स्वतन्त्रता प्यारो लाग्ने तर सबैभन्दा धेरै घेराबन्दीमा परिने उमेर यौवनाअवस्था होजस्तो लाग्छ। बालबालिका स्वतन्त्र हुन्छन् मनको उडान भर्न। हो, छेकिन्छन् कतै भावनाका पतङहरू। तर फेरि बाआमाका सहारामा त्यो उडानले आफ्नो गन्तव्य भेट्टाइ छोड्छ।
बृद्धावस्था मुक्तिमार्ग हो। तमामखाले घेराबन्दीबाट मुक्त हुँदै आफैंबाट नि मुक्त भइजानु एकदिन। तर यसबीचको उमेरमा मानिस घेरिएको हुन्छ प्रश्नहरूबाट। र, खोजिरहेको हुन्छ समय र परिस्थितिसँग ती प्रश्नको जवाफ। कतिपय प्रश्न सरकारी अफिसको कुनै कुनामा थन्किएको पुरानो फाइलजस्तै थन्किबस्छन् हृदयको कुनामा, नाजवाफ भएर।
साँच्चि, कति धेरै छन् यो उमेरमा झेल्नुपर्ने यी प्रश्नका स्रोत, समय, भविष्य, सम्बन्ध, प्रेम, परिवार आदि/इत्यादि। र, फेरि जवाफ खोज्न पनि हामी फेरि घुमिहिँड्छौं यिनै स्रोत वरपर। यो प्रश्न र जवाफको खोजबिन मलाई निक्कै कष्टदायी लाग्छ।
एसएलसी पास भएपछि सहर पढ्न जान्छु भन्दा एकदिन बाले सोध्नुभो, 'के खुइलाउन जान्छस् सहर?''
पढ्न जाने कुरा त बालाई थाहा नै थियो। तर फेरि पनि किन भनेर सोधेसी मेरो मस्तिष्कले तत्कालै जवाफ भेट्टाएन। साँच्चि, म किन पस्न चाहन्थेँ सहर? पढाइको सिलसिला मात्र जोड्नु मेरो सहर पस्ने कारण थिएन। उसैपनि पढाइलेखाइमा म लास्ट बेञ्चर नै त थिएँ। एसएलसी पास भएको रिजल्ट सुनेसी पत्याउन म आफैँलाई धौ परेको थियो। यस्तो अजिबो गरिब पढाइको सिलसिला जोड्न सहर पस्छु भन्दा बाले पत्याउने कुरा थिएन। कैयन दिन सहर पस्नुको कारण नभेटाएसी जसोतसो जवाफ फर्काएँ, 'जमिनमा बसिराको मान्छेले चन्द्रमामा के खुइलाउन पाइन्छ भनेर कसरी बताम् बा? चन्द्रमामा टेकेसी न थाहा हुने हो के के खुइलाउन पाइन्छ।'
त्यसको केही दिनपछि बाले छिटै फर्कने बाचा गराई मलाई गाउँको बस बिसौनीबाट विदाइका हात हल्लाउनुभयो। र, म सहर पसेँ।
***
सहर पसेको नि सालाखाला १२/१३ वर्ष पुग्यो होला। गाउँका याद धमिला हुँदै गएका छन्। र, धमिँलिदै छन् मस्तिष्कको यादघरमा आफन्तीका तस्बिर र पनि। गाउँ छाडेको केही वर्षपछि गाउँमा अलिक लामो समय बस्ने मौका मिल्यो। गाउँघर घुम्न भनी निस्किएको मान्छे नमस्कार र ढोगबीचको सन्तुलन मिलाउन सकिनँ मैले।
आफन्तीको साइनो बिर्सिएर ढोग गर्नुपर्नेलाई नमस्कार र नमस्कार गर्नुपर्नेलाई ढोग गरेँछु। यतिसम्म त आफन्तले पचाएका थिए। तर जब सिर निहुराएर नमस्कार गर्न थालेकी एक युवतीको शीरमा झुक्किएर आशिर्वादको हात राखिदिएँ, त्यसपछि स्थिति असामान्य भयो।
मैले बहिनी सोचेको थिएँ। भाइबुहारी परिछन्। हाम्रो गाउँघरमा बुहारीले जेठाजूसामु शीरको कपाल देखाउनु र छोइनु निकै पाप कार्य मानिन्छ। त्यो कार्यले आफन्तका नजरमा म सहर पसेर मतिभ्रष्ट भएको 'कुसंस्कारी नम्बर वन'मा गनिएँ। घटना सामान्य थियो तर त्यसले ठूलै रुप लिने देखिएपछि बाले स्थिति सम्हाल्लान् कि भनी म घरतिर लागेँ। बाले आफन्तका गालीमा गाली मिसाएर स्थिति सम्हाल्नु भयो या फेरि मबारे कुनै स्पष्टिकरण दिएर।
साँझ घर फर्कँदा उहाँले जंगिदै प्रश्न सोध्नुभो,'कुलंगार! सहरमा मान्छेसँग संगत छ कि झिँगासँग? नमस्कार र ढोँगबीचको अन्तर नि थाहा पाउँदैनस्। सहरमा के गर्छस्?'
छेउमा आमा मौन हुनुहुन्थ्यो। के भनौँ भनौँ भयो।
'सहरमा त लाल सलाम मात्र गरिन्थ्यो बा। बूढादेखि तन्नेरी, दिदीबहिनीदेखि सोल्टिनी सबै साथी। नमस्कार र ढोगको खासै आवश्यकतै नपर्ने। लाल सलामले ढोग र नमस्कारबीचको सन्तुलन बिर्साइदिएछ। माफ पाऊँ।'
जवाफ सुनेर बा खित्का छोडेर हाँस्नुभो। बा हाँसेपछि मन चंगा भो।
***
विस्तार विस्तार गाउँघर जाने समय पातलिन थाल्यो। पहिले हप्ता अनि महिना अनि वर्ष हुँदै समयान्तर बढ्दै गयो। आमा जहिल्यै नि मौन नै बस्नुहुन्छ। न उहाँले नै मलाई कुनै प्रश्न गर्नुहुन्छु न म नै उहाँलाई। उहाँको मौनता मेरो लागि अहिलेसम्मकै सबैभन्दा ठूलो प्रश्न हो। मेरो हरेक निर्णयमा उहाँको मौनता सहमत हुन्छ। मौनतामा असिमित प्रेम लुकेको हुन्छ भन्छन्। त्यसको साक्षी प्रमाण मेरा लागि आमाको मौनता नै हो। तर बा! बिस्तारै घर जाने समयान्तर बढ्दैगएसी एकदिन बाले फोन गरेर सोध्नुभो, 'सहर पस्या कुकुर र मान्छे गाउँ फर्किन्न भन्थे। कुकुर त भइस्। त्यता गएर के के न भुत्लाउँछु भन्थिस्। लु भन् के सिकिस्, कति कमाइस्?'
यसो गोजी छामेँ। एक नजर कोठाभरि दौडाएँ। जिन्दगी निचोरिएर मथिङ्गलमा आइबस्यो। र, भनेँ, 'दुःखसुखमा नआत्तिन, नमात्तिन सिकेँ गुरु। अब के कति कमाएँ, त्यो स्वर्ग पुगेसी मसानघाट हेरी मुल्यांकन गरी लिउँला।'
बूढा एकछिन चुपचाप भए। र भने, 'बहुत अच्छा केटा। उमेरमै धनी भैछस्।'
कहीलकाहीँ अभावले मन बिथोलिँदा बाको त्यो बचनले मन सम्हालिदिन्छ।
***
बाआमा दुबैलाई सन्तान जतिसुकै ठुला भए नि सानै लाग्छन् भन्ने कुरामा मेरो असहमति छ। आमालाई सन्तान जहिल्यै साना लाग्छन। तर बा सन्तानको बढ्दैगएको उमेरको अंकगणीतीय हिसाब राम्ररी राख्छन्। उमेर र जिम्मेवारीको वास्तुशास्त्र मिले नमिलेको बाहरूलाई राम्रोसँग हेक्का हुन्छ। आमा जहिल्यै नि प्रेमबोध गराउँछिन्। अनि बा जिम्मेवारीको। सहर पसेको ४/५ वर्षमै मेरो उमेर वरपरका दाजुभाइको जिन्दगीले …मेटामरफोसीस' परिवर्तन गरिसकेको थियो। उनीहरूका छोराछोरीले तोतेबोलीमा अंकल भनी बोलाउँदा मलाई रमाइलो महसुस हुन्थ्यो। तर ती तोत्लेहरूका बाउआमाको अनुहार आफ्ना छोराछोरीलाई सुम्सुम्याउँदा यसरी चम्कन्थ्यो कि! विश्वस्तरमै उनीहरूले पहिलो चामत्कारिक आविष्कार गरेका हुन्। र, त्यो चामत्कारिक दुनियाँमा म कुमारको हैसियत भने झारफुक गर्ने झाँक्रीजतिको पनि छैन। त्यो समय २/४ दिनको गाउँ बसाइले मलाई यस्तो अनुभूति गरायो। मेरा बा त झनै वर्षौं यस्ता अनुभूतिहरू मेरै लागि संगालेर बसेका थिए।
त्यसैले यो बिहे लीलाबारे मेरो मनसाय बुझ्न बाले एकदिन प्रश्न तेर्साउनुभो।
'अनि तँ बिहेलीला रच्दैनस्? नातिनतिनाको मुख नदेखे त यमराजले नि स्वर्गको ढोका खोल्दिनन् रे त।'
'खै बाबा! अहिल्यैसम्म यो लीला रच्नेबारे सोचिभ्याएको छैन।'
बालाई मेरो जवाफ निक्कै हल्का लागेछ क्यार। दोहोर्याएर थपथाप पारी फेरि नि सोध्नुभो।
'ल ठिकै छ। छोरीतिरका नातिनतिनाले हामी बूढाबूढीको लागि स्वर्गको ढोका खोलिदेलान्। अति त बूढोकन्या भई बसिस् भने नपुंसक भन्ला नि समाजले।'
यसका लागि मसँग जवाफको अभाव थिएन। अनि आनी छोइङको सुरिलो गीत मेरो हृदयको सुरुङमा गहिरोगरी भासिएको थियो। उनकै गीत सापटी लगी जवाफ फर्काइदिएँ, 'त्यो त बा, फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडा। बिहे नगर्दैमा मलाई नपुंसक देख्ने समाज नि त्यही हो।'
त्यसपछि बाले बिहेलीलाबारे प्रश्न तेह्रयाउनुभएन।
***
हिजोआज बा धेरै प्रश्न गर्नुहुन्न। सायद उमेरले उहाँलाई धेरै जवाफ दिइसकेको छ। बरु उहाँको वृद्धावस्था नै अब मेरा लागि एक गम्भिर प्रश्न हो। जसको चित्तबुझ्दो जवाफ मैले मुखबाट ओकल्ने २/४ शब्दले दिन सक्दैनन। यो अवस्थामा प्रायः बा सन्तानको कमाइको हिसाबकिताब राम्ररी हेक्का राख्छन्। तर यस्ता प्रश्नको सामना मैले गर्नुपरेको छैन। सायद उहाँलाई मेरो कमाइको पर्सेन्टेज भन्दा नि सहाराको आवश्यकता छ। तर बासँगको प्रश्नोत्तरको लत लागेको म आफैँले उहाँसँग एकदिन प्रश्न गरेँ:
'आमा मेरा निर्णयमा सधैँ मौन। अनि आजभोलि तपाईं पनि मौन। उहिल्यै यसरी प्रश्नमाथि प्रश्न तेर्साउनुको चलखेल के थियो नि गुरु?'
बाले गम्भिर मुद्रामा जवाफ फर्काउनुभयोः
'समाजमा दुई प्रकारका मानिस छन्। एस म्यान अनि कोइस्चन म्यान। एस म्यानले वर्तमानमा कागजका पन्ना भर्छन्, जो छिटै च्यातिएर हराउँछन्। कोइस्चन म्यानले इतिहासका पन्ना भर्छन्, जो भविष्यसम्म टिक्छन्।'
बाको जवाफको अर्थ बुझ्न त्यो समय मलाई धेरै समय लाग्यो। अनि एकदिन मैले उहाँलाई फेरि प्रश्न गरेः
'बा अब हाम्रो प्रश्नोत्तरको समय सकिएको नै हो?'
बाको जवाफ थियोः
'केटा मेरो हैसियतले तँलाई प्रश्न सोध्न भ्यायो। तेरो हैसियतले दुनियाँलाई प्रश्न सोध्न क्षमता राखोस्।'