बहुदल दाजुको आँगनमुन्तिर ओखरको बोटमा झटारो हान्दै थिएँ। तलबाट कुम्लोकुटुरो बोकेर पुष्प दाइ उकालो चढ्दै हुनुहुन्थ्यो। 'सर नमस्ते कता लाग्नु भो?' डराउँदै सोधेँ।
'सिक्किमले स्रष्टा पुरस्कार दिने रे,' यति भन्दै दाइ उकालो लाग्नुभयो।
अहो! दाइ त ठूलो मान्छे पो हो कि क्या हो भन्ने लाग्यो ऊबेला। हामीलाई नेपाली पढाउनु हुन्थ्यो। उहाँलाई भेट्दा म सर भन्थेँ।
एक साँझ हाम्रो घरमा आउनु भयो। घरमा अघिदेखि तुम्बा काकाहरु भेला भएर बुवासँग गफिँदै थिए। आमाले मलाई छनुवा जाँड पुर्याउन लागाउनु भयो। त्यतिबेला पुष्प दाइले भन्नुभयो, 'ए केटा, तेरो नेपाली कमजोर छ, मेहनत गर।'
पछिसम्म बुबाको अघि यसो नभन्दिए हुने लागिरह्यो। (मेरो नेपाली भाषामा पकड अझै कमजोर छ। मेरा कवि मित्रहरु मलाई अझै पनि बेलाबेला सचेत गराउँछन्।)
***
आधा दसकअघिको कुरा हो यो।
सृजनशिल साहित्य समाज, हङकङले पुष्प दाइको कवितासङ्ग्रह छापिदिने भयो। यताको काम मैले हेरिदिने भएँ। पैसा आयो, कभर छापियो। भित्री छाप्ने बेला बुबा बित्नुभयो। यसोउसो गर्दागर्दै पैसा सकियो।
सङ्ग्रह आएन। पछि पाण्डुलिपि नै हरायो।
म त अप्ठ्यारोमा परेँ।
पुष्प दाइले थाम्सुहाङ वंशावलीको सम्पादन गर्नुभयो। छापिएर आयो। त्यसमा मेरो सानो चित्त दुखाइ थियो। तर, दाइलाई भनिनँ। 'बूढाले बदला लिए क्या हो?' भन्ने मनमा लागिरह्यो।
हामी सबैको पुष्प दाइ। कठोर अनुशासनमा राख्नुहुने पुष्प सर। केही अघि बित्नुभयो। हामी काठमाडौंमा रहने दाजुभाइले यतै चोखिने संस्कार गर्यौँ। उहाँको सुद्दाइँमा सामेल हुँदा म भावुक भएँ। पुष्प दाइको सम्झनाले घेरेर ल्यायो मलाई।
अलि बुझ्ने भएपछि भने पुष्प दाइसँग त्यति उठबस हुन पाएन। मलाई साहित्य पठनमा रुचि जाग्न थाल्दानथाल्दै भौगोलिकरुपमा टाढा भइसककेका थियौँ। उहाँका केही कृति अध्ययन गर्नुबाहेक साहित्यिक संवाद र संसर्ग कहिल्यै हुन पाएन। सानोमा दाइ हाम्रा लागि 'मिथ' हुनुहुन्थ्यो।
'यी दाइ साधारण मनुवाचाहिँ होइनन्,' मैले धारणा बनाएको थिएँ।
दाइले बहुविवाह गर्नुभएको थियो। त्यसबेला हामी केटाकेटीमाझ उहाँको दोस्रो बिहेको किस्सा लोकप्रिय थियो। 'यस्तो पनि हुन्छ?' मनमनै जिज्ञासु हुन्थ्यौं।
भएछ के भने सिक्किममा केही मानिसले लखेट्न थालेछन्, दाइलाई ठेगान लगाउने मनसायले। भाग्दाभाग्दै एउटा घरमा छिर्नु भएछ। ती मान्छे पनि घरमै छिरेछन्। एउटा युवाको ज्यान जोगाउन त्यो घरकी युवतीले अनौठो युक्ति अपनाइछन्। पुष्प दाइलाई उनले आफ्नो म्याक्सीभित्र लुकाइछन्। आफ्नो ज्यान जोगाइदिने युवतीसँग दाइले दोस्रो बिहे गरेका रहेछन्।
सानोमा हामीले सुनेको चर्चित किस्सा थियो यो।
***
पुष्प दाइलाई सरकारले अराष्ट्रिय तत्वको आरोप लागाएपछि सिक्किम भासिनुभएको रहेछ। राजनीतिको लत भनूँ या चेतनाले उता गएर पनि राजनीतिक गतिविधिमा संलग्न हुन थाल्नुभएछ। यसैको प्रतिक्रियास्वरुप उहाँका विरोधीले हत्या गर्न लखेटेका रहेछन्। तर, दाइको राजनीति 'सिक्किमको राजाको समर्थनमा थियो या लेण्डुपको पक्षमा?' भन्ने प्रश्न उहाँ बाँचुञ्जेल सोध्नै पाइनँ।
कक्षा ६–७ मा नेपाली पढाउनुहुन्थ्यो। ढाका टोपीमा चिटिक्क मिलाएर लगाएको कमिज सुरुवालमा स्कुल आउनुहुन्थ्यो। दाइको त्यो धुमिल बिम्ब यतिबेला सम्झिरहेछु। अघिल्लो दिन पढाएको पाठको शब्दार्थ घोकेर जानुपर्थ्यो। नत्र कानको जरीले नमिठो दुःख पाउँथ्यो। प्रजातन्त्र कालपछि केही समय लिम्बू भाषा पनि सिकाउनुभयो। हामी त्यो बेला 'सिरिजङ्गा' लिपि बुझ्ने भइसकेका थियौँ।
अचानक दाइले जागिर छोड्नुभयो।
घरपायक हुँदा–छँदाको जागिर किन छाड्नु भा'को होला? कि 'खुस्के' बाबै?
छक्क परेथेँ।
पञ्चायत कालमै राजनीतिप्रति मोह हुनेलाई प्रजातन्त्र प्राप्तिपछि शिक्षक जागिरमै सीमित हुनु निको लागेन। त्यही भएर जागिर छोडेर पूर्णकालीन राजनीतिमा होमिनुभएको रहेछ। एकपटक पाँचथर जिल्लाको सहकारी अध्यक्ष हुनुबाहेक दाइको राजनीतिले गति लिएन। ५१ सालको मध्यावधि र ५६ सालको संसदीय चुनावमा उम्मेद्वार बन्ने चाहना पार्टीले पूरा गरिदिएन। फेरि त्यो बेला मार्क्सको कथन 'बिजेताको स्वभाव विजितबाट सरेको हुन्छ' झैँ प्रजातन्त्रवादीको वैचारिक र नैतिक पतन प्रारम्भ भइसकेको थियो। जनयुद्धले आफ्नो प्रभाव विस्तार गर्दैलगेको बेला पनि थियो। गाउँको राजनीति सकसमा थियो। सम्भवतः यही कारण पछिल्लो समय उहाँको राजनीतिप्रति मोहभङ्ग भयो। र, होलटाइमर लेखक बन्नुभयो।
दाइ साहित्यमा थाम्सुहाङ पुष्प सुब्बा भएर स्थापित हुनुभयो। प्रारम्भिक कालमा 'असित' उपनाममा पनि लेख्नुभयो। उहाँको शैली उम्दा थियो भने भाषामा बेजोड पकड। कथा, उपन्यास, निबन्ध, कविता, संस्मरण आदि धेरै विधामा उहाँको कलम चल्यो। लिम्बू भाषा–साहित्यमा र किराती संवत 'थेलेदोङ'को पुनः प्रचलनमा पनि पुष्प दाइको महत्वपूर्ण योगदान थियो। उहाँले साहित्यिक यात्रामा 'तेस्रो आयामको कार्बनकपी' भन्ने आरोपसमेत झेल्नुपर्यो। उहाँ भने तेस्रो आयामसँग पनि विमति राख्दै डिस्कोर्स गर्नुहुन्थ्यो।
'गाउँमा बसेर उत्तर आधुनिकताको कुरा गर्छ,' पुष्प दाइमाथि काइँला बाको अनौपचारिक टिप्पणी सम्झिन्छु। साठीको दशक सुरुवातमा फिदिमबाट सृजनशील उत्तरवर्तीको मुखपत्र 'चक्रव्यूह' प्रकाशित हुन्थ्यो। उक्त पत्रिकामा दाइले बालिरा (बाहुन, लिम्बू, राई) स्तम्भ लेख्नुहुन्थ्यो। त्यहाँ आयामेलीको सृजना र आयाममाथि नियमित डिस्कोर्स चलाइएको हुन्थ्यो। तेस्रो आयामले भन्ने गरेको 'वस्तुता र सम्पूर्णता'माथि प्रश्न उठाउनुहुन्थ्यो। ईश्वर वल्लभले कान्तिपुरको सीमान्तवर्ति स्तम्भमा यसको उत्तरसमेत लेख्नुपरेको थियो। यसैको प्रतिक्रियास्वरुप काइँला बाको टिप्पणी थियो कि? काइँला बा पनि पुष्प दाइलाई स्नेहचाहिँ गर्नुहुन्थ्यो। त्यो स्नेह भनेको पुष्प दाइको प्रतिभालाई उपयुक्त सम्मान थियो। र, थोरै सही राज्यबाट पुष्प दाइको प्रतिभा मूल्याङ्कनमा काइँला बाको प्रत्यक्ष अप्रत्यक्ष योगदान थियो।
पुष्प दाइमा स्वाभिमान थियो। र, नै गाउँमै साधना गर्नुभयो। साहित्यको 'केन्द्रीकृत मूलधार'भन्दा अलग्ग रहेरै पनि सृजनशील बाँच्नुभयो। नत्र उहाँजतिको प्रतिभाशाली लेखकले केन्द्रमै बसेर आफ्नो स्पेस निर्माण गर्न सक्थ्यो। तर, अरुको चाकरी गरेर 'ठूलो साहित्यकार भनिइने लोभ' उहाँलाई कहिल्यै लागेन। त्यो आफ्नो सृजनाप्रति विश्वास थियो। कुनै पनि समय असल सृजनाको मुल्याङ्कन अवश्य हुन्छ भन्नेमा उहाँ ढुक्क हुनुहुन्थ्यो। अति स्वाभिमान घमण्डमा गएर टुंगिन्छ भनेको पनि सुनिन्छ। गाउँका प्रायःले पुष्प दाइलाई घमण्डी भन्थे। कतिपय वंश समुदाय र सामाजिक कार्यमा उहाँले लिएको लिँडेढिपीले पुष्टि गर्थ्यो।
आफ्नो खास प्रतिभाका कारण थाम्सुहाङ पुष्प सुब्बा नेपाली (खस र लिम्बू) साहित्यको 'सुम्हालुङ' हुन्। जो आफ्नो सृजनाको जगमा चीरकालसम्म गर्वले ठडिरहने छ।