फोटोग्राफर, डकुमेन्ट्री निर्माताको छवि बनाइसकेका शेखर खरेलको पहिलो पुस्तक ‘मैले नदेखेका हिप्पी’ हालै सार्वजनिक भएको छ । पुस्तकको तेह्रवटा लेखमा शेखरले आफू हुर्किएको बानेश्वरको, आफूले पढ्दाको लण्डनको संस्मरण उतारेका छन् । त्यस्तै, जिम मोरिसन, गान्धी, कविवर माधव घिमिरे, डिपि भण्डारी, अभि सुवेदी, खगेन्द्र संग्रौला लगायतका प्रसङ्गका साथै कलाकार लक्ष्मण श्रेष्ठ, सङ्गीतकारहरु मनोहरि सिंह, लुइ ब्याङ्स् लगायतको व्यक्तिचित्र पनि उतारेका छन् ।
आफ्नो पहिलो गैर आख्यान ‘मैले नदेखेका हिप्पी’ को पहिलो लेखमा शेखरले आपूm ‘अनायासै लेखक’ हुन पुगेको बताएका छन् तर त्यो ‘अनायास’ अनायासै नभई समको नियमित आकस्मिकता सरह बुझिन्छ । शिव अधिकारी, आदित्यमान श्रेष्ठजस्ता पत्रकारको सान्निध्यमा पत्रकारिता गर्नु, लण्डनको बिबिसी नेपाली सेवामा काम गर्नु अनि ६ वर्ष कान्तिपुर प्रकाशन गृह अन्तर्गतको नेपाल पत्रिका र द काठमाडौँ पोस्टमा काम गर्नुको एउटा गन्तव्य लेखक हुनु हो । सामान्यता लामो समय पत्रकारिता गर्नेलाई लेखक बन्ने बाटो खुल्छ । शेखर पनि पत्रकारी नियमितताले लेखक बनेका हुन् र ‘मैले नदेखेका हिप्पी’ उनको आकस्मिकता हो ।
‘मैले नदेखेका हिप्पी’ शीर्ष लेखमा शेखरले नदेखेका हिप्पी बुझ्ने प्रयास गरेका छन् । ‘हिप्पी’ भनेको बेढङ्गका लुगा लगाउने, गाँजा चरेस खाने, यौन कर्ममा खुला विचार राख्नेहरुको समुदाय हुन् सतही रुपमा तर तिनको जरा पश्चिमा समाजको युद्ध विरोधी चेतले ल्याएको स्वतन्त्रता र शान्तिको खोजी हो । भियतनाम युद्धले अमेरिकीहरुमा देखिएको निराशा, निजीकरण, बहुराष्ट्रिय कम्पनीहरुको बढ्दो शक्ति, प्रभावकारी शिक्षाको असफलता, बढ्दो गरिबी र अस्त्रको होडबाजीले ल्याएको त्रासले मानिसहरुमा वितृष्णा ल्याएइदिँदा शान्तीको खोज तीव्र भयो । त्यसले हिप्पी अभियान वा आन्दोलनको सुरुवात गर्यो ।
युरोप–अमेरिकाका युवा बेथतिबाट वाक्क भएर शान्तिको खोजी गर्न पूर्वतिर हिँडे । त्यही हिँड्ने क्रममा उनीहरु टर्की, इरान, अफगान्तान, भारत हुँदै नेपालको काठमाडौँ आइपुगे । तिनीहरुसँगै युरोपेली र अमेरिकी संस्कृति आयो । हिप्पीसँगै विदेशी खान्की, बान्की पनि आइपुग्यो ।
हिप्पीहरु पूर्व हान्निनुका धेरै कारक थिए जसलाई विटल्सको भारत यात्राले पनि उकासिदियो भने हर्मन हेस्सेको उपन्यास ‘जर्नी टु द इस्ट’ मा ‘सिद्धार्थ’ का पात्र बासुदेव पूर्व तिरको यात्रामा लागको छ, शान्तीकै खोजिमा । जुन पुस्तकलाई हिप्पीहरुको गीता को विशेषण दिइएको पाइन्छ । त्यस्तै, हिप्पी संस्कृतिमा संगीतको प्रभाव पनि प्रवल मानिन्छ । अमेरिकामा उडस्टक सङ्गीत महोत्सवले हिप्पी संस्कृतिलाई बढावा दियो भने हिप्पिहरुमा बेलायती संगीत मण्डली बिटल्सको प्रभाव पनि रहेको मानिन्छ । त्यस्तै, हिमाली क्षेत्रमा उब्जाउ भएको गाँजा पनि उनीहरुलाई पूर्व तान्ने एउटा शक्ति थियो ।
संस्थापन पक्षलाई चुनौती दिने, प्रति–संस्कृतिको कुरा गर्ने समुदाय नै हिप्पी हो । हिप्पी काठमाडौं आएपछि झोंछेको गल्ली ‘फ्रिक स्ट्रिट’ मा बदलियो । फ्रिक अर्थात् भिन्न । पिको अयैरको पुस्तक ‘भिडियो नाइट इन काठमाडौँ’ मा एउटा पाठ नेपालबारे छ । त्यसमा अैयरले हिप्पीकालिन केन्द्र फ्रिक स्ट्रिट लगायत काठमाडौंका गल्लीहरुमा भौंतारिएको वर्णन छ । अैयरको खोज र शेखरको खोजमा केही समानता पाइन्छ । पुस्तकमा शेखरले काठमाडौंको मात्र कुरा गरेका छैनन्, अन्तको कुरा पनि गरेका छन् ।
एउटा लेखमा शेखरले लण्डन बस्दाको संस्मरण कथेका छन् । धेरै लेखक चिन्तकको कर्मभूमी लण्डनमा वाम खेमाका एक चिन्तक तारिक अली पनि पुगेका थिए, शेखर जस्तै विद्यार्थी भएर । पाकिस्तानको लाहोर पुगेको तारिकले हिप्पी अभियानलाई नजिकबाट नियाले । उनको पुस्तक ‘स्ट्रीट फाइटिङ इयर्स’ हिप्पीकालिन लण्डनको संस्मरण हो । जसमा तारिकले माल्कोम एक्स, वट्रेन्ड रसेल, हेनरी किसिन्जर, जोन लेनन, योको योनो सँगका प्रत्यक्ष साक्षात्कार र चे ग्वेराका अप्रत्यक्ष साक्षात्कारको संस्मरण सुनाएका छन् । शेखरको पुस्तकमा लण्डनको कुरा मात्र नभएर पेरिसको कुरा पनि छ ।
‘दुई समाधी’ लेखमा लेखकले गान्धी र जिम मोरिसनको समाधीमा पुग्दाको अनुभव र संस्मरण छन् । हिप्पी नै भने पनि फरक नपर्ने गायक जिम मोरिसनको पेरिसस्थित समाधीमा पुग्दा शेखर भावुक बन्छन् । विद्रोही गायक जिमले चरम असन्तुष्टिलाई गीत मार्फत् अभिव्यक्त गरे, उनको सिर्जनाक्रम पनि हिप्पिहरु झैं फरक धार बनाउने प्रयाश हो । आफ्नो मण्डली ‘द डोर्स’ मार्फत् ‘लाइट माई फाइर’, ‘हाउस अफ द राइजिङ सन’ जस्ता गीत गाउने जिमको जीवनीमाथि अर्का हिप्पी भन्न मिल्ने निर्देशक ओलिभर स्टोनले फिल्म बनाए । भाल किल्मरको बेजोड अभिनय भएको ‘द डोर्स’ सिनेमा बनाउने ओलिभर स्टोन आफैं भियतनाम युद्धका पीडित सर्जक हुन् ।
उनी अमेरिकी अधिनायकवादी रवैयाको विरोध गर्छन् र अमेरिकाले नयाँ पुस्तालाई भूmटो इतिहास पढाइरहेको ठान्छन् । उनी हाल ऐतिहासिक विषयमा डकुमेन्ट्री बनाइरहेका छन्, नयाँ पुस्तालाई अमेरिकी इतिहास बुझाउन । हिरोसिमा–नागासागीमा बम खसालेर लाखौं निहत्था मानव नरसंहार गर्ने घटना अमेरिकाको दादागीरिको नमुना भएको मान्यता राख्ने ओलिभरले बनाएको डकुमेन्ट्रिमा लेखनको कममा सघाउने व्यीक्त तारिक अली हुन् । त्यस अर्थमा शेखरले उल्लेख गरेका पात्रहरु मालाका फूल जस्तै एक अर्कासँग जोडिएका छन् जसलाई बाँध्ने धागो भनेको प्रति संस्कृति र विद्रोह (‘काउन्टर कल्चर’ र ‘रेसिस्टेन्स’) हो ।
वास्तवमा हिप्पी आन्दोलनलाई लक्ष्यमा पुग्न नसकेको आन्दोलनको रुपमा पनि व्याख्या गर्ने गरिएको छ । हिप्पी अन्दोलनको एक दशक पछि भएका नारी स्वतन्त्रता आन्दोलन लगायतका आन्दोलनलाई पनि हिप्पी आन्दोलनले प्रभाव पारेको मानिन्छ । तसर्थ, धरै अर्थपूर्ण कुराहरुको जग हिप्पी आन्दोलनमा छ । हिप्पी आन्दोलनका धेरै स्थानमा स्थानीय संस्करणहरु भए होलान् । नेपालमा चाहिँ के भयो त भन्ने प्रश्नको सम्भावित उत्तर खोज्ने एउटा आधार यो पुस्तक हुन सक्छ ।
‘दुई समाधि’ शिर्षक लेखमा उनले चर्चा गरेको अर्का व्यीक्त हुन्, गान्धी । यमुना तट स्थित गान्धीको समाधीमा लेखिएको ‘हे राम’ पढेर लेखक भावुक भएका छन् । विट्रिस साम्राज्यलाई घुँडा टेकाउन आन्दोलन हाँक्ने एक व्यक्ति हुन्, गान्धी । तर यमुना तटमा कोरिएको गान्धीको अन्तिम वाक्य ‘हे राम’ झूटो हो भन्ने आरोप गान्धी हत्याराहरुको छ ।
गान्धी चाहिनेभन्दा बढी सहनशील भएको र अखिल भारतलाई टुक््रयाएको आरोपमा गोली हानी हत्या गर्ने नाथुराम गोड्सेका भाइ गोपाल गोड्सेले उक्त कुरा झुटो भएको बताएका छन् । गान्धी हत्याको आरोपमा नथुराम गोड्से र नारायण आप्टे लाई त मृत्युदण्ड दिइयो । जो अहिंसावादी छ उसैको हत्या भयो र हत्यारालाई फाँसी दिइयो । त्यस्तै हत्यामा संलग्नहरुले जेल सजाय भोगे । तीमध्येका एक गान्धीहत्याको अभियोगमा १७ वर्ष जेल सजाय भोगेका हत्याका प्रत्यक्षदर्शी नथुरामका भाइ गोपाल गोड्सेले टाइम पत्रिकालाई दिएको अन्तवार्तामा के बताएका छन् भने,
‘गान्धीले मर्ने वेला हे राम भनेका होइनन् । किनभने पेस्तोल स्वचालित थियो । पेस्तोलको गोली बस्ने म्यागेजिनमा नौ वटा गोली अटाउने भएतापनि त्यतीवेला सातवटा मात्र गोली थियो । जब पेस्तोलको ट्रिगर दबाइयो, एकै सेकेण्डमा सातै वटा गोली बाहिर निस्के । जब ती गोलीहरुले मुटुजस्ता संवेदनशील अंगमा प्रहार गरे, होस त गुम भयो । कुनै शक्ति नै बाँकी रहेनन् नि ।
नथुरामले गान्धी आएको देखेपछि पेस्तोल झिके र हात बाँधे । बाँधिएको हात भित्र पेस्तोल लुकाए । तर एक जना महिला गान्धीको नजिकै थिइन् । नथुरामलाई ती महिलालाई गोली लाग्ने हो कि भन्ने डर लाग्यो । उनले अघि बढेर देव्रेहातले ती महिलालाई एकातिर धकेलिदिए र गोली चलाए । यी सबै एक सेकेण्डभित्रै भए । एउटा किङ्स्ले भन्ने कलाकारले गान्धीको अभिनय गरेका छन् । गान्धीले मर्ने बेला हे राम भनेका हुन भनेर कसैले मलाई सोधेको थियो । मैले भनेँ, किङ्स्लेले भने तर गान्धीले भनेनन् । किनभने त्यो नाटक थिएन ।’
गान्धीको समाधिमा ‘हे राम’ कुँदिनु र गोपाल गोड्सेले त्यसलाई सत्ताको षडयन्त्र भन्नुले सत्यका विविध पाटा हुन्छन् भने बुझिन्छ । यद्यपी यमुना किनारको गान्धी समाधीको ‘हे राम’ ले शेखरलाई जस्तै त्यहाँ पुग्नेहरुलाई अप्रभावित छोड्दैन ।
नियमित आकस्मिकताले लेखक बनेका शेखरको एउटा लेख एक मित्रबारे छ । मनु मञ्जिलले दिवंगत् एक मित्रको संस्मरणमा एउटा कविता लेखेका छन्— ‘ऊ मेरो चिठ्ठी पुग्ने एउटा ठेगाना थियो, अब छैन’ मनुको कविताको झल्को दिने ‘ठेगाना छुटेको चिठी’ शिर्षको लेखमा शेखरले एक प्रकारको अल्जाइमर रोगी मित्रको दुखद् अवस्थाको वयान गरेका छन् । जुन संग्रहको मर्मस्पर्शीमध्येको एउटा लेख हो ।
‘मैले नदेखेका हिप्पी’ बाट साहित्य जगत्ले भने एउटा नयाँ लेखकको ठेगाना पाएको छ । तीनको ठेगानामा पाठकका मायाका पुलिन्दा पुगे भने तीनको लेखन कर्म निश्चय नै सफल हुनेछ ।
mahes007@gmail.com