आज पनि मलाई बिहानै नेपालबाट फोन आयो। फेरि उही प्रश्न, 'नेपाल कहिले आउने?' आजकल मलाई यो प्रश्न बारम्बार सोधिन्छ। आजमात्रै काकीले त्यही प्रश्न गर्नुभयो। अस्ति भाउजुले पनि त्यस्तै प्रश्न गर्नु भएको थियो।
दाइको पनि कचकच यहि कुरामा हुन्छ। उता मामा माइजुले जनै पूर्णिमा होस् वा दसैं सधै मलाई नै सम्झेको कुरा गर्नुहुन्छ। साथीभाइसँग फोनमा कुरा गर्दा होस् वा आफन्तहरुसँग कुराकानी गर्दा, 'नेपाल कहिले आउने?' भन्ने कुरा गफको प्राथमिकताको एक नम्बरमा नै पर्छ।
अब त यो कुराको उत्तर तयारी अवस्थामा राखेको छु। म पनि भन्छु, 'छिटै आउने हो ।' तर यो छिट्टै कति छिट्टै भन्ने कुराको जवाफ दिन भने त्यति सजिलो छैन। गत वर्षमात्रै म नेपाल जाँदा भनेको थिएँ, 'अब अर्को वर्ष फेरि नेपाल आउँछु।' त्यसैले पनि मलाई यो प्रश्न गरिएको हुनसक्छ।
गत वर्षको मेरो नेपाल यात्रा निकै रोमान्चित, सम्झनलायक र रमाइलो भयो। गत वर्ष नेपाल जाँदा मैले मेरो बाल्यकालको साथीसँग पनि भेट गर्ने मौका पाएँ। मेरो साथी अर्थात् उनी। उनीसँग म सँगै पढें, एउटै मजेरीमा खेलें, हुर्कें र बढें। गत वर्ष मैले उनीलाई अप्रत्यासित रुपमा भेटें। म पनि छुट्टी मनाउन मेरो गाउँ गएको थिएँ। उनी पनि ठिक त्यही नै बेला माइती आएकी रहिछन्।
उनी मेरो बाल्यकालको साथी हुन्। मेरो धेरै साथीहरु कृष्ण, रामु, ध्रुव, भीम, बाबुकाजी, शिव, बिष्णु, अमृतलगायत निकै मिल्ने केटा साथीहरु भए पनि उनीमात्रै एक जना विपरीत लिंगी साथी थिइन्।
उनी अर्थात् सरला। सरला मेरो बाल्यकालको साथी हुन्। त्यसैले पनि मेरो बाल्यकालको साथीको याद नआउने कुरै भएन। मैले उनीलाई बिर्सेको त थिइनँ, तर उनको धेरै याद पनि आउने थिएन।
मैले मेरो गाउँ छोडेको करिब २५ वर्ष भएछ। यहीबीचमा उनको बिहे भएछ। उनी दुई जना केटाकेटीको आमा पनि भइछिन्।
गत सालको हाम्रो भेट निकै छोटो थियो। मैले उनको सन्चो बिसन्चो सोधें। केटाकेटी र परिवारको बारेमा चासो राखें। उनले पनि ठिक त्यसरी नै मेरो खोजिनिती गरिन्। त्यहीबीचमा हामीले इमेल र फेसबुकको आइडी आदानप्रदान भयो। त्यसपछि उनी र म केही मिनेटको वार्तालापपछि अलग भयौं।
म त्यसको भोलिपल्ट काठमान्डु फर्कें। अर्को दिन मलाई उनको इमेल आयो। म मेरो साथीको घरमा थिएँ। मैले तुरुन्तै उनीलाई जवाफ लेखे र भने, 'सम्पर्क गरेकोमा धन्यवाद।'
मेरो इमेलको जवाफ पनि तुरन्तै आयो, 'किन त्यति धेरै औपचारिक जवाफ। म तिमीसँग औपचारिक हैन, अनौपचारिक सम्बन्ध राख्न चाहन्छु। म तिमीसँग मित्रता गाँस्न चाहान्छु।'
मैले पनि भने, 'ठिकै छ, तिमीलाई स्वागतम्।' मैले यो कुरा खास कुनै कुराको सोच विचार नगरी हल्काफुल्का रुपमा लेखेको थिएँ। उनीलाई के लाग्यो, मलाई थाहा भएन। तर मैले यो कुरा एउटा मित्रको लागि दिनुपर्ने तयारी जवाफ दिएको थिएँ।
त्यसको केही दिनपछि म नेपालबाट न्युयोर्क उड्ने बेला भैसकेको थियो। म यता आएँ। अनि म उताबाट यता आइनपुग्दै मेरो फेसबुकको इनबक्समा म्यासेज आइसकेछ, 'शुभ यात्रा', 'तिम्रो यात्रा सुखद् रहोस्' 'तिम्रो यात्रा कस्तो भयो?' आदि, इत्यादि। मैले पनि औपचारिक रुपमा सबै म्यासेजको जवाफ दिएँ। तर यो त एउटा सुरुवात मात्रै थियो।
समय बित्दै गयो। सरला र मेरो सम्पर्क पनि बाक्लिँदै गयो। उनले मलाई सम्पर्क गर्नुको आशय भने फरक रहेछ। कुराकानीको सिलसिला बढ्दै जाँदा मलाई उनको त्यो आशय बुझ्न गारो परेन। उनीलाई एउटा असल मित्र चाहिएको रहेछ। त्यो पनि केटा साथी अर्थात् ब्याईफ्रेन्डको रुपमा नजिकको मित्र।
हामी हरेक दिन विभिन्न सामाजिक संजालमार्फत कुराकानी गर्छौं। हामी आफ्नो मनको कुरा साटासाट गर्छौं। उनी अहिले मेरो मनको कुरा साट्ने म उनको मनको कुरा सुन्ने साथी भएका छौं। त्यसैले उनी चाहन्छिन्, म उनको नजिक बसुँ। उनको चाहना छ, म पनि नेपाल नै आऊँ, उतै बसुँ। त्यसैले, अब मेरो आफन्त र इस्टमित्रको मात्र हैन, उनको पनि प्रश्न छ, 'नेपाल कहिले आउने?'