गिथलिएको इतिहासले चेपेको
बिटुलिएको मित्र(?)-अट्टहासले हेपेको
भग्न अवशेषमाथि नग्न नग्न
मग्न मुर्कट्टाको तरुण उद्भव!
आऔं, बजाउँ निशब्द हामी सजीव टाउकाको
निर्जीव ताली!
भरिदिएको हावा र फुकिदिएको बेलुनसित
मनाउँ अवत्सलको बिग्रह प्रश्रव
टाउकाहरुबीच भव्यभव्य मुर्कट्टा महोत्सव!
अनौठो अजब; खडेरीमै गजब,
कागजको कुन्युंमाथि केके लेखियो
मंचभरिका मुर्कट्टाको पिलिकपिलिक टाउको देखियो!
सनातन गीत गायो, मुकहरु निल्न मुख बायो,
बिचरो बालक बोल्छ- ‘मुर्कट्टाको टाउको कसरी आयो?
“खै बाबु! न कोहीको बाउको, न हाम्रो गाउँको,
तिरीनसकिने भीमकाय साउको
कतै दुलो दाउको, कतै कालो भाउको
अनायास टल्किएछ मुर्कट्टाको टाउको!”
सस्तै तालु तासिएका ठुटाजस्तै
‘एम्पुटेसन’पछि जोडेका खुट्टाजस्तै
पराइले रंग्याईदिएका बुट्टाजस्तै!
मुर्कट्टा जिउका प्लास्टिक टाउका!
कोही फलानो पाउका, कोही ढिस्कानो माउका!
पर्दामाथिको हातबाट चल्ने ‘पार्किन्सोनियन’
वृषभ वृषभ मुर्कट्टा टाउका!
क्या काइदा! मुर्कट्टा मनोरंजन मन्चन गर्छन्
प्राकृतिक टाउकाहरु त्यही मन्चनको गन्थन छर्छन्
न मुर्कट्टाको तन बोल्छ
न दर्शकदीर्घाबाट कोही टाउकाले मन खोल्छ!
कस्तो गजब! टाउकै नभएका कोई मुर्कट्टा
अर्को मुर्कट्टाको टाउकाको मोल तोक्छन्
गोदाम छिरेर झोल धोक्छन्
हर मन्चमा उही कबुल घोक्छन्
प्रभुजीलाई दण्डवत् ढोग्छन्
एक टाउकालाई उचालेर अर्को टाउकामा
बसीबसी बर्बरी ठोक्छन्
‘बन्द’ होस् या ‘बन्दी’; के फरक पर्छ र?
प्राकृतिक टाउकाले मुख खोल्दैनन्
दन्दनी आगाले डढाल्दा नि बोल्दैनन्
निलेर बाटो! डुक्राए‘नि; मिलेर, माटो टुक्राए’नि
तालीहरुमा चम्किन्छन् ताण्डव उत्सव
नग्न नग्न मुर्कट्टा महोत्सव!
हाय हाय! सिक्का र फिक्कामै बिक्ने,
हामी स्वाभिमान आकर्षकहरु!
हाय हाय! बिश्वबिद्यालयका मुकमुक
हामी टाउका भएका दर्शकहरु!
हाय हाय! चियापसलका
हामी हल्लाखोरे बिदुषकहरु!
बस् तताउं पानी डाडुमा डुब्नलाई मनग्गे,
लगाउ उसले फुकेको हावामा आफ्नो यज्ञ!
चोइत्याइदेऊ बाटो र माटो
ताली पिटौ मुर्कट्टाहरुको भरेको सास!
मन्चमा मन्चन चलेकैछ,
चाहे भर्सेला परोस् गास-बास-कपास!
निकालौं स्वाभिमान अट्टहास!
भग्न अवशेषमाथि जिर्ण जिर्ण
नग्न मग्न मुर्कट्टाको तरुण उद्भव!
लिएर हातमा आफ्नै अस्तित्वको शव!
मनाउं मनग्गे मुर्कट्टा महोत्सव!