सेतो कोट र स्टेथोस्कोप भिर्दैमा
डाक्टर
बन्नसकिन्छ र?
डाक्टर हुनु भनेको
ढल्न लागेको एक युग,
एक भविष्य,
एक देश बचाउनु हो !
सिकिस्त वर्तमानमा कापिरहेका कर्णालीहरु
थर्थराइरहेका इतिहासका चित्कारहरु
ब्याक्टेरिया र भाइरसद्वारा शासित मेची-कालीहरु.. .
मिचिएका सुस्ता-कालापानीहरु
छट्पटाउँदै मृत्युशैय्याबाट खोजिरहेछन्
भगवानजस्तो सच्चा डाक्टर !
मृत्युशैय्यामा बिरामी देश देखेर
हृदयघातले ढल्दै
गरेकी आमा मानवता,
सदाचारको खडेरीमा
घिस्रिदै घिस्रिदै भिख
मागिरहेकी छिन्
सेता कोटहरुसामु- एक सिरिन्ज ओखतीको
झोल, एउटा मल्हम।
आमा,
निश्चिन्त होऊ-
तिम्रै पवित्र आँगनको डिलबाट
देशप्रेमको एक
झुल्को घामसँगै लिलाम भैगएका तमाम
युवा मष्तिष्क फर्काउँदै
म सेतो कोटको खल्तीमा
ओखती बोकी आउँदैछु ।
हो आमा,
यो सेतो डाक्टरको कोट हो
बलात्कृत आँसु
तप्किरहेको तिम्री बिधुवा छोरीको चोली
हैन,
न हो रगतको होली खेल्न तम्तयार तिम्रा
छोराहरुको कमिज,
विकृतिका काला बादलहरु
छिचोलेपछिको मधुमास मौसमको हाँसो हो
सेतो कोट।
पबित्र माटोमा संक्रमित सारा भाइरस
ब्याक्टेरिया नष्ट गर्न
म आउँदै छु आमा,
छातीमा चन्द्र-सूर्य
र, काँधमा सगरमाथा बोकेर
तिम्रा घाउहरुको,
यो बिरामी देशको डाक्टर बनेर ।