सप्तरीको सदरमुकाम राजविराजबाट उत्तर पश्चिमतर्फ झण्डै ३५ किलोमिटरसम्म एकनासले गुडिरहेको मोटरसाइकल नेंगडा खोला तर्नेबित्तिकै दायाँ मोडियो । मोटरसाइकल हाँकिरहेका रामनारायणले टक्क रोके र भने, ‘ऊ त्यही घर हो ।’
त्यो घरजस्तो थिएन । घर हुनका लागि झ्याल, ढोकामात्रै चाहिन्छ कि अरु पनि ? मैले खुट्याउन सकिन । घर र गोठमा चाहिँ के फरक हुन्छ कुन्नि । मान्छे बस्नेबित्तिकै त्यो घर हुने हो कि त्यसका निम्ति केही अवयवहरू चाहिने हुन् ? मैले खुट्याउन सकिन ।
कुरा जे सुकै होस्, रती मरिकका निम्ति त्यो घर थियो । रती घरअघिको बारीमा खुट्टा फालेर अलमस्त बसेका थिए र उनको हात चोया काट्न व्यस्त थियो र खुट्टा भुइँ उधिन्नमा । हामीलाई पुलुक्क हेरेर पनि उनी केही बोलेनन् । नबोलेर पनि धेरै कुरा भन्न सकिन्छ । तर उनको अनुहार पढने सामथ्र्य मसँग थिएन ।
त्यही भएर मैले कुराको मेलो सुरु गरेँ । नमस्ते गरेँ, परिचय दिएँ र टुक्रुक्क सामुन्ने बसेँ । रतीकी बुहारी पुलम पातलो च्यादर ओडेर घाम तापिरहेकी थिई । उनलाई आडैमा आफ्नी छोरी फोहोर र लुते विरालोसँग खेलिरहेको मतलव थिएन । किनकि उनी शोकमा छिन् । पुलम एउटी अभागी आमा हुन् । उनलाई अभागी पत्नी र अभागी बुहारी पनि भन्न सकिएला । मान्छेको नाम अगाडि ‘अभागी’ शब्द त्यत्तिकै झुण्ड्याउन मिल्दैन । दुःखको ठूलो पहाडले किचेपछि भाग्यहरु सबै पुरिन्छन् । पुलमको लोग्ने सावाँ अक्षर चिन्दैन, त्यसैले राम्रो लगाउन र मिठो खान पनि जान्दैन । जान्दैन हैन, पाएकै छैन । सम्पत्तिको नाममा चेन कभरसम्म नभएको, सिट च्यातिएको, रिङ कुच्चिनै आँटेको र भाँचिएका दुईचार तिल्ली पनि नफेरी काम चलाइरहेको एउटा साइकल छ । आफ्नी स्वास्नीलाई प्रेम चाहिँ गर्दो हो । त्यो चाहिँ मलाई थाहा भएन । प्रेम भन्ने सोधेर थाहा हुने कुरा पनि त हैन ।
४ वर्षमा बिहे, ६ वर्षमा दोंगा र १७ वर्षमा आमा । नामबाहेक पुलमको परिचय यत्ति थियो । यदि घटनाहरू पनि मान्छेको जीवनमा परिचय बन्न सक्छन भने उनी भर्खरै एक महिना काखे छोराको मृत्युको शोक व्यहोरिरहेकी आमा पनि हुन् । उनको घर छ । छानो र भित्ता, ढोका भएपछि यदि त्यो घर बन्छ भने । तर त्यो छानाले पानी राम्रोसँग छेक्दैन, त्यो भित्ताले हावा र पानी थेग्दैन र त्यो ढोकाले सुरक्षा दिँदैन भने त्यसलाई घर भनिन्छ कि भनिँदैन ? त्यो मलाई थाहा भएन । यदि घर भनिन्छ भने उनको घर छ । अथवा उनी त्यसलाई घर मान्छिन् । बढ्दो चिसो र शीतलहरबाट बच्न उनका श्रीमान र ससुरा त रक्सी पिइदिन्थे । तर उनको नाबालक छोरो कसरी बचोस् । ‘चिसोले नै त्यो मर्यो’ जति सुस्तरी उनले यो शब्द फुत्काइन्, उति नै छिटोसँग उनले आँखाको डिलबाट गुडुल्किएको आँसु पुछिन् ।
मैले सोधेँ, त्यतिबेला तपाईं के गर्दै हुनुहुन्थ्यो ?
‘म भात खाँदै थिएँ,’ उनले आफ्नै लयमा भनिन, ‘उहाँ (श्रीमान) सुँगुर चराउन जानुभएको थियो । फर्केर आउँदा छोरो चिसो भइसकेको थियो ।’ अर्थात मरिसकेको थियो ।
खबर थाहा पाएपछि धिरेन्द्र सुँगुर चराउन छाडेर आइपुगे । ससुरा आईपुगे र छिमेकी आईपुगे । कसैले हात छामे, कसैले छाती छामे, कसैले मुख नजिकै कान लगेर श्वासको गति सुन्ने प्रयास गरे । तर सबैको निष्कर्ष एउटै थियो, अब सास बाँकी छैन । एउटा सानो रुमालमा त्यसलाई पोको पारियो, घर छेवैको खाँडो नदीको किनारमा लगेर गाडियो । यी सबै दृश्य पुलमले हेर्न सकिनन् । त्यही भएर घोप्टो परेर बसिन् । सायद आँसुले आँखा डम्म ढाकिएको हुँदो हो । मलाई यस्ता कुरा के थाहा ? त्यो थाहा पाउन आमा नै हुनुपर्छ ।
त्यो साँझ फर्केर राजविराज पुगेपछि मलाई मेरी आमा र पुलमको अनुहार एकपछि अर्को गर्दै आईरह्यो । मेरी आमाले पनि जन्मेको केही दिनमै मेरो दाइलाई गुमाएकी थिइन् रे । एकदिन आमाले त्यो कुरा मलाई सुनाउँदा आमाको आँखाको डिल टम्म भरिएको थिए । आमा रोएको कसलाई मन पर्छ र ? कसैलाई पनि पर्दैन । मेरी आमालाई त्यतिबेला कस्तो भएको होला ? पुलमलाई कस्तो भएको होला ?
हिजोआज पुलमलाई छोरो गाडेको खाँडो नदीको बाटो भएर हिँड्नै मन लाग्दैन । उसको उसैको याद आउछ, जो उनको काखमा छैन । याद विर्साउने बाटो पनि त छैन । धमिलो तस्बिर छ, आँखाले कैद गरेको । त्यो कुन दिन पखालिन्छ आँसुले, थाहा छैन, त्यही भएर उनलाई सायद रुन डरलाग्दो हो । पुलमले छोरो मरेको कथा सुनाइरहँदा उनकी छोरी, झ्याउरे बिरालो काखमा खेलाइरहेकी थिइन् । बेलाबेलामा बिरालोको मुखमा आफ्नो मुख जोडेर मुसारिरहेकी थिइन् । भाइ जिउँदै भएको भए, उसले भाइको मुख मुसार्थी होला । तर, त्यसलाई यस्ता कुरा के थाहा !
पुलमका ससुरा रतीलाई भने पिरमाथि पिर थपिएको छ । झण्डै हप्तादिन लाहानस्थित निजी अस्पतालमा राखेर सुत्केरी गराउँदा झण्डै ५० हजार रुपैयाँ खर्च भएको थियो । ऋण ज्युँदै छ, तर नाति ज्युँदो छैन । त्यही सुर्ताले उनको ओठतालु सुकेको थियो । गरिबका निम्ति ऋणजस्तो ठूलो सत्रु केही हुन्न भन्थे, हो रैछ । रतीको उदास अनुहार हेरेर मैले निष्कर्ष निकालेँ । रतीसँग कती धेरै पिरको भारी छ भन्ने कुरा मैले एक झमकको भेटमा कसरी थाहा पाउन सक्छु र ? अनुमानै गर्न पनि मलाई गाह्रो थियो । रती तिनै अभागी हजुबा हुन्, जसले तीन वर्ष पहिले पनि माइलो छोरातर्फको नाति यसैगरी गुमाएका थिए, त्यतिबेला पनि यसैगरी झोक्राएका थिए । चोया काट्दै उनले आफूमाथी वर्षेनी बर्सेका दुःखका कथा सुनाइरहे । मलाई भने उनले भाग्यले उनको खुशी काटिरहेको जस्तो लागेको थियो ।
साइकलको घन्टी बज्यो । धिरेन्द्र आएछन्, धिरेन्द्र अर्थात पुलमका श्रीमान । आफ्ना बा र श्रीमती कोही नौलो मान्छेसँग कुरा गरेको देखेर उनी टक्क अडिए । दुब्लो र ख्याउटे अनुहारमा बाक्लो जुँगा उती सुहाएको थिएन । झनै रातो र मैलो रुमालले टाउको बेस्सरी बाँधेको त उनलाई पटक्कै सुहाएको थिएन । तर उनलाई यी सब कुराको के मतलब ! कहिल्यै इस्त्रीको अनुहार देख्न नपाएको उनको सर्टको दुई फेर दुई पटुकाजस्तो खुम्चिएर दुई फरक दिशातिर फर्किरहेका थिए । नागरिकताले त उनलाई २५ वर्ष बताइरहेको थियो तर, उनको अनुहारले उनलाई बुुढो देखाइरहेको थियो । गरिबीले मान्छेलाई छिटै बुढो बनाउँदो रहेछ क्यारे । मैले आफ्नो उमेर सम्झँे । मभन्दा कान्छा रहेछन् । कहाँको म काठमाडौंमा मनमौजी बाँचिरहेको केटो, कहाँ हरेक दिन छाक टार्ने, सुँगुर चराउने र छोरी हुर्काउने चिन्तासँगै हुर्किरहेको धिरेन्द्र । तुलना गर्नु बेकार थियो । मैले सबै कुरा बताएपछि पो, उनले मैलो सर्टको गोजीबाट जतनसाथ पट्यार राखेको कागज निकाले । लेखेको थियो,
विषय ः सिफारिस गरिएको सम्बन्धमा ।
श्री जो जससँग सम्बन्ध राख्दछ ।
प्रस्तुत विषयमा यस जिविस गाविस नेंगडा वडा नं. ७ बस्ने रतिलाल डोमको नाति, धिरेन्द्रकुमार मल्लिकको छोरा रंजित कुरमा मलिकले जाडोको कारण कठाग्रिएर मिति २०६९÷९÷२५ गतेमा मृत्यु भएको व्यहोरा सिफारिससाथ अनुरोध गरिएको छ ।
गाविस सचिव ।
धिरेन्द्रले मधुरो अनुहार लगाएर सरकारबाट केही राहत पाइन्छ कि भन्ने आशा भरिएको प्रश्न मलाई सोध । त्यो काम सजिलो थिएन । धिरेन्द्रका निम्ति सबै सजिला सरकारी कामहरू पनि गाह्रो हुन्छन् । किनकि उनी पढेका छैनन्, बोल्न सकस मान्छन् । ३० किलोमिटर परको जिल्ला प्रशासन कार्यलयसम्म साइकल पेलेर जाने फुर्सद धिरेन्द्रलाई कहिले मिल्ने हो । फुर्सद मिले पनि उनले गाविसको सिफारिस दिनेबित्तिकै राहत पाउने हैनन् । त्यसका निम्ति उनी अझै दुईचारपटक धाउनैपथ्र्यो । धिरेन्द्रले यसरी राहतको कुरा सुनाइरहँदा प्रधानमन्त्री कार्यालयले मधेसका शीतलहरका कारण मर्नेहरूलाई राहत दिन भनेर गरिएको घोषणाले तीन हप्ताको म्याद नाघिसकेको थियो ।
धिरेन्द्रका कुरा सुनेर मैले गर्न सक्ने केही थिएन । त्यसलाई पत्रिकामा छाप्नेबाहेक । मैले धिरेन्द्र, उनी पत्नीको, बाको र छोरीको अनि घरजस्तो नदेखिने घरको दुईचारवटा फोटो खिचे । उनकी छोरी भने फोटो खिच्दा खुबै चाख दिएर हेरिरहेकी थिई । तर, उसले केही सोध्ने आँट भने गरिन । सहरमा र हुनेखानेको घरमा जन्मिएकी हुँदी हो त उसले अंग्रेजीमै सोध्ने सामथ्र्य राख्ने थिई । तर, उसको हेराइमा अनौठो कौतुकता पोतिएको थियो । आफंैले स्कुलको अनुहार नदेखेको धिरेन्द्रले छोरीलाई स्कुल पठाउने कुरै धेरै परको विषय थियो । अब सायद उसको पनि आमाको जस्तै सानै उमेरमा बिहे होला, दोंगा र गौना होला र ऊ पनि आमा बन्ली । कसैको श्रीमती, कसैको बुहारी बन्ली । बस त्यति हो, उसको भविष्य ।
मोटरसाइकल स्टार्ट भयो । त्यसको छोडेको कालो धुवाँ धिरेन्द्रको आँगनभरि फैलीयो । म हत्त न पत्त मोटरसाइकलमा बसेँ । रामनारायणले मलाई धिरेन्द्रको घरको कथा सामान्यीकरण गरेर सुनाइरहेका थिए । यो सिंगो गाउँ नै यस्तै कथाहरूले भरिएको छ । वर्षेनी शीतलहरले केटाकेटीहरू मर्छन्, बुढाबुुढीहरू मर्छन् । शीतलहरले नमरेकाहरू कोही रोगले त कोही अत्याधिक रक्सी सेवनले मर्छन् । म बेलाबेला बुुर्लुक्क उफ्रिन्थे । किनकि बाटो नै त्यस्तै थियो । धन्न रामनारायणले कतै मोटरसाइकल लडाएका छैनन् । सानो चोक आयो, केही पसलहरू पनि देखिए । यो कुन गाउँ हो ? मैले सोध्नेबित्तिकै रामानारायणले भने, ‘बोदेवरसाईना ।’ सडकको विचमा, सिमेन्टको ढलान गरिएको सानो छतमुनि एउटा बढेमानको सालिक थियो ।
कसको हो ?
‘यहाँका जमिन्दारको हो,’ रामले भने, ‘अघिल्लो पटक संविधानसभामा चुनाव जित्ने मृगेन्द्रकुमार सिंहको बाबुको हो ।’ उत्तर थाहा पाएर म केही बोलिन । बोल्न किन आवश्यक थियो र ? आडैमा मुसहर र डोमहरुको विदीर्ण गाउँ छ जहाँ रोगले, भोकले अकालमा मान्छेहरू हरेक वर्ष मर्छन् । आडैमा बढेमानको सालिक छ । मनमनै सोचेँ, विचरा सालिक हरेक वर्ष दलितहरूको सस्तो मृत्यु हेर्न बाध्य छ ।
बाक्लो कुहिरोले मलाई अझै बिहानजस्तै लागिरहेको थियो । मेरो दिमाग भने चकराइरहेको थियो । पुलमको दशा र जाडोले सन्तान गुमाएका उनको केही छिमेकीहरूको कथा सुनेर मेरा रौ ठाडा भएका थिए ।
तिनीहरूले आफ्ना कथाभन्दा आफ्नो गरिबी देखिएला, विद्रूपता देखिएला भन्ने केही सोचेनन् । किनकि त्यस्तो स्वाङ पार्न उनीहरूलाई आउँदैन थियो । ठन्डीले आफ्ना बाबुको ज्यान गुमाएपछि आशौच बारिरहेका वनौली गाउँका पवन रामको जाडोले काँप्दै थिए ।
सप्तरीबाट फर्केर रौतहटको डुमरिया गाउँ पुग्दा पनि उस्तै कथाहरू भेटिए । वस्ती उस्तै थियो, झुरुप्प परेको । केहीकेहीका घरबाट धुवाँ पुत्ताइरहेको थियो । मलाई भने त्यो गरिबी पुत्ताइरहेको जस्तो लागिरहेको थियो । त्यहाँबाट फर्कंदा ठाउँठाउँमा मन्दिर र मन्दिर गएर फर्केका मान्छेहरू पनि देखिरहेको थिएँ । यहाँ मन्दिर पनि रहेछन्, भगवान पनि होलान् । तिनीहरू हरेक दिन पुजिएलान् पनि । तर ती भगवान आफ्नैमात्र कल्याण गरिरहेछन् । पुलमलाई भगवानसँग रिस उठेको होला कि नहोला? कि दलितलाई भगवानसँग रिसाउने अधिकार पनि हुन्छ कि हुन्न होला?