विहानै शितका थोपाहरुले हिर्काउन थालेपछि मात्र थाहा भयो म त उज्यालो संसारमा रहेछु। जुन संसारको हेर्ने तिर्सनामा मैले एक एक पल प्रतीक्षा गरेर काँटे, त्यही संसारमा आउँदै गरेको समेत मलाई सुचना भएनछ। अँध्यारो संसारमा रहँदा कहिलेकाहीँ रेडियोमा सुचनाहरु आउँथे ‘वच्चा जन्मने वित्तिकै आउने आमाको पहेलो दुध वच्चाका लागि अमृत हुन्छ’ मैले त्यो धेरै खोजे अहँ कही भेटिनँ। सवैभन्दा पहिला पहेलो दुध पाउने मेरा ओठहरुले दुवोको स्पर्श गरे। त्यही दुवोको काँखमा पोखिएको जुनको आँसुले मेरो जिव्रोलाई पहिलो पटक शितल पारे। मैले पहिलो पटक जिव्रो हुनुको अनुभुति गरे।
आमाको न्यानो हात पाउने मेरो शरीरलाई दुवोले घोच्यो, म रोइन, सायद मेरो आँसुको अर्थ नभएको कुरा मेरो अवोध मस्तिष्कले वुझ्यो होला। आमाले आफ्नो मुटुवाहिर फ्याकेर सन्तानलाई त्यहाँ हुल्छिन् अरे, मैले पुरापुर गलत सुनेको रहेछु। आमा घरमा हुलिएर मलाई ढुंगामा फालेकी थिइन्।
धर्ती देख्ने अन्तिम दिनहरुमा मैले सुनेको यो माटो पनि आमा हो रे। मैले पनि मेरो पहिलो स्पर्श भएको यही माटोलाई 'आमा' भने। बोली आउँदैन थियो वस् मनले मात्र भने। मलाई सामान्य वोल्ने हुन पनि दुई वर्ष कुर्नै पर्छ नि। काखमा हुनुपर्ने म माटोमा थिए। संसार दुःखको रणभूमि हो। जहाँ हाँस्न भन्दा रुन बढी गाह्रो छ। हाँस्दा सवै जल्छन्, रुदा सवै वल्छन्। एकपटक राति कुनै गजल कार्यक्रममा सुनेको एउटा गीत मलाई साह्रै सम्झन मन लाग्छ। सम्झन त कति हो कति कुरा मन लाग्छ। सक्नु पो कसरी? दिमागको आकार जति त छु अहिले। रामकृष्ण ढकाल भन्ने गायकले गाएको गीत हो त्यो ‘अध्ँयारोमा कोही हुन्नन् साथी सवै उज्यालोका’ मलाई धेरै पटक यो गीत सुन्न मन लागेको थियो तर कसरी सक्नु ? पेट भित्रको मान्छे न त मेमोरी कार्ड थियो, न त मोवाइल नै। रेडियोहरु झुक्किएर मात्र यस्ता गीतहरु वजाउँछन्।
संसार देख्ने लालसामा गर्भभित्र रहनुको पीडा कति हो कति भयावह हुँदो रहेछ। आमाको आँखाले त धेरै पटक सँसार देखेको थिए तर अर्काको आँखाले छामेर मान्छेलार्इु कहाँ पो पुग्छ र? आफ्नै आँखाको ढकनी खोलेर नअघाउन्जेल संसार हेर्ने सपनाले मन तुलवुल वनाउँथ्यो। आँसु वर्षे भेल जस्तै हो। वर्खे भेल नभए यो सृष्टि बाँझो हुन्छ तर सवै यही भेललाई गाली गर्छन् विचरा भेलको के दोष? यी आँसुको पनि के दोष मनको घाँउले पठाउने त हो नि। विचरा निर्दोष आँसुहरुले अकारण दोष बोक्छन् थेग्न सके पनि, नसके पनि। यही आँसु त छ मान्छेसँग मन पखाल्ने। जस्तो सुकै खडेरीमा पनि अभाव नहुने। आँसु हुँदैनथ्यो त सायद संसारका आधा मानिसहरु पागलखानामा हुन्थे होला।
सेकेन्ड सेकेन्डमा रुपान्तरण गरेर वितेको थियो मेरो नौ महिना। कति घटना छन् जसलाई म सम्झन चाहेर पनि सम्झन सक्दैन अनि कति घटना छन् जसलाई म कुनै पनि इरेजरले मेट््न सक्दैन। विजबाट त हो नि सृष्टिको सुरुवात हुने। मेरो पनि सुरुवात त्यही बाट भयो। तर म मनोरञ्जनको उपज हुँ। मात्र मनोरञ्जन । केवल मनोरञ्जन। नजन्मियोस् भनेर जन्मिएको। एक अवैध विर्य हुँ म। वैध भएको भए मेरो जस्तो आकार आउँथ्यो या आउँदैनथ्यो। धन्य अवैध भएपनि म खुला संसारमा आउन सके। तर परिचय विहीन वनेर। वावु विहीन वनेर। समाजमा मान्छे वन्न नसकेको मान्छे वनेर। मैले जीवनभर आफुलाई डोर्याउने कुनै आैंलाहरु पाउने छैन अनि हट् घोडा हट् भन्दै चढ्ने पिठ्यु पनि। अझ मेरो विजदातासँग काँध ठोक्किँदा पनि मैले फर्केर हेर्ने छैन। जीवन परिचय विहीन हुनेछ।
सानो छु सायद त्यही भएर दिमागमा गहकिला कुरा अटाउन सक्दैनन्। साना तिना कुरा त्यो पनि विगत भन्दा पनि आगतले बढी दिमाग हल्लाउँछ। म जन्मने वित्तिकै आमाले मलाई झाडीमा फालेको रे। कुलोमा वगाउने मन थियो होला। वर्खामास कुलो ठूलै हुन्छ। छोरो वाचोस् भन्ने आशा त रहेछ नि। गाँउ समाजले पचाउन नसक्ने भोक लागेपछि आमाले रोजेको गलत वाटोवाट नै मेरो उत्पत्ति भयो। यो वाटो गलत हो भनेर मैले ठोकुवा चाहिँ गर्न सक्तिन। भोक मेटाउनु मेरी आमाको दोष हो? सवैका आँखाका गलत लाग्ने कुरा मेरो आँखामा भने जायज लागेको छ। मेरो वावु अनि आमा जसले मनोरञ्जन मात्र गरे तर त्यसको फाइदा उनीहरुलाई भन्दा केयौ गुणा बढी मलाई भयो। अहिले जसरी ढुंगा, माटो, रुख, विरुवा सवैको मुर्त आकार देख्नका लागि कम्ता संघर्ष गर्नु परेन मलाई।
कहिलेकाहिँ म जस्ता अवैधको फाइदा उठाउनेहरुका लागि जन्मिएको राक्षस मेरी स्टोप्स र परिवार नियोजनका विज्ञापन पेटभित्रै सुन्दा कता कता डर पो लागेर आउँथ्यो। झन् त्यो प्रचार आउँदा आमाले रेडियाको भोल्युम ठूलो पार्दा पेट कम्प नै जान्थ्यो। धन्न मैले धर्म गरेको रहेछु। अवैधलाई नामेट पार्ने मेरी स्टोप्सको आँगनैवाट आमा जाँदा पनि मलाई भित्रै सकिनु परेन। धेरै दुर्भाग्यकाबीच थोरै भाग्य लिएको रहेछु मैले।
सानो आकार पाएको एकदिन म आमाको छालाको सिरकमा लडिवुडि गरे। आमा मेरा बा या आफ्ना लोग्ने कसलाई सम्झेर एकोहोरो भएकी थिइन् होला। म कस्तो सन्तान मेरी आमाको लोग्नेलाई बा भनेर भन्न सक्तिन। मेरो चलाइसंगै आमाको दिमागमा पो वत्ति वल्यो। उनले कति हो कति ठाउँ मोवाइल गरिन्। मैले गन्नै सिकेको थिएन। फोनले उनको मनको कुरा वुझिदेला भनेको त उनले डोरी पो खोज्न थालिन्। ‘साले मोज गर्ने वेला नानाभाति गरेर मोज गर्छ अहिले भाग्न खोज्छ’ मेरी आमाले भनेका धेरै कुरा मध्ये मलाई यो मात्र याद रह्यो। मलाई डर पो लाग्न थाल्यो, आमा मर्ने भन्दा पनि आफुले संसार नदेख्दै निमोठिने कुराले।
खै के सोचिन् धन्न मलाई मारिनन्। मेरो साथी थियो एकजना जसको नामै थिएन। ऊ पनि म जस्तै ओडारमा लुकेको थियो। उचित अवसरको खोजीमा। म पनि त्यस्तै अवसर खोज्दै थिए। हामी एक भएर पनि हरेक कुरामा फरक फरक थियौ। उसलाई ओडारवाट निकाल्न उसका वावुआमा औला गनिरहेका थिए भने। मेरी आमा भने म ओडारवाट ननिस्किएको दिनको मात्र कल्पनामा मग्न थिइन्। एकाध पटक खोइँ को संग मलाई तुहाउने वरमाग्न मनकामना पनि गएकी थिइन्। आमाको पेटमा वाँधिएको पटुकाले मात्रै मलाई छेक्न सकेन। कुलोमा माटोको डल्ला लगाएर रोके जस्तो म कहाँ रोकिनसक्थे त। झन् झन् मैले आमाको पेट तन्काउँदै लगे। अनि जतिजति आमाको पेट तन्किदै गयो। उति उति पधेँरामा मेला वढ्न थाल्यो।
म संसार देख्ने आशामा रमाउँदै गएको थिए अनि मेरी आमा भने दुःखी हुँदै गएकी थिइन्। उनका कुकृत्यको लालपूर्जा थिए म। उनले कसैगरी आफूलाई चोखो देखाउन सक्दैनथिन्। उनको पेटमा निशानी वनेको थिए म।म कुनै विकसित देशमा जन्मेको भए सायद यसरी झाडिमा फालिनुपर्ने थिएन कि? नेपालमा त्यो पनि सानो गाउँमा जन्मिएर म सवैको अभिशाप वने। एक सिकारीले आमालाई सिकार गर्ने जाल फाल्दै सुनाएको थियो,‘अमेरिकामा गल्ली गल्लीमा यसरी वावु नभएका वच्चा जन्मन्छन् कसैले केही भन्दैन’ आमाले आफूलाई न्युयोर्क नजिकैको सहरमा रहेको कल्पिन अनि मेटाइन भोक। मैले यो गलत हो भन्न सकिनँ।
आफै कोही मृत्युको कारण वन्छ त? नियतीले मलाई यो माटोको स्पर्शवाट टाढा पार्न नसकेपनि भोलिका दिनमा म वाँच्नु नै मेरो पीडाको पहिलो कारण वन्ने छ। वावुको मात्रै परिचय खोज्ने समाजमा कसरी परिचय दिउँला? म जन्मनु नै आफ्नो जिन्दगी विनाशको कारण मान्ने आमाबाट मैले कस्तो लालन पालन पाउला? एकपटक मात्र पाइला टेक्न पाइने यो धर्तीमा म मात्र किन नाजायज वनेर जन्मिए हुँला? धेरै प्रश्न छन् मभित्र। जसरी जन्मिए यो संसारका महापुरुषहरु म जन्मने प्रक्रिया पनि त्यही त हो नि? गणेश जस्तो पार्वतीको मयलवाट म कहाँ जन्मेको हुँ र?
वाँच्नुको पीडाले मन आक्रान्त हुनेछ जसै अहिले मेरी आमालाई भएको छ। संसार देख्ने हरेकका आँखामा आशाका गुराँसहरु टाँसिएका हुन्छन् तर मेरो आँखामा भने सवै सवै ओइलिएका छन्। कारण पीडाको झुण्डले जीवनभर थिचिरहने म जस्ताहरुको पीडा यो समाजमा कहिले अन्त होला?