‘कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएको भए के हुन्थे होलान्?’
प्रसंग जोडियो अमर न्यौपानेको उपन्यास करोडौं कस्तुरीको।
अन्त्य सधै अन्त्य हुँदैन। एउटा अन्त्य अर्कोको सुरुवात् बन्न सक्छ। त्यसैले यस उपन्यासको चर्चा पनि अन्त्यदेखि नैं सुरु गर्न मन लाग्यो–जीवन धुँवामा उडाइरहेका लक्ष्मीप्रसाद देवकोटाहरु, भट्टीमा भड्किरहेका नारायण गोपालहरु...पटकपटक एसएलसी फेल भइरहेका रवीन्द्रनाथ टैगोरहरु, अन्धो र बहिरो भएर तड्पिरहेका हेलेन केलरहरु, मन्द बुद्धिका भनेर हेपिइरहेका अल्बर्ट आइन्स्टाइनहरु, कवाडी काम गरिरहेका स्टिभ जब्सहरु, बीचैमा कलेज छोडिरहेका बिल गेट्सहरु र यस्तै सामान्य लाग्ने तर महान कर्मयोगी मानिसहरु।
कथा तिनीहरुकै हो र अझै धेरै हो तिनीहरुजस्तै क्षमता र गुण भएका तर तिनीहरुजस्तै बन्न नसकिरहेका करोडौं कस्तुरीहरुका। यो कथा मेरो हो, तपाईंको हो, सायद अमरकै हो र हो हरेक बालबालिकाका जो अनन्त सपना, लक्ष्य र चाहनाका सिंढी चढ्न खोज्दै विद्यालय पुग्छन्। र, नसकेरै फर्किन्छन् कतिपय आधी बाटोबाटै, कतिपय फरक बाटोबाट अनि कतिपय बाटै नदेखिकन। कतिपयलाई त मेरो लागि जीवनमा बाटो छ भन्ने पनि सायद अवगत हुन पाउँदैन।
जो बाटो नै नदेखि जीवन भोग्छन्, तिनीहरु सायद करोडौं कस्तुरीमा अटाउँदैनन् पनि। यहाँनेर ती कस्तुरी आउँछन् जो हिँड्दैछन् कुनैं बाटोमा तर आफूले चाहेभन्दा फरक, सोंचेभन्दा फरक र रोजेको बाटोभन्दा फरक भएर।
विकासक्रमसँगै विश्वमा शिक्षाको बहस, छलफल, अवधारणा, सिद्धान्त, शैली र प्रयोजनमा समेत परिवर्तन भइरहेछ। पढ्नु, अध्ययन गर्नु, वृत्ति विकास गर्नु र जीवनमा सफलता प्राप्त गर्नु यी सब संयोगवस मात्र हुन्छन् या भाग्यवस हुन्छन् या बालबालिकाले प्राप्त गरेको शैक्षिक अवसर, वातावरण, उनीहरुका रुचि, इच्छा, चाहना र अविच्छिन्न लगावको समग्र प्रतिफलस्वरुप हुन्छन्? हामीले प्राप्त गरेको शिक्षा हाम्रो लागि ठीक छ कि छैन, ठीकै छ या काम चलाउ, जीवन निर्वाहमुखी छ? हामी बालबालिकालाई हाम्रो रुचिअनुरुप ढालिरहेका छौं या उनीहरुका मनोविज्ञानले समेत त्यो आत्मसात् गरिरहेको छ? हामी कतै आफ्ना कलिला बालबालिकाका मनोविज्ञानमा आफ्नो अज्ञानता र अहंतास्वरुप उनीहरुको इच्छा र चाहनाविपरीत पढाइको मात्र बोझ बोकाइरहेका त छैनौँ?
यही र यस्तै प्रश्नका उत्तरका खोजीमा छन् अमर। प्रश्न कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएको भए के हुन्थे होलान् भन्नेबाट सुरु हुन्छ र कलाकार हुन नपाएको हरिवंश बेकार भएर जिन्दगीदेखि नै थकित र आजित भई जिन्दगीकै अन्त्य गर्न लागिरहेको समयमा एउटा प्राणी कुकुरका कारण मृत्युवरणबाट बची आफ्नो जीवनको गम्भीर समीक्षा गर्दागर्दै मनोलोकमा लेखकसँगको भेट र उनलाई बताएको आफ्नो जीवनको तीतो कथा अरुका लागि मार्गदर्शन हुन सक्ने आशासाथ पुनः जीवन प्राप्त गर्दाको स्वैर काल्पनिक अवस्थामा टुङ्गिन्छ।
कसैलाई लाग्न सक्छ यो सामान्य कुरा हो, हरिवंश आचार्य कलाकार नभएका भए डाक्टर, इन्जिनियर, लेखक, सरकारी जागिरे, बैंकको कर्मचारी वा यस्तै अन्य जागिरे हुन्थे होलान् या बेरोजगार भएर भौंतारिइरहेका हुन्थे होलान्। तर सवाल यति मात्र होइन, हरिवंश ती जागिरमध्ये कुनचाहिँ जागिरमा उपयुक्त हुन्थे होलान् र त्यसबाट सन्तुष्ट पनि हुन्थे होलान् त? यी प्रश्न उब्जिनु, उब्जाउनु र चर्चा गर्नुको एउटा मात्रै कारण होः हरिवंशजस्तै हरेक व्यक्तिमा केही न केही विशेष गुण, प्रतिभा, क्षमता तथा खुबी हुन्छ। प्रत्येक बालबालिका कुनै न कुनै विशेष खुबी लिएर नै जन्मेका हुन्छन्। तर के ती सबैले आफ्नो क्षमताको सही प्रदर्शन तथा उपयोग गर्न पाएका छन् त? यो प्रश्न यसरी उठ्छ कि हामीले प्राप्त गर्ने शिक्षा कति व्यावहारिक तथा प्रभावकारी छ? के हामीले जीवनोपयोगी शिक्षा प्राप्त गरिरहेका छौं या छैनौं? प्रश्न हाम्रो शिक्षा नीतिसँग जोडिन्छ, हाम्रो शैक्षिक प्रणाली तथा विधिसँग जोडिन्छ। अनि हामीले लागू गरेको विद्यालय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, अन्य पाठ्यसामग्री र शैक्षिक विधि, प्रविधि तथा क्रियाकलापसँग जोडिन्छ।
हामीले बालबालिकालाई दिएको शिक्षाले उनीहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको खुशीसँग जोड्न सकिरहेको छ वा खाली पढ्ने र पढाउने नाममा बोझ बोकाइरहेका छौं? हेर्दा सामान्य र सतही लाग्ने तर गहिराइमा गएर यसको मर्मको अन्तर्य खोतल्ने हो भने देश विकासका मेरुदण्ड खुशीले हुर्किइरहेछन् या बाध्यताको भारी बोक्दै तथाकथित् शिक्षित जनशक्तिको प्रमाणपत्र बोकेर उठिरहेछन्। हाम्रो शिक्षा प्रणालीले हातमा प्रमाणपत्र बोकेर त्यही प्रमाणपत्र सम्झँदै खाडी तथा अन्य विकासशील मुलुकमा हातमा ठेला उठाइरहेका कर्मशील शिक्षित मजदूर उत्पादन गरिरहेको छ। यी सबै पक्षसँग जोडिएको सन्दर्भ हो, करोडौं कस्तुरी।
एउटा राम्रो कलाकार हुने क्षमता भएको मान्छे खाडीमा बालुवा चालिरहेको हुन्छ, राम्रो कवि, साहित्यकार अनि लेखक बन्ने मान्छे खेत, खलियानमा बर्बराइरहेको हुन्छ। फूटबल, क्रिकेट खेलाडी बाटोमा भौंतारिंदै हुन्छन्। चित्रकार भविष्य भुइँमा खोज्दै भुइँ कोतरिरहेको हुन्छ। यस्तै विभिन्न क्षमता भएकाहरु आफ्नो क्षमता चिन्न नसकेर, चिन्दाचिन्दै पनि त्यसलाई पछ्याउन नसकेर परिवार, समाज, विद्यालय, शिक्षक –शिक्षिका आदिको सहयोग र मार्गदर्शनको अभावमा भएको क्षमतालाई नचिन्दै जीवनको अन्तिम संघारमा पुगिसकेका हुन्छन्। यसरी कसैले आफ्नो क्षमता पनि चिन्न नसकी जीवन कटिसकेको हुन्छ र चाहेर पनि उमेर ढल्किसकेपछि आफ्नो क्षमता थाहा पाएर पनि कसैले केही गर्न सक्दैनन्।
कुरा के हो भने सबै बालबालिकामा केही न केही विशेष क्षमता हुने भएकाले हाम्रो घर, परिवार, विद्यालय, समाज सबैतिरबाट त्यस्ता विशेष क्षमता भएका हरेक बालबालिकालाई उनीहरुका इच्छा, चाहनाअनुसारको सिकाइको वातावरण तयार गरी सोहीबमोजिम हुर्कने, बढ्ने, काम गर्ने तथा समग्र जीवनयापन गर्ने वातावरण दिनसके एउटा बालक एक ऊर्जाशील जनशक्तिको रुपमा तयार हुन्छ र आफ्नो सीपअनुसारको योगदान दिन सक्छ। खाली खोक्रो र इच्छाविपरीत किताबी ज्ञान उसको लागि बोझिलो बन्छ।
पढ्नु ठूलो कुरा होइन। पढेर ठूलो मान्छे भए भनेर हामीले प्राप्त गरेको आशिर्वादले हामीलाई कहाँ डोर्याउँछ र कत्तिको योग्य बनाउँछ भन्ने कुरा शिक्षामा लगानी गर्नेहरुले पटकपटक गहिरोगरी सोंच्नुपर्ने हुन्छ। कतै हाम्रो लगानी बालुवामा पानी त भइरहेको छैन? कतै हाम्रा छोराछोरी, भाइबहिनी मनोवैज्ञानिक दबाबले मात्र विद्यालय गइरहेका त छैनन्? कतै हाम्रा शिक्षक–शिक्षिका जागिर खाने मात्र त भइरहेका छैनन्? पढाउने नाममा विद्यार्थी मनोवैज्ञानिक दबाबको शिकार त भइरहेका छैनन्? जबरजस्ती विद्यार्थीलाई बिषयबस्तु घोकाएर र किताबका भारी बोकाएर हामीले दिने औपचारिक शिक्षा कतै केवल सुखद् जीवनयापनको बाधक त बनिरहेको छैन? यी र यस्ता प्रश्न सबैतिर तेर्सिन्छन्।
हामी बाल मनोविज्ञानका कुरा गर्छौं। शिक्षा मनोविज्ञानका कुरा गर्छौं। शैक्षिक प्रणालीभित्रका विकृति र कमजोरीका कुरा गर्छौं। शिक्षा क्षेत्रमा प्रयुक्त सिद्धान्त, विधि, प्रविधि र योजनाका कुरा गर्छाैं। विषयवस्तुको सापेक्षता र औचित्यतामाथि प्रश्न उठाउँछौं। हरेक बर्ष एसएलसीलगायत शैक्षिक परिणामबारे चर्का बहस गर्छौं। परिणामप्रति विद्रोही हुन्छौं, हरेक बर्ष असफल परिणाम बढाइरहेका मन्त्रालय र सम्बद्ध निकायप्रति टिप्पणी गर्छौं अनि अनायासै शिक्षामा आमूल परिवर्तन र उच्च प्रगतिको आकांक्षा राख्छौं। हामी कतै यहींनेर त गलत छैनौं? हरेक बर्ष अनुत्तीर्ण प्रतिशत बढ्ने हाम्रो विद्यालयीय शिक्षाले नै कतै हाम्रा स्कूले बालबालिकालाई कलाकार हरिवंश नभई बेकार हरिवंश त बनाइरहेको छैन? के हामीले बालबालिकालाई हिनताबोध महसुस गराउनेगरी विद्यालय शिक्षाको मात्र स्वाद चखाइरहेका छौं? के विद्यालयबाहिरबाट पनि उनीहरुलाई अनगिन्ती अवसर दिन सकिंदैन, जुन उनीहरुले चाहेबमोजिम हुन्छ। के विद्यालय शिक्षामा उनीहरुलाई खुशीसाथ प्रवेश गराउने र बाध्यतावस निस्कनुनपर्ने शिक्षाको खोजी र लागू गर्न सक्दैनौं?
प्रश्न खाली यति मात्रै हो र उत्तर पनि यसैसाथ खोजौं कि कुनै विद्यार्थी आफूले चाहेजस्तै बनी निस्कन पाउँछ कि पाउँदैन? विचार सबैले यसैमा गर्नुपर्छ– आमाबुबा, दाजुभाइ, दिदीबहिनी, परिवारका सबै सदस्यहरु, शिक्षक–शिक्षिका, शिक्षाविद्, शैक्षिक लगानीकर्ताले।
हामी सबैले सोचौं र मनन् गरौं– सबै मान्छे हरिवंश होइनन् र हुन पनि सक्दैनन् जो बेलैमा आफ्नो कस्तुरी चिनेर अगाडि बढ्छन्, जसलाई कस्तुरीको खोजीमा जीवनभर भौतारिइरहनु पर्दैन, जीवनको सही भोग्य र प्रयोगकर्ता उही नै हो।