यो पवित्र बुद्ध भूमिमा,
क्रान्ति र युद्धको खेति फस्टाएन
आऊ शान्ति र सद्भावको खेती गरौँ।
हिम्सा, जात, धर्मको राजनितीले खल्बल्याएको शान्ति फिर्ता गर्न
आऊ मिलेर समता र सद्भावको दियो बालौं।
बुद्ध दर्शन र मार्गबाट आफैँ विचलित छन्
हाम्रा मानसिकता र आचरणहरु
छिमेकीसँग बुद्ध जन्मिएको सर्टिफिकेट खोज्नको के अर्थ?
हत्केलाले सूर्य छेकिन्न, दुनियाँलाई थाहा छ
बुद्ध नेपालमा जन्मिएका हुन् भनी,
तर प्रश्न : के हामीले हाम्रा व्यवहार र आचरणहरुमा
बुद्ध नेपालमा जन्मिएको प्रमाणित गर्दैछौँ?
बुद्धले भने, पहिला तिमी बदलेऊ
अनि बदलिनेछ तिमीले भनेको संसार।
हामी त पहिला आफू नै नबदलियी
लाग्यौं पहिला संसार बदल्न
आफ्नै देशमा जात, धर्म ,क्षेत्र, हिम्साको आगो लगाई
हामी विश्वलाई शान्ति र बुद्ध सन्देश सिकाउँछौँ।
आफैँ कालोबजारी मलजल गर्छौं
तिनैसँग समान खरिद-बिक्री गरी,
पैसा र शक्तिको आडमा घुस दिन तयार भई
हाम्रै काम पहिला गराउछौं हामी,
अनि भन्छौं कालोबजारी मौलायो, भ्रष्टाचार फैलियो,
सरकार यसलाई रोक
मानौं सरकार पालनकर्ता विष्णुले पठाएको दूत हो
छु मन्तर गरी समस्या हल गर्ने।
हामी तीन करोड नेपालीले मिलेर बिगारेको काम
त्यो बबुरो सरकार एक्लैले के गरोस्?
गर्न सक्दैन
अनि चाहिन्छ हामीलाई कसैले बनाइदिएको
नया जादुमयी सरकार।
आऊ अधेरीलाई सत्तोसराप गर्ने,
हाम्रा यी उर्जाहरु खेर नफालौं
बालौं दिओ सानै भए पनि, शान्ति र सम्वृद्धिको
जसले दिओस् थोरै भए पनि प्रकाश यो अन्धकारमा।
आऊ बुद्ध जन्मिएको सर्टिफिकेट अरुसँग खोज्न छोडी
पहिला लागू गरौँ बुद्ध आचरण आफैंमा
हाम्रो परिवार देश हुँदै शान्तिको विगुल फुकौँ विश्वमा
अनि हेरौँ न कसले भन्दो रहेछ,
बुद्ध जन्मिएका हैनन् नेपालमा ?
मोरङ (हाल लण्डन)