उनले 'मे आई कमिन सर' भन्दा भर्खरै मात्र स्कुलको 'गार्जेन्स मिटिङ' सकाएर आराम गर्दै थिए। एक दिनअघि मात्रै विद्यार्थीहरुको नतिजा प्रकाशित भएकाले पास या फेल हुने विद्यार्थीहरुको गार्जेन्ससंग मिटिङ सकिन नपाउँदै कसैको मिठो बोली सुन्दा कम् इन नभनी बस्न सकिनँ। शोभा, हाम्रो विद्यालयकै कक्षा ९ कि होनहार छात्रा, मलिन मुहार लिँदै सरासर अगाडि बढिन्। शोभा बस! अगाडिको सोफा देखाउँदै इशारा गरेँ।
अफिस कोठाको घडिमा ४:३० भइसकेको थियो। सधै चार बजेनै सबै विद्यार्थीहरु घर फर्किसकेका हुन्थे तर आज शोभा भने एक्लै स्कुलकै पोसाकमा अफिस कोठामा देख्दा म दंग थिए।शोभा तिमी किन यसबेला सम्म स्कुलमा? घर किन गएनै? अनि मेरो रुममा किन आयौँ?
“सर आई एम नट् स्याटिस्फाइड विथ माई रिजल्ट!”
उनको प्रतिक्रिया सन्नासाथ उनैको हातमा भएको नतिजा हेरेँ।
८९ प्रतिशत अनि कक्षामा दोस्रो,वास्तवमै उत्कृष्ट नतिजा थियो।
राम्रो रिजल्टमा पनि किन सन्तष्ट छैनौँ, आश्चर्यचकित हुँदै प्रश्न गरें।
“सर मेरो इपिएचमा झा सरले २ मार्क काट्नुभएको छ”, उनले आफ्नो इपिएच विषयको पेपर देखाउँदै भनिन्।
मैले उनको पेपर हेरेँ। त्यहाँ उनको अक्षर फोहोर भएकाले दुई अंक काटिएको रहेछ। शोभा मलाई त्यही २ अंक थपिदिनका लागि आग्रह गर्न आएकी रहिछन्।
उनको आग्रह बिस्तारै ढिपीमा परिणत भएको महसुस म गर्न सक्थे यद्यपी उनको आग्रहलाई मैले स्विकार्न नसक्ने भन्दै फकाउनतर्फ लागे।
शोभा यो फस्र्ट टर्म एक्जाम त हो नी यो टर्ममा नम्बर थोरै आउँदैमा केही हुँदैन बाँकी २ वटा परीक्षामा राम्रो गरे भइहाल्छ नी त्यही माथि पनि तिमी त राम्रो पढ्ने विद्यार्थी हौं अर्को परीक्षामा तिमीले उत्कृष्ट अंक लिएर आउने छौं म बिश्वस्त छु।
“होइन सर, आज त मलाई २ अंक जसरी भए पनि चाहिँन्छ। म आजसम्म कक्षामा दोस्रो अथवा त्यस भन्दा तल कहिल्यै पनि झरेको छैन। तर आज एक्कासी ९ कक्षामा आएर दोस्रो हुनुको पीडा तपार्इ महसुस गर्न सक्नुहुन्न सर। ”
शोभा सही थिइन् वास्तवमै उनको आग्रह मलार्इ जायज लागिरहेको थिएन। उनी केबल भावनामा बगिरहेकी थिइन् साथमा मलाई पनि उनैतर्फ डोहार्याउँदै थिइन्।
“मेरो परिचय नै मेरो उत्कृष्टता हो। यसरी अनायाशै मेरो परिचयमाथि प्रश्न उठ्छ भने त्यो मेरा लागि असैह्य हुन्छ सर। यदि मैले कुनै प्रशन बिगारेको भएर अंक काटिएको थियो भने म त्यसमा केही भन्ने थिइन्। के सबै फोहोर अक्षर भएका विद्यार्थीहरु फेल हुन्छन् त?”
बिच बिचमा टेबल बजाउँदै उनले उठाएका कतिपय प्रश्नका मसँग उत्तरनै थिएन। भएका उत्तरहरु शोभालाई सुन्नुनै थिएन। “सर, मलाई घरवरिपरी यो त दोस्री भइछे भन्दै चिड्याउँछन्। छिमेकी हरि काकाले पनि उहाँको तीन कक्षामा पढ्ने छोरालाई मेरो साटोमा अधिससंग ट्युसन पढाउने रे। कक्षामा टिचरहरुलार्इ अधिसको मात्र ध्यान हुन्छ। जहिले पनि उसैलार्इ मात्र बधाई दिइराख्नुहुन्छ। एकदिनमै मेरो प्रेस्टिज डाउन भयो। म शिर ठाडो गरेर हिड्न चाहान्छु। पिल्ज सर मेरो २ अंक थपिदिनुस! म नै मेरो कक्षाको फस्र्ट स्टुडेन्ट हो। तपाई त प्रिन्सिपल हुनुहुन्छ। प्ल्जि सर हेल्प मी टु मेन्टेन माई पोजिसन्!
शोभाले २ अंकका लागि गरेको एकल ढिपीको रहस्य बल्ल बुझ्दै थिएँ। २ अंकमा लुकेको यति धेरै पीडालाई पहिलो पटक अनुभव भएको भान भयो। देउताको पाउमा शिर राखेझै शोभा मेरो पाउमा श्रद्घाका साथ घोप्टीएकी थिइन्। क्षणभरमै म पनि कसैको लागि देउता हुन पुगेछु। मेरो पाउमा उनको आँसुसहितको आग्रह थियो। निहुँरीएकी शोभालाई सान्त्वना स्वरुप उठाउन खोज्दा मेरो नजर आफूले लगाएको कालो जुत्तामा पोखिएको आँसुमा पर्यो तर पनि बेवास्ता गर्दै शोभाको विषयमा भोलिपल्ट फस्ट आवरमा नै झा सरसँग कुरा गर्ने बाचा गरेँ।
उनले मानिनन् हजुर अहिलेनै झा सरसँग फोनमा कुरा गर्नुस्। उनको ढिपीको अघि मेरो केही सिप चलेन अन्तमा झा सरलाई नै फोन गरेँ। फोन अफ रैछ। लागेन।
धेरै प्रयासपछि जसरी पनि उनको समस्या समाधान गरेरै छाड्ने वाचासहित जसो तसो शोभालाई घर पठाउने बन्दोबस्त गरेँ। विद्यालयको घडिले साँझको ६ बजेको घण्टी हानेपछि आफू पनि घरतिर लागें।
*****
साँझ घर पुगेपछि पनि शोभाको आग्रह जायज हो कि होइन भन्नेतर्फ दिमाग केन्द्रीत हुँदा थकान महसुस भयो। भोक, प्यासको पत्तो पाइएन। मनमा डर पस्यो। यत्ति कारणले शोभाले केही नराम्रो कदम चालिन भने! फेरि खाटको अर्को साइडमा पल्टिदै होइन होइन, जम्मा २ अंकका लागि उनले कदापी पनि नराम्रो कदम चाल्ने छैनन्। यस विषयलाई मैले ध्यानपूर्वक समाधान गर्नै पर्छ। भोलि बिहान छिट्टो स्कुल गएर कुरा गर्नु पर्ला यति सोच्दै सिरकले घप्प शिर ढाकेर सुते।
*****
बिहान ६:३० बजेबाट कक्षा ९ र १० का विद्यार्थीहरुको कोचिङ क्लास भएकाले ६ बजे नै विद्यालय जान जुत्ता तयार गर्दै थिएँ। शोभाको आँसु जुत्तामा दाग बनि बसेको रैछ। यो दागमा उनीप्रतिको मेरो जिम्मेवारी लुकेको थियो। उनको आँसुलाई बुट पोलिसले जुत्ता चम्किने गरी हटाइदिए अनि मनमनै भनेँ, “शोभा तिम्रो समस्याको समाधान गर्न सक्दो कोशिस गर्छु।
विद्यालयको १० बजेको एसेम्बली सकिएर सबै विद्यार्थी आ-आफ्नो कक्षामा गएपछि म पनि झा सरसँग शोभाको विषयमा कुरा गर्ने तरखर गरिरहँदा अचानक चार प्रहरीहरु मेरो क्याबिनमा आइपुगे।
बाबुरामजी तपाई नै हो?
हजुर म नै हो।
यति भन्ना साथ कागज समातिरहेका मेरो हातमा एक्कासी हतकडी लगाइयो। के भइरहेछ, किन भइरहेछ केही थाहा पाउन सकिन के बोलु के भनुम्, अंह! मलाई थाहा भएन। यतिकैमा म नजिकै उभिएका एकजना प्रहरीले मलाई हतकडी लगाउनेसंग उहाँलाई भ्यानमा हाल्नुस् भनेर आदेश दिएपछि मात्रै म होसमा आएँ।
“के भयो किन हतकडी लगाउनुभएको मलाई?आवेशमा सोधेछु।
शोभाको सुसाइट नोटमा तपार्इको नाम उल्लेख छ भन्दै त्यो नोट देखाए। हो रहेछ, त्यहाँ शोभाले मेरो कारणले सुसाइट गर्न बाध्य भएको कुरा दर्शाएकी रहिछन्। त्यसैले अनुसन्धानका लागि तपांइ हामीसँग हिड्नुस्।
मलार्इ छाँगाबाट खसेझै भयो। उनीहरु मलाई जबरजस्ती घिच्याउँदै भ्यान भएको तर्फ तानिरहेका थिए। 'पर्खनुस मेरो यस घटनामा केही दोष छैन। तपाई अनुसन्धानका लागि मलाई लैजान चाहनुहुन्छ भने सम्मानका साथ लैजानुस्। मेरो पनि यो समाजमा प्रतिष्ठा छ। मेरो हतकडी खोलिदिनुस् म आफै तपार्इसंग जान तयार छु।'
केहीबेरको सोधपुछपछि मलाई जेलभित्र हालियो। पटक पटक चिच्याएँ, कराएँ। मेरो आवाज सुनिदिने कोही भएन। म निर्दोष भएको यथार्थमा कसैको ध्यान गएन। प्रहरीहरु लठ्ठीले जिउ र पैतालामा हिर्काउथें, साँचो साँचो बोल भन्दै लौरी मुखभित्र छिराउँदा वाकवाकी लाग्यो। रुदाँ रुँदा मुख सुख्खा भयो। पानी माग्दा शोभालाई किन सुसाइट गर्न लगाइस् भन्, नभनेसम्म पानी पाउँदैनस् भनी फेरि गालामा झापु लगाउँथें।
मैले सत्य बोलेको कसैलाई पचेन अन्तत: मुद्दाले प्राथमिकता नपाउन्जेलसम्म प्रहरीहरुको लौराको निलडाम यस्ता अनेकौ यातना भोगिरहें। उनीहरुले दिने यातना मेरो लागि विस्तारै दैनिकी बन्दै गयो। चोट सहेर शरीर लाटो भएर होला समयसंगै लौरीको प्रहार पनि सामान्य लाग्दै गयो।
शरीरमा लागेको चोट पटक त केही दिनपछि बिलाउँदो रैछ तर जब जब म शोभाको आमा बुबाले आफ्नो एकमात्र सन्तान गुमाउनुको बिलाप गर्थें म पनि उनीहरुसंगै रुन पुग्थे । साँच्चै भन्नुपर्दा म उनको आमा बुबाको लागि त हत्यारा नै साबित भएको थिएँ। उनीहरुले गर्ने छि छि र दुरदुरको पात्र हुँ म। कैयौँ पटक उनीहरुको थुकेको थुकले मुहार पखालियो। पटक-पटक उनीहरुका अघि सत्य तथ्य ओकल्ने प्रयास नगरेको पनि होइन तर मेरो कुनै पनि कोसिस सफल हुन सकेन।
शोभाले २ अंकका लागि ज्यानै बलिदान गर्छिन् भन्ने जानेको भए त म दुईमात्र होइन उनले भनेजति अंक थपिदिन्थे नी! सुसाइट नै गर्छिन् भन्ने थाहा नभएपनि खल्तीमा भएको रातो पेनले अंक जोडिदिनुपर्ने रैछ। यही कुराले मलाई दिन रात पिरोली रह्यो र अझै पनि यही पीडा मभित्र जिवितै छ।
शोभाको मृत्युको आज १२ वर्ष पुगिसक्यो। महिनौपछि उनको मृत्युको कारण खुल्यो कि उनी पहिलेबाट नै डिप्रेसनबाट ग्रसित थिइन्।उनले गरेको सुसाइट मेरो कारणले भन्दा पनि उनकै मानसिक तनाबका कारण हो भन्ने प्रमाणित भएपछि म यो मुद्दा र प्रहरीको यातनाबाट मुक्त भए। आजकल स्वतन्त्र जीवन बाँचिरहेछु। त्यो समयमा कुनै विद्यालयको प्रिन्सिपल थिएँ भने हाल एक प्रख्यात कलेजमा सामान्य अंग्रेजी विषयको टिचर भएर बाँचिरहेको छु।
हरेक दिन म शोभालाई बिर्सन खोज्छु अहँ सक्दिन्। त्यस बेलादेखि टिचर भएर बाँच्न पनि निकै गाह्रो रहेछ भन्ने कुरालाई बुझेँ। तर अब नचाहेर पनि यही पेशालाई नै अंगाल्नु पर्छ किनभने मसंग यसैकै डिग्री छ। हरेक दिन जब विद्यार्थीहरुलाई देख्छु उनै शोभाको अनुहार, उनैले दुई अंकका लागि जोडेको हात अनि आँखाबाट बगेको आँशुको झल्को आउँछ। अनि आजभोलि मेरो मनस्पटलमा आवाज गुन्जिरहन्छ,'सर मलाई २ अंक किन थपिदिनुभएन।'