प्रताप र म कलेजमा सँगै पढेका हौँ। कमल पनि हामीसँगै हो। म त्यतिबेलादेखि नै फाट्टफुट्ट लेख्ने गर्थें। केही कथा स्थानीय पत्रपत्रिकाले छाप्न पनि नमागेका हैनन् तर म त्यति सजिलोसँग कहाँ दिन्थेँ र ? मेरो तपस्या नै पूरा भएको थिएन। तैपनि साथीहरू सबै मलाई लेखक भनेर नै बोलाउँथे। केटी साथीहरूचाहिँ बेलाबेलामा नयाँ कथा लेख्या भए सुनाऊ न भन्थे। त्यो मेरो लेखाइको उर्वर समय थियो। दिनको एउटा कथा लेख्थेँ म। नलेख्या भए पनि केटीहरूले घेरेपछि ढुकुरे छाती त्यसै फुलिहाल्थ्यो र म ठाउँको ठाउँ कथा बनाएर भन्न थालिहाल्थेँ। कुनचाहिँ सचेत साहित्यका पाठक थिए र उनीहरू ? क्लास छलेर क्यान्टिनमा समय बिताउन पाएपछि जस्तो पुङ्माङे कथा सुनाए पनि वाहवाह भन्थे। तिमी त क्या खतरा लेख्छौ चिराग भन्दै पम्फू हानिदिन्थे। मलाई चनाको बोटमा चढाउन उनीहरू खप्पिस थिए। त्यो नबुझेर त्यतिबेला म पनि पत्याउँथेँ र आफूलाई समरसेट ममभन्दा कम ठान्दैनथेँ।
प्रताप त्यही बेला पनि जण्ड थियो। पन्ध्र दिनमा एक जनासँग उसको फाइट नपरेको मलाई थाहा छैन।
'प्रतापले फलानोलाई रामधुलाइ दियो रे', कुनै दिन यस्तो सुन्न पाइन्थ्यो।
'प्रतापलाई त फलानोले रामधुलाइ दियो रे नि', कुनै दिन यस्तो पनि सुन्न पाइन्थ्यो।
आईए पास हुनासाथ ऊ असईमा लड्यो र नाम निकाल्यो। हामी बीए पढ्न थाल्यौँ। प्रतापसँग हिमचिम पातलिँदै गयो। पछि ऊ इन्सपेक्टर भएको कुरा थाहा भएको थियो। एकताका कमलपोखरी थानामा हुँदा उसको खूब हल्ला थियो। सबलाई ठीक पारेको छ रे भन्थे तर प्रताप पहिलेदेखि नै आफ्नो अति मूल्याङ्कन गर्थ्यो। त्यही क्रममा उसले एकपटक बहालवाला गृह राज्यमन्त्रीको छोरोलाई नै ठटाइदिएछ। उसको दुर्गमतिर सरुवा भयो।
अरु कति साथीहरू कताकता पुगे, केके भए। कोही विदेश पुगे। कमलले भिडियो सम्पादन र वृत्तचित्र निर्माणको तालिम लियो। एउटा डलर खेतमा राम्रै जागिर लागेको छ। अहिले त्यसैको कमाइले गर्जो टार्छ। म लेखक बन्ने बाल्यकालदेखिको सपना पछ्याएर काठमाडाँैमा हन्डर खाइरहेँ। मनमनै उपन्यासहरू लेखिरहेँ, मनमै च्यातिरहेँ, पचासौँ उपन्यासको सङ्ख्या भेट्न। आकाशे खेतीमा नै मेरो गुजारा चलिरह्यो। काठमाडौंबाट निस्कने अधिकांश साप्ताहिक र दैनिक पत्रिकामा मैले काम गरिसकेको छु। कि म मान्छेहरूलाई बुझ्न सक्दिनँ, कि मान्छेहरू मलाई बुझ्न सक्दैनन्। त्यसैले म कतै टिक्न सक्या छैन।
दुई वर्षअघिको कुरा हो। त्यतिबेला एउटा ठूलो दैनिक पत्रिका फुटेर बनेको अर्को पत्रिकामा म काम गर्थें। शनिबारे परिशिष्टाङ्क मेरो भागमा थियो। बिहीबार नै पेज बनाएर छापामा पठाउनुपर्ने हुनाले शुक्रबार र शनिबार हाइसन्चो हुन्थ्यो। मलाई त्यो हप्ता शुक्रबार मलेखुमा माछा खाँदै मनकामना पुगेर भोलिपल्ट फर्कने लहड चल्यो। चितायो कि बितायो भन्ने आफ्नो पुरानो बानीअनुसार एक्लै भटभटेमा मलेखुतिर हान्निएँ। मलेखु पुग्नु अलि वरै राजमार्गमा चेकिङ् थियो। प्रहरीहरू मेरो कागजपत्र हेर्दै थिए, एउटा परिचित आवाज आयो 'ओए लेखक ! लेखक हैन तँ ?'
फर्केर हेर्दा प्रताप उत्साहित मुद्रामा मतिरै आउँदै थियो। उसले आफ्नो खस्रो हातमा च्याप्प मेरो हात समातेर भन्यो 'तँ मु... कहाँबाट यता आज हँ ?'
मैले आफ्नो योजना बताएँ। ऊ दङ्ग पर्यो।
'ल पख्, एकछिनमा जाऊँला म पनि।'
उसले एक जना असईलाई मेरो भटभटे चौकीमा राख्न अह्रायो। केही बेर हामी त्यहीँ बसेर पुराना कुरा गरिरह्यौँ। दुर्गममा सरुवा भएको प्रताप काठमाडौंबाहिर घुम्दाघुम्दा बल्लबल्ल कुरा मिलाएर केही समयअघि मात्र यता आउन पाएको रहेछ।
'यसपालि फ्युचर आईजी सापको आँखामा परेको छु। कि एयरपोर्ट कि मिसन बुझिस्?'
उसले हाँस्दै भनेको थियो। केही बेरपछि उसकै गाडीमा हामी मलेखु गयौँ।
'यहाँ मान्छे त्यसै मलेखुको माछा भनेर मर्छन्। मलेखु खोलाको माछा कति नै हुन्छ र? यहीँका मान्छेलाई खान पुग्दैन।'
'जनकपुरतिरको माछा आउँछ भन्ने त मैले नि सुन्या हो', मैले पनि आफ्नो सामान्य ज्ञान देखाएँ।
'भुत्रो ! जनकपुरसम्म भए त फ्रेस नै हो नि। आन्ध्र प्रदेशको माछा आउँछ। चिन्याजान्या मान्छेलाई लुकाएको माछा बाँकी भए दिन्छन्। आज मलाई भेट्या छस्, खान पाउँछस्।'
उसले धक्कु लगायो। केही दिनअघि एउटा समाचार आएको थियो। मैले पनि आफ्नो ज्ञान देखाउँदै उसलाई भनेँ'तँलाई थाहा छ, माछा बिग्रिन्छ भनेर फर्मालिन भन्ने केमिकल हालेर ल्याउँछन् रे। त्यो भनेको पोस्टमार्टम गर्नुअघि लास नकुहियोस् भनेर दल्ने रसायन हो।'
प्रतापले हार्न कहाँ जानेको थियो र ?
उसले अझै थप्यो 'त्यति मात्र हो र ? मान्छेको मुतले पनि माछा बिग्रिँदैन रे। इन्डियादेखि यहाँसम्म माछामाथि मुत्दैमुत्दै ल्याउँछन् रे।'
हामी बकम्फुसे हल्लाको पछि लागेर अट्टहास गर्दै माछा नै चपाइरहेका थियौँ।
जे भए पनि नभन्दै त्यस दिन मैले मलेखुको माछाको खासमा स्वाद कस्तो हुन्छ भन्ने थाहा पाएँ।
त्यस राति म उसको आतिथ्य ग्रहणका लागि चौकीमा बसेँ। प्रतापले दराजबाट डबल ब्ल्याकको सिसी निकाल्यो।
'डबल ब्ल्याक। हालसालै मात्र निक्ल्या हो। यो खाएपछि बुझिस्, अरु त मुखमा हाल्नै मन लाग्दैन। महँगो पनि छ तर सोमरस भनेर देउताले खाने के रै’छ भन्ने कुरा यो चाखेपछि मात्र थाहा हुन्छ', हाँस्दै भन्यो उसले, 'तर पानी, बरफ, सोडा केही हाल्यो भनेचाहिँ यसको जातै जान्छ। निट लगाउने हो चुस्सचुस्स', उसले खाने तरिका पनि सिकायो।
चौकीका अरु केटाहरूले बङ्गुर, लोकल कुखुरा, ग्रिन सलाद, भुटेको काजु आदि ओसारे। हामी दुई भाइ डबल ब्ल्याकको चुस्कीसँगै पुराना दिन सम्झेर रमाउन थाल्यौँ।
'अनि सुना लेखक, नयाँ नौलो के गर्दै छस् ?', उसले मलाई सोध्यो।
'खासै केही छैन। उही नियमित काम हो।'
मैले आफूले काम गर्ने पत्रिकाको नाम पनि लिएँ। ऊ केही प्रभावित भयो अनि गिलासमा भएको रक्सीमा केही खोजे जसरी घोत्लिँदै उसले भन्यो 'लेखक, एउटा कुरा बता। के संसारमा पैसा मात्रै सबथोक हो ?'
म जिल्ल परेँ। अचानक किन उसले मलाई यस्तो प्रश्न गरेको होला ? मैले उसलाई हेरेँ। ऊ आफ्नो प्रश्नको उत्तर खोजिरहे जसरी क्वारक्वार्ती मेरो अनुहार हेरिरहेको थियो। मैले एक चुस्की लगाएर भनेँ 'पैसाको महङ्खव नभएको हैन प्रताप तर पैसा सबैथोक हैन। पैसा त तस्करले पनि कमाउँछ तर नाम सबैले कमाउन सक्दैनन्। पैसाले रवाफ किन्ला तर आदर किन्न सक्दैन।'
लामो सास फेरेर प्रताप उठ्यो। झ्यालतिर गयो र बाहिर अँध्यारोमा हेर्न थाल्यो। फेरि फरक्क फर्केर भन्यो 'हिँड बाहिर एकछिन हावा खान जाऊँ।'
म उसको पछि लागेँ। हामी चौकी बाहिर निस्केर निरुद्देश्य राजमार्गको सडकको किनारै किनार अघि बढ्यौँ। केही पर पुगेर प्रताप टक्क अडियो। निकै तल त्रिशुली नदीको आवाज सुनिन्थ्यो। छेउमा सडकको बार अलिकति भत्किएको थियो। प्रताप तल केही नदेखिने अँध्यारोमा टोलाउँदै बोल्यो 'एक महिना पहिले यही ठाउँमा एउटा बस खसेको थियो राति।'
मलाई झलक्क सम्झना भयो। समाचारमा पढेको थिएँ मैले। मैले आफ्नो मगजमा जोर दिँदै भनेँ,'हो मलाई सम्झना छ। बडो नरमाइलो दुर्घटना थियो। सबै यात्रु मरेका थिए क्यार।'
'तीन जना हराएका पनि थिए। हराएकामध्ये एक जनाको नाम थियो वैकुण्ठ। मैले उसको झोला फेला पारेको थिएँ। तँलाई थाहा छ, त्यो झोलामा के थियो ?'
मलाई कसरी थाहा हुनु ?
'त्यसमा तीन लाख रुपियाँ थियो।'
'तीन लाख ?', मैले सोधेँ।
'हो, तीन लाख। तँसँग के लुकाउनु ? मैले त्यो चप् पार्न आँटिसकेको थिएँ तर... !'
'तर ?'
'झोलामा नागरिकता भएकाले उसको नाम थाहा भयो। समाचारमा त्यो सुनेर उसकी श्रीमती यहाँ आएकी थिई अनि मैले त्यो पैसा उसैलाई फर्काइदिएँ। उसको लोग्ने त हरायो हरायो, कमसे कम त्यो पैसाले केही सहारा होला भनेर।'
मैले प्रतापलाई आदरको आँखाले हेरेँ।
'हराएका कोही फेला परेनन् त ?'
'कहाँ पर्नु ? लेखक तँलाई थाहा छ, यो त्रिशुली पनि हामी मान्छेजस्तै हो। सतहमा जति शान्त देखिए पनि यसको भित्र त्योभन्दा धेरै तेज पानीको धार हुन्छ।'
'अन्डर करेन्ट।', मैले भनेँ।
'हो, मान्छेलाई कहाँ पुर्याइदिन्छ कहाँ, केही भन्नै सकिन्न अनि यसका चेपहरूमा को कहाँ अड्किन्छ भन्ने पनि पत्तै हुन्न।'
म प्रतापको भावुक रुप देखेर जिल्ल परेँ। साँच्चै मानिस पनि त बाहिर जस्तो देखिए पनि अन्तर्मनमा अर्कै हुन सक्दो रहेछ। भावना देखाउन नसक्नेका पनि त भावनै नहुने कहाँ हो र ? हामी केही बेरमा चौकी फर्कियौँ। प्रताप आफ्नो थोत्रो कम्प्युटरतिर गयो र त्यसको स्विच अन गर्यो। सिपियुबाट अजीव आवाजहरू निस्कन थाले। प्रताप मतिर फर्कियो र गम्भीर स्वरमा भन्यो 'लेखक, म तँलाई एउटा लामो कुरा पढ्न दिन्छु।'
'कस्तो लामो कुरा ?', मैले सोधेँ।
'यो त्यही हराउने वैकुण्ठको झोलामा भएको पेन ड्राइभमा थियो। वैकुण्ठले लेखेको आफ्नो कथा।'
म अचम्म परेँ।
'तँ यो पढ्। लामै छ तर मजस्तो रुचिहीन मान्छेले त एकै बसाइमा पढेँ भनेपछि तँ त लेखक होस्।'
यसै पनि मलाई नयाँ ठाउँमा निद्रा लाग्दैन। मैले त्यो पढ्ने निर्णय गरेँ। जुन हिसाबले प्रताप कुरा गर्दै थियो, मलाई कौतूहल पनि भएको थियो। केही बेरपछि कम्प्युटर ठस्ठस् गर्दै अन भयो। मानौँ, बेला न कुबेला चल्नु परेकोमा ऊ प्रतिवाद गर्दै थियो।
म वैकुण्ठको कथा पढ्न थालेँ।
(वैकुण्ठको कथा तपाईँले पढ्नुभएको छैन र मन छ भने मेरो यसअघिको उपन्यास यायावरमा पाउनुहुनेछ। यो त्यही यायावर हो, जसलाई त्यो ब्रजेश खनाल भन्ने मानिसले आफ्नो नाममा छपायो। मैले कुनै दिन त्यसलाई भेटेँ भने जान्या छु।)
मैले त्यो पढिसक्दा बिहान भइसकेको थियो। प्रतापसँग त्यस दिन भएको कुराकानीले मलाई निकै सोच्न बाध्य बनायो। वैकुण्ठ भन्ने नाम त रातभर मेरो दिमागमा पिङ खेलिरह्यो। म जतिजति उसका बारेमा सोच्दै गएँ, मलाई त्यसले त्यति नै चुनौती दिन थाल्यो। भन्यो भने पत्याउनै नसकिने एउटा घटना केही दिनअघि भएको थियो। त्यो घटना र मेरो अहिलेको अवस्थाको तालमेल हुन थालेको थियो।
(फागुन १ गते (शनिबार) बिमोचन हुने ब्रजेशको नयाँ उपन्यास जुनेलीको अंश)