‘म त तराईतिर पोइल आउने हो,’ चोर औंलाले निधारको पसिना पुछ्दै उसले भनी। पिठ्यूँमा डोको थियो, डोकोभित्र ढिके नुन, त्यसमाथि साबुन, सोडा, चिनी, तेल कापी कलम, चुरा धागो त्यस्तै खिचिमिची सामान। हातमा १० लिटरको जर्किनमा मट्टीतेल बोकेकी थिई।
कैलालीका मुडा, बौनिया, लम्की र सुख्खड बजारसम्म पुगी नुन लगायतका सामान बोकी घर ल्याउनुलाई हाट जाने भनिन्थ्यो। डोटी, अछाम, सुर्खेत र दैलेखका हाम्रा बा पुस्ताले राजापुर र कटासेसम्म पुगेर नुन बोकेका थिए।
उसको कुराले मेरो मनमा पहिरो गयो। आफू छोरो मान्छे भएकोमा पहिलो पटक पछुतो लाग्यो।
‘तिमी त छोरीमान्छे जहाँ मन लाग्यो त्यही पोइल गए भयो। हामी छोरा मान्छे जहाँ जन्म्यौं त्यहीँ मर्नुपर्छ। तिमीहरूका जसरी मन परेको मान्छेसँग पोइल गएर उसैको थर आफ्नो बनाउन पाइन्न,’ मैले तराईतिर हेरेर भनेँ।
ऊ लामो सास तानेर मौन बनी।
घरबाट अदुवा वा घ्युको भारी र अनि फर्कँदा नुन र मट्टीतेलको भारी। भारीनै बोक्नु परे पनि हाट जान पाए संसारकै खुसी मिल्थ्यो। गाडीको मिठो धुँवा, पछाडि पोस्टर राखेर खिचेको आफ्नै फोटो हेर्दा लाग्थ्यो अर्कै दुनियाँमा आइएछ। चारैतिर समथर फाँट, घर घरमा ट्युबेल। आहा! कति आनन्द। पहाडमा त्यस्तो सुविधा कहाँ पाउनु। म पनि छोरी मान्छे भएको भए भन्थेँ, ‘म त तराईतिर पोइल आउने हो।’
चोसेकाँडाको डाँडामा मालिकाको थपना छ। तलतिर फर्के तराईको फाँट देखिन्छ, माथितिर फर्के डाडाँकाँडा। लेक भएकाले चिसो हावा चल्छ। हटारूहरू एकछिन भारी बिसाएर डाँडामा सुस्ताएर जान्छन्।
थकाई मरे पनि निन्याउँरो मुख लाएर मैले सोधेँ, ‘हाम्रो गाउँ राम्रो छैन र?’
उसले डोकोतिर हेरेर भनी, ‘दुःख धेरै छ।
ऊ मभन्दा २ वर्ष जेठी थिई। तर हामी एउटै क्लासमा पढ्थ्यौं। स्कुले ड्रेसको निलो सर्ट र कालो स्कट लगाएकी थिई। वर्ष दिन पुरानो सर्टले उसको शरीर टमक्क समातेको थियो। मेरो पाइन्ट पनि गोलीगाठाभन्दा माथि आइपुगेको थियो।
तराईमा तिमीलाई सबैभन्दा के मन पर्यो?
‘भटेभटे’ उसले भनी ‘तीन जना पनि बस्न मिल्ने रै’छ।’
***
घर आएको दुई चार दिनपछि माओवादीले बाटो खन्ने भने। गाउँमा सरकारनै उनीहरूको थियो। कहिले अभियान कहिले कार्यक्रममा लगिरहन्थे। उनीहरूले गरेकामध्ये मलाई मन परेको काम थियो–बाटो खन्ने। श्रमदान गर्न सबैभन्दा अघि म पुग्थेँ। साँझ अबेरसम्म काम गर्थें। राति सपना पनि बाटो बनेको, गाडी चलेको देख्थेँ। मनमनै सोच्थेँ– गाउँमै भटभटे चल्न थाले भने ऊ तराईतिर पोइल जान्न होली।
एकदिन ऊ पनि बाटो खन्न आई। मैले खुसी हुँदै भनेँ, ‘अब त हाम्रा गाउँमा नि भटभटे आउँछ।
उसले मुख बिगारी- बाटो भएरमात्र भटभटे आउँछ र। गाउँका कसैसँग भटभटे किन्ने पैसा छैन।
‘म बालाई खेत बेच्न भन्छु। नपुगे कालापहाड र बम्बै गएर पैसा कमाउँछु।’
मेरो कुरा सुनेर ऊ मुस्कुराई। अनि कोदालो समातेर बाटो खन्न थाली।
बाटो खनेर माओवादीहरूले गाउँमा ट्याक्टर ल्याए। ट्याक्टरसँगै भटभटे पनि आएका थिए। त्यो दिन मैले बालाई भनेँ, ‘म पनि एउटा भटभटे किन्ने हो।’ बाले जवाफ फर्काएनन्। अर्कोदिन स्कुलमा उसलाई पनि भनेँ, ‘मैले भटभटे किन्ने कुरा बालाई भनिसकेँ।’ तर उसले चासो देखाइन।
बर्खा लाग्यो। पानी पर्यो। खोलानाला बढे। खनेको बाटो पहिला जस्तो थियो त्यस्तै भइहाल्यो। त्यसपछि गाउँमा भटभटे त के ट्याक्टर पनि आउन छोडे।
***
फर्पिङ नपुग्दै भटभटेको टायर पञ्चर भयो। यताउति कतै टाल्ने ठाउँ थिएन। हामी दक्षिणकाली जान लागेका थियौं। अघिसम्म ऊ दुबै हातले मेरो कम्मरमा समातेर यो बाटो कहिल्यै नसकिए पनि हुन्थ्यो भनिरहेकी थिई। अहिले उसको भावभंगी बदलिएको थियो-जस्तो मान्छे, उस्तै बाइक। रिसले आगो भएकी थिई।
एसएलसीपछि म काठमाडौं आएँ। भटभटेको सपनामा गाउँदेखि नै थियो। काठमाडौंमा पनि बाइक नामको त्यो जिनिसप्रति उत्तिकै मोह रै’छ। ‘बाइकवालासँग त केटी एकैछिनमा पट्टिन्छन्’ यस्ता गफ धेरैले सुनाए।
मैले बासँग दुई तीन महिना बढी पैसा मागेँ। अरू पनि जोगाएर सेकेन्ड, थर्ड कुन ह्याण्ड हो, एक भटभटे किनेँ। नभन्दै एक जनी पट्टिई पनि हाली। भटभटे जस्तै ऊ पनि सायद सेकेन्ड, थर्ड ह्यान्ड भइसकेपछि मसँग पट्टिएकी थिई होली।
त्यो दिन उसले भटभटे धकेली। राति अबेर हामी घर पुग्यौं। अर्को दिनदेखि ऊ गायब। थोत्रो बाइकवालासँग पनि को पट्टिरहन्छ सोचिहोली। ऊ गायब भएपछि मलाई तराईतिर पोइल जान्छु भन्नेवालीको याद आयो। भटभटे लिएर गाउँ जाने सोचेँ। त्यतिबेला जिल्ला विकास समितिले गाउँसम्म जाने बाटो डोजरले खनिरहेको थियो।
तर दक्षिणकाली पनि नपुग्ने मेरो भटेभटे त्यति टाढा कसरी पुग्ला? शंका लाग्यो। चलाउने रहर पनि मरिसकेको थियो। त्यो भटभटे कवाडीमा बेचिदिएँ।
दुईचार दिन पछि घरबेटीको ल्याण्ड लाइनमा फोन आयो । फोन उसैको रै’छ। सञ्चो बिसञ्चो नसोधी उसले भनी–भटभटे किनेका छौ रे? ‘त्यो त थोत्रे थियो। अब नयाँ किन्छु।’ मैले भनेँ।
‘अचेल त हाम्रा गाउँमा नि दिनदिनै भटभटे आउँछन्’, उसले थपी, ‘तिमी नि आउँछौ कि भनेर बाटो हेर्छु।’
तिमी त तराईतिर जाने भन्थ्यौ त? मैले हाँसेर सोधें।
उसले केही नबोली फोन राखिदिई।
***
कालो चस्मा, गलामा सुनको सिक्री, टाउकोमा हेल्मेट भिरेर बागमती अञ्चलमा दर्ता भएको नयाँ भटभटे लिएर म गाउँ पुगेँ। दुई वर्षपछि।
‘तिमी नि भटभटेमा आउँछौं कि भनेर बाटो हेर्छु’, उसको त्यो वाक्यले बेचैनी बढायो। १२ कक्षाको जाँच सकेर मैले पासपोर्ट म्यानपावरमा बुझाएँ। विदेश हान्निएँ। बाइक किन्ने पैसा कमाउन दुई वर्ष लाग्यो।
उसको र मेरो घर नयाँ बनेको बाटोले जोडिएका थिए। ऊ भन्थी– भटभटेमा तीन जना पनि अट्ने रैछन्। केही वर्षपछि पछाडि ऊ अनि अगाडि छोरो बाइकमा राखेर सुर्खेतसम्म आउनुपर्ला भन्ने कल्पनामा रमाउँदै गाउँ पुगेँ।
गाउँको डाँडामा नपुग्दै सुनेको शाँखको ध्वनिले मन चि...सो भयो। मान्छे मर्दा बजाउने शंखलाई शाँख भन्छन्। त्यसको ध्वनि पूजामा बजाउने शंखको भन्दा फरक हुन्छ। शाँख उसकै घरतिरबाट बजिरहेको थियो।
आफ्नो घर नगई म भटभटेमा उसको घरतिर हान्निएँ। आँगनभरि मान्छे थिए। सबैका आँखा रसाएका।
तीन चार चोटी एसएलसीमा फेल भएपछि बाउआमाले वर्षदिन अघि पल्लोगाउँको केटासँग उसको बिहे गरिदिएछन्। हिँउद लागेपछि लोग्ने कालापहाड गयो। दुई जिउकी ऊ माइत आएर बसी।
हिजो राति उसलाई बेथा लागेछ। गाउँमा अस्पताल थिएन। स्वास्थ्य स्वयंसेविकाले अप्रेसन गर्नुपर्ने बताइछन्। बिचरी रातभरि चिच्याउँथी रे– मलाई अस्पताल लैजाओ। तर अस्पताल लैजाने साधन थिएन। सधैँ आउने जिप त्यो दिन बिग्रेर बाटैमा रोकिएको थियो। सुडेनीको सीप लागेनछ। चिच्याउँदा चिच्याउँदै बिहानको घाम उदाँउनु पहिले उसले सास फेर्न छोडिछ।
तीन चार जना केटाहरुले ‘बाट’ समाते। चर्को ध्वनिमा फेरि शाँख बज्यो। बाँसमा बेरिएको उसको शव मैले काँधमा राखें। मलामीको लाइन घाटतिर बढ्यो। फेरि रूवावासी चल्यो।
अगाडि बढ्न खोज्दा मेरा खट्टा गह्रुंगा भए। रोडमा राखेको भटभटे पनि मलाई हेरिरहेको थियो। आडैमा एकातिर काटेको डोको थियो। बिहान डोकोमा राखेर उसलाई अस्पताल लैजाने तयारी भएको रै’छ।
त्यही डोको हेरेर केही वर्ष पहिले उसले भनेकी थिई– गाउँमा दुःख छ। म त तराईतिर पोइल आउने हो। सम्झेर मन भक्कानियो। आँखा भरिएर आए। मलाई पहिलो पटक ऊ छोरीमान्छे भएकोमा पछुतो लाग्यो।