यति निलो आकाश मैले पछिल्लोपटक कहिले देखेको थिएँ?
...
राति सुत्नेबेला ग्यास्टिक (ग्यास्ट्राइटिस)ले पेट डम्म फुलेर निदाउनै गाह्रो भएको थियो। दुईतीन ग्लास मनतातो पानी खाएर ओछ्यानमा निकै बेर पसारिएपछि छाती पोल्न कम भएको थियो।
दिउँसो खाजामा खाएको मोमो, समोसा र स्प्राइट सम्झेँ । बिहान खानामा तारेको आलु र पिरो अचार खाएको थिएँ ।
ग्यास्टिकले सुत्न गाह्रो भएपछि श्रीमतीले सोधिन्, ‘दिउँसो के खानुभएको थियो?’
मैले जवाफ दिएँ।
मुख बिगार्दै भनिन्, ‘जे पायो त्यही खाएपछि तपाईंलाई नभए कसलाई हुन्छ त ग्यास्टिक?’
मैले बिस्तारै भनेँ, ‘भोलिदेखि चाहिँ खान्न।’
श्रीमती फन्किन्, ‘जहिल्यै यस्तै त भन्नुहुन्छ।’
एक बजेतिर फेरि एक ग्लास मनतातो पानी खाएँ।
कुन बेला निदाएछु।
...
ब्युँझदा कोठा उज्यालो देखेँ। ओछ्यानमा सुतिसुती झ्यालबाहिर हेर्दा घामको टकले पल्लो घरको बाहिरी भित्ता टल्किएको थियो।
दुइटा घरको बीचमा आकाश अद्भूत निलो थियो, अद्भूत निलो!
शरीरभरि अनौठो तरंग फैलियो। हृदयको गहिराइसम्मै प्रसन्न भएँ।
आँगनमा निस्किएँ।
घामको मधुरो तातोले हातका रौंमा कुतकुती लाग्यो। घाम आफ्नो पूर्ण तेजमा थियो तर उसले फ्यालेको प्रकाशले शरीरमा यसरी स्पर्ष गरिरहेको थियो, मानौं गुलाबको बगैँचामा फक्रिएका फूलहरूले कुत्कुत्याइरहेका हुन्। पूर्ण तेज पनि आनन्दपूर्ण थियो।
काठमान्डुमाथिको आकाश हेरेँ– घामको प्रकाशमा यसरी खुलेको थियो, मानौं शिवपुरीको चुचुरोमा टेकेर म संसार हेरिरहेको छु ।
निलो आकाशमा बादलको एउटै टुक्रा थिएन।
घाममा चम्केको खुला आकाश शरीरभित्रै पसेर नसानसामा बगेको अनुभूति भएपछि म चप्पल लगाएरै गेटबाहिर निस्केँ।
दुई सय मिटर हिँडेपछि बागमती किनार आइपुगेँ। माथि महादेवस्थानमा बजेको घन्टी संगीतजसरी हृदयमा ठोक्किँदै थियो।
पश्चिम हेरेँ– नागार्जुनको शिरमा जामाचो गुम्बा प्रस्ट देखिएको छ । ज्योग्राफिक च्यानलमा देखिएको अफ्रिकाको जंगलजस्तै हरियो नागार्जुन पर्वत मानौं, मेरै घरअगाडि उभिएको छ।
उत्तरतिर हरियै शिवपुरी पर्वतको दायाँवायाँ हिमालका चुचुरा देखिए।
कुन–कुन हिमाल हुन् यी? लाङटाङ श्रृंखलाका थुप्रै चुचुरा आँखामै टल्किए ।
लाक्पा–दोर्जी र लाङटाङ म प्रस्टै चिन्छु। नजिकका सानातिना हिमाल चिन्दिनँ। मलाई सबै हिमाल नामैले चिन्न मन पर्छ।
वागमतीमा हिलोको सुगन्ध आइरहेको छ।
म किनारैकिनार दक्षिण लागेँ– वागमती र मनोहराको संगमतिर।
बिहानखेर परेको हलुका पानीले भुइँ ओसिलो भएको छ। हिलोको गन्ध पनि तिख्खर छैन, आफ्नै खेतमा वाउसे गर्दाजस्तो सुवास छ यसमा।
तीनकुनेको मूलसडक दक्षिणबाट शंखमूलतिर बग्ने वागमती वारिपारि निर्माण चलिरहेको छ। नदीझैं देखिएको छ वागमती। पानी धमिलो छ तर बहाव कर्णालीजस्तै सललल।
म हिँडेको बाटोमाथि घामको चहकमा उज्यालिएको आकाशले आँखा शीतल भएका छन् ।
...
बाटोमै निर्माण सामग्री फिँजारेर कसैले घर बनाइरहेको छ। कामदारहरूको बीच घ्यु रङको सर्ट र कपडाको कालो पाइन्ट लगाएर अह्राइपराइ गरिरहेका अधवैंशेको घर हो यो सायद । यति बिहानैदेखि घरको गाह्रो उठाउन डुबिरहेका छन् ।
फिँजारून् न त बाटैमा निर्माण सामग्री। अन्त राख्ने ठाउँ पनि छैन। पैदलयात्री इँटा–बालुवाको यसो छेउ लागेर हिँडे त भैहाल्यो नि!
उनको जीवनभरिको सपना होला यो घर! एउटा नागरिकका सपना फिँजार्न सहरले दिनैपर्छ नि अलिकति ठाउँ।
म अघि बढेँ।
बागमती र मनहरा जोडिने ठाउँनजिकै भर्खरै बनाएको पुल सफा देखियो। घाम र आकाशको उज्यालोले पुलमा लगाएको सेतो–कालो रङ आकर्षक देखिएको थियो।
मोड काटेर पुलमा उक्लँदा दक्षिण–पश्चिम चन्द्रागिरी पहाड आँखैअगाडि चम्कियो। पुलमै उभिएर चन्द्रागिरीबाट आँखा सार्दै पूर्व लाग्दा चम्पादेवी पुगेँ। चम्पादेवीको शिरमा पुग्ने घुमाउरो बाटो आकाशको उज्यालोमा खैरो देखिएको थियो।
कीर्तिपुर दक्षिण भत्केपाटीबाट उकालिने बाटो हो त्यो!
चम्पादेवी धेरै टाढा छैन यहाँबाट। पैदलै हिँडे पनि चार घन्टामा पुगिएला! चम्पादेवीबाट आँखा सार्दै पूर्व ल्याएँ– हात्तीवन रिसोर्ट छेउको जंगल कटेपछि खालि ठाउँ आयो। त्यहाँबाट अझ पूर्व दक्षिणी ललितपुरका डाँडाहरू पनि आकाशको निलोपना र जंगलको हरियोपनाले अर्कै रङका देखिएका थिए।
मलाई दगुरेर चम्पादेवी शिखरमा पुग्न मन लाग्यो। तत्कालै आफैंलाई भनेँ, ‘सक्दैनस्। आकाशको निलोपनाले तँलाई कुदाउने होइन। त्यो निलोपनाको प्रेरणाले शरीर तन्दुरुस्त पारिस् भने बल्ल!’
कसैले बोलायो। ‘दाइ, पुलमा उभिएर के हेर्दै हुनुहुन्छ?’
ओहो, साथीको भाइ!
म लजाएँ। ‘चम्पादेवी उक्लिने बाटोको खैरोपनाले मेरो मन लोभ्याउँदैछ भाइ’ भन्न सकिनँ।
भनेँ, ‘मर्निङ वाकमा हिँडेको यार। त्यो पारि च्यासलको एन्फा एकेडेमीमा हिँड्दै गरेको मान्छे चिनेजस्तो लागेर घोरिएर हेरेको, होइनजस्तो छ।’
ऊ मुस्कायो। एक महिनाअघि देखेभन्दा छरितो भएछ। छाती अगाडि आएको थियो, पेट शरीरभित्र कतै स्याप्प लुकेको थियो।
ऊ नजिकै आयो र मेरो पेट सुम्सुम्याउँदै भन्यो, ‘यो घटाउनुपर्यो दाइ। तपाईंजस्तो मान्छेले भुँडी बोकेर हिँड्न सुहाउँदैन।’
एकदमै लाज लाग्यो। छाती फुलाएर पेट तानेँ। बिस्तारै भनेँ, ‘पहिलेभन्दा त घटेको छ ।’
ऊ हाँस्यो। ‘दिनदिनै यसैगरी मर्निङ वाक हिँडे त घटिहाल्छ नि दाइ, तपाईं महिना÷दुई महिनामा एकपल्ट देखिनुहुन्छ।’
मैले हाँसेर टारेँ।
उसैले भन्यो, ‘एकदमै अल्छी हुनुभएको छ दाइ तपाईं हिजोआज, सेतोपाटीमा केही लेखेको पनि देख्दिनँ, कमसेकम ‘काठमान्डु कथा’ त कन्टिन्यु गर्नू नि।’
मैले भनेँ, ‘सोच्दै छु यार। प्लान गर्दैछु।’
ऊ हाँस्यो र मलाई उल्यायो, ‘जहिल्यै यस्तै भन्नुहुन्छ दाइ। धेरै के प्लान गरिरहनु? लेखिहाल्नु नि!’
म ‘ल यार एकछिन वाक गर्छु अब’ भनेर उम्केँ।
...
वागमती र मनहरा मिसिने ठाउँबाट पारि च्यासल खेलमैदानमा जगिङ गर्दै गरेका मानिस देखेर आह्रिस लाग्यो।
मर्निङ वाक गर्न ठाउँको के कमी छ सहरमा? अल्छी गरेर आठ बजेसम्म सुतिरहेपछि भएको भयै हो शरीर छरितो! मैले आफैंलाई गाली गरेँ।
रिङरोडमा मनहरामाथि बनेको पुल देखियो । त्यहाँबाट पारि फुलचोकी शिखरमा टावर टल्किरहेको थियो। हिँड्ने हो भने यहाँबाट चार घन्टामा फुलचोकी पनि पुगिएला!
रिङरोड बालकुमारीसम्म पुग्ने मनहरा नदीकिनारको सडकमा फाट्टफुट्ट सवारी साधन चल्दै थिए।
सडक किनारमै बनाएको कोर्टमा तीनजना बालकहरू टेबलटेनिस खेल्दै थिए। घामको रङजस्तै देखिएको थियो बालकहरूको अनुहार।
अलिअलि सडक मिचेरै कोर्ट बनाए त बनाए यी भाइहरूले! बाटोमै घर बनाउन लागेका त होइनन् नि!
यहाँ नखेले कहाँ खेलून त यी बालबालिकाले टेबलटेनिस?
अगाडि बढेँ। हुर्केका रुखबिरुवाले मनहरा किनार आकर्षक देखिएको छ। तीनकुने–कोटेश्वरतिरकाका वासिन्दा मर्निङ वाकमा आउने ठाउँ हो यो।
परबाट हेडलाइट बाल्दै एउटा मोटरसाइकल आयो। घामको उज्यालोमा सानो घामजसरी बलेको हेडलाइट देखेर उत्सुक भएँ। उभिएरै हेरेँ। मेरै छेउबाट गुज्रँदा देखेँ– एकजना युवक श्रीमतीलाई मोटरसाइकल सिकाउँदै रहेछ।
युवकको अनुहार सन्तुष्ट थियो। श्रीमतीको अनुहारमा भय र उत्सुकता मिसिएको थियो।
सिकाऊन् त यी युवकले सडकमै श्रीमतीलाई मोटरसाइकल! यो यसै पनि भित्री सडक हो। शनिबारको दिन सवारीसाधन फाट्टफुट्टमात्र चलेका छन्।
यहाँ नसिकाए कहाँ पाऊन् त यी युवकले श्रीमतीलाई मोटरसाइकल सिकाइदिने ठाउँ?
बालकुमारी र कोटेश्वर जोड्ने झोलुंगे पुल वारिबाट म महादेवस्थानतिर उकालिएँ।
महादेवस्थान आडैबाट उत्तरतिर लाङटाङ हिमश्रृंखला अघिजसरी नै टल्किरहेको थियो। शिवपुरी डाँडाको दक्षिणी पानीढलोमा बनेका ससाना घरहरू प्रस्ट देखिएका थिए।
नगरकोटको डाँडा पनि एकदमै नजिक देखिएको थियो।
उत्तर–पश्चिम कुनातिर पातलो तुँवालोले गणेश हिमाल मधुरो देखिएको थियो। पश्चिमपूर्वी आकाशमा भने सेता बादल टल्किएका थिए।
गौरीशंकर देखिएला कि भनेर मैले आँखा फैलाएँ– दोलखाको त्यो हिमाल सेतो बादलभित्र सायद कतै लुकेको थियो।
म उभिएकै ठाउँनिर दुईजना युवती बात मार्दै थिए। आकाशको निलो पृष्ठभूमिमा टल्केको घामको उज्यालोले उनीहरू राम्रा देखिएका थिए । घरबाट सय मिटरमात्र माथि उकालोबाट ८ हजार मिटरभन्दा अग्लो लाङटाङ हिमाल हेर्दै गर्दा मैले उनीहरूको संवाद सुनेँ।
रातो टिसर्ट र कानमा सेतो झुम्का लगाएकी युवती भन्दै थिई, ‘हाम्रो १८ गतेदेखि छुट्टी हुनेरैछ, मैले १९ गते बिहानको टिकट लिइसकेँ।’ उसले कपाल जुरो पारेर क्लिपले बाँधेकी थिई।
पहेँलो कुर्ता र सेतो सुरुवाल लगाएर कपाल खुलै राखेकी अर्की युवतीले भनी, ‘हो र? हेर न मैले त टिकट काटेकै छैन। आज अफिसमा बुझ्छु, कति गते छुट्टी हुनेरैछ, त्यहीअनुसार लिइहाल्छु, नत्र दसैंमा घर जाने गाडी पाउन मुस्किलै होला !’
हत्तेरी कस्तो हुस्सु म! दसैं पो आइसकेछ। म पनि काटिहाल्नुपर्यो अब घर जाने टिकट।
दसैंको उज्यालोले पो घाम र आकाश दुवै खुलेका रहेछन्।
...
भोलि बिहान पूर्वी आकाश खुल्यो भने सायद गौरीशंकर पनि देखिएला!