‘होइन, आज भान्जा स्कुल किन गएनन् हँ?’ ठूलाकान्छा मामाले निकै ठूलो स्वरमा आमासित सोधे।
केही बोलिनँ।
आमाले बिस्तारै भन्नुभयो, ‘हिजो पनि बिहानको खाना खाइसकेपछि भुँडी दुख्यो भनो, स्कुल गएन। आज पनि खाना खाइसकेपछि फेरि भुँडी नै दुखो भन्न थालो अनि स्कुल गएन।”
आमाले सब बेलिबिस्तार लगाउनुभयो।
आमाका कुरा सुनिसकेपछि ठूलाकान्छा मामा मेरा नजिक आए। ‘खोइ, भान्जा’ भनेर उनले मेरो हवाइ सट माथि उचाले। अनि मेरो पेट पो छाम्न थाले। म डरले थरथर काम्न थालेँ।
मनमन लाग्यो अब बिताउने भए ठूलाकान्छा मामाले।
‘भान्जा भुँडी अझै दुख्दैछ?’ ठूलाकान्छा मामाले सोधे। मैले स्वीकारसूचक टाउकोमात्र हल्लाएँ।
‘दिदी, भुँडी दुखेको ओखती तिमीले केही गरिनौ?’ ठूलाकान्छा मामा मेरी आमालाई तिमी भन्थे। आमाले बिस्तारै भन्नुभयो,‘पहिले त सिकारी पो लाग्यो कि भनेर सिवाकोटी धामीलाई बोलाएर फाकफुक पनि गराएँ। तर खोइ निको भएन।” आमाले भन्नुभयो।
'खाना खाएपछि भुँडी दुख्छ कि खानुभन्दा पहिले दुख्छ?” ठूलाकान्छा मामाले सोधे। आमाले भन्नुभयो, “खाएपछि दुख्छ भन्छ।' 'ए दिदी, एउटा चिम्टा छ ?” ठूलाकान्छा मामाले सोधे। ल बिताउने भए अब के गर्ने हुन् भनेर मेरो होस्हवास उड्यो। 'छ नि चिम्टा” भनेर अगेनाका डिलमा भएको चिम्टातिर आमाले पुलुक्क हेर्नुभयो। ठूलाकान्छा मामा अगेनातिर गए। अगेनामा आगो बलिरहेको थियो। ठूलाकान्छा मामाले त्यो चिम्टा टिपेर तताउन अगेनामा पो हाले।
“चिम्टा किन तताएको ठूलाकान्छा?” आमाले बिस्तारै सोध्नुभयो। म टुलुटुलु चिम्टालाई र ठूलाकान्छा मामालाई आलोपालो हेरिरहेको थिएँ।
“पख न यो चिम्टा पहिले रातो हुने गरी तताउन देऊ।” यति भनेर ठूलाकान्छा मामा मतिर आए। उनले मेरो पेटको तल र माथिको छाला च्याप्प समातेर भने, “मसित भएको मन्त्र लगाएर तातो चिम्टाले भान्जाको यो दुखेको भुँडीलाई यसरी च्याप्नु पर्छ, भान्जाको साँच्चै भुँडी दुखेको भए सधैँको लागि निको हुन्छ।”
ठूलाकान्छा मामाले फेरि भने, “तर भान्जाले ठगेका रहेछन् भनेचाहिँ साह्रै नराम्रो हुन्छ।”
आमाले सोध्नुभयो, “ठगेको रहेछ भनेचाहिँ के हुन्छ नि ठूलाकान्छा?”
“के हुनु नि भुँडीमा चिम्टाले च्यापेका ठाउँमा तल र माथि दुईवटा प्वाल पर्छन् अनि खाएजति त्यहीँबाट निस्कन्छ।” ठूलाकान्छा मामाले डरलाग्दो कुरा सुनाए। मेरो सातो गयो।
उनले मतिर पुलुक्क हेरेर सोधे, “भान्जा, अहिले पनि भुँडी दुख्दैछ होइन?” मैले डराइडराई भनेँ, “अहिले भर्खरै दुख्न छाड्यो, निको भयो।”
“ल, त्यसोभए भान्जाको भुँडी दुखेको ओखती आज गर्नुपरेन। भोलिदेखि फेरि दुखो भनेर स्कुल नजाने कुरा गरे भने मलाई बोलाउनू, म ओखती गरिदिन्छु।” त्यति भनेर ठूलाकान्छा मामा आफ्ना घरतिर लागे। म उठेर खेल्न थालेँ। आमाले भन्नुभयो, “भोलिदेखि पनि भुँडी दुखो भने ठूलाकान्छालाई बोलाउन पर्ने भयो।”
ठूलाकान्छा मामा साँच्चै डरलाग्दा मानिस थिए। उनी हाम्रो घर छोडेर हिँडेपछि मेरो मन हलुङ्गो भयो। उनको घर हाम्रोभन्दा दुई घर पर्तिर थियो। भोलिदेखि पो के भन्नु भनेर म गहिरो सोंचमा परेँ।
त्यसबेला एकबाट दुई कक्षामा टेकेको मात्र थिएँ। मलाई दिएको पाठ म कण्ठ गरेर बुझाउँथेँ। शिक्षकले त्यसबेला बुझाएर पढाउने होइन, सर्सरी पढेर तिमीहरुलाई यति पाठ भयो भनेर किताबमा चिन्ह लगाइदिन्थे। त्यसलाई हामीले घोक्नु पथ्र्यो। मैले पूरै किताब घोकेर कण्ठस्त पारेको थिएँ। दुनाइँ पन्ध्र एकानसम्म मुखाग्र थियो। गराङ, पौने, सबइया, डेडी, कट्ठा, धुर सबै मुखाग्र आउँथ्यो।
अहिले बुझ्दा त्यसबेला बेलायती प्रणालीको पढाइ रहेछ। शिक्षकले खुब पिटेर पढाउँथे विद्यार्थीलाई। कान समातेर उठबस गराउँथे, कुखुरो बनाउँथे, बेन्चमाथि घुँडा टेकाउँथे, हात र पिंडुलामा बेतका छडीले निल बस्ने गरी हान्थे। औँलाका बीचमा सिसाकलम घोट्थे। यस्ता कुरामा तीर्थ सर स्कुलभरकै नामी थिए। तीर्थ सर कोठाबाहिर हिँड्दा कोठाभित्रका डेक्स बेन्चहरु पनि थर्थर काम्छन् जस्तो लाग्थ्यो।
लेखक गोरखापत्र दैनिकका पूर्व प्रबन्धसम्पादक तथा रत्नराज्य क्याम्पसमा पत्रकारिता प्राध्यापन गर्नुहुन्छ ।