सेतुराम र चेतनाथबीच रोपिएको बैमनष्यताको विउ उम्रिन नपाउँदै दुई पात हालिसकेको थियो। त्यो दिन सेतुरामले त्यसरी मुख नछोडेको भए पनि त्यो हदसम्मको भनाभन हुने थिएन होला। वरपरका छिमेकी समेत उनीहरुको कचकच सुनेर हैरान थिए। उनीहरुलाई उकास्नेको पनि गुट थिए। एकदिन त खै के कुरामा हात हालाहाल नै हुन खोजेको थियो रे। गल्ती कसको थाहा भएन। धन्न छिमेकीले कुरा मिलाए।
दुई वर्ष अघि नयाँ घर वनाएर चेतनाथको छिमेकी बन्न आइपुगेका थिए सेतुराम। आएदेखि नै उनी ठूला ठूला कुरा गर्थे। घरको छतमा बसेर व्यापारको कुरा गर्थे। बाउको सम्पतिको बयान पनि बेलाबेलामा गरिरहन्थे। फोनमा चर्को स्वरमा लाखौंको कुरा गर्थे। कसैले सुनेकै छ भन्ने यकिन पाए भने त करोडाैंको कुरासम्म गर्थे।
उनको श्रीमती दुर्गाको पनि रवाफ बेग्लै थियो। माइतीको कुरा धेरै गर्थिन्। गफ सुन्दा सबै खानदानी परिवारसँग उनको केही न केही नाता पथ्र्यो नै। बजारमा सुनचाँदीको भाउ तलमाथि हुँदा उनी टोल थर्काउँथिन्।
उनीहरुको एउटा सानो पाँच वर्षको छोरो थियो। छोरो काखवाट भुइमा झर्न पाउन्नथ्यो। सेतुराम घण्टाको तिसौ पटक छोराको मुखमा मुख जोड्थे। छोराले एउटा चक्लेट किन्न लगाउँदा फुर्काउन दुईटा किन्दिन्थे।
चेतनाथ २० वर्ष पहिले काठमाडौं छिरेका थिए। दुःखले पढे। तीनपल्टको गुल्टाइपछि हुलाकको खरदारमा नाम निकालेर बाउ बाजेको इज्जत धाने। १० वर्ष हिउँ पर्ने दुर्गममा बिताए। त्यहाँबाट सरुवा भएर तालु पोल्ने तराईमा फेरि पाँच वर्ष गुजारे।
एकदिन काठमाडौंवाट उनको जिल्लामा सचिवको भ्रमण पर्यो। ट्वाइलेटदेखि भान्छासम्म पछि लागेर रोगी बाउ र बुढी आमा अनि भर्खरै जन्मेको छोरीको विजोगी अवस्था सुनाए। चार दिन लगाएर हाकिमको मन पगाले। पाँचौ दिनमा काठमाडौंमा सरुवाको चिठी मिलाए।
काठमाडांै आएपछि अफिसवाट ऋणै झिकेर भएपनि जग्गा किन्ने र एउटा टहरासम्म बनाउने सोच बनाए। बाउ आमासँग गनगन गरेर गाउँको विसमुरी खेत बेचे। खेतको पैसाले घरको जग हाले। साथीभाइसँग सरसापट गरेर टाउको लुकाउने ठाउँको बनाए।
चेतनाथले घर वनाउदा त्यो ठाउँमा खासै अरु घर थिएनन्। चार आनाको घडेरीमा गाउँको २० मुरी धान फल्ने खेत जोडिएको थियो। दश वर्ष हिउँमा कठ्यांग्रीएर अनि पाँच वर्ष तराईमा बाफिएर जोगाएको रकम परेको थियो। उनको घरपनि मन जस्तै साधारण थियो।
घर वनाएपछि पनि उनले निकै कष्ट सहनु पर्यो। अफिसको तलब आधाभन्दा कम आउन थाल्यो। खाजाको ठाउँमा चियाको मात्र भर भयो। बसभाडा जोगाउन एउटै जुत्ता दश ठाउँमा टाल्नु पर्यो।
चेतनाथको श्रीमती कल्पना स्कुलकी शिक्षिका थिइन्। बिहानको धन्दा सकेर श्रीमानलाई अफिस पठाएर छोरी च्यापेर हतार हतार स्कुल जान्थिन्। बेलुका पनि हतार हतारमै घर फर्किन्थिन्। अनि चुला चौकामा व्यस्त।
सेतुराम उनीहरुको आडमा घर बनाउन आउँदा चेतनाथ र कल्पना कम्ति खुशी भएनन्। उनीहरुले छिमेकी पाए। घरको जग हाल्ने दिनमा पूजा गर्ने सर्दमदेखि बाहुनसम्म उनीहरुले नै ब्यवस्था गरे। घर जोडिन लागेको सधियारेसँग मन जोड्नलाई गर्न सक्ने सबै गरे।
जग हाल्ने दिनमा नै सेतुरामले आफ्नो हैसियत देखाए। इन्जिनियर र ठेगदारलाई एउटै कुरा धेरै पटक अथ्र्याए। पैसा जति खर्च भएपनि टोलकै सुन्दर र ठूलो घर हुनुपर्छ भनेर उनीहरुलाई सुगा रटाए झै रटाए। वरपरका छिमेकीलाई समेत भावी योजना सुनाए। एक रोपनी जग्गामा बगैचाको नक्सा पनि बनाए।
सेतुरामको घर बन्दै गर्दा पनि चेतनाथले सक्नेसम्मको सहयोग गरे। सेतुरामको सिमेन्टदेखि घर बनाउने समान पनि उनकै घरमा राखे। शनिवारका दिन त पुरै रेखदेख गरे। काम गर्ने कर्मीहरुलाई कहिले पानी कहिले खाजा खुवाए।
सेतुरामले घर सकाएपछि धुमधाम पूजा लगाए। तीनथरी त बाहुन नै पढाए। घर सरेकै निउँ पारी टोलभरीकालाई भोज खुवाए। भोजसँगै आफ्नो धाक र रवाफ पनि देखाए। ठाउँठाउँको जग्गाजमिनको बेलिबिस्तार लगाए। सेयरको कित्ता सुनाए।
घर सरेर सेतुरामको परिवार आएपछि उनीहरुको व्यवहार परिवर्तन हुन थाल्यो। एउटै घरको परिवार जस्तै भएका उनीहरुको भेटघाट कम हुन थाल्यो। चेतनाथ र कल्पनाले सेतुराम र दुर्गालाई बोलाए मात्र बोलचाल हुन थाल्यो। चेतनाथले यि कुरालाई खासै मनमा लिएनन्।
सेतुरामले एकदिन चेतनाथको सुत्नेकोठा छेउ नै सानो टहरा बनाए। टहरामा पाँचवटा कुखुरा पनि ल्याए। विस्तारै कुखुरा वढ्दै गए। कुखुराको काँईकुईको हल्ला चेतनाथको कोठमा नै सुनिन्थ्यो। केही महिनापछि हल्लासँगै कुखुराको सुलीको गन्ध पनि चेतनाथको कोठमा ठोकिन थाल्यो। राति त सुत्नै नसकिने भयो।
चेतनाथले सहन सकुन्जेल केही बोलेनन्। अति नै भएपछि सेतुरामलाई कुखुराले बेहोर्नु परेको सबै समस्या सुनाए। सेतुरामले खासै जवाफ दिएनन्। चेतनाथले हप्तादिनपछि तिनै कुरा गरे। उनी चुपचाप बसे। अलि पछि फेरि भने। तर त्यो दिन सेतुराम उल्टो उनै कड्किए। अरुले गरेको इश्या गर्ने भनेर दोष लगाए। सके आफूले जस्तै कुखुरा पालेर देखाउन भने।
बावु आमाको सम्बन्ध दिन दिन विग्रेपनि उनीहरुका छोरा छोरीको सम्वन्ध भने निकै बाक्लिदो थियो। उनीहरुले आफ्नै उमेरको साथी भेटाएका थिए। कहिले कसको घर त कहिले कसमा खेल्ने ठाउँ बनाएका थिए।
सेतुरामको स्वास्नी दुर्गालाई भने आफ्नो छोरो चेतनाथको छोरीसँग खेलेको त्यति मन पर्दैनथ्यो। उनी सकेसम्म आफनो छोरालाई घरमा नै खेलोस् भन्ने चाहान्थिन्। उसले चाहेको विभिन्न खेलौना थिए। दिनभरीलाई पुग्ने।
चेतनाथको छोरी तिनै खेलौना देखेर सेतुरामको घरमा पुग्थी। दुईजना रमाएर खेल्थे। चेतनाथ र दुर्गालाई यसरी मिलेको मन पर्देनथ्यो। दुर्गाको छोरो नाम चलेको स्कुलमा पढ्थ्यो।
उनीहरु एकदिन सेतुरामको बगैंचामा खेल्दै थिए। अचानक चेतनाथको छोरीले खेल्दा खेल्दै गमला लडाई। गमला नराम्ररी चक्र्यो। दुर्गा नजिकै थिइन। गमलामा भन्दा धेरै उनको मुटुमा चिरा पर्यो। उनले चेतनाथको छोरीलाई एक चड्कन दिइन्। उनको आँखामै विजुली चम्क्यो क्यार। उ रुदै घर फर्की।
छोरी बलिनधारा रोएको देखेपछि कल्पनाले सोधिन्। उनले छोरीलाई फकाउन थालिन्। बच्चाहरुको कुराले वाउ आमासँग मुख लगाउन चाहिनन्। मनको कुरा मनमै पोको पारिन्। सेतुराम र दुर्गाको हेपाईले सिमा नाघिसकेको थियो। उनीहरु हरेक कुरामा चेतनाथ र कल्पनालाई होच्याउँथे। उस्तै परे राति राति चेतनाथको घरतिर फोहर फाल्दिन्थे। सामान्य कुरामा पनि उनीहरु डस्न खोज्थे। मिलेसम्म टोलभरि नानाथरी कुरा काट्दै पनि हिड्थे। टोलका दुईचार जनाले सहि थप्दिए उनीहरुलाई अझै हेप्थे।
त्यही टोलमा उनीहरुका दुई पक्षमा मान्छे उभिन थालेका थिए। कोही चेतनाथलाई ठिक मान्थे। कोही सेतुरामलाई। उनीहरुको अमिलो पनले छिमेकीहरु पनि आजित थिए। यति हुँदासम्म पनि चेतनाथ र कल्पना खासै मतलब राख्दैनन् थिए। कोइँ कोइँ दिन त कति अत्याचारमात्र सहनु जस्तो त लाग्थ्यो उनीहरुलाई। तर पनि अरूका कुरा गरी बस्ने फुर्सद पनि कहाँ थियो र। बरु उनीहरु मतलवै गर्दैनथ्ये अनि बोलचाल पनि।
एकदिन सेतुराम र दुर्गाले सानो कुरामा निहुँ निकालेर हल्ला मच्चाए। त्यति मात्र होइन त्यो दिन त हातै हाल्न खोजे। चेतनाथ र कल्पनाको सहनशीलताको धैर्यता फुटिसकेको थियो। त्यसैले त्यो दिन उनीहरु पनि जवाफ फर्काए। छिमेकी नै उनीहरुलाई छुट्टाउन आउनु पर्यो। सेतुराम र दुर्गाले उल्टै नानाथरीका आरोप लगाए। सुन्नै नसकिने शब्दहरु पनि फलाकिराखे।
शनिबारको दिन चेतनाथको र दुर्गाको बिदा थियो। दुबैजना घरकै काममा ब्यस्त थिए। बिहानैदेखि चिसो सिरेटो चलेको थियो। दिन नरमाइलो थियो। घामको मुख देखिएको थिएन।
उता सेतुराम र कल्पनाको बिहान ९ बजेसम्म केही चाइचुइसम्म पनि सुनिएको थिएन। सायद त्यतिखेरै उठेका पनि थिएनन्। चारतले घरको माथिल्लो तलामा बसेर सेतुराम कसरत गर्थे। तर त्यो दिन भने दश बजेसम्म पनि उनको अत्तोपत्तो थिएन।
दुर्गा खाना साना खाएर किचन सफा गर्दै थिइन्। उनलाई अचानक रिगंटा चलेजस्तो भयो। के भयो भेउ पाउन सकिनन्। यता उता हेरिन् समान हल्ले जस्तो लाग्यो। के हो भनेर सोत्दा सोच्दै एकतले घर पनि पिङ खेले जस्तो हुन थाल्यो। उनले थाहा पाइहालिन्।
भूकम्प!!
उनी भूकम्प भन्दै कराउँदै चेतनाथ र छोरी भएको कोठातिर दुगुरिन्। उनीहरु एकै ठाउँमा डल्लो परे। कैले लिङ्गे पिङ खेले जस्तो भयो त कैलो जाँते पिङ खेले जस्तो गरी उनीहरु घुमिरहे। अनौठा आवाजहरु सुनियो। वरपरका घरहरु बाँस हल्ले जस्तो हल्लिन थाले। जमिन नै फाटेजस्तो आवाज आउन थाल्यो। एकतले घरको हालत त यस्तो छ। सेतुरामको चारतले घरको हालत के भयो भन्ने पनि सोचे।
एकछिन पछि कम्पन बन्द भयो। उनीहरु हतारिँदै बाहिर निस्के। टोलभरिका मान्छे पनि बाहिर चौरमा जम्मा भैसकेका थिए। सबै अत्तालिएका थिए। कसैको अनुहार कालो र निलो थियो। केटाकेटी रुदै थिए। कोही आफन्तलाई फोनमा सम्पर्क गर्दै थिए। कोही फोन लागेन भनेर मुख अमिलो बनाएका थिए। होसमा कोही थिएनन्। प्रायः घरमा बस्दा लगाउने कट्टु र भेष्टमा नै थिए।
सेतुरामको चारतले घर एकछिनमै दुई तले बनेको थियो । पहिलो र दोस्रो दुई तला पाउरोटीका पिस खप्टिए झै खप्टिएका थिए। बाँकी रहेका दुईतला पनि चैतको खडेरीले सुकेको खेत चर्के जस्तै चेर्केका थिए। चेतनाथ र उनका परिवार भाग्यले माथिल्लो तलामा रहेनछन्। धन्न उनीहरु बाँच्नलाई बाचे। सेतुराम अत्तालिएका थिए। केही बोल्न सकेका थिएनन्। दुर्गा र छोरो भने चिच्याइरहेका थिए। जमिन छिनछिनमा हल्लिन्थ्यो। मान्छे फेरी एकैठाउँमा डल्लो पर्थे। कसैले कसैको मद्दत गर्न सकेका थिएनन्। टोलमा अरु धेरै घर पनि लडेका थिए। कति घरमा मान्छे किच्चिएको कुरा सुनिन्थ्यो। अनेक अड्कलबाजी चल्थ्यो। जताततै धुलो उडेको थियो। सबै आकुल व्याकुल भएका थिए।
सेतुराम कता जाउँ के गरुँ भएका थिए। उनले सहयोग माग्न पनि सकेका थिएनन्। सहयोग माग्ने आफ्नै सधियारेलाई उनले जन्मजात नै दुस्मन बनाएका थिए। उनको मनले बचाउ बचाउ भन्थ्यो। तर मुखले बोल्न सकेका थिएनन्। उनले चेतनाथलाई भने घरीघरी कर्के हेर्थे।
चेतनाथले आफ्नो सधियारेको यस्तो विजोग हेर्न सकेनन्। उनले टोलका अरु मान्छेलाई पनि जम्मा पारे। सेतुरामको विगतका ति अत्याचारलाई ढकनीले छोपे जस्तो गरेर मनभित्रै छोपे। सेतुरामको सानो छोरोको रुवाइले चेतनाथको मन साउन झरी झै झर्यो।
सेतुरामले देखाउने रवाफ विर्से। उनले भन्ने गरेका जग्गा र बैंक व्यालेन्सको कुरा विर्से। दुर्गाले सुनाउने खानदानी र सुनचाँदीका कुरा पनि बिर्सिन खोजिन्। सेतुरामको परिवारप्रति झनै कैले नजागेको माया जाग्यो चेतनाथ र कल्पनालाई।
उनीहरुले सेतुरामलाई नआत्तिन भने। दुर्गालाई पनि नहतासिन आग्रह गरे। चेतनाथ र सबै मिलेर सेतुराम, दुर्गा अनि उनीहरुको छोरोलाई घरवाट निकाले। दुर्गाको निधारमा ठूलो घाउ भएको थियो। रगतले जिउसम्म भिजेको थियो। हतार हतार कल्पनाले दुर्गाको घाउ सफा गरिन्। मलम पट्टि गरिदिइन्। एक गिलास पानी पिउन दिइन्।
सेतुरामको आँखै अगाडि श्रीसम्पती लडेको थियो। त्यो भन्दा उनीभित्रको धेरै घमण्ड लडेको थियो। आफ्नो विगतको व्यवहार सम्झेर उनेको शीर झुकेको थियो। आँखा लुकेको थियो। त्यही शीर र आँखा जस्तै उनको र चेतनाथको घरबीचको पर्खाल पनि लडेको थियो। त्यो भन्दा ठूलो कुरा उनीहरुको मनको सिमाना भत्केको थियो।
उनीहरुको शरीरमा लगाएको एकसरो कपडा बाहेक अरु केही बाँकी थिएन। उनीहरु केही बोल्न सकेका थिएनन्। बरु चेतनाथले नै बोलाए। सबैलाई आाफ्नो घरको कम्पाउण्डमा लगे।
कल्पनाले सेतुरामको छोरालाई गिलासमा दुध खान दिइन्। चेतनाथको छोरीले पाउरोटी बाडिन्। दुर्गाको पनि हालत उस्तै थियो। शीर निहुरी राखेको थियो। उनले विगतमा कल्पनाप्रति गरेको व्यवहारले मनमा पश्चतापको आगो बलेको थियो।
कल्पनाले नै दुर्गालाई बोलाइन्। च्यातिएको लुगा फेर्न लगाइन्। टोलका सबैजना आ–आफ्नै समस्यामा थिए। साँझ पर्यो। सेतुराम, कल्पना, दुर्गा र चेतनाथ बाहिरै बसिराखे। सेतुराम र कल्पनालाई सम्झाइराखे। उनीहरुका छोरा र छोरी पनि सँगै थिए। सेतुरामले घरवाट केही झिक्न सक्ने अवस्था थिएन। उनीहरुको घरमा भएको सबै सामान किचिएको थियो।
बेलुका दुर्गाले घर बाहिरै खाना बनाइन्। सेतुराम र कल्पनालाई पस्केर दिइन्। उनीहरुले भुतुक्क भए। चेतनाथले विगतमा भएका कुरा मनमा नलिन भने।
चेतनाथले अझ भने एकै ठाउँमा बसेपछि कहिले राम्रो कहिले नराम्रो हुन्छ नी दाई। छिमेकी भनेकै पर्दा चाहिने त हो। उनले सम्झाउँदै गए।
सेतुराम शीर मात्र निहुराए।
हामीले कहिल्यै पनि ति कुरा मनमा लिएका छैनौं।
नराम्रो सोचेका छैनौं।
उनले मनमा भएका कुराहरु भन्दै गए।
उता दुर्गाले पनि कल्पनालाई त्यस्तै भन्दै थिइन्।
चेतनाथको छोरीले आफ्ना खेलौना बोकेर चेतनाथको छोरासँग खेल्न थालिन्। उसका पुतली सबै घरमै किचिए। दुईटा पुतलीहरु उसैलाई राख्न भनी। उनीहरु पहिला जस्तै मिलेर खेले। चेतनाथ र दुर्गाले कहिलेकाँही बच्चाहरुवाट पनि धेरै कुरा सिक्न सकिने उदाहरण दिए। यी बच्चाहरु त आपतमा यसरी मिले भने हामी मनमा अब धेरै कुरा खेलाउन हुन्न भने।
सेतुरामले बल्ल मुख खोल्न खोजे।
उनका आँखावाट अहिलेसम्म नझरेका आँसु एकैचोटी झर्न खोजे।
उनले विगतका आफूले गरेका कामको प्रायश्चित कसरी गर्नु भनि खेद पोखे।
माफी माग्दै हात जोडे।
चेतनाथले ति कुरा नसम्झन फेरि आग्रह गरे।
दुर्गाले कल्पनाको विशाल दिल किन पहिले नै चिन्न सकिनँ भन्दै आफ्नै टाउकोमा धारे हातले हानिन्।
धेरैपल्ट माफी मागिन।
सेतुरामले पर्खाल देखाउँदै भने। हाम्रो मनभित्रको घमण्डको पर्खाल आज भूकम्पले ढाले झै ढलेको छ। त्यो पर्खालसँगै भ्रम, डाह र इश्या पनि ढलेको छ।
निदाउनु भन्दा अघि पनि उनी भन्दै थिए। आज ५६ सेकेण्डको भूकम्पले धेरैको सम्पति नोक्सान गरेको छ। देशलाई पछाडि पारेको छ तर मेरो लागि जिन्दगीले कहिल्यै सिकाउन नसकेको कुरा सिकाएको छ। बुझाएको छ। जिन्दगीमा सम्बन्धको महत्व के रैछ भनेर। त्यो पनि असल सम्बन्ध। जिन्दगी जिउन ठूला मान्छेहरु भन्दा एकजना असल मान्छे भए पुग्ने रहेछ।