सहनु न कहनु मुटु मिची रहनू। चन्द्रमाको पालो आकाशमा। र पनि अन्धकार थियो रात। बादलको च्यादरभित्र। दश ठाउँ च्यात्तिएको तन्नामा ढल्किन्छे ऊ। दायाँ बायाँ २ लाला बाला। स्वस्थानीको ब्रत बसी मिलेको कृपा फल रे। गोडा दो चार वर्ष पहिले जन्मेका।
जवानी जोश। बेलैमा टाप कसेका। खै कसैको बिहेमा भेटेको पहिलो निहुँ रे। Prima facie मै..।
बिहेका बारे घर परिवारको खोजनी अनी साथीभाईको सोधनी दुबैमा बिर्को लाग्या। ऊ बेलै।
मझौला हैसियतका घर दुई तिरै। सिन्धुपाल्चोक माईती अनी जिल्लाले गोरखा घर। बाउ आमालाई नपुछेपछि बाउ आमा चिढिएका। दुई तिर कै। ऊ क्षेत्रीनी अनी खसम गुरूङे ठिटो। नामले धने। भुत्रो मिल्थ्यो कुरो। अहिले त मुस्किल।
दुई तर्फी बाटो बन्दी। घर नजिकै बसेका, गुरूङे गाउँमा उनीहरू। र पनि आऊजाऊ लगभग शून्य। छोरी, ‘फगत ज्वाँई रिझाउने घर कस्तो छ तेरो?’ आमाको कोही बेलाको प्रश्न तेर्सिन्छ उसको सम्झनामा। बाको पिठ्यूँ परी सोधेको। आमाको मन न हो।
‘राम्रो छ नि आमा। बनीबुतो, जिन तिन चलेकै छ। बाको योग्य ज्वाँई खोज्ने रहर उछिनेर आएकि म। र पनि तिम्रा ज्वाँई सक्कली नै छन्। सुधा प्राणी। आफ्नै बलबुताले घर बनाएको छ। बारपाकमा। होम स्टे पनि चलाएको..’ आदि आदि।
आमालाई ढुक्क दिलाई थि। सँगै हलुँग्याएकी मन। हलक्क बढ्ने मन बेला बेला trim बनाउँथी, माईती आमासँग फुनमा भएपनि बकेर।
औधि माया गर्ने लोउनी उसको। साँच्ची बा आमाको मन कुँड्याये पनि उसको भित्री मनमा गहिरो सन्तोष। उन्नत् भविस्यको खोजीमा लोग्ने मुग्लान पसेको। अंश बंश धान्ने १ छोरो र ठूली छोरी। उमेरमा २ र ४ का। होम स्टे चलाएको घर लाहुरे अर्थतन्त्र कै उपज रे।
जीवन चल्दै थियो। सुखमय। घर माईती जेसुकै भएपनि। लाहुरे पोई। देश बिदेश आऊ जाऊ। उसले होम स्टे चलाएकि। स्थानीयस्तरको तारे सुविधा सहितको। नाक कानका गहना अनी वर्षौको गुरूङसँगको उठ्बसले पक्का गुरूङसेनी देखिने अहिले आएर। अचानक १२ वैशाखले नयाँ मोड ल्यायो। च्यात्तिएको पछ्यौराको सप्को मिलाउँदै आँखाका डिल पुच्छे डिल कुमारी। सँगै सुस्म आवाजमा सुँक्क सुँक्क । ‘साब, परार साल महाकालीले निल्यो मेरा बा। माईतका। पुलिसको जागिरे। ऊबेला दार्चुला हुनुन्थ्यो। म हिँडेदेखि राम्ररी देख्न पनि पाएकी थिइन। मुख कडा भएपनि मन नौनी । तेही साल, जे भो भो कुर्कुरे बैशाँ जे अरी अरी अब छोरी, ज्वाँई भित्राम्न पर्च भन्नुन्थ्यो अरे। आमाले नै सुनाएकी।
यो साल आमा। वैशाख १२ मा छलिएकी आमालाई २९ वैशाखको भुकम्पले ठाउँको ठाऊँ। खाना खाँदै गर्दा घरको दलिन नै.. पछि दुई मुठी पानी भदाले ख्वाएको, स्वात्तै भित्र छिर्यो रे।’
उसका कुराले अवरुद्द म समेत। छेऊमा बालेको मुढोमाथि २ थोपा चुहिए मेरा पनि। ऊ बीच बीच रोकिँदै थप्दै थिइ, ‘बारपाकको श्रीसम्पत्ति सबै डुब्यो भूकम्पमा। कताबाट बाहिर भएको बेला पर्यो र मात्र परान बचेको।
विदेशिएका खसम पनि सम्पर्कमा छैनन हिजो आज। लामो समय भो । ठूलो भूकम्पपछि दो फेर फोन गरेथे। सुर्ता नअर बुढी। म छिट्टै आउँछु लाहुरे अर्थतन्त्र लिएर अनी भत्केको घर उकासौंला, छोछोरी, बा आमा र आफ्नो ख्याल राख्नू भन्थे,’ थप्दै थिइ ऊ, ‘धन्न यो भूकम्पले सासु ससुरालाई बा आमा बनाईदियो, साब।’
उसका कहानीकै क्रममा, २/ ३ पटक जमिन लप्कीसकेको थियो। हिमाल नजिक सरेको बारपाकी बस्तीलाई अटुट रूपमा ठन्डी वायुको बेलयात्मक प्रहार यथावत थियो। पहारा छेऊको बस्ती, प्वाली पाल, हिम ब्रिस्टी, उसका सासु, ससुराको चिसिँदै गरेको चूल्हो छेवैको सुताई आदिले ऊ जमनामा बिहेदान भैसकेकी चेलीको घर कस्तो छ छोरी भन्दा ‘पहरा र पाखुराको भेट हुने, आकाश मण्डल देखिने, सासु दुध सेकाई अनी ससुरा ह्यकुलो सेकाई सुत्न मिल्ने खालको’ भन्ने शैलीकै उत्तर आउने देखिन्थ्यो।
बैशाख १२ ले डुबाएको उसको घरबाट फेला परेको १ थान स्वस्थानीको किताब उसको छेवैमा फुस फुसे हुउँले लचप्पै देखिन्थ्यो।
उसका कहानी बिस्तारै ब्याट्री सकिन लागेको रेडियो झैं हुन थाले। पूर्वमा रातो टाटो देखिन थाल्यो। लाला बाला न्याना कपडा बाँडन् सरकार आउँदै छ भन्ने सुनी मुनिपाठीको तेजमा हानिए चौतारीतिर। ससुरा रेडियो को मुन्टो बटारी स्वस्थानीको कथा सुन्न लागे।
यसपाली श्रीमान तत्काल् घर फिर्ने आशमा स्वस्थानीको ब्रत थालेकी ऊ नुहाउन हिंड्न तर्खराई।
'कान्छा', 'कति सुत्छ?' आमाको चिया सहितको अभिवादनले ब्युझिन पुगेछु।
उसका निधारका धर्का, च्यात्तिएको तन्ना अनि बारपाकका कम्पन धर्का लगभग समान देखिन्थे।
बराल महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत हुन्।