'दाइ, मास्टर डिग्री पढ्यो भने टन्न कमाइ हुने जागिर पाइन्छ?' उसले डिस्काउन्टसहितको भाडा लिएर पैसा र आइडी कार्ड मलाई फिर्ता दिँदै सोध्यो।
गौरीशंकर यातायातको बस सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट काठमाडौंतिर दौडिरहेको थियो। आजसम्म कुनै बसका खलासीले यस्तो प्रश्न सोधेका थिएनन्। फर्केर हेरें। चे ग्वाभारा अंकित टिर्सट छातिमा टाँसेको केटाको ओठमाथि भर्खर जुँगाको रेखी बसेको थियो।
'भाइ नेपालमा मास्टर त के पोस्ट पिएचडी गरेपनि टन्न कमाइ हुँदैन। टन्न कमाउन त उड्नु पर्छ।
उसले बुझेजस्तो गरी टाउको हल्लायो र मेरो आडमा आएर थ्याच्च बस्यो। छतमा दुईचार जना अरु पनि यात्रु थिए।
'भाडा उठाएर सक्यौ?' बढी नै नजिक भएर मैले सोधें।
उ गज्याङगुजुङ परेका नोट खल्तीबाट निकालेर गन्न थाल्यो।
'कत्तिको झ्याप हान्छौ नि पैसा?'
जवाफमा उ खिसिक्क हाँस्योमात्र। बोलेन्।
नाडीमा उसले टाटु खोपेको थियो। अंग्रेजीमा लेखिएको टाटुका अक्षर पढें– मा.. इ..ली।
पैसा गन्न छोडेर उसले पुलुक्क मलाई हेर्यो, मानौं मैले उसको जीवनको ठूलै रहस्योद्घाटन गरिदिएँ।
भाइ माइली साइरसको डाइहर्ट फ्यान हौ कि क्या हो?
दोलालघाट बजार पुगेपछि गुरुजीले बसमा घ्याच्च ब्रेक लाए– ए केटा, यी दिदीहरू काँसम्म जाने रैछन् सोध्, काठमाडौं जाने भए मिलाएर हाल।
छतबाट ओर्लदै उसले भन्यो– यसमा तामाङ छुट्या छ।
***
'ओइ माइली मो तलाईं भगाउने हो।'
'तेत्रो हिम्मत। म तेरोपछि लाग्दिनँ कसरी भगाउँछस्?'
'हेर्दै जा न कसरी भगाउँछु, भागिनस भने घरज्वाईं बसिदिन्छु अनि चाल पाउँछेस्।'
ती दिदीहरूलाई बसभित्र राखेर उ फेरि छतमा आयो। र आफ्नो विगत सुनायो।
उ १० कक्षामा पढ्थ्यो। माइली ९ मा। टिफिनमा उ माइलीले ल्याएकै खाजा खान्थ्यो। र उसकी साथीकै अघि भनिदिन्थ्यो– ओइ माइली, मो तलाईं भगाउने हो।
'एलएलसी पास गरिस् भने काठमाडौंमा अर्को वर्षसँगै कलेज पढौंला है माइली' भनेर उ एसएलसी जाँच दिएर काठमाडौं हिँड्यो। यो वर्ष काम गरेर पैसा जम्मा गर्ने। अर्को वर्ष माइलीको हात समाउँदै कलेज जाने उसको योजना रैछ। काम त उस्ले अफिसमा पनि खोजेको हो तर एसएलसी पनि पास नभएको उसलाई कसैले पत्याएनन्।
'स्टाफ दाइहरूलाई पहिलेदेखि चिनेको थिएँ यही सजिलो लागेर खलासी बनें' उसले ङिच्च हाँस्दै भन्यो।
'खोइ त तिम्री माइली? काठमाडौं ल्याइसक्यौ कि?' आँखा झिम्काउँदै मैले सोधें।
'माइली काठमाडौं पनि आइन गाउँमा पनि छैन' उसले भावुक हुँदै भन्यो।
'अर्कैले उडाइदिएछ कि क्या हो तिम्री माइलीलाई' मैले जिस्किदैँ सोधें।
उ केही बोलेन। पर्सबाट एउटा कागज तान्यो र मेरा हातमा थमायो।
मलाई थाहा छैन तँ मरिसकिस् कि ज्युँदै छस्। तर मेरो मनले भन्छ तँ संसारमै छस्। मेरो अनुहार नहेरी तेरो सासले कसरी संसार छोड्ला।
भूइचालोसँगै भत्किएको घरले आमा बुवा च्याप्यो। सानी बहिनी पनि पुरिई। भाइ र ममात्र बाँच्यौं।
भूइँचालो गएको केही दिनमा गाउँमा मान्छे आए। संस्थाका मान्छे हौं काठमाडौंमा पढाउन लैजान्छु भनेर मलाई उनीहरूले गाउँबाट ल्याए। मजस्तै अरु केटीहरू पनि थिए। पढ्न पाइने आशामा हामी उनीहरूसँग आएका थियौं। तर हामीले पढन पाएनौं।
म अहिले कोठीमा छु। यो चिठी ल्याइदिने दाइले भनेको यो बम्बैको कोठी हो रे। ग्राहक बनेर आएको त्यो दाइलाई मैले बिलौना सुनाएँ। र पाउ समाएर भनें– घर जाँदा मेरो चिठी लगिदिनु। दोलालघाटको गौरीशंकर यातायातको काउन्टरमा छोडिदिनु।
बाँचेको भएक पक्कै यो चिठी तैलें पाउँछस् भन्ने मेरो आश छ।
भूइचालोले बाआमालाई पक्लक्कै मार्यो। म हरेक दिन मरिरहेकी छु। यहाँकी मालिक्नी भन्छ– ४५ हजार भारु तिरेकी हुँ तेरा लागि। त्यति पैसा तिर अनि जा। हुन त म अब वेश्या भइँसकें। बिटुली बनिसके। तर तलाईं सम्झिएँ भने यस्तो लाग्छ म तेरो गाडी आउने बाटो कुरिरहेकी छु। सपना देख्छु– स्कुलमा चुँगी खेलेको। मलाई भागेर तँसँग जान छ। तँसँगै घरजम गर्न मन छ। मलाई लिन कहिले आउँछस्?
पढेर मन एकदम भारी भयो। म मौन बने। उस्ले कतै अन्तै हेरिरह्यो।
कागज पट्याएर उसलाई दिँदै सोधें–जान्छौ त माइलीलाई ल्याउन?
उसले जवाफ फर्काएन।
पुरानो बसपार्क पुगेपछि म झर्न खोजें। उस्ले भन्यो– दाइ एकछिन पर्खनु न।
सबै यात्रु झरिसके। गुुरुजी पनि ओर्ले। उ चालकको सिटमा बस्यो र स्टेरिङमा हात राख्यो। म स्टेरिङ घुमाउँदै गाडी कुदाइरहेको हुन्छु' उसले क्याबिनतिर देखाउँदै थप्यो 'यसमा लजाउँदै माइली बसेकी हुन्छ।'
मैले बोल्न कुनै शब्द पाइन।
'अहिलेसम्म १० हजार जम्मा भएको छ दाइ' उसले भन्यो 'एक दुई महिनामा दाइहरूसँग सापट मागेर भएपनि बम्बै जान्छु।'