महिना मंसिरको छ। सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भेटिन्छन् नवविवाहित दम्पतिका फोटा। उसैगरी भेटिन्छन् म्यारिज एनिभर्सरी मनाउने पनि। हिजोआज मलाई फेसबुक खोल्नै मन लाग्दैन। मुहारपुस्तिकाको भित्ताभरि टाँसिएका नव दम्पतिका तस्बिरले आफैंलाई गिज्याएझैं लाग्छ।
एकदिन बेलुकापख आमाले फोन गर्नुभयो। मंसिरे गुनासो पोख्नुभयो। त्यस्ता गुनासा यस अगावै पनि कैयौं पटक स्पर्श गरिसकेका छन् मेरा कानले र गरेका छन् सुने नसुने झैं पनि।
'अस्ट्रेलियाबाट बिहेकै लागि आएको रे। कुलघरानको केटो। घर बुटवल। एक्लो छोरो। दिदी बहिनी २ वटी। घरजम भैसकेका। कुरो आको छ के गर्छेस्?' आमाले एकै श्वासमा भन्नुभयो। मैले उत्तर दिन नपाउँदै थप्नुभो -तैं एउटी छस् अब बाँकी। एउटाको जिम्मा लगाइदिन पाए ढुक्कहुन्थ्यो। हुन त तँ आफै बुझ्नेछस् त्यै पनि आमाको मन हो पिर लाग्दो रैछ। जमाना यस्ता छन् कसैले बात लगाइदिन्छ कि भन्ने डर हुँदो रैछ। तँलाई सम्झिदा सम्झिदै उजेलो हुन्छ कहिलेकाँही। कहिलेकाही सोच्दा सोच्दै अघाउँछु, खान मन लाग्दैन। राम्रो कुरो छ। एकपटक विचार गरेस्।
केहीबेर सन्नाटा छायो। सन्नाटालाई छिचोल्दै बोलें- बुझ्दैमा केही भएन क्यारे। मन परे ब्या गर्नी हो नत्र कसैको कर छैन। एकपटक मसँग कुरा गर्न भन्नु न त।
बालकृष्णले कुरो ल्याका हुन्। उनैलाई तेरो नम्बर दिन्छु। बोल्न जानेकी छस्। म नपढेकीले के सिकाउनुरु त्यैपनि अल्ली नरम भएर कुरा गरेस्-आमाले फोन राख्ने बेलामा भन्नुभयो।
शनिबार छुट्टिको दिन। अबेर उठें। लगभग बिहान ९ बजेको थियो। मोबाइलमा घण्टी बज्यो। यसो नम्बर हेरे ९८४७०९४....।
हलो!
जमुना न्यौपाने हो?
हो। को बोल्नुभयो?
मलाई बालकृष्ण दाइले तिम्रो नम्बर दिनु भुको।
मैले कुरा बुझिहालें र हतार गरेर भने- हजुर हजुर। नमस्कार हजुर।
अन्त्यमा, आजै दिउँसो लन्ज टाइममा भेट्ने कुरा भयो। मैले खुला स्थान भृकुटीमण्डप रोजें। उनीहरुले हैन कुनै क्याफेतिर भेटौं भने। मैले नाईं नास्ती गरिनँ। बागबजार को 'सिटी क्याफेज एण्ड फुड्स सप' सिफारिश गरे यसमा उनीहरूले पनि नाईंनास्ती गरेनन्।
त्यसो त थुप्रै अपरिचितसँग भेट भयो, परिचय भयो। तर आजको अपरिचितसँगको भेटले कता कता डर लागेजस्तो अनुभव भैरह्यो। फेरि यो पहिलो अनुभव थियो मेरो लागी त्यसैले पनि के होला र कसो होला भन्ने खुल्दुली भैरह्यो। यस्तो भेटघाटमा मलाई कुर्ता सरवाल कम्फर्ट होला जस्तो लाग्यो। ओरेन्ज कलरको कुर्ता र रातो सुरवाल अनि रातै सल ओढेर म क्याफेमा पुग्दा उनीहरू कफी खादै थिए। राउन्डिङ टेबलको वरिपरि पाँच वटा कुर्ची थिए। एउटा मात्रै खाली थियो। इशारा गर्दै एकजनाले भन्नु भयो- बस।
अलिक असहज मान्दै बसें। अहम्, कतिमा पढ्दै छौ? कुरा यहीबाट सुरु भयो। चार जनामध्ये दायाँतर्फबाट दोस्रो नम्बरमा बस्ने अग्रजले सोध्नु भयो। सोध्ने र उत्तर दिने क्रम झण्डै एक घण्टा जती भयो। त्यहाँ बसिरहादा यस्तो लाग्यो मानौ, म कुनै हाजिरी जवाफ प्रतियोगितामा छु। मध्यस्थकर्ताद्वारा प्रश्नहरु पालैपालो सोधिएको छ। जसरी प्रश्नहरु सोधिएको छ उसैगरी उत्तर दिदै गैरहेकी छु म।
लगभग कुरा सकियो। मान्छे ठिकै लाग्यो। उनिहरुलाई म कस्ती लागेरु थाहा भएन। उठ्नै लागेकी थिएँ मलाई जसको लागि माग्न आइएको थियो उही केटाले सोध्यो-सपोज हाम्रो बिहे भयो। तिमी घरमा हुन्छेउ म अष्ट्रेलिया हुन्छु। पिआर पाइसकेको भएता पनि विविध कारणले तिमीलाई २ वर्षसम्म उता लैजान सक्दिन। त्यही २ वर्षको समयमा तिमी अरूसँग पोइला गयौ भने जिम्मा कसले लिने?
यति सुन्नासाथ मेरो दिमाखको कन्सिरी तातेर आयो।अपमानित भएको बोध भयो।
तपाईंले भन्न खोज्नु भएको के?
उनीहरूले मुखामुख गरे तर बोलेनन्।
सम्बन्ध भनेको विश्वासले गासिने हो। मन मिल्छ भने बिहे गरिने हो हैन भने गरिदैन। मैले तपाईंसँग र तपाईंले पनि मसँग बिहे गर्नै पर्छ भन्ने कुनै बलजफ्ती छैन। सपोज हाम्रो बिहे भयो र तपाईंले उतै अर्कै केटी बे गर्नु भयो भने त्यसको जिम्मा कसले लिने? अस्ट्रेलियनवालाले मुख खोल्यो- त्यस्तो भन्न खोजेको होइन। नेगेटिभ नसोच। हाम्रो घर नजिकै एउटा त्यस्तै घटना घटेको भएर मैले सोधेको मात्र हुँ। डन्ट माइन्ड।
ल, माने मैले तपाईंको घरनिर त्यस्तै घटना घट्यो रे। भन्नुस् त तपाईंकै घर वरिपरि परदेसिएको लोग्नेको यादमा दिन बिताउनेहरू छन् कि छैनन्? विदेसिएको लोग्नेले उतै बिहे गरेर बसेको थाहा पाउँदा पनि घर सम्हालेर बस्नेहरू छन् कि छैनन्? अनि भन्नुस् त श्रीमान् मरेपछि उसैको सम्झनामा जिन्दगी काट्नेहरू छन् कि छैनन?
'छन् छन त तर राम्रो पक्ष प्रायस् गौण रहन्छ र नराम्रो पक्ष केन्द्रमा आउँछ। यो कुरा तिमीलाई पनि थाहा नै त होला नि।' उसले आफ्नो बचाउ गर्न खोज्यो।
'यतिबेला तपाईंको दुईटा गालामा दुई झाप्पड हान्न मन लागेको छ मलाई तर त्यसो गर्नु उचित ठानिनँ र हानिनँ। मलाई त सोधी हाल्नुभयो आइन्दा कुनै पनि केटीलाई यस्तो कोइस्सन नसोध्नु होला। सबै मजस्ता सहनशील हुँदैनन्। आफ्नो अपमान मुकदर्शक बनेर हेरिरहने पनि हुँदैनन्।'
उसको उत्तरको प्रतिक्षा नगरी म त्यहाँबाट म बाहिरिएँ। सरासर रूममा आएँ। ओछ्यानमा पल्टिएँ। मनमा तर्कना खेल्न थाले- हामी समाज परिवर्तन गर्ने नारा घोक्दै हिँड्छौ, घन्काउँदै हिँड्छौ तर आफैंलाई परिवर्तन गर्न किन सक्दैनौ? युगले मात्र २१औँ शताब्दी टेकेको हो मान्छेका सोचहरू त उही पुरानै जमानाका छन्। व्यवहारहरू झनै पुराना जमानाका छन्। देश विदेशको स्वतन्त्रता देखेका, बुझेका मान्छेहरूले नै महिलामाथि हेर्ने साँघुरो दृष्टि परिवर्तन गर्न सकिरहेका छैनन् भने अनपढ अशिक्षित गाउँ, घर र समाजको मुहार कसरी फेरिन्छ रु कसरी हुन्छ हाम्रो समाजबाट वादको अन्त्य?
करिब २ घण्टापछि आमाले फोन गर्नुभयो-खुब कडा रैछ केटी त भन्थे रे। के भनिस् र तैले?
जे हो तै त भन्नै पर्यो नि। अँ हो भनेर चित्त नबुझ्ने कुरामा सही थाप्नु भएन क्यारे-मैले भनें।
त्यो त हो। अनि उताबाट हुन्छ भने अरे। तैंले के भन्छेस् त नि?
छोरीले हुँदैन भनी भनिदिनु। मलाई मन परेन आमा त्यो केटा।
जिन्दगी काट्ने तैंले हो। मैले त के भनम् र? जान्ने बुझ्ने छस् केरे सोचेरै त भनेकी होलिस् नि। ल त नि राम्ररी बसेस्। म तेही भन्दिम्ला।
आमाले फोन राख्नु भयो।
यहाँनिर मैले गल्ती गरें या सही? थाहा छैन। यदि गल्ती नै गरेको भएता पनि सन्तुष्टिको आभाष भयो मलाई।
मिस्टर अस्ट्रेलिया,
हाम्रो थर मिल्यो, गोत्र मिल्यो, पढाइ मिल्यो, भविष्यको लागि चालिने कदमको आयाम पनि मिल्यो तर अन्त्यमा विचार मिलेन, सोच मिलेन। जति नै पढेको भए पनि, जति नै बुझेको भए पनि अनि जति नै देखेको, भोगेको भए पनि नारीमाथीको साँघुरो हेराइका कारण तिमी अशिक्षित लाग्यो मलाई। नपढेर अशिक्षित भएको मान्छे भए सम्झाइबुझाइ गरेर सिकाउनेछु भन्ने सङ्कल्प गर्ने थिएँ तर पढेर अशिक्षित भएका तिमी जस्ता बोझलाई सम्झाउने शब्द नै छैनन् मसँग। जब एक अर्का बिचको विचार नै मिल्दैन भने कसरी काटिएला र यति लामो जिन्दगी? कसरी साटिएलान् सुख, दुस्खका पलहरु? आई एम सरी, मिस्टर अस्ट्रेलिया।