आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै भए पनि मैले मेरी आमाको परिचय पाएको दिन भनेको आमा बिरूप भएको दिन नै हो। जुन दिनलाई मैले जीवनकै औँसी पक्षको पहिलो दिन मानेकी छु । त्यो दिन सम्झेर ल्याउँदा अहिले पनि विक्षुब्ध बन्छु म।
सायद आमा त पीडाको रापले खारिइसक्नु भएकाले होला त्यस्तो देखिनु हुन्न । आमाको जीवन एउटा बृहत् पुस्तक हो मेरा लागि, जसलाई मैले धेरै पटक पल्टाएर हेर्ने जमर्को गरेकी छु। मलाई अन्य पुस्तकभन्दा त्यही आमाको जीवनरूपी पुस्तक धेरै रुचिकर लाग्छ । साँच्चै आमाले जीवनमा धेरै हण्डर र सास्ती बेहोर्नु पर्यो । उहाँ अहिले पनि गाईवस्तुले निलिसकेको खाना फेरि उघ्राएजस्तै आफ्ना अतीतका दुःखहरूलाई उघ्राउने प्रयास गर्नुहुन्छ।
अनमेल विवाहको सिकार बन्नुभएकी मेरी आमाले आफू ४० वर्षकी हुँदा नै बाबालाई जीवनबाटै बिदाई गर्नुपरेको थियो । सायद आमाको ठाउँमा बाबा भएको भए कुमार बनेर दोस्रो बिहे गरी घरजम बसाउनु हुन्थ्यो होला तर आमा, आमा भएकाले त्यसो गर्नु भएन । बरू त्यस दिनदेखि आमा ‘बाबा’ पनि बन्नु परेको थियो। बाबाको व्यवहार जति सर्लक्क आफ्नो काँधमा थाप्नु परेको थियो । जीवन आफ्ना लागि कहिल्यै बितेन उहाँको । जीवन अरूका लागि पनि जिउनु पर्दोरहेछ । मात्र सन्तान सुखका लागि मैनझैँ जल्दै आउनु भयो । जल्दाजल्दै अब त उहाँ जल्न पनि नसक्ने अवस्थामा पुगिसक्नु भयो । हो, पीडाले साँच्चै जीवनको अर्थ बुझाउँदोरहेछ । भोको पेटमा पटुकी डम्म कसेर पनि काम गर्नुभयो आमाले । भोकले छट्पटाएका आन्द्रा पनि छटपटाएर नै थाके बरू तैपनि जीवनदेखि कहिल्यै हार खानु भएन । आमाको त्यो साहसी कदम मेरा लागि मार्गदर्शक बनेको छ ।
मैले मेरी आमाबाट सिक्नुपर्ने कुराहरू धेरै छन् तर तीमध्ये कति कुराहरू जति नै कोसिस गरे पनि सिक्न सकेकी छैन । आज आमा भएर बाँच्दा धेरैपटक आफ्नो मनलाई आमाको मनसँग दाँज्ने प्रयास गरेकी छु तर कति पृथक् देखिरहेकी छु यी दुई मनका बीच । म त्यो उचाइमा पुग्नै सक्दिनँ । आमाले सहनशीलताको पराकाष्ठा नाघेर गृहस्थी धान्नुभयो । सङ्घर्षकी पर्याय बनेकी आमा जत्तिकै ठूलो अभावमा पनि कहिल्यै डुब्न लागेको घामजस्तो देखिँदै देखिनुभएन । जीवनमा कति सुख र दुःख बेहोर्नु भयो तर भोग गरिरहेका बखत यी सबै कुरा सम्झिरहने फुर्सद कहाँ थियो र उहाँलाई । आफैँ रित्तिएर पनि उहाँले हाम्रो मन भराउनु भयो मायाले ।
पतिको साथ पाउनेलाई त कति गाह्रो हुन्छ सन्तान हुर्काउन र व्यवहार धान्न भने एक्लै–एक्लै सम्पूर्ण जिम्मेवारी काँधमा बोकेर हिँड्दा पनि कहिल्यै थाकेनन् ती काँध । अहिले पनि उहाँको अनुहारमा कुण्ठा, अतृप्ति, गुनासो, रिस, राग केही देख्दिनँ म । सबै कुरा इरेजर लगाएर मेटिएजस्तै । वास्तवमा भोगाइले नै जिन्दगीका दागहरू मेटाउँदो रै’छ क्यारे !
आमाको जीवन कहानी पढ्दा उहाँले चारै युग भोगेजस्तो लाग्छ । जीवन भोग्दै र त्यसबाट मुक्त हुँदै आएको देख्छु । जीवन एक अर्थमा सङ्घर्षको यात्रा पनि रहेछ । मैले देखेँ र भोग्दै छु पनि । तर जीवन यति नमीठो भोगाइको पराकाष्ठा पनि रहेछ भन्ने कुरो मैले आमाको जीवन पढ्दै जाँदा बुझेँ । समयले आमालाई उमेर छँदै नितान्त सेतो बनाइदियो । आमालाई मायाले सुम्सुम्याउने हातहरू पनि चाँडै नै खोसेको थियो समयले, अनि प्रेमको मलम लगाउने मुटु चुँडेको थियो त्यो पापिष्ट समयले ।
आमाको जीवन भोगेर रित्तियो । काम, क्रोध, लोभ, मोह आदि कुनै कुराले पनि छुँदैन अब उहाँलाई । मैले यस अर्थमा पनि आफूलाई भाग्यमानी ठानेकी छु कि म उहाँकै काखमा लुटपुटिएर बाँच्न पाएकी छु । आमाको एउटै काखमा आशीर्वादका अनन्त फूलहरू फक्रिन्छन्। साँच्चै भन्ने हो भने आमाको साथमा बस्न पाएपछि भगवान्लाई खोजिरहनै पर्दैन। मैले उहाँलाई नजिकैबाट नियाल्न पाएकी छु अनि उहाँको सुस्केरा बिसाउने चौतारी बनेकी छु । अहिले बुद्धको जस्तो शान्त उहाँको अनुहारमा अतीतका सबै दुःखहरू मेटिएजस्तै लाग्छ।
मेरी आमा अद्वैत संस्थाको सदस्य हुनुहुन्छ। संस्थागत रूपमा आफ्नो ज्ञानको मार्ग फराकिलो पार्दै जानु आफै“मा गर्वको कुरा हो । ज्ञानबिना मानिसको जीवन सार्थक बन्न सक्दैन । सांसारिक दुःखबाट मुक्ति पाउने मार्ग परमात्माप्रतिको समर्पण भावमा मात्रै सम्भव छ । जीवनका सबै यात्राहरूमा अन्र्तयात्रा सबैभन्दा महŒवपूर्ण यात्रा हो । आफूलाई नचिनिकनै हामी प्रायःजसोले आफ्नो इहलीला समाप्त गर्दछौँ । हामीलाई हरबखत मृत्युले त्रस्त बनाइराखेको हुन्छ।
असन्तुष्टिलाई पूर्ति गर्ने माध्यम भनेको भौतिक संशाधन मात्र पनि होइन त्यसका लागि आत्मबोध अर्थात् आत्मदर्शन आवश्यक पर्छ । शरीर, आत्मा अथवा यी दुवैभन्दा पर रहेको परमात्माको भिन्नता बुझेको मानिसले भौतिक जगत्बाट छुट्कारा पाउँछ । मानिस मृत्युदेखि भयभित हुन्छ । मर्नु भनेको सर्पले काँचुली फेरेजस्तै हो । जसरी पुराना कपडा फेरेर नयाँ कपडा लगाइन्छ त्यसरी नै आत्माले पनि शरीर फेर्छ अनि नयाँ शरीरमा प्रवेश गर्छ । श्रीमद्भागवत् गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई यही भन्नुभएको छ ।
शरीरले लुगा फेरेझैँ अब आत्माले लुगा फेर्ने दिन आइसक्यो भनेर भनिरहँदा आमा शरीरले नयाँ लुगा फेरेको दिनजस्तो खुसी भने देखिनु हुँदैन । अहिले आमालाई भगवान्को मात्र भरोसा छ । जिन्दगीको दौडबाट थाकेर नै होला नवीन उत्साह, उमङ्ग केही देख्दिनँ आजकल उहाँभित्र । मैले आमाको रङ्गीन जीवन नियाल्नै पाइनँ । आमाको जीवनको सुखद पलहरूमा म भिज्नै पाइनँ । जब म बुझ्ने भएँ त्यतिबेला आमाको जीवन पूरै सेतो मात्र नभई दुःख, पीडा र सङ्घर्षले निथ्रुक्क भिजेको थियो, जसबाट ओभानो बनाउने शक्ति ममा थिएन । अहिले ममा त्यो शक्ति छ तर आमाको जीवन ढल्किसकेको छ । आमाको जीवनको उत्तरार्धलाई सुखी बनाउने कर्म मात्रै गर्न मन लाग्छ ।
आमाले मलाई ‘यो त मेरी छोरी होइन छोरो हो’ भनिरहँदा आफूलाई छोरै हुँ कि जस्तो लाग्छ तर भगवान्ले बनाएको होइन आमाले बनाएको । मृत्युपछि गरिने देखावटीमा मलाई विश्वास छैन जे गर्नु छ सन्तानले जीवन छँदै गर्नुपर्छ । पछि आफैँ जल्नुपर्ने पश्चातापको आगो पालिराख्नु हुँदैन । समय बितेपछि पछुताउनुको कुनै अर्थ छैन । अहिले मेरी आमा जीवनको ७४ औँ वसन्त पार गर्दै हुनुहुन्छ । उहाँको सु–स्वास्थ्य अनि दीर्घ जीवनका लागि ईश्वरसँग कामना गर्दछु ।
(चितवनकी कथाकार शान्ति शर्माको निबन्ध संग्रह प्रकाशनको तयारीमा छ ।)