जब देख्यो उसले–
शासकका पर्खालभन्दा पनि
अग्लाअग्ला मान्छेहरु
अनि, लेख्न थालेको हो
– गुराँसजस्तो मुस्कानको भाका
– झुल्के घामजस्तो न्यानो आशा
– जीवनजस्तै जिउँदो विद्रोहको गीत
उसँग प्रश्न छ–
केवल एउटामात्रै प्रश्न
संसार किन सीधा हिडिरहेको छैन?
शब्दलाई मृत्युदण्ड सुनाइएको यो क्षण
म पनि उस्तै प्रश्न दोहोर्याइरहेको छु
निर्धक्क प्रश्न सोध्न पाइने युगका निम्ति
तर, शासकहरु प्रश्न मनै पराउँदैनन्
शासकहरु
स्वीकारुन् वा नस्वीकारुन्
फूल त फूल्छन् नै
घाम त झुल्किन्छ नै
बागीहरुले विद्रोह त गर्छन् नै
समय लाग्छ, त्यो बेग्लै कुरा हो
तर, चुप लाग्नु मान्छेको स्वभाव होइन
झिल्काहरु त भर्भराउँछन् नै
ओ शासकहरु,
मान्छेले बाँच्नै नपाउने
प्रश्न सोध्नै नपाउने
बोल्नै नपाउने
कथित धर्मको
म पनि विरोधी हुँ
म पनि कविता लेख्न सक्छु
आऊ मलाई पनि फाँसी देऊ