नमस्ते हनुमान!
चिन्यौ मलाई?
चिनेनौ होला, मेरो अनुहार जो हेरिसक्नु छैन
म त्यही बालकको जुगौँजुगसम्म तर्न नसकेको हंस हुँ क्या,
जसको मृत्यु भएको थियो लङ्कामा,
अँ, सुनको लङ्कामा,
तिम्रो महिमामण्डित पुच्छरले सल्काएको आगोमा डढेर!
राजाको दरवार छेउकै टोलमा, घरको कौशीमा
म थिएँ आमाका काखमा,
"ते ते तालु, नानी बढालु " को आनन्द लिँदै
र उता दरवारमा
तिम्रो कूटनीति सफल भएको थियो
मेरा बा - काकाहरूको मनको आगोलाई आफ्नो पुच्छरमा सार्न
अनि सल्काउन सुनको लङ्का...
हनुमान,
हलो हनुमान
हलो, रामदूत अतुलित बलधामा ...
मेरो मुखमा हेर न
यो जुगौँजुग पुरानो
तिम्रो बहादुरीको शिलालेख जस्तो
मेरो डढेको अनुहारमा हेरेर
मसित आँखा जुधाएर बोल न,
मेरो प्रश्नको जवाफ देऊ न,
हो, हाम्रा राजा रावणका दशवटा अनुहार थिए,
दशवटा मुख थिए,
के त्यो मेरो गल्ती थियो?
हो, हाम्रा राजका भाइ कुम्भकर्ण अद्भूत थिए,
खान र सुत्न बाहेक केही जान्दैनथे,
तर के, त्यो मेरो अपराध थियो?
हो, हाम्रो लङ्का,
हाम्रो सुनको लङ्का
वैधानिक प्रक्रियाबाट राजा बन्न नसकेका विभीषणहरूको
सत्तारोहणको घातक महत्वाकाङ्क्षाबाट ग्रसित थियो,
तर के, त्यो मैले तिम्रो पुच्छरबाट झोसिनका लागि
पुग्दो निहुँ थियो?
.
जलायौ लङ्का
जित्यौ रावण
भए विभीषण राजा यता
र उता चढे तिम्रा राम सिंहासनमा पूरै चौध वर्ष पछि
जन्मायौ बाल्मिकी
देखियो रामराज्य
लेखियो रामायण
तर त्यसले कहिल्यै मुख खोलेन
तिम्रा राजा रामको
अर्काको सुनको मिर्ग आफैँ पाल्ने रहरका बारेमा,
हनुमान,
ए हनुमान जी
कस्तो बीचैमा उठ्या?
यतिका जुग पछि भेट भएको छ
सक्छौँ, मेरा साधारण प्रश्नको जवाफ दिएर जाऊ,
सक्दैनौँ सुनाइदेऊ तिम्रा मर्यादा पुरूषोत्तमलाई
तिम्रा राजाहरू
किन जुगैपिच्छे लोभिन्छन्
अर्काको सुनको मिर्गमा
र दौडिन्छन् त्यसकै पछाडि घरबारै त्यागेर?
किन बालीलाई जुगैपिच्छे
लुकेर हान्छन् वाण?
किन गर्छन् सधैं
रावणसित वार्ता गर्नमा भन्दा
विभीषणसित मन्त्रणा गर्नमा बढी विश्वास?
तिम्रो रामराज्यमा
किन प्रत्येक युगमा त्यागिन्छिन् सीता?
किन सम्बोधन हुँदैनन् कहिल्यै पनि
लवकुशका यक्ष प्रश्नहरू?
हनुमान,
ओ हनुमान जी
र किन तिमी मुखियाको रिस
सधैँ सधैँ दुखियामाथि पोख्छौ?
.
हो, मेरो अनुहार डढेको छ
र मनभरि आगो छ
तर म रोएको छैन
तिमी पनि नरिसाई देऊ न मेरा प्रश्नको जवाफ
केही त भन
मेरा मुखमा हेरेर भन
हनुमान,
ओ हनुमान जी ...!