आह, ताज महल ! एउटा रोमाञ्चक प्रेमको सुन्दर निशानी ।
जसै मैले र पद्मिनीले ताज महलमा पाइला टेक्यौ“, लाग्यो— सारा सृष्टिले शाहजहाँ र मुमताजको अगाध प्रेमलाई बिर्सियो र हाम्रो प्रेमगीत गाउन थाल्यो । हालै मात्र त्यहाँ प्रवासबाट आइपुगेका चराचुरूङ्गीले पनि हाम्रै मायाको गीत गाउन थाले ।
हाम्रो आगमनले ताज महल रङ्गीन भैदियो । त्यसमा लालिमा चढ्यो । पद्मिनीको उज्यालोले पूरै ताज महल झलमल्ल भयो ।
मानिसहरु भनिरहेका थिए, “ताज महल यति राम्रो त यसअघि कहिले पनि देखिएको थिएन ।”
००
अचम्मै भो नि ! त्यहाँ शाहजहाँ आए । चिन्तित मुद्रामा सेतो दाह्री मुसार्दै । उनी आएपछि मुमताज पनि आइन् । उनको अनुहारमा पनि उति सारो रौनक थिएन । उनीहरु दुवैले हामीसित याचना गरे, “तपाईंहरु यो संसारको आजसम्मको सबैभन्दा सुन्दर जोडी हुनुहुन्छ । यो सबैले थाहा पाइसकेको कुरा हो । तपाईंहरु हाम्रो ताज महलमा आउनुभो । ताज महल पवित्र भो । यो अझै सुन्दर भो । तर अब तपाईंहरु जानुहोस् ।”
हामी दुवै छक्कै पर्यौं।
पद्मिनीले सोधिन्, “किन शाहजहाँ ? किन मुमताज ? हामी यहाँ आएको तपाईंहरुलाई राम्रो लागेन ?”
शाहजहाँले शिरको पगडी र त्यसमा टाँसिएको प्वाँखवाला तोडालाई सम्हाल्दै रून्चे स्वरमा भने, “तपाईंहरु यहाँ बसिदिनुभो भने ताज महलको इतिहासबाट हाम्रो नाम मेटिनेछ । बरू यो चिनिनेछ तपाईंहरुको नामबाट । अबको इतिहासमा लेखिनेछ, यहाँ विश्वका सबैभन्दा सुन्दर प्रेमी युगलले पाइला टेकेका थिए ।”
त्यसपछि शाहजहाँले खुइय्य गर्दै भने, “हाम्रो नाम त्यसपछि कसले सम्झने ? यसै पनि मैले ताज महल बनाएर गरीबहरुको प्रेमको मजाक उडाएँ भनेर कति बदनामी भैरहेको छ मेरोे ! अब त झन् तपाईंहरुले गर्दा मेरो त पैसा पनि डुब्ने भो, नाम पनि डुब्ने भो । बाइस वर्ष लगाएर बनाएको ताज महल मेरै लागि अर्थहीन भैदिने भो ।”
शाहजहाँ रून थाले । शाहजहाँ रोएको देखेर मुमताज पनि रून थालिन् ।
तर उनीहरुका पछाडि उभिएका शाहजहाँका तीन सय रखौटी र छ वटी बेगम भने हाँसिरहेका थिए । किनभने मुमताजलाई बेगम बनाएदेखि शाहजहाँले उनीहरुलाई कहिले पनि माया गरेका थिएनन् । केहीलाई त मुमताजकै अगाडि बेस्मारी लात पनि लगाएका थिए उनले । शाहजहाँकै छोरी जहाँआरा (भनिन्छ, जसलाई शाहजहाँले पटकपटक बलात्कार गरेका थिए) पनि हाँसिरहेकी थिइन् । ती तीन सय रखौटी, छ वटी बेगम र छोरी जहाँआराका लागि शाहजहाँ संसारमा सबैभन्दा मायादया नभएका प्राणी थिए ।
इतिहास जस्तोसुकै होस्, तर वर्तमानमा शाहजहाँ र मुमताज हाम्रा अगाडि रोइरहेका थिए । उनीहरुको आँसु बगेर नजिकै एउटा सरोवर बन्यो । आगराका नाङ्गाभुतुङ्गा केटाकेटीहरु त्यही सरोवरमा डाइभ हानीहानी पौडी खेल्न थाले ।
त्यसपछि हामीले ताज महललाई शाहजहाँ र मुमताजकै जिम्मामा छोडिदियौँ । निस्कियौँ त्यहाँबाट ।
यसरी बेलाबेला हाम्रो मनोगत संसार पनि तयार हुँदै थियो । त्यो काल्पनिक संसारमा हामी झन् खुशी थियौँ। सुखी थियौँ । सलिमले पनि भनेको थियो, “प्रेम गरेपछि मनमनै त्यस्तो संसार बनाउनुपर्छ । त्यसमा हराउनुपर्छ । मजा आउँछ ।”
००
पद्मिनी र म ताज महलबाटै छुट्टियौँ । उनी नयाँ सिनेमाको सुटिङका लागि त्यहीँबाट बम्बईतिर लागिन् । म एक्लो भएँ । ताज महल पनि एक्लो भयो । त्यही एक्लो ताज महलमा मैले सुस्तरी नाम लिएँ । आफ्नो र पद्मिनीको नाम । म विश्वस्त भएँ, कसैले सुनोस्–नसुनोस् तर ताज महल रहेसम्म यसभित्रको वायुमण्डलमा हाम्रो नाम प्रतिध्वनित भैरहनेछ ।
फर्किनुअघि ताज महलको एउटा भित्तामा कसैले नदेख्ने गरी मैले अपोलोको फाउन्टेन पेनले आफ्नो र पद्मिनीको नाम पनि लेखे“ ।
तर यस पटक पुलिसले देख्यो । च्याप्प कठालो नै समात्यो मेरो । पुट्ठामै ताकेर एक लात पनि लगायो मलाई । खूब हकार्यो । बीस रूपैयाँ जरिवाना पनि तिरायो । सर्फ–पानीले हाम्रो नाम पनि मेट्न लगायो ।
योगमाया, जसको कुममा भरखर एउटा रङ्गीन घामकिरी थपक्क बसेको थियो, मतिर हेरेर मुख छोप्दै खितित्त हाँसिन् र भनिन्, “खुच्चिङ !”
००
नयाँ दिल्लीबाट एक घण्टाजतिको यात्रा सहज भएपछि मलाई बाँकी यात्रा पनि सुखद हुन्छ जस्तो लागेको थियो । तर त्यस्तो भएन । चौथो वा पाँचौँ स्टेसनमा मेरो सिटमा एउटा मुस्तन्डे बस्न आयो । उसले पनि त्यही सिट रिजर्भेसन गरेको रहेछ । मेरै छेउमा सुरतसम्मको एउटा यात्रु पनि थियो । उसले आफ्नो नाम प्रेमचन्द भनेपछि मैले पनि आफ्नो परिचय दिएको थिएँ, “मेरो नाम भूपि शेरचन हो ।”
रेलमा प्रेमचन्दले मेरो पक्षमा आवाज उठायो । भन्यो, “यो भूपि शेरचनले झूटो बोलेको छैन । यसले रिजर्भेसन गराएकै हो ।”
तर केही लागेन । मैले सिट छोडिदिनैपर्यो । अर्को स्टेसनबाट त प्रेमचन्दले पनि आफ्नो सिट छाड्नुप¥यो । हामी दुवैलाई रिजर्भेसन गर्ने एजेन्सीले ठगेको रहेछ । अन्ततः हामी दुवैले सिट पनि छाड्नुपर्यो । हामी अरु बोगीतिर लाग्यौ“ । तर कतै खुट्टा टेक्नेसम्म ठाउँ थिएन ।
मध्यरातमा ट्रेन रोकियो । ठिङ्ग लट्ठीझैँ उभिएर यति लामो यात्रा सम्भव थिएन । बरू ओर्लिएर अर्को ट्रेनको प्रतीक्षा गर्नु उचित थियो । त्यसैले प्रेमचन्द र म एउटा अज्ञात स्टेसनमा रेलबाट ओर्लियौँ । रात स्टेसनको प्लेटफर्ममै बिताउने र अर्को ट्रेनको प्रतीक्षा गर्ने हाम्रो योजना भयो । प्रेमचन्द सँगै भएकाले मलाई पनि आँट आएको थियो । ऊ उमेरमा मभन्दा निकै जेठो देखिन्थ्यो । तीस या पैँतीस वर्षको । तर सङ्कटले हामीलाई मित्र बनाइदिएको थियो ।
००
रेलबाट ओर्लियौँ हामी । तर हामी ओर्लिएको ठाउँ स्टेसन हैन रहेछ । आपत्कालीन स्थितिमा मात्र तान्नुपर्ने रेलको जन्जीर कसैले तानिदिएकाले अनकन्टार जङ्गल जस्तो ठाउँमा रोकिएको रहेछ रेल ।
कतै उज्यालोको एउटा धर्सोसम्म थिएन । नाकभन्दा टाढा केही नदेखिने अँध्यारो थियो । हामी पूरै दिशाभ्रमको स्थितिमा भयौँ । पूर्व कता, पश्चिम कता, कता उत्तर, कता दक्षिण ... केही थाहा भएन हामीलाई ।
हामी बाटो पहिल्याउने क्रममा कहिले यता र कहिले उता गर्न थाल्यौँ। जता गए पनि रेलवे लिकको दायाँबायाँ राखिएका तारमा हाम्रा खुट्टा अल्झन्थे । निकै पटक लड्यौँ हामी र पछारियौँ गिट्टी ओछ्याएको रेलवे ट्र्याकमा । म त एकपल्ट आत्तिएर रोएँ पनि । प्रेमचन्दले सम्झायो मलाई, “नरोऊ यार ! रोएर केही हुँदैन ।”
तर एक छिनपछि ऊ पनि सुँक्कसुँक्क गर्न थाल्यो । अनि मैले पनि सम्झाएँ उसलाई, “नरूनुस् भैया ! रोएर केही हुँदैन ।”
“भूपि भाइ, एक छिन यहीँ रोकिऔ“ ।”
प्रेमचन्द टक्क रोकियो । म पनि रोकिएँ ।
“किन रोकिएको हामी ?” मैले सोधे“ ।
“रेलको पटरीबाट केही आवाज आइरहेछ । सुन्यौ तिमीले ?” उसले सशङ्कित स्वरमा भन्यो ।
अलिकति ध्यान दिएपछि मैले पनि रेलको फलामे लिकबाट बिस्तारै आइरहेको त्यो ध्वनि सुने“ । उसले भन्यो, “ट्रेन आउन थाल्यो भने पटरीमा यस्तै आवाज आउँछ ।”
उसले यति भन्नु मात्र के थियो, विपरीत दिशाबाट तीव्र गतिमा आगोको मुस्लो आइरहेको देखिहाल्यौँ। ठीक हामीतिरै आक्रामक किसिमले आइरहेको जस्तो देखिन्थ्यो त्यो । ट्रेनको हेडलाइट रहेछ त्यो । हामी आत्तियौ“ । अब यति छिटो रेलवे ट्र्याकबाट निस्कन सम्भव थिएन ।
रेल निरन्तर हामीतिर हान्निएर आउँदै थियो र हामी दायाँबायाँ कतातिर लाग्ने केही सोच्न सकिरहेका थिएनौ“ । फेरि जुन कुनामा उभिए पनि ट्रेन हामीतिरै सीधै आइरहेको जस्तै लाग्थ्यो । रेलको तीखो प्रकाशले अब त हाम्रा आँखा पनि तिरिमिरको स्थितिमा पुगिसकेका थिए । हाम्रो बुद्धि र विवेक दुवै लखतरान भैदिएका थिए ।
यस पटक मभन्दा बढी प्रेमचन्द रोयो । जानेजति देवताका नाम लिन थाल्यो । हनुमान्चालिसा पनि आउँदो रहेछ । त्यो पनि हतारहतार भट्ट्याउन थाल्यो । त्यसपछि उसले एकदमै हरेस खाएको स्वरमा भन्यो, “भूपि भाइ, अब बाँच्ने चान्स छैन । लाइफ फिनिस अब हाम्रो । तिमी पनि जानेजति देवताको नाम जप ।”
तर किनकिन मेरो मथिङ्गलमा कुनै देवताको नाम आएन । म लगभग संज्ञाशून्य भएको थिएँ । फेरि यस्तो मामिलामा देवताले हामीलाई खासै सहयोग गर्लान् जस्तो पनि लागेन । मैले निराश भएर आफूलाई परिस्थितिको जिम्मामा छोडिदिएँ । मेरो मेरूदण्डमा हिउँ पसिसकेको थियो । हातखुट्टा पनि पूरै चिसा भैसकेका थिए । म डरले थरथर कामिरहेको थिएँ ।
हामीले एकअर्काका हात जोडले समात्यौ“ । त्यतिखेर शायद हामी नै एकअर्काका सहयोगी थियौ“ । सहारा थियौ“ । मरे सँगै मरिने । बाँचे सँगै बाँचिने ।
रेल अब केही गजको दूरीमा मात्र थियो । तर यस्तो लाग्थ्यो— त्यो ठीक हाम्रा अगिल्तिर छ । हुइँकिँदै आएर हामीलाई कुल्चँदै भाग्छ । मृत्युलाई मैले आप्mनै आँखाअगाडि देखे“ । एक क्षणका लागि मैले पद्मिनीलाई झुलुक्क सम्झिएँ र सम्झिएँ आमाको रूँदारूँदा पहे“लिएको अनुहार । सम्झिएँ बुवाको हरेस खाएको अनुहार । सम्झिएँ दिदीबैनीका चिन्ताले सोहोरिएका अनुहारहरु । र सम्झिएँ मलाई असाध्यै माया गर्ने मेरो भाइको कलिलो अनुहार, जसले केही दिनअघि मात्र मसित भनेको थियो, “मेरो लागि पनि समातिदिनू है एउटा घामकिरी । म पनि घामकिरी उडाउँछु ।”
एक निमेषमै मैले सब थोक गुमाएको अनुभव गरे“ । अँजुलीबाट पानी बगेर गए जस्तै हेर्दाहेर्दै जीवन चुहिएर गएको अनुभव गरे“ । म धमिराले खाएको कुनै प्राचीन किताब जस्तो भएँ, जसको कुनै अक्षर पनि अब साबुत छैन, जसलाई चाहेर पनि कसैले पढ्न र बुझ्न सक्नेछैन । अझै जन्मिन बाँकी मेरो भाइका लागि म सधै“ अज्ञात व्यक्ति हुनेछु । उसलाई मैले अब सुनाउन पाउनेछैन आप्mनो प्रेमकहानी ।
त्यसपछि मैले आँखा जोडले बन्द गरे“ । शायद प्रेमचन्दले पनि त्यसै ग¥यो ।
रेलले हामीलाई छिचोल्दै गयो ।
(नयनराज पाण्डेको आज शनिबार सार्वजनिक हुने उपन्यास 'घामकिरी'को अंश)