक्ष पनि आएको छ। प्रविधिले विकास गरेको छ। प्राविधिक हिसाबले हामी धेरै अगाडि आइसकेका छौं।
तर, प्रतिशतका हिसाबले हिजो जति उत्पादन हुन्थ्यो त्यसमा पचास प्रतिशतभन्दा बढी राम्रा हुन्थे। सिर्जनशीलता हुन्थे काव्यात्मकता हुन्थे। त्यसको गाम्भीर्यतालाई बुझेका मानिसहरु थिए। अहिले चाहिँ त्यो प्रतिशत व्यावसायिक भनिने नाममा धेरै बढेर गयो।
बजारमा के चल्छ भनेर सोचिरहने हामी बजारमुखी भयौं। एउटा आदर्श सर्जक भनेको एउटा आदर्श नेताजस्तै हुनुपर्छ। आम मासले यो भनिरहेको छ भनेर त्यसैमा बगिरहने नेता हुने कि मास गलत बाटोमा हिँडेको छ भने उसको रुचीलाई अर्कोतिर मोडेर हुन्छ वा के गरेर हुन्छ त्यसलाई सही बाटोमा ल्याउनसक्ने क्षमता राख्ने नेता हुने? सर्जक पनि त्यस्तै हो।
यद्यपि, म नयाँभन्दा नयाँ पुस्तासँग काम गर्न रुचाउँछु। तर, व्यवहारिकतामा कस्तो कठिनाइ छ भने, नयाँ पुस्ताका भाइ–बहिनीलाइ हामीसँग खुलेर व्यवहार गर्न गाह्रो लाग्दो रहेछ।
सिर्जनाको क्षेत्रमा नयाँ र पुरानो, सिनियर र जुनियर भन्ने हुँदैन। हामीभन्दा अगाडिका पुस्ताले पनि यस्ता सोच राखेनन्। म पनि राख्दिनँ।
यस्तो कुराहरु सम्झँदा पनि ईश्वर दाइको मिलनसार व्यवहार याद आउँछ। यहाँ राखिएको तस्बिर २०५६ साल पुस महिनाको हो। म्युजिक नेपालले उसको १६ औं वार्षिकोत्सव काठमाडौंभन्दा बाहिर मनाउने योजना बनाएको थियो। त्यसैअनुसार हामी काठमाडौंबाट पोखरा पु¥याइएका थियौं।
झलकमान गन्धर्वदेखि इश्वर बल्लभसम्मको उपस्थिति थियो त्यहाँ। झन्डै १५ जनाको टोली काठमाडौंबाट एउटै मिनीबसमा अटाएर हिँडेका थियौं।
भोलिपल्ट हामी पोखरा पुगेपछि घुम्नका निम्ति सराङकोट पुग्यौं। ईश्वर दाइले तिर्खा लाग्यो भन्नुभयो। मसँग पानीको बोतल थियो। मैले दाईलाइ दिएँ। त्यो खुलेको हिमाल, स्वच्छ हावा, उज्यालो परिवेश र पानी पिउँदै गरेका ईश्वर दाइ देख्दा निकै गहिरो तृष्णा मेटिएको झल्को मिलिरहेको थियो। ‘फोटोकवि’ कुमार आले पनि सँगै हुनुहुन्थ्यो। उहाँ अरु–अरु फोटो खिच्नमा ब्यस्त हुनुहुन्थ्यो। मसँग पनि क्यामरा थियो। म पनि फोटोको शौखिन। मैले मेरो क्यामरा बढाउँदै ‘कुमार भाइ सबै छोडेर यो खिचिदिनुस् त’ भनेँ। त्यतिबेला उहाँले खिचिदिएको फोटो हो यो।
त्यतिखेर ईश्वर दाइ भनिरहनुभएको थियो ‘सर्वाङ्ग, उदाङ्ग माछापुछ्रे देखियो।’ यस्तो थियो उहाँको अभिव्यक्ति शैली। त्यस दिन हामीले करिब एक डेढ घन्टा त्यहाँ बसेर उघ्रिएको हिमालको आनन्द लिएका थियौं।सिर्जनाका क्षेत्रमा संगतले ठूलो अर्थ राख्छ। नेपाली संगीत कुनै बेला यस्तै संगतहरुले स्वादिलो बनेको थियो।
(कुराकानीमा आधारित)