कौंसीमा तरकारी खेती खुबै मौलाएको छ भनी लेखेका लेख्यै छन्, हिजोआज पत्रपत्रिकाले। जैविक उत्पादनप्रतिको चासो परनिर्भर घटाउने बाटो भन्दै तस्वीर पनि छापेका छन्।
बोट पनि सप्रेकै देखिन्छन्।
दाना पनि पोटिलैजस्ता लाग्छन्।
हिजोआज सुवर्णको ध्यान त्यतैतिर खिचिएको छ। यसपाला भने दुई÷चारवटा गमलाको जोगाड गर्ने सोंच आयो उसको मनमा। इलाम जाँदा बारीभरि लटरम्म फलेका खुर्सानी देखेको यादआयो।
खाना खान पेम्बा होटलमा के बसेको थियो, फुर्फुट्टीले चरेसको थालमा खानासँगै छुट्टै रिकापीमा ल्याएको डल्ले खुर्सानी पनि सम्झ्यो। ग्यासट्रि«कले गाँजेको मान्छेलाई खुर्सानी के काम? जिब्रोलाई त स्वाद पर्छ तर के गर्नु पेट पोलेर उखरमाउलो भइहाल्छ भनेर आफूले भन्दा काउन्टरमा बसेकी पेम्बा भाउजूले ‘यो त अकबरे हो सर, अकबरे। ग्यास्ट्रि«कलाई त यो सर्पलाई गरुडको छायाँ पर जस्तै हो’ भनेको पनि सम्झ्यो।
अकबरेको बिउ खोजीखोजी जमायो गमलामा। गमलामा भान्साबाट निस्कने तुरुन्तै कुहिने फोहोर पनि जम्मा ग¥यो। आलु तासेको बोक्रा कुहिन त बेर नलाग्ने रहेछ। आलु भन्ने चीजै यस्तो हो जसले आफैँ कुहिन र अरुलाई कुहाउन बेरै लगाउँदैन। लौका फर्सीको बोक्रा र गुदी पनि त्यस्तै रहेछ। फत्याकफुतुक भइहाल्ने। ज्ञानको भण्डार थपिदै आएकोमा सुवर्णको नाक घिरौंलाजस्तो हुन थालिसक्यो, त्यो पनि अकबरे नरोप्दै।
जमाएको अकबरे पनि भर्रै उम्रे।
सुवर्ण बिहानबेलुकी भर्खर उम्रेका बेर्नालाई पानी हालिरहन्छ, नयाँ जोगीले ज्यादा खरानी घसेजस्तै। उसकी श्रीमती भने पानी हाल्न भन्दा गमलाबाट चुहिएको पानीलाई लिएर झर्की रहन्छे। छोरोचाहिँ कुहिने फोहोर जम्मा गरेको गमलामा किन झिंगा भन्किरहेको बाबा भनेर हैरान पारिरहन्छ।
जे भएपनि सुवर्ण बाह्रसत्तरी उत्तर दिएर बालसुलभ जिज्ञासालाई दिग्भ्रमित पारिरहन्छ। आजमात्रै दि हिमालयन टाइम्समा प्रकाश र विरुवाको बृद्धिबारे गरिएको टिप्पणी उसले पनि पढ्यो। उसको गमलामा त मुश्किलले दुई घण्टा पनि घाम पर्दोरहेनछ। बिहानै बेलुका घाम लाग्ने ठाउँ खोज्यो। दुईटा कोठा बहालमा लिएर बस्ने सुवर्णले कहाँ पाउनु बिहानै बेलुका घाम लाग्ने ठाउँ? मनमा अलिक चिसो पनि पस्यो।
फेरि सोंच्यो आखिर बेर्ना भर्रै उम्रिसके यही ठाउँमा। सार्नलायक कलकलाँउदा पनि भइसके झण्डै बित्ताभरिका। अब घाम न साम। सोंच्यो फले त भइहाल्यो नि।
थोरै माटो र धेरै कुहिएको भान्से मल राखेर चारवटा गमलामा रोप्यो सुवर्णले अकबरेका लाहुरे बोट। एकै दिन जमाएको भनेर के गर्नु यी चारवटा बोटसामु अरु बिरुवा त ख्याउटे कुपोषण भएजस्ता। एसएलसीमा विशिष्ट र तेश्रो श्रेणीमा ग्रेसमार्क पाएर पास भएका विद्यार्थीजस्तै।
सुवर्णले एकाएकआफ्नो पालाको एसएलसी सम्झ्यो। आफू पनि एक जमानाको अकबरेको चारवटा मध्येको एउटा लाहुरे बोट थिए भनेर। ग्मलामा बाँकी रहेका साना बेर्ना पनि एकाएक काँचुली फेरेजस्तै भएलाहुरे बेर्ना उखेलेपछि त। तिनका चिल्लापात देखेर सुवर्ण फेरि दङ्ग प¥यो। पल्लो घरकी घरबेटी दिदीको माइती घर र सुवर्णको ससुराली जिल्ला एउटै रहेछ। चिनजान त यही आएपछि मात्र भएको हो। त्यति भएपछि छोरी मान्छेलाई पुगिहाल्यो। दिदीबहिनीको नाता हिजोआज चौधुन्न भएको छ। उनीहरुको घर बनाएर बाँकी रहेको जमीन खाली नै थियो। बहिनीले खुर्सानी रोपेको देखेर विरुवा कहाँबाट ल्याएको भन्दै दिदीलmे पनि निकै सोधखोज गरिन्। बहिनीज्वाइँले गमलामै जमाएर हुर्काएको बिरुवा देख्दा दिदी झन् मख्ख परिन्। कहाँ तह लगाउनेजस्तो भएका विरुवा दिदीले लगेर रोप्ने भएपछि बहिनी त्यसै फुरुङ्ग भइन्।
आज सप्रलान् भोलि सप्रलान् भन्यो सुवर्णको गमलाका खुर्सानी मरिगए सप्रेनन। त्यसमाथि सप्रेसप्रेका छानीछानी रोपेको खुर्सानीका बोटका हालत यस्तो छ। आफू भने दिनदिनै हेरचाह गरेको ग¥यै छ। उता, दिदीको बारीमा भने उसको जसरी न पानी न मल न गोडमेल, तर पनि कुनै दिनका छनौटा ख्याउटे विरुवा भने लकलकाउँदा भइसके। सुवर्ण जतिजति आफ्ना बेर्नाको हेरचाह, स्याहार सम्भार गरिरहन्छ उतिउति दिदीको बारीको विरुवा सप्रेजस्तो पो हुन थाले।
सुवर्ण विस्मात्मा प¥यो। तर पनि हरेस नै भने खाएन। उसको विरुवा डेढ हातका हुँदा दिदीका विरुवा दुई हातभन्दा बढी अग्लिसके। सुवर्णकोमा दुइटा कोपिला लाग्दा उता चारवटा लाग्नथाले। उताका विरुवा पुरै झ्याङ्गिसके यता सुवर्णको भने लिख्रिक्क परेर मूल हाँगोमात्रै बसेको छ।
सुवर्णको मन अकबरेमय भएको छ, हिजोआज। लाग्न त लाग्यो उसको बोटमा पनि दुई÷चारवटा दाना। यसलाई पनि के फलेको भन्नु।
दिदीको बारीमा उसले इलाममा देखेजस्तै लटरम्म भएको छ। हेर्दाहेर्दै राताम्मै हुन लागिसके। आफ्नोमा भने हरियाको हरियै। एउटै रातो हुन सक्या होइन। ख्यालख्यालमै दिदीको बारीमा रोपिएका अकबरेले भने धेरैको ध्यान खिचिसकेको छ।
वटुवाहरु प्नि आहा कति राम्रो भन्दै हिँड्छन्। यता, योजनाबद्ध रोपेको विरुवाको भने नामोनिशान नै छैन।
आज साँझ सुवर्णले आफ्नो गमला र दिदीको बारीका अकबरे निकै नियालेर हे¥यो। आखिर ऊ प्राविधिक न थियो। तुलना पनि ग¥यो। फल तुलनीय नै थिएन। उताका साह्रै राम्रा, पोटिला र चिल्ला थिए । मेहनतको हिसाब उसले त्यसै छाडिदियो। तुलना गर्नै मन लागेन। बाहिर पनि कतै गएन। बेलुका खाना खाएर के के सोंच्दै पल्टिरह्यो। सोच्दा
सोंच्दै आफ्ना पूर्व दिनका याद आउन थाल्यो। कसैले केही भनेजस्तो लाग्न थाल्यो अनि सुनिरहूँजस्तो लाग्यो र सुनी पनि रह्यो।
‘तैले आफैँले आफैँलाई यति छिटो बिर्सीसकिस्, सुवर्णे। एसएलसी पास हुँदा तँ पनि त आफैँले गमलामा रोप्न भनेर छानेको लाहुरे बोटजस्तै थिइस्। तँलाई पनि कुनै दिन कसैले यसरी नै छानीछानी गमलामा रोपेको हो। तब न हुर्किस्। बढिस्। फुलिस्। र, अलिअलि भने पनि फलिरहेको छस्। तँसँगैका एसएलसीका बाँकी ख्याउटे कहाँ रोपिए के भए तँलाई थाहा छ? तेरो गमलाका बाँकी विरुवा सप्रेका चार विरुवा झिकेको केही हप्तापछि रोपिनलायक भए। छिमेकीको जस्तै पहारिलो जमीनमा रोपिएर हुर्कन पाए। जरा सकेको फैलाउन पाए। टाढाटाढासम्मको रस चुस्न पाए। घामपानी हावाहुरीसँग संघर्ष गर्न पाए। विविधतासँग खेल्न पाए।
त्यसैले फलमा पनि विविध रुप देखाइरहेका छन्। सुरुमा कमला हरिया देखिएका फलहरु विस्तारै पहेलो भएर अहिले त राताम्मै भइसके। तर तँ सधैँ एकरुपतामा सेपैसेपमा मात्र बाँचिरहिस्, तेरै गमलाको अकबरे खुर्सानीजस्तो। जसले न गतिलो घाम देख्न पायो न झरी भेट्यो केवल छायाँमा कनिकुथी हुर्किरह्यो। त्यही भएर बल्लबल्ल लागेको फल पनि सधँै हरियोको हरियै छ। त गमलामा हुर्कंदा तेरा जरा कहिल्यै गमलाको घेराभन्दा बाहिर जान पाएनन्। गमलाकै कठघरामा खुम्चिरहे। जसरी नेपाल सरकारका अधिकांश स्वास्थ्य सहायक, बन सहायक, कृषि सहायक खुम्चिरहेका छन् तँजस्तै।’
पराकम्पनको कम्पनसँगै ऊ निद्राबाट झसङ्ग भयो। सपना झण्डै बिपनाजस्तै रहेछ।