रियाको मस्तिष्क मेघजत्तिकै सक्रिय छ, अहिले । फेरि यसैले त गराउने रहेछ नि, सारा शरीर रसहरूको वर्षा पनि । र त अहिले उसको मन तपतप रसाइरहेको छ ओसको खोल्सोजस्तै । त्यो दिन सम्झँदा भित्र कतै लागेको काउकुतीले उसको सिंगो शरीर नै हल्लाइदिए जस्तो लाग्छ, उसलाई अहिले पनि । उसका आँखाहरूलाई राम्रोसँग थाहा छ– अब यस्तो बेलामा कहाँ निगरानी राख्नुपर्छ ? निकै तल झरेको टि–सर्टको अघिल्लो खुकुलो भाग केही माथि सार्छे ऊ । फेरि समस्यै यहीँ छ¬– सबै छोपिनु पनि त भएन । पहिलो भेटमै प्रनिसका आँखा कहाँ गढेका थिए भन्ने उसले यति चाँडै कसरी बिर्सियोस् पनि । अहिले ऊ पर्खिरहेकी छ उसैलाई कन्सल्टेन्सीको आँगनमा ।
दर्जनभन्दा बढी पटक मिस्कल मारीसकी । न त प्रनिसले कलब्याक नै गरेको छ, न त ऊ आइ नै पुग्यो । दिक्क लाग्छ उसलाई राति नै आफ्नो मोबाइलको सबै ब्यालेन्स सकेकोमा । मोबाइलमा बजिरहेको गीत उसलाई मन पर्दैन । कति सुन्नु– ‘आइ लभ यु मोर द्यान आइ क्यान से ?’ ऊ गीत बन्द गरेर वरपर आँखा डुलाउन थाल्छे ।
...
पुतलीसडक–बागबजारको यो घञ्चमञ्चमा प्रायः एक–दुई कोठामा वा फ्ल्याटसम्ममा चलेका इन्स्टिच्युटबीच यो एक स्वप्न बगैँचा समान ठाउँ छ । इँटा बिच्छ्र्याइएको फराकिलो आँगन, मूलगेटको उत्तर भागसँग जोडिन आइपुगेको हरियो कार्पेटजस्तै देखिने चाइनिज दुवोले ढाकिएको अर्को एक भाग, मुख्य भवन छेउमै स्थापित गरिएको कलात्मक स्ट्याचु, सँगै रहेको रक गार्डेन, त्यसको ठीक विपरीत दिशामा रहेको सानो भए पनि कलात्मक वाटर फाउन्टेन र आँगनभरि सानासाना देखि बडेमानका गमलाहरूमा मिलाएर रोपिएका फुल्ने र नफुल्ने वर्गका प्लान्टहरू । अझ फटिकझैँ सेतो र राणाकालीन डिजाइनको झल्को दिने मुख्य भवनको त के कुरा ? उसलाई लाग्छ, यो पोस्टरहरुमा देखिने कुनै विदेशी कलेज या युनिभर्सिटी नै हो ।
यही भवनको माथिल्लो तलामा मात्र एकहप्ता अघि भेटेकी हो रियाले प्रनिसलाई । ऊ वेटिङ लनमा थिई, तीन बजेको आइएलटियस क्लासभित्र छिर्न । एकदिन अघिमात्र सुरु भएको उसको यो कक्षामा अरु चिनारु साथीहरु थिएनन् । त्यै बेलामा सँगैको सोफामा अढेसिन आइपुगेको थियो प्रनिस । अस्ति भर्खर सामसुङ एक्सपोमा किनेको नयाँ मोबाइल सेटमा मस्त थिई रिया । आगन्तुक तिर उसको ध्यान गएन । तर केहीबेरमै अरु केटाकेटी त्यहाँ थपिए । एकाएक टेस्ट डेट, स्कोर सिट र भिजा एप्लिकेसनका कुरा सुरु भए । ‘म त सेभेन ब्याण्डमात्र आउला जस्तो भो भने त टेस्ट नै क्यान्सल गर्दिन्छु ।’ रियाका कान त्यता फर्के ।
बाँकी केटाकेटीहरूलाई पनि अहिल्लै मुख बाहिर झुण्डिएको आ–आफ्नो जिभ्रो धान्न सकस थियो । तर, त्यो नवयुवक अझै चुप लाग्ने मुडमा थिएन । ‘हो भन्या, आई निड एट ब्यान्ड । एन्ड यु नो, आई डिर्जभ्ड इट।’ कक्षा भर्खरै सुरु भएको भएपनि सबैलाई राम्रोसँग थाहा थियो आइएलटियसमा सेभेन ब्याण्ड नै कति टफ स्कोर हो । परिचयको क्रम सुरु भयो त्यहाँ ।
‘हाई ! आम प्रनिस ।’ रियाको हात प्रनिसको हातमा थियो ।
लगत्तै कक्षा सुरु भयो । इन्स्ट्रक्टरले हाउ टु युज स्क्यानिङ टेक्निक इन रिडिङ सेक्सन भनेर बोर्डमा लेख्न नभ्याउँदै प्रनिसले रियाको स्क्यानिङ गर्न भ्याइसकेको थियो । खरानी रङको लुज सर्ट र जिन्स लगाएको त्यस सिकुटे नवयुवामा खै के आकर्षण थियो, रियाको मन पनि ह्वाइटबोर्डतिर थिएन । क्लास पनि चाँडै सिद्धिएजस्तो भो रियालाई । इनस्टिच्युटको गेटबाहिर आएपछि सँगैको रोडसाइड टि सपअघि यत्तिकै उभिइरही । यतिको सफ्टकर्नर अघिनै बुझेको प्रनिसले यो मौका कसरी चुकाउँथ्यो र ? उनीहरू सँगै टि सप भित्र छिरे ।
हो, एकैहप्तामा झांगिएको हो उनीहरूको यो प्रेम । राम्रोसँग परिचित हुन नपाउँदै उनीहरू धेरै नजिक भइसकेका थिए । यति नजिक कि क्लासमा उनीहरू सँगै बस्थे नै, टि सपमा त ऊ प्रनिसको बाहुपासमै हुन्थी प्रायः दिनभरि नै । एक हातमा रियालाई च्यापेर ऊ अर्को हातले आधा दर्जनजति चुरोट उडाउँथ्यो एकै सिटिङमा । रिया पनि मख्ख थिई, जस्टिन बिबर जस्तै एरोगेन्ट र म्यान्ली ब्वोइफ्रेण्ड भेटेकीमा । के के गफिएनन् उनीहरूले योबीच? सँगै अष्ट्रेलिया जाने– बिकिनी, बियर र विचसँगको नयाँ लाइफ इन्जोए गर्ने ।
अब क्लाइमेक्स नजिक थियो यो प्रेम । क्लासपछिको त्यस साँझ टि सपमा प्रनिसले प्रस्ताब राख्यो– ‘हाउ अबाउट गोइङ टु ठमेल टुनाइट टु जोएन विकएण्ड पार्टी ?’ ऊ मान्छेमात्र हिरो हैन, अंग्रेजी पनि कुइरेकै जस्तो छ । कसरी रियाले इग्नोर गरोस् ? फेरी ऊ क्यै गरी रिसायो भने ? अब ऊ प्रनिसलाई कहाँ गुमाउन सक्छे ? जुलीको आज वर्थ डे पार्टी छ भनेर घरमा कुरा मिलाई । फेरी बाबु इराकमा छन्, आमालाई त उसले टेरे पो । साँझ नपर्दै उनीहरू ठमेल हान्निए । कहिलेकाहिँ कलेज पार्टीहरुमा गएकी हो ऊ । तर आजको ड्याजलिङ डिस्कोको यो तमासा त उसले टिभीहरूमा आउने मिडनाइट पोग्रामहरूमा मात्र देखेकी थिई । ड्रिन्क एण्ड डान्स दुबैको छुट थियो यहाँ । उसले पनि उफ्रँदै पिउँदै गर्दा त निकै पिइछ । जिउ थाम्नै गाह्रो भएपछि उसले आफ्नो सारा शरीरको बोझ नै प्रनिसको अँगालोमा बिसाइदिई । यही मौकाको पर्खाइमा थियो प्रनिस। बिस्तारै बाटोपारिको गेष्टहाउसमा उकाल्यो ।
...
रियाका आँखा एक हातमा फुसफुसाइरहेको सिगरेट र अर्को हातमा ऊजस्तै केटी च्यापेर गेटबाहिर उभिएको जिङ्ग्रिङ्ग कपाल भएको लिखुरे केटामा पर्छ । अलि परर्तिर अर्को कालो चस्माधारी आफ्नो अजङ्गको भटभटे आकाशै भत्कने गरी आवाज निकाल्दै स्टार्ट गर्छ । नजिकै उभिइरहेकी अर्की सुसुपाल युवती उसको भटभटेको पछाडिपट्टिको भागमा राम्रोसँग बस्नै नपाई टाँसिन्छे । ऊ अब चन्द्रमातिर सोझिएको रकेटसरीको रफ्तारमा दृष्यबाट बिलाउँछ ।
प्रेममय छ पुतलीसडक आजकल ।
यी सबै दृष्य हेरिरहँदा रियालाई प्रनिसको झन् धेरै याद आउँछ । ऊ फेरि दुईचार मिस्कल गर्छे । तर अघिझैँ न त कुनै रेस्पोन्स नै गर्छ, न ऊ आई नै पुग्छ । क्लास सुरु हुन अझै केही घण्टा कुर्नु छ । ‘केहिगरी प्रनिस आइपुगेन भने के गरी समय कटाउने होला ?’ उसको बेचैनी बढ्छ । दिक्क पनि लाग्छ उसलाई । लामो हाई काड्दै भुइँतलामा रहेका परामर्शदाताका भिन्नभिन्न कार्यालयतिर आँखा घुमाउँछे । आजकल सबैभन्दा लामो लाइन अष्ट्रेलिया हेर्ने काउन्सलरको अफिसअघि छ । फेरी अरु कन्ट्रीको त भिजा लागे न अप्लाई गर्नु ? ‘कहिले हाम्रो पनि आइएलटियसको इग्जाम सकिएला र प्रनिस र मेरो पनि यसरी नै भिजा प्रोसेसिङको लागि काउन्सलरलाई भेट्ने दिन आउला ?’ रियाको मन फेरि पनि रसाउलाजस्तो हुन्छ क्षण भरमै ।
‘ओ, हाय रिया ! यु वेर हियर ?’ प्रनिस बल्ल आश्चर्य मान्दै झुल्किन्छ त्यहाँ । सधैँको जस्तो आत्मियता र चमक प्रनिसको अनुहारमा नदेख्ता रिया केही झस्कन्छे । ‘रिया, बाइद वे सी इज माइ गर्लफ्रेन्ड बार्बी । ! एन्ड बार्बी, सि इज माइ क्लास मेट रिया ।’ बाहिरबाट आफूसँगै आएकी नौली केटीसँग रियाको परिचय गराउँछ प्रनिस ।
tapasvirishi@gmail.com