चन्द्र र सूर्य भन्दा छ कुनै अटल सत्य?
रातो भन्दा छ चम्किलो कुनै रङ्ग?
नीलो भन्दा शितल छ केही?
कुन सत्य कुन संसार देखेथेँ होला र मैले
तर मेरो सानो आकाशमा,
फर्फराउँथ्यो त्यही विशाल झण्डा।
जब म मेरो सानी भदैनीको गालामा कोर्छु,
दुइटा प्वाँखसँगको
पुतलीजस्तै लाग्छ यो झण्डा।
सगरमाथा पुगेको छैन म
तर सगरमाथा छ त्यहाँ,
सगरमाथाको शिखरमा यही झण्डा फर्फराइरहेछ।
ठुलो गर्वसँग बाँड्छु यी साना साना झण्डा
सम्झने छन् मेरा साथीहरुले मलाई
मेरो झण्डाजस्तै,
शान्त अनि अटल।
तर हिजो मैले मेरो झण्डालाई चिन्नै सकिनँ।
वागमतीलाई पछ्याउँदै–पछ्याउँदै,
ओराली गर्दै–गर्दै मधेस पुग्दा,
मैले मेरो झण्डालाई चिन्नै सकिनँ।
कस्तो दृश्य थियो त्यो !
बाटोमा लडिरहेको लाशहरुमा झन पोतिएको छ ऊ।
सहिदको कात्रो बनेर स्निग्ध लडेको थिएन ऊ,
मैले देख्दा
ऊ त निर्दोषहरुमाथि संहारको क्रुर तान्डव रच्दै गरेको।
अधिकारको नारा गुन्जिरहेथ्यो सडकमा,
ऊ त दमनको बन्दुक र डन्डा बनी बर्सिरहेको।
के देखेँ मैले!
उसकै आकाशमुनि,
ती चन्द्र सूर्य तातो गोली बनी कुर्लिरहेको।
के भएको हो उसलाई?
कुन भड्काउ, कुन दशा, कुन रोग हो यो?
मधेसमा, मैले उसलाई चिन्नै सकिनँ।
डा. जेकिलर मिस्टर, हाइडको मनोदशा त हैन यो ?
नत्र पहाडमा शान्तिको गीत गाउने ऊ,
यो फाँटमा किन रक्तलिप्सामा डुबेको ?
वीरताको त्यो निक्खर रातो,
कुन रङ्ग नपुगेर,
यहाँ अवोधको रगत खोजी हिँडेको?
यो झण्डा रोगी छ।
उसले आफ्नो गीत बिर्सेको छ।
उसले आफ्नो पहिचान बिर्सेको छ।
नत्र उसको तटस्थ नीलो किन ककसको प्रपन्चमा लठ्ठी हिँड्छ?
सैयौं थुंगाले सजाएको मैले उसलाई,
के नपुगेर,
लामो रातपछि भर्खर फक्रदै गरेको,
कलिला आकांक्षालाई निमोठी हिँड्छ ?
एकताको प्रतीक मानी पुजेको ऊ,
किन आफ्नै आँगनमा विभेद र हिंसाको रूपधारन गर्छ?
पक्कै,
यो झण्डा रोगी छ।
मेरो आदर्शको आधार, मेरो प्रेरणाको मूल,
मेरो ऊर्जाको मुहान!
यो झण्डा पक्कै रोगी छ।
उपचार गराऊ उसलाई।
उसलाई पनि त निको हुनु छ।
पहरा छहरामा मात्र हैन
उसका गीतहरु,
समथर फाँटहरुमा पनि लहराउनुपर्छ।
सगरमाथामा शान बनेर उभेको उसको सत्य,
सर्लाही र सप्तरीमा समानता र शान्ति बनेर फर्फराउनु छ।
मधेसमा थुप्रै साना बहिनीहरु छन्,
उनीहरुको गालामा पनि त उसलाई पुतली बनेर नाच्नु छ।