फेसवुकको च्याट बक्समा उसले टाइप गर्यो
‘भोलि भेटौन, गुरासँ रेष्टुरेन्टमा।’
उताबाट प्रतिक्रिया आयोः ‘किन?’
“काम छ नि तिमीसँग, मैले बोलाउँदा नआउने त्यसो भए।”
“उम्... भोलि त दिउँसो मामाकोमा जानुपर्ने छ।”
“दिउँसो एक बजे तिर आउन । म तिमीलाई त्यही रेष्टुरेन्टमा भेट्छु ।”
“के काम हो भनन।”
“यत्तिकै भेट्न मन लागेर नी, तिम्रो लागि सर्प्राइज पनि छ ।”
“अझ हेरन त्याँ... उम्, तिमीसित सकिदैन। त्यसोभए म एकबजे नै आउँछु तर दुइबजे निस्कने गरि है त । मामाले जसरिनी आउनु भन्नुभाको छ ।”
फेरि उतैबाटः “अब चाही खुसी ?”
यताबाटः “धेरै खुसी !”
एकछिन रमेश मनमनै रमाउदै आफ्नो दाहिने हात मुठ्ठी कस्दै भन्यो “यस्” अनि मोबाइलतिर हेर्यो ।
उताबाट फेरि म्यासेज आयोः “छुच्चो मान्छे!”
पछिल्लो दुई शब्दले उसलाई कुत्कुत्यायो अनि सोच्न थाल्योः “पक्कै उसले पनि मलाई मन पराउछे । साच्चै भोलि त भनिदिन्छु जे जे पर्ला पर्ला।”
राति सुत्नेवेलामा भोलि उसलाई के के भन्ने होला भनेर मनमा अनेक कुराहरू खेलिरह्यो। “लामो समयपछि भेट्ने मौका मिलेको छ भोलि त मज्जाले बसेर कुरा गर्छु ।” यस्तै यस्तै....।
अर्को दिन दिउँसो बाह्र बजे टिभीमा समाचार चलिराखेको छ :
आज भैरहवा नाकाबाट दुई बुलेट ग्याँस र तीन ट्यांकर तेल भित्रिएको छ। तराईका अधिकांश विद्यालय मधेस आन्दोलनले बन्द। इन्धन अभावले काठमाडौंका अधिकांश बाटोहरुमा तेल भर्न गाडीहरुको लाइनले ट्राफिक जामको समस्या, सरकार र मधेसी मोर्चाबीच ठोस वार्ता अझै हुन सकेन ...।
***
“ग्याँस पनि सिद्धिन लागिसक्यो हाम्रो, अब के गरि खाने हो? खत्तम बनाए देश नेताहरुले”, रमेशकी आमाले भनिन्।
“आमा म कस्तो देखिएको छु”, ऐनामा आफ्नो बाल मिलाउदै रमेशले भन्यो।
“किन उस्तै त छस् तँ”, आमाले भनीन् ।
“गर्लफ्रेन्ड भेट्न जान लाग्यो कि क्याहो दाइ”, लुगा मिलाउदै गरेकी बहिनीले जिस्काइ ।
“चुपलाग तँ, खुरुक्क आफ्नो काम गर” भन्दै रमेश आफ्नो कोठाभित्र पस्यो। दराजबाट अत्तर झिकेर आफ्नो शरीरभरि छर्कियो । पर्समा पैसा हेर्यो र पाइन्टको पछाडिको पाकेटमा राख्यो। एक हातमा कालो चश्मा अर्को हातमा बाइकको चाबी लिएर निस्कदै भन्योः
“आमा मेरो काम छ, बाहिर गएर आउछु।” बाइक गेटबाहिर झिक्यो र स्टार्ट गर्यो। आफ्नो घाटीको पछाडि झुण्ड्याएको कालो चश्मा निकाल्यो र आखाँमा लगायो। बाइकको ऐनामा आफ्नो अनुहार हेर्यो, हल्का कपाल मिलायो र ल ल ल...गुनगुनाउदै बाइक हुइँकायो।
***
हाँसखेल मात्र हुँदै आएको उनीहरुको सम्बन्ध औपचारिक रूपमा प्रेममा बदलिसकेको थिएन। अस्ति मात्र रातभर बसेर तेल हालेको बाइक चलाउँदै उ हुनेवाला प्रेमीका भेट्न जादैछ। उसले हातको घडी हेर्यो । बल्ल बाह्र पन्ध्र भएको रहेछ। सोच्यो :
“आधा घन्टाको बाटो हो छिटो हिडिएछ । ठीकै छ, एकछिन कुरेर बस्दा सृजनाको अगाडि इम्प्रेसन राम्रो हुन्छ।”
बाइक चलाइरहेकै अवस्थामा उसको मनमा कुरा खेल्यो :
“के लगिदिउ त, एउटा गुलाफको फूल किनेर लैजान्छु खुसी हुन्छे उ ।”
बाइक रोक्यो र बाटोको छेउमा रहेको एक फूल पसलमा गएर गुलाफ माग्यो। पसलमा बस्नेले भन्यो :
“गुलाफ त छैन सर, अरु फूल पनि सवै ओइलाइसकेका मात्र छन् । के गर्नु! गाडीबाट आउने हो नाकाबन्दीले फ्रेस फूलहरु नआएको साता भइसक्यो।”
“ए..” भन्दै बाइक स्टार्ट गरेर हिड्यो उ । केही पर पुगिसकेपछि गाडीहरुको लामो लाइन देख्यो। अगाडिका गाडीहरुले हर्न बजाइरहेकाले ध्वनी प्रदुषण एकदमै थियो। उसले बाइक रोक्यो।
“किन लाइन हो दाई?” आफूभन्दा अगाडीको एकजना बाइकमा बस्नेलाई सोध्यो उसले।
“भर्खर तेल बाड्न लागेको छ रे त्यहाँ । तेल भर्नलाई गाडीहरुको लाइनलेगर्दा जाम भएको हो,” त्यो अपरिचितले भन्यो ।
रमेशको अगाडि केही ठूला गाडीहरु र केही वाइकहरु छन्। बाटो ठप्प भइसकेको छ। गाडीहरुको हर्न निरन्तर बजिराखेका छन्। एकछिन अगाडिका गाडीहरु हिडेनन् । केही बेर पछि उ भन्दा अगाडि भएका गाडीहरु हल्का अघि सरे। यही क्रममा उ भन्दा अगाडीको वाइकले कालो धुवाँको मुस्लो फाल्यो । त्यो मुस्लो उसको सरीरभरि पुग्यो । गाडीहरु दुई पाइला अघिसरेपछि फेरि हिड्न छाड्यो। उसले घडि हेर्यो पौने एक भएको रहेछ।
ओहो ढिलो पो हुने भयो त भन्ने सोचेर फूटपाथबाट बाइक लैजान मात्र के लागेकोथ्यो ट्राफिकले सिटी बजाएको देख्यो र त्यही जामको बिचमै रह्यो ।
छेउको एक मिनीवसको ड्राइभरले हर्न बजाउँदै भन्योः
“साला खत्तम बनाए देश नेताहरूले।”
त्यही बसमा यात्रा गर्ने ड्राइभर पछाडि बसेकी एकजना महिलाले भनिन्- “खाने तेलको भाउ आकासिसक्यो, पकाएर खानलाई ग्यास छैन, कतै जानुपरे यति सकस झेल्नुपर्छ, विजोग भाछ अचेल।”
लामो समय जाममा विताएर बल्ल तल्ल उ आफू हिँडेको रेष्टूरेन्टमा पुग्यो। त्यहाँ पुग्दा सृजनाले कुरेर बसिराखेकी थिइ।
“अलि छिटो भयो कि?” उसले भनी । उसले घडि हेर्यो पौने दुई भइसकेको रहेछ । लाजले केही बोल्न सकेन। “फोन किन नउठाएको कति चोटी गरेको थिए ।”
रमेशले आफ्नो मोबाइल झिकेर हेर्दा सात मिसकल देख्यो। बाटोमा गाडीहरुको आवाजले गर्दा उसले पत्तै पाएको रहेनछ ।
केही नबोली एकोहोरो सृजनालाई हेरिरह्यो।
“किन हेरेको त्यसरी?” सृजनाले सोधी ।
“आज तिमी विरुद्ध पुलिसमा रिर्पोट लेखाउनुपर्ने छ ।”
“किन ? के गल्ती गरें मैले,” उसले प्रतिप्रश्न गरी ।
“तिमी यति राम्री देखिएर मेरो आँखा र मनको अमनचयनमा खैलाबैला मच्चाइदिएको आरोपमा ।”
उ मुसुक्क हासी । रमेशले भनिहाल्यो,
“हाँस्दा अझ राम्री ।”
“तर तिमी त कति नराम्रो,” सृजनाले भनी । रमेशले आफ्नो शरीरबाट गाडीको धुवाको हल्का गन्ध महसुस गर्यो । हिड्नेवेलामा छरेको अत्तरको नामनिसान थिएन। अनि भन्यो “हँ..।”
“बुद्दु ठट्टा गरेको” भन्दै उ हाँसी ।
रेष्टुरेन्टको वेटरसँग रमेशले खाजा के छ भनेर सोध्यो ।
“खाजा त केही नि छैन । ग्याँस पाइदैन, ब्लाकमा ल्याएको पनि हिजो साँझ सिद्धियो । चिया छ होला पिउनुहुन्छ?” रेष्टूरेन्टको मालिकले भन्यो ।
“पिउने हो?” उसले सृजनालाई सोध्यो।
सृजनाले घडी हेरि र भनिः
“ओहो! दुई बजिसकेछ म त जानुपर्छ। चिया त म घरमै खाएर आएकी हुँ। तिमी धेरै ढिलो आयौ, म त निस्कुपर्छ अब।”
“एकछिन बसन, अर्को होटेलमा जाम्न त।”
“नाइ हेरत कति ढिलो भइसक्यो मामाकोमा जानुपर्छ म। फेरि गाडी कम चल्छ अचेल, तेलको लाइनले गर्दा जाम पनि हुन्छ अनि अझ ढिलो गरे भने त झन गाडी नै नपाउन सक्छु। अर्को दिन भेटौलानी है । बाइ..” भन्दै उ निस्किइ ।
त्यही रेष्टुरेन्टको भित्र केहीमाथी राखिएको टिभीमा एकजना समाचार वाचकले भन्दै थियो :
मधेस आन्दोलनलाई मधेसी मोर्चाले थप चर्काउने, नाकाबन्दीले इन्धनको समस्या झन् बढ्दै, सरकार नाकाबन्दी सामू कत्ति नझुक्ने ...।
रमेशले आफैसँग मनमनै भन्यो, “ खाजा खादै उसँग एकछिन अनेक गफ गरौला भनेको, थुइक्क ! साला लब गर्न नी पाइन्न यो देशमा। जस्तो देश त्यस्तै लब।”