२०४२ सालमा कांग्रेसले जनजागरण अभियान चलायो। झापामा पनि गर्ने तयारी भयो- तोकिएको मिति र समयमा सबै जना एकैचोटि बिर्तामोडमा भेला हुने, त्यहीँबाट अभियान सुरू गर्ने। अभियान सुरू गर्नुभन्दा एक दिन पहिले नै एउटा पुलिस जिप लिएर मेरो घर पुग्यो र जाहेर गर्यो- “डी.एस.पी. साबले 'तपाईंलाई लिएर आउनू' भन्नुभएको छ।”
मैले पुलिसलाई सोधें- “मलाई मात्र ल्याउनू भनेको छ कि अरुलाई पनि?” उसले पनि भनिहाल्यो- “तपाईं र रामबाबुलाई लिएर आउनू' भनेको छ।”
मैले भित्र गएर महेश्वरीलाई भनेँ- “भोलिको जनजागरण असफल पार्न आजैदेखि धरपकड सुरू गर्यो। सकभर आजै बेलुकासम्ममा छोड्ला, नत्र भने २–४ दिन राख्ला, चिन्ता नगर्नू।” अनि बाहिर आएर पुलिसलाई भनेँ- “तेसो भए जाउँ रामबाबुको घरतिर।”
मैले रामबाबुको गेटभित्र पसेर पुलिसबारे भनें। उहाँ त वकिल पनि हो। सोध्नुभयो- “पक्राउ पुर्जी ल्याएको छ?”
मैले 'छैन' भनें।
“त्यसो भए आजको दिन यहीँ बस्ने। बिनापुर्जी पुलिसकोमा हामी किन जाने? भोलि एकैचोटि सडकमा निक्लने।” उहाँले जवाफ दिएपछि त्यो दिन म रामबाबुको पाहुना भएर बसें।
भोलिपल्ट ठीक समयमा विर्तामोड चोकमा भेला भयौं। टाढाटाढाका कार्यकर्ता बिहानै आएर बसेका रहेछन्। सरकारविरोधी नाराबाजी सुरू भयो। भिडको बीचमा एउटा पुलिस आएर मलाई पछाडि तान्यो। मैले उसलाई हेरें- केही भनेन। मायालु मुखले हेर्यो। एकछिनपछि फेरि आएर कुइनाले धक्का दियो। मैले विचार गरें- यो पुलिस मलाई 'यहाँबाट भाग' भनिरहेछ। तेस्रोपल्ट फेरि तान्न आयो। मैले उसलाई भनें- “बाबु, तिम्रो भावना मैले बुझेँ। के गर्छौ? आज मैले भाग्न मिल्दैन।”
पुलिसले गिरफ्तारी सुरू गर्यो र हामी सातजनालाई काँकरभिट्टा चौकी पुर्यायो- म, रामबाबु प्रसाईं, भूविक्रम नेम्बाङ, कृष्णप्रसाद मिश्र, तुरसा हेमरम, अम्बिका रिजाल र चक्रप्रसाद बाँस्तोला।
काँकडभिट्टा चौकीमा एउटा निकै ठूलो कोठा रहेछ, हामीलाई त्यहीँ राखियो सामूहिक रुपमा। काँकरभिट्टाकै एकजना कांग्रेस मित्रले ओढ्ने ओछ्याउने लुगा ल्याइदिए। बेलुकाको खाना पनि राम्रोसँग खान दिए। भोलिपल्ट बिहानको खाना पनि राम्रै आयो। दिउँसो आएर चौकीको इन्चार्जले भन्यो- “अब म खाना खुवाउन सक्तिनँ।”
मलाई लागिरहेथ्यो- खाना सरकारले खुवाइरहेछ। त्यसैले सइलाई सोधें- “हिजो बेलुका र आज बिहान कसले खाना खुवायो?”
उसले भन्यो- “मैले खुवाएको।”
मैले भनें- “हामीलाई सरकारले समातेर यहाँ ल्याएको। तिमीलाई त हाम्रो गोठालो मात्र राखेको हो। किन आफ्नो पैसा खर्च गरेर हामीलाई खाना खुवायौ? हामीलाई सरकारले थुनेपछि खाना पनि सरकारले खुवाउनुपर्छ।” मैले साथीहरुसँग प्रस्ताव पनि राखें- “आज हामी भोक हड्ताल गरौं। थुनेपछि खान नदिने सरकारलाई एउटा चेतावनी पनि हुन्छ।”
मेरो प्रस्ताव स्वीकृत भयो, त्यो रात भोकै सुतियो। अगिल्लो दिनसम्म हाम्रो छेउमा आएर 'जय नेपाल' गर्ने सइ बिहान उठेर हेर्दा पर बसेर झोक्राइरहेको देखें। म छिटो मान्छे, उसलाई छेउमा बोलाएर सोधें- “किन झोक्राएको? तिमीसँग हाम्रो कुनै गुनासो छैन। तिम्रो सम्बन्धित ठाउँमा खबर गर न 'हामी भोकै सुत्यौं' भनेर।”
सायद उसले अघिल्लै दिन खबर गरिसकेको थियो। एक घण्टापछि एस.पी. हाम्रो कोठामा आए। सबै साथीहरुले मुखामुख गरे, केही बोलेनन्। हाम्रो नेता रामबाबु एस.पी.सँग कुरा गर्छन् भन्ने लागेको थियो, उहाँ पनि बोल्नु भएन। एस.पी. आफैँले मुख खोले- “तपाईंहरुलाई दुःख भयो होला, बेलुका नखाई सुत्नुभएछ।”
मैले फेरि रामबाबुतर्फ हेरें। उहाँ चुप। सबै साथीहरु चुप।
त्यसै पनि मेरो मुख अलि छिटो चल्छ, त्यो दिन पनि आफूलाई रोक्न सकिनँ। एस.पी.लाई प्वाक्क भनिहालें- “हामी राजनीति गर्ने मान्छेलाई दुःख, सुख त भइरहन्छ। हामीलाई सडकबाट समातेर ल्याइयो। हामीमध्ये कोही पनि पैसा बोकेर आएका थिएनौं। हाम्रो कार्यक्रम एक दिनको मात्र थियो। हामीलाई समात्नुपर्ने कुनै कारणै थिएन। दुई छाक खाना पनि तपाईंको सइले निजीरुपमा खुवाएका रहेछन्, पछि थाहा भयो। हामीलाई बन्दी बनाएपछि खुवाउने काम सरकारको हो। खाना खुवाउनसम्म नसक्नेले किन गिरफ्तार गरेर ल्याउनु! गाईलाई ढाटमा राखियो भने पनि पराल हालिन्छ। हामी राजनीतिज्ञहरुलाई थुनामा राखेर खाना नदिँदा सरकारको पनि इज्जत जान्छ। थुनामा बसेर घरको खाना खानुपर्यो भने हाम्रो पनि इज्जत जान्छ। त्यसैले भोकै सुत्यौं।”
साथीहरु एक शब्द पनि बोलेनन्। एस.पी. जुरूक्क उठेर हिँडे। उनी गएपछि सबै बरन्डामा निक्लियौं। सिलिगुडी आउने जानेमध्येका मैले चिनेकाहरु देखें। तिनलाई बोलाएँ र 'हामी भोकै छौं, केही खानेकुरा ल्याएर खुवाओ' भनें। कसैले समोसा ल्याए, कसैले पकौडा; सबै साथीहरु मिलेर खायौं।
बेलुका ४ बजेतिर सी.डी.ओ. आएर चौकीको माथिल्लो तलामा बसेछन्। मलाई बोलाएर सोधे- “तपाईं नै हो डाक्टरसाहेब भनेको?” मैले 'त्यसै भन्छन्' भनें।
“खान दुःख भयो हगि!” उनले भने।
“हामीसँग पैसा नभएको हुँदा भोकै सुत्न बाध्य हुनुपर्यो। प्रशासनले थुनेपछि खान दिने व्यवस्थाचाहिँ गर्नु पर्दैन?”
“हाम्रो खान दिने व्यवस्था एक ठाउँमा मात्र छ।”
सी.डी.ओ.को भनाइ सुन्दा मलाई लाग्यो- जेलको कुरा गरिरहेछन्। त्यसैले भनें- “हाम्रो कार्यक्रम सकियो। अब सरकारी रासन खर्च गर्नु आवश्यक छैन। यदि रासन नै खुवाउन चाहनुहुन्छ भने हामीलाई खानमा विरोध छैन। तर रासन खुवाउने भनेर डाँका, हत्याराहरुलाई खुवाएको रासन खुवाउनुभयो भने हामी त्यहाँ पनि भोक हड्ताल गर्नेछौं।”
मलाई सी.डी.ओ.ले 'आफ्नो झोला लिएर गाडीमा बस्न' भने। तल कोठामा गएर साथीहरुलाई भनें- “लौ, म त सरकारी रासन खान हिँडें।”
म गाडीमा गएर बसें। त्यस बेला लाग्यो- म एकजनालाई मात्र जेल लगिरहेछन्। तर एकछिनमा रामबाबु प्रसाईंलाई पनि मलाई राखिएकै गाडीतिरै आउँदै गरेको देखेर खुसी लाग्यो- कम से कम एकजना साथी त भए। हामी दुईजनालाई गाडीले कुदायो, अरु साथीहरु छुटे।
हामीलाई चन्द्रगढी पुर्याए, पुर्जा थमाए र जेलतिर लगे। त्यो मेरो पहिलो जेलयात्रा थियो- बाहिर चारैतिर अग्लो पर्खाल। ठूलो पुरानो गेट। गेटभित्र एकतले जेल भवन।
कहिल्यै रङरोगन नगरिएको जीर्ण खण्डहरजस्तो जेलभित्र पसियो। त्यहाँका कैदीहरु आएर हामीलाई घेरे। तीमध्ये निकै जना त मेरो क्लिनिकमा औषधि गराउन आइरहने पुराना बिमारी पनि थिए। केहीले भने पहिले नभेटे पनि रामबाबु र मेरो नाम सुनेका रहेछन्। मैले 'हामी नयाँ दुलही हौं, हाम्रो मुख हेरेको पैसा चाहिन्छ' भनेर ठट्टा गरें। सबै हाँसे।
त्यहाँ रहेका कैदीमध्ये ५–७ जना विद्यार्थी थिए। उनीहरुको भान्सा अलग्गै रहेछ। मैले विद्यार्थीहरुलाई भनें- “हामी दुईजनाको रासन तिमीहरु नै बुझ्नु। हाम्रो खाना पनि तिमीहरु नै पकाउनु; माछा, मासु र अन्य केही खान मन लागे मलाई भन्नु।”
बेलुका विद्यार्थी भाइहरुलाई सोधेँ- “हाम्रो रासन आयो?”
उनीहरुको जवाफ थियो- 'क' श्रेणीको रासन आयो।”
मलाई लाग्छ, चन्द्रगढी जेलको इतिहासमा 'क' श्रेणीको सिधा खाने रामबाबु र म पहिला कैदी थियौं। विद्यार्थीहरुलाई छोडेर अन्य कैदीहरु प्रायः डाँका र चोरी मुद्दाका थिए।
घरबाट महेश्वरीले लुगा, कपडा र खाजा पठाइदिइन्। विद्यार्थीहरुलाई पनि खुवाइयो। तिनले हाम्रो साह्रै सेवा गरे। माछा, मासुका लागि अलग्गै पैसा दियौं। बसेर खानेबाहेक कामधाम केही थिएन। अझ मेरो त स्वास्थ्यमा सुधार पनि आयो।
म जेल परेपछि एक दिन महेश्वरी भेट्न आइछन्। उनीसँग भेट्न मलाई जेल बाहिर बोलाइयो। सुँकसुँक गरेर रून थालिन्। मैले सम्झाएँ- “तिमी त राजनीति गर्ने मानिसकी श्रीमती पो त हौ; यस्तो २–४ दिन जेल परें भन्दैमा रूनु हुन्न। म १०–१२ दिनमा छुटेर आइहाल्छु नि।”
ल्याएको खाजा दिएर उनी गइन्। हप्तादिनपछि फेरि आइन् तर त्यस बेला रोइनन्, हाँसेरै कुरा गरिन्। 'आमा पिर गरिरहनुहुन्छ' भनिन्। मैले भनें- “आमालाई छोरा जेलमा बसेपछि रातापिरा भएका छन् भन न।”
त्यसैबीच केदारमणि ढकालको अगुवाइमा पञ्च साथीहरु आएछन् अञ्चलाधीशसँग मलाई छोडिमाग्न। म जेल बस्ता उत्तरी भेगका बिमारीहरुले भोग्नुपरेको सास्तीले उहाँहरुलाई पनि पिरेछ सायद। त्यसैले पनि मलाई छुटाउन बाध्य गरायो होला। अर्को कुरा, कुनै पञ्चसँग मेरो वैरभाव थिएन। राजनीतिबाहेक व्यक्तिगतरुपमा सबैसँग राम्रो सम्बन्ध थियो।
पछि मैले विचार गरें- हामी दुईजनालाई मात्र किन जेल हाल्यो होला? त्यसबेला अभियान पनि सकिएको थियो। हुन त भोक हड्ताल गराउने पनि म। एस.पी. र सी.डी.ओ.सँग कडा कुरा गर्ने पनि म। उनीहरुले मेरो कडा व्यवहारलाई ठीक पार्न जेलको हावा खुवाउने निर्णय गरे होलान्। एक्लै जेल पठाउँदा मप्रति उनीहरुको व्यक्तिगत रिसइबी जस्तो देखिने हुँदा हाम्रा अगुवा रामबाबुलाई पनि मेरो साथी बनाएको हुनुपर्छ।
२० दिनपछि जेलबाट बिदा भयौं। घर पुगेपछि पहिले मेरो छेउमा आउने, भेट्ता हाँस्तै बोल्ने छिमेकीहरु बाटो काट्न थाले। तिनीहरुको दृष्टिमा म जेल बसेर आएको अपराधी भएँ। तिनीहरुलाई देखेर लाग्यो, हाम्रो समाजमा अलि पढेलेखेका मान्छेमा पनि चेतनाको कति कमी छ!
२०४६ सालमा कांग्रेसको भेला गणेशमानजीको अगुवाइमा काठमाडौंमा हुने भयो। सबै साथीहरु काठमाडौं आउने भए। उच्च रक्तचाप र कमजोर मुटु भएकी ८६ वर्षे वृद्धा आमालाई घरमा छोडेर आउँ कि नआउँ भइरहेको थियो। त्यसैबेला एक राति सपनामा देखें- म काठमाडौं आउन राजमार्गमा हिँडिरहेका बेला पशुपतिको प्राङ्गणभित्र बस्ने श्यामचैतन्य बाबा अगाडि उभिएर 'तुम मत आओ' भन्नुभयो। मैले सपनाबारे महेश्वरीलाई भनें, उनले भनिन्- “बाबाले ठीकै त भन्नुभयो। आमालाई यस्तो अवस्थामा छोडेर कहीँ जानु हुँदैन।”
म काठमाडौं आइनँ। त्यसको केही दिनपछि अर्थात् जनआन्दोलन सुरू हुनुभन्दा २० दिनअगाडि आमाको स्वर्गवास भयो।
(उप्रेतीको आत्मकथा 'जीवन: एक सपना' को अंश)