दिनभरी
नाकाबन्दीको बिरोध गरेँ
मुट्ठी उचालेर स्वाभिमानको नारा लगाएँ
विश्व समुदायको ध्यानाकर्षण गरेँ
हस्ताक्षर संकलन गरेँ
ज्ञापनपत्र बुझाएँ
अमानवीय हर्कत गर्ने अमानवलाई
धारे हात लगाएँ
साँझ त घर फर्कनै थियो।
घरमा
अँगेनो अगुल्टो पर्खिरहेथ्यो
गाइबाख्रा कुँडो, दाना पर्खिरहेका थिए
स्वास्नी सामल पर्खिरहेकी थिई
र छोराछोरी-
लग्लगि काम्दै
सेप्रो पेट छाम्दै
बाउ पर्खिरहेका थिए।
नाकाबन्दी बिरुद्ध मेरो चर्को नारा,
सशक्त धर्ना, हस्ताक्षर,
ज्ञापनपत्र +++
एक डाडु खोलेका लागि
कसौंडीको तिखो आवाजले
मेरो सप्पै बिरोधका आवाजहरुलाई
मधूरो बनाइदिएथ्यो
ल हेर्नोस !
करेसामा मूल पनि नफुटेको भए-
निराहार मेरो जहान-परिवार
प्याक-प्याक पर्थे कि पर्दैनथे ?
सम्झेँ-
दुइ रोपनी पाखो छ- तर बाँझै छ
रुख रोप्न पाए
हाँगाले अगुल्टोको आवश्यकता पुरा गर्लान्-
नाकामा ग्याँस कुर्नु नपर्ला
पात, स्याउलाले गाइबस्तुका दूध बढाउलान्-
ढुटो र दानाको लाइन बस्नु नपर्ला
खनजोत गरेर तोरी फलाउन पाए
तेलको अभाब खप्नु नपर्ला
छेउछाउमा सागसब्जी उब्जाए
बासी तरकारीको प्रतिक्षा गर्नु नपर्ला
कुनाकानीमा
फलफूल लगाए भो
कन्दमुल फलाए भो
छोराछोरीलाई सुम्सुम्याएँ
स्वास्नीलाई सम्झाएँ
आत्मबल बढाएर
आत्मविश्वास बटुलेर
आत्मरक्षाका लागि
आत्मनिर्भर हुनु जो छ
र यो-
अमानवहरूलाई
मानवीय सत्कर्म, विवेक र स्वाभिमानको
गतिलो प्रक्षेपण हो
देखाइदिउँ न-
क्रेताको बजारमा
बिक्रेताको नाकाबन्दी
कालान्तरमा कसलाई घाँडो हुँदो रहेछ !
बेला आयो
नाकातिर कम तर पाखातिर धेरै लाग्ने।