'क्या अर्दै छौं बड्डा?' कृष्णले फुनमा सोध्यो।
'भृकुटीमण्डपाँ कफी पिउँदै,' जवाफ दिएँ।
'झुल्के घामसँगै भृकटीमण्डपाँ? क्या हो नरस भेट्यौं कि सरकारी जागिरे?' जिस्कायो।
'खोजेजस्तै भेट्टायाँ छु, तेस्को उपलक्ष्यमा एक कप कफी ख्वाऔंछु आऊ,' कृष्ण बड्डालाई निम्त्याएँ।
०००
'कस्तरी धुलो रै'छ,' मेरो फुन पुछ्न थालिन्, सलको एक छेउले।
अगि नै फुन कब्जामा थियो।
निकैबेर सुम्सुमाइन्।
चुप्प पारिन्।
खिचिन् सेल्फी।
गहुँगोरो, हिस्सी परेको मुहार। पुक्क उठेका गाला, मुस्ताङी स्याऊजस्तै। बाउनी भै'कन पनि अलिक मोटो नाक। सर्लक्क मिलेका दाँत, पल्लो छेउको किराले खा'को बाहेक।
कम्मरसम्म सलल बगेको कालो केस। रातो सुइटर। रातै सलले छोपिएको छ निधारसम्म, घुम्टोलेझैँ। बिहानी झुल्के घामसंँगैको फुटो। साँच्चै सुन्दर। आर्कषक थियो।
उनको अधरको मुस्कानले मोनालिसाको मुहार प्रतिविम्बित भएझैँ लाग्थ्यो।
'क्या अर्न हाँस्नुपरेको के,' थाहै नदिई खिचिछन्, मेरो पनि फुटो।
'साँट्म है मलाई कस्तो मन परो,' उनले भनिन्।
जर्मनीबाट आ'को गिफ्ट। कसरी साट्ने?
मन चिसो भो।
तैपनि भन्दिएँ, 'हुन्छ पछि मेरै घराँ आउने हो क्यारे।'
केही बोलिनन्।
कृष्ण मुस्कुराउँदै आयो, परैदेखि।
०००
'यो नक्कली काम कहिलेसम्म अर्ने डार्लिङ?'
'पैलै भन्या नि, तिम्ले मान्ने होइन।'
'जे पर्लापर्ला आँटम् त व्या अर्दिम् डार्लिङ।'
'काठमाडौं आऊ त उसो भा।'
'हिनम् त? भैगो, तीजछेक आम्ला।'
'सि यु डार्लिङ, टेक केयर।'
'सि यु।'
साउनतिर हुनुपर्छ, तिमीसँग यस्तै सम्वाद थियो च्याटमा। त्यसपछि तिमी पुग्यौ डडेलधुरातिर प्रोजेक्टको काममा। दार्चुला, बैतडी, कैलाली, अछामका सुदूर गाम तिम्लाई नौलै थिए।
'क्याअर्दि छौ आमा? दाइले फुन अर्यो कि बुम्बैबाट? भाइबैनी पढ्दा छन् कि नाइँ?' बूढीआमाहरुसँग यसरी नै नाता जोडेको कथा भन्थ्यो।
बिसौलीको जिब्रो भन्दा धार्नीको टाउको हल्लाउन माहिर थिए, ती बूढीआमाहरु। तिम्लाई पनि त्यसै गरे, च्याटमा भन्दैथ्यौ।
'तास किन खेल्दा छौं, रक्सी खाइकन बउजु कुट््टा छौ भन्यौ। काम निको होइन दाजु।' यसरी नै सम्झाएकी थियौ, जुवा, तास र रक्सीमा रत्तिएकालाई।
'दिदी, बुम्मैबाट बुआले ल्याएको विमार आमाखी र मुखी पनि लाग्यो। अब क्याअरु?' अछामी बालकले तिमीबाट साहस खोजेको थियो।
तिमीसँग नि जवाफ थिएन, भक्कानिनुबाहेक। पीडाको सन्दुकमा बाफिएको मन। मातृप्रेमको आर्तनादले चिरिएको छाती। बुम्मैवाले बुआको कोसेलीले चाउचाउ बनेको आत्मा। अहँ कल्पिन सक्दिनँ तिम्ले सम्साँझै च्याटमा सेयर गरेदेखि।
पुरानोकोट, काउलेपानी, दुराडाँडा, बालुवापानी, तार्कु सबै गाम चहारेयौ, लम्जुङका।
पुरानोकोट पुगेर आयस्ताका लागि होमस्टे चलाउने सीप सिकायौ, गुरुङसेनी महिलालाई। आयस्ता बढाए मिहिनेती आमाहरुले। बूढाको रेमिट्यान्समा रमेका बूढीहरु कम्ता रौंसेका छैनन् अचेल।
गोल्जुङ, ब्रिदिम, टिमुरे गाम् पुग्यौ, रसुवातिरका। पानी घट्टको महत्व सिकायौ, घुर्माइलो जीवनचक्रझैँ। छ्याङमा मात्तिएकालाई आयस्ताको आइडिया दियौ, तामाङ सेलोको तालमा।
'फ्याप्लाङ, ङ्थी खामसाङबु ह्युल,' फर्साइली बनेर निम्त्याउँछन् अचेल, गोल्जुङका तामाङ्नीहरुले।
तिम्रो कम्ति गुनगान थेन अस्ति म पुग्दा। मलाई त खुशीभन्दा इर्श्या पो लाग्यो, सुनेर।
लाग्थ्यो कीर्तिपुरमा ग्रामीण विकास पढेर तिम्ले बेसै गर्यौ। म झैँ बरालिएनौ।
०००
'विरामी छु। माया गर डार्लिङ।'
'के भो मेरी कालीलाई।'
'यी हेर त।'
म्यासेन्जसरमा फोटो पठायौ। खुट्टामा ठूलै चोट लागेको रहेछ। बैंग्लोरबाट तिम्लाई टेक केयरबाहेक अरु भन्न सक्ने थिइनँ। ६ तारिखमा म्यासेज गरेँ 'के ल्याईदिम्' भनेर। कारण, ८ तारिखमा बैंग्लोरबाट फर्किदैथिएँ।
तिम्रो उत्तर आएन।
'दुः ख बाँडे आधा हुन्छ, सुख बाँडे दोब्बर,' बूढापाकाले भन्थे।
सायद तिम्लाई पनि त्यही लागेको थियो। र, त रैबार पठाइरहन्थौ च्याटमा, सुदूर गाममा हुँदा।
'कस्तो अत्यास लागिरा'छ, फुन पनि अर्दैनौं निठुरी,' गोरखाको लाप्रकातिर हुँदा भनेकी थियौ।
अत्यासिलो मन। एक्लिएको तन। खानपान नमिल्ने। लुगाफाटो नहुने। देहात वस्तीको कथा सम्झन्थेँ। त्यसपछि डायल गरिरहन्थेँ, तिम्रो फुनमा।
०००
'उनको युएनमा 'जब कर्न्फम' भो,' कसैले सुनायो मलाई।
'काली कस्की नि,' प्रतिउत्तर दिएँ।
सोधिनँ, दुई हप्तासम्म उनलाई। र, भनिनँ पनि।
उनले अफिस 'जोइन्' गरेको एक हप्ता भएको थियो। तिहारले छोप्यो।
युएनको जागिर। बेसिक स्यालरी २ लाख ५० हजार रुपैयाँ। त्यसमाथि भत्ता। गाडी सुविधा। आवास सुविधा। निलो नम्बर प्लेटको गाडीमा सरर हुँइकिदाको शान।
लक्ष्मीपूजाको बिहान। उमंग, उत्साह, रौनक र उल्लासले सहरको मुहार फक्रनुपर्ने हो।मनको बाँसुरीले विरही धुन निकालिरहेछ एकतमासले, काठमाडौंका गल्ली र चोकहरुमा। भुइँचालोले भाँचिएको छ, ढाड। चुँडिएको छ, सम्बन्ध। चोइटिएको छ मन। भुइँचालोले भत्किएको घरझै भग्नावशेष छ, इच्छा, चाहना, भावना र सपना भारतीय नाकाबन्दीले।
भुइँचालोको पीडा र नाकाबन्दीको दारुणिक कहरले बाँचेको सहरमा तिहार के रमाइलो हुनु र?
बिरमाइलो काठमाडौँबाट घर जाँदैथिइन्, लक्ष्मीपूजाकै दिन। भुइँचालोले के बाँकी राखेको थियो र उनको पनि? जस्तो किः बूढा बाआमा। भर्खर अप्रेसन गरेकी विरामी दिदी। एक्लो भाइ। झिलिमिली तिहार बारीको पाटामा मनाउन जाँदैथिइन् दशैँमा झैँ।
०००
धुम्म थियो काठमाडौं हुस्सुले ९ बजेसम्म। औंला कापिरहेका थिए। छाती पनि चिसो हुन थाल्यो।
हेर्छु, कतै खुलेका छैनन् रेष्टुरेन्ट। क्याफे। खाजाघर।
उनले दिएको ट्याम ८ बजे। कीर्तिपुरबाट ६ बजे हिँडेको। गाडी पाउने चान्स कम थियो, नाकाबन्दीले। ८ बजे बल्ल आइपुगेँ, सोह्रखुट्टेको उकालोछेउ। उनले दिएको लोकेसनमा कुरें एक घण्टाजति।
परै देखेँ आइरहेकी उनलाई। रातो झोला थियो उनको हातमा। झोलाभित्र सेलरोटी। तिहारको कोसेली। पहिलै थाहा थियो अर्थात बेलुकै भनेकी थिइन्।
'सप्पै बन्द छ, ठमेल जाम्,' मैँले भनेँ।
'बिहानै के खुल्ला र ठमेल, यतै बसम्,' उनले भनिन्।
धेरै ठाम चहार्यौं। बस्ने कहीँ ठाम भेटिएन। बल्लतल्ल कफीसफ भेटियो कुनामा। तर, नाममात्रैको।
०००
'व्या अर्नु परो अब, घराँ एक्दम् प्रेसर छ,' कफीको चुस्कीसँगै कुराको पोयो फुकाएँ।
'आई एम नट किडिङ नाउ। टकिङ सिरियस्ली। इफ यु ह्याभ एनि प्रोव्लम, यु क्यान सेयर,' मैंले भनिरहेँ, 'घराँ आमालाई पनि जवाफ दिनुछ।'
सुनिरहिन्, एकतमासले मेरो फुन खेलाएर।
एक। दुई। तीन। चार। लगातार सुरुपसुरुप पारिन् कफी, फुन टेबुलमा राख्दै।
'मैंले व्या अर्न त परिवारमा ठूलै निर्नय अर्नुपर्छ। मेरै आयस्ताले धानेको छ, सप्पै परिवार। विमारी आमा। भर्खर अप्रेशन गरेकी दिदी। भाइ भर्खरकै छ। बुआ कान्छी आमासँ। निर्नय लिन समय लाउँछ।' उनी बल्ल बोल्न थालिन्।
'हजुरले जे प्रस्ताव अर्नु भो त्यस्ले सम्मानित भा'को महसुस अरेँ।'
'तर, म तुरुन्तै डिसिजन अर्छु र डिसिजनमा पश्चाताप अर्दिन्। अरु कसैले पनि मलाई कुरेर बसेका छन्।'
बल्ल मुटुमा बज्र हानिन्।
मुटुको धड्कन यस्तरी बढ्यो, सास रोकिनेगरी। चिट्चिट् निस्कियो, पसिना। आँत हरहर भयो, चिसोमा पनि। जिउभर काँडा उमि्रए। आँखा तिर्मिरतिर्मिर भए।
चौबाटोमा यसरी ठेस लाग्यो, ऐया भन्न नपाउनेगरी। निस्सासिने गरी किचिएँ।
०००
१८ नोभेम्बर २०१५।
'तिम्ले बोल्नेबाटै बन्द अरेऔ। यार...द्याट्स नट् गुड, एम सरी,' थ्ााहा छैन, कुन मुडमा म्यासेज लेखेँ, साँझपख।
सोचेँ।
म्यासेन्जरमा म्यासेज पठाउनु भन्दा फुनमै कुरा गर्नु उत्तम। फुन डायल गरेँ। ९८४...।
याद छ, ६ पटक डायल गरेँ त्यस साँझ। लगातार तीन दिन डायल गरेँ, तिम्रो फुनमा। अहँ रिसिभ भए पो! मोबाइल टेक्स्टको रिप्लाई पनि भएन।
सम्बन्ध आँखाको गाँजलझै होइन, दिनभर जतन गरिराख्ने अनि साँझ परे धोइपखाली सिनित्त पार्ने। मैले बुझेको यति थियो। तिमीमा त्यस्तो के बदलाव आयो जसबाट सम्बन्धले नयाँ परिभाषित गर्न थाल्यो?
भन्न करै लाग्यो, म्यासेन्जरमा नाकाबन्दी लगायौ मोदीले झैँ। प्रेममा कालोबजारी गर्यौ तस्करले झैँ। खुद्रा र होलसेलको तस्करी सरकारले जाँचपड्ताल गर्ला, तिम्ले प्रेममा गरेको कालोबजारीको कसले गर्छ जाँचपड्ताल?
०००
बेलुकीे ८ बजिसकेको थियो। घर पुगेँ, अफिसबाट। फोन गरेँ। रिसिभ भएन। लामो सास तानेर आलस्य तन पलङमा पल्टाएँ। तन पनि टनभन्दा गह्रौ हुँदोरैछ पीडा, दर्द, स्मृतिको भारीले।
उनको आंलिगनमा बिताएका रातहरु। भविष्य बुनिएका रंगीन बातहरु। स्मृतिबाट पत्र–पत्र गरी उप्किन थाले। गोदावरी, नगरकोट, ककनीका सम्बन्धहरु स्मृति पटलमा ताजा भएर निस्किए। भृकुटीमण्डपको कफीको टेस्टझै स्मृतिका टेष्ट झुल्किन थाले। रि प्ले भइरह्यो मष्तिस्कमा।
एक मनले सोच्यो, 'पराइको सिन्दुर, पोतेको खुशीमा तृप्त हुनेको बहीखाता खोज्नु बेकार छ। समुद्रको गहिराइ र महिलाको चरित्र नाप्न सकिंदैन भन्थे, हो रैछ। नत्र फेसबुकमा ब्लक नै त गर्नु नपर्ने।'
'युवती त्यतिबेलासम्म तपाईंको साथमा हुन्छे, जतिबेलासम्म तपाईंभन्दा योग्य अरुलाई देख्दिन।' कसैले भनेको सम्भि्कए“।
'धत् त्यस्तो अशुभ पनि सोच्ने हो?' अर्को मनले भन्यो।
०००
'सम्झनाका प्रत्येक तरेलीबाट तप्प चुहिन लागेको आँसुसँगै मनका अनगिन्ती छाल र अनुभूति मडारिन्छन्। मथिंगलमा अभाव, वेदना, पीडाका असीम तरंग उर्लिरहन्छन्। बाई दी वे मलाई कुनै लभ स्टोरी लेख्नु छैन, डार्लिङ,' भाइबरमा म्यासेज गरेकी थिइन्, 'जबमा जोइन्' भएसँगै।
उनको भाइबर म्यासेज पूर्वसंकेत रहेछ। एक मनले ठीकै भन्या रहेछ त्यतिबेला। सोझो। उनको प्रेममा पागल भएको मान्छे।
हप्ता दिनभित्र यस्तरी तर्केलिन् भन्ने कल्पना गरेको थिइनँ। युएनको जागिर र पैसाको मात किन चढेको होला? आज, खै किन किन प्रेमको डोरी चु“डिएको पीडा भन्दा तुजुक बढेको मनोवृत्ति देखेर टिठ लाग्यो।
०००
'उसलाई म चाहिन्न भने मलाई ऊ किन चाहियो?'
'महत्वकांक्षाले डडेलो लगाउनेप्रति कुनै गुनासो छैन। बरु, तिनको कायरतामाथि सद्भाव। कायरहरुले डढेलो लगाउने दुस्साहस गर्छन्, सक्दैनन् जलाउन।'
फेसबुक लग्अन् गरेर त्यही म्यासेज दोहोर्याउन मन लागेन।
आँखा त्यही म्यासेन्जरमा छोडेर आएछु। रिपोर्टिङ गरिरहन्छ, सिकारु रिपोर्टरको तालमा। कानमा गुञ्जिरहेछ। प्रतिध्वनित भइरहेछ प्रत्येक फुन कल। प्रत्येक संवाद स्क्रोल भइरा'छ, सात बर्षदेखिका। रौं चिरा गरी केलाइरा'छ मस्तिष्कले शव्द शव्दको। गोदावरी, ककनी, नगरकोट, भृकुटीमण्डप, सोह्रखुट्टे, जमलका रेस्टुरेन्ट, कफी सफ र क्याफेका भेटका मुहार पढिरहेछन्, म्यासेन्जरमा छोडिएका आँखाले।
आफू सल्किएर अरुलाई आनन्द दिन्छ चुरोटले। आफू रित्तिएर अरुलाई उन्माद दिन्छ सोमरसले। तर, तिमी अरुलाई सल्काएर आफू आनन्दित छौ। अरुलाई रित्याएर उल्लासमा छौ।
अहँ, म यस्तो पनि भन्दिनँ।
एक रुपैयाँको सिक्का खसेको दोबाटो त नियालिन्छ कतै भेटिन्छ कि भनेर आउँदाजाँदा, तिम्ले त भएजति सप्पै माया लगेकी छौ। याद आइहाल्छ नि। तर, निठुरी सम्बन्ध घुर्माइलो छ, तिम्ले तिहारमा ल्याइदे'को सेलरोटी झँै।