भाँडा बजेका चर्का आवाजले जगते साँहिलोको निन्द्रा भाँच्चियो। उस्ले आँखा खोल्यो। एक धर्को घाम खापा र भित्ता बिचको चेपबाट छिरेर ऊ सुतेको गुन्द्रिको छेऊमा परीरहेको थियो। ऊ आँखा मिच्दै उठ्यो।
'कती पसारिन सक्छौ?' साँहिली भाँडा बजाउँदै रिसाएको सुन्यो उस्ले तर केही बोलेन। बाहिर निस्किएर एकछिन पिंढीमा बस्यो। साँहिली पनि फत्फताउँदै बाहिर निस्किएर आँगन बढार्न थाली। उसो त साँहिली त्यही झर्कोफर्को गर्दिन। तर आज बिहानै देखी उस्को अनुहारमा अभावको बादल लागेको छ।
'किन बिहानै देखी बहुलाकी छस? जा एक गिलास चिया ले', उसले अह्रायो।
'तिम्रा बाजेले ल्याएर राखिदेका छन् नि चिनी चियापत्ती तिमीलाई चिया खान' साँहिलीले कड्किइ।
'किन बचन लाउँछेस बिहान बिहानै,'साँहिलोले रातो अनुहार लगायो।
'अनी के गर्नु त? घरमा अन्नको एक दाना…… ', भन्दा भन्दै साँहिलिको स्वर सुकेर गयो। गालामा आँशुका एक लहर झरे। ऊ गालामा झरेका आँशु पुछ्न थाली। साँहिलिका आँशु देखेर जगतेको मन तम्तमाइलो भयो।
‘किन रुन्छेस, म केही बन्दोबस्त गर्छु नि। बरु जा एक अंखोरा पानी ल्या', जगतेले ढाडस दिन खोज्यो। तर उस्को आफ्नै मनमा भने केही उपाय सुझेको थिएन।
साँहिलीले सिलाबरको अंखोराम भरी पानी उस्को अगाडि ल्याएर राखिदिई अनी फेरी आँगन बढार्न थाली। साँहिलो आँगनको डिलमा गएर हातमुख धोयो अनी अलिकती उब्रिएको पानी खायो। आंखोरा पिढींमा राखेपछि खै के सोच्यो,त्यहीं पिढिंको एउटा खाँबोमा सिउरिएको टोपी झिक्यो लगाउँदै 'म बस्नेत बाकोमा पुगेर आउँछु', भनेर हिंड्यो।
उसो त जगते सँधै अभाव मै हुर्किएको थियो। सम्पत्तिको नाममा त्यै घर भनाउँदो टहरो उभिएको एक टुक्रो ऐलानी जग्गा। अहिले खाए भरे के खाने भन्ने समस्याले बाऊ बाजेको पालो देखि घचेट्दै आएको थियो तर साँहिलिका आँखामा आँशु देख्दा भने उस्लाई आफ्नो अवस्था नयाँ घाऊ झैँ दुख्थ्यो।
‘साँहिलीलाई बिहे गरेर ल्याए देखी एक दिन पनि सुख्ख दिन सकिन। कस्तो पाजी जिन्दगी होला। हाम्रा दिन पनि सप्रिनु नि कहिले त,’ उसको मुखबाट खुस्कीयो। हिँड्दा उस्का मनमा अनेक विचार आए। वीरबहादुरको मतान छेऊबाट ओरालो लाग्दा वीरबहादुरको कुकुर पनि उस्को पछी लाग्यो।
'उता जा!' आफ्नो मनको रन्को पोख्न उस्ले कुकुरलाई लात्ती उज्यायो। कुकुर डरले अलिकती बाङ्गियो तर टेरेन। ऊ साँहिलोको पछी लागिरह्यो। साँहिलो अघिअघि कुकुर पछिपछि ओरलो झरेर पंधेरामा पुगे। अलिक अगाडिसम्म भए पंधेरो भरी मान्छेको रमिता हुन्थ्यो अहिले सुनसान भैसकेछ। पण्डितकी जेठी बुहारी मात्रै तामाको गाग्रोमा पानी भर्दै थिइन्।
'कता हिंड्यौ है साँहिला?,' डोकोमा नाम्लो लाउँदै सोधिन्।
'बस्नेत बाको तिर हिंडेको बजै। केही काम छ कि? एक पाथी जती मकै दिन्छन कि भनेर', जगतेले मनको भारी बिसायो।
'बजै,तिम्रा तिर केही काम छ कि बरु?,' आसे मनले सोध्यो उस्ले फेरी।
'अहिले त केही छैन हौ। बेशीमा मकै पनि अस्ती भर्खर छरी हाले। बरु रातमाटेका कान्छा छोरा छुट्टीन्छन रे। सिरुबारिको सालको रुख अगाडि घर बनाउने रे। अस्ती बालाई साईत हेराउन आका थिए। तिन्ले बरु ढुङ्गा बोक्ने काम दिंदा हुन नि। सोध न गएर,' भरिएको गाग्रो डोकोमा हाल्दै भनिन उन्ले।
उस्को मनमा मानौ घाम लाग्यो।
'कहिले देखी बनाउँछन रे बजै घर?'
'बाले अर्को हप्ता एकादसीको साईत हेरिदिनु भएको छ रे,' दाम्लो थाप्लोमा बिसाएर डोको बोक्दै उन्ले भनिन्।
'अर्को हप्ता सम्म त के गर्नु बजै,आजै के खाने भाको छ।'
'केही पर्यो भने भनम्ला नि।' पण्डितकी बुहारी उकालो लागिन। वीरबहादुरको कुकुर पनि उनकै पछी लाग्यो। जगते अब एक्लै भयो।
फेरी ओइलाएको मन बोकेर जगते बस्नेत बाको तिर हिंड्यो। बाटो छोट्याउन गुरुङ दाइको बारीको डिल डिलबाट उकालो लाग्यो। गुरुङ दाईका बारी भरी भर्खर मकैका बोट उम्रिएका थिए। उस्लाई ति मकैका बोट सुनका ठुन्का उम्रिए झैं लाग्यो। ‘मेरा पनि बारी भको भए अहिले मेरा मकै पनि यत्रै हुन्थे होला’ जगतेले मनमनै सोच्यो अनी आफ्नो परिस्थितीको उदाङगोपन सम्झेर बारीतिर पिच्छ थुक्यो।
उस्ले थुकेको अलीक अगाडि बारीको डिलैमा थुपारेको मलको थुप्रोमा पर्यो। त्यही मलको थुप्रोको पल्लो पट्टी उस्ले एउटा सानो निलो कुरा देख्यो। के रहेछ भनेर उठायो। प्लास्टिकको झोला भित्र केही कागज जस्तो राखेर त्यो झोला बेरी बेरी पट्ट्याएर सानो पारेको थियो। साँहिलोको त्यो सानो प्लस्टिकको पोको खोल्न थाल्यो। खोल्दै जाँदा प्लास्टिकमा टाँसिएका शीतका थोपा उस्का हातमा पनि टाँस्सिए। बेरेको झोला फुकाइ सके पछी एकाएक उस्को हातमा माथि पट्टी उस्ले हजारको नोट देख्यो। त्यस भित्र अरु नोट पनि थिए। साँहिलोको जीउभरी जिरिङ्ग काँडा उम्रिए। उस्लाई एक्कासी डर लाग्यो अनी वरिपरी हेर्यो। तर वरिपरी कोही थिएन। पर पँधेरामा मात्रै एक दुई जना मान्छे थिए। साँहिलोको मन एक्छीन सन्न भयो। यती धेरै पैसाको बिटो उस्ले पहिले कहिल्यै देखेको थिएन। फेरी वरिपरी हेर्यो फेरी कोही थिएन।
‘कस्को होला यती धेरै पैसा?’ ऊ आँफै फत्फतायो।
'जस्को भए पनि तैंले भेटिस त' उस्को मनमा चोर पस्यो।
'भो हुँदैन! अर्काको पैसा लग्नु हुँदैन, दशा लाग्छ' सज्जन मनले प्रतिवाद गर्यो।
'एक डल्लो ढिंडो खाने ह्याउ छैन। अब यो भन्दा बढी के दशा लाग्नु?' चोर् मन कुर्लियो।
सज्जन मन लुरुक्क परेर केही बोलेन। उस्ले फेरी वरिपरी हेर्यो। फेरी कोही थिएन। अनी त्यो प्लास्टिकको पोकोलाई मुठ्ठीमा कसेर छिटो छिटो हिँड्न थाल्यो।
चौतारो नजिकै तिनै रातमाटेका कान्छा छोरा भेट्टिए। 'कता हिंड्यौ है साँहिला?,'सोधे।
'त्यै परसम्म', जगतेको त्यतीमात्रै भन्न सक्यो। बाँकी शब्द सबै मुखभित्रै गुजुल्टा परे। डरले मुटुमा ढ्याङ्ग्रो ठोक्यो।
'न उनैको हो पैसा? घर बनाऊने रे भन्थीन् पण्डितकी बुहारी’।
'ए लौ त लौ', भन्दै उनी ओरालो लागे घरतिर। जगते पनि फटाफट लाग्यो माने भीरतिर। माने भीरतिर मान्छे त्यती जाँदैन थिए। उहिले बराजुको पालामा माने सार्की लडेर मरेको रे माने भीरबाट। त्यसैले त्यसको नाम माने भीर भएको रे। त्यसैको भुतले तर्साउँछ भन्थे। डर त जगतेलाई पनि लाग्थ्यो तर आज उस्लाई चाहिएको एकान्त त्यहीं मात्रै थियो। एकनासे ठाडो उकालो हिंडीसके पछी जगतेले वरिपरी हेर्यो अनी एऊटा ठुलो ढुङोको पछाडि छेक्कियो। मुटु हिंडाइले भन्दा पनि उत्सुकताले धेरै भट्याक भट्याक गर्दै थियो। त्यही ढुङोमा अडेस लगाएर जगते फ्यात्त भुइँमा बस्यो। अनी आफ्नो हत्केला खोल्यो। पसिनाले लफ्रक्कै भएछ। हत्केला पुछ्यो त्यहीं भुइँमा अनी खोल्न थाल्यो निलो पोको। अगी देखेको माथिपट्टीको हजारको नोट देख्यो फेरी तर खुशी अगीको भन्दा दोब्बर लाग्यो। अनी भित्रपट्टिका नोट फुकायो अनी गन्न थाल्यो,
‘एक, दुई, तीन, चार, पाँच!’। फेरी गन्यो, ‘एक, दुई, तीन, चार, पाँच!’। पाँचवटा हजार हजारका नोट थिए, नयाँ!
नोट नयाँ हुनु र नहुनुले त्यस्को औकातमा के नै फरक पर्थ्यो र? तर जगतेलाई नयाँ नोट सुनमा सुगन्ध झैं लाग्यो। अनी पाँचैवटा नोटलाई नाक नजिक लाग्यो। नयाँ नोटको बास्ना आयो हरर। उस्लाई उत्तेजनाले पिसाब आउँला आउँला जस्तो भयो।
‘साँहिलीलाइ देखाउन पाए कती खुशी हुन्थी होली' सोच्यो मनमनै।
'आ होस्! अर्काको पैसा राख्नु हुँदैन भन्न बेर छैन,' उस्लाई साँहिलिको सज्जनताको विश्वास लागेन।
'होस् भन्दिन। भरे एक बोरा चामल किनेर लाग्दे पछी त्यत्तिकै फुर्किन्छे। तर यही पूर्णमान साहुकोमा किन्यो भने त शंका गर्छन्। फेरी पहिलेको पनि तिर्न बाँकी छ, तिर भन्छन। होस् अन्तै जान्छु’ अनी गम्न थाल्यो। एक्छीन सोचीसके पछी अर्खौले बजार जाने निर्णय गर्यो।
'३ घण्टा जान, ३ घण्टा आउन। फेरी बजार पनि ठुलो छ धेरैले चिन्दैनन। भरे साँझसम्ममा त आइपुगीहाल्छु,' जगते अर्खौले बजार नै जाने भयो तर पैसा कहाँ लुकाउनु? पाँच पाँच हजार जस्तो कुरो। अनी आफ्नो जिउतिर हेर्यो लुकाउने ठाउँ। माथि एउटा गन्जी, तल एउटा सुरुवाल, खुट्टामा ३ चोटि फित्ता चुँडिएर टाँसेको तलुवा खिइसकेको चप्पल। खल्तीको नाममा केही थिएन। 'बाको इस्ट्कोट लाएर हिंड्नु पर्ने रछ' घरको भित्तामा झुन्ड्याएको इस्टकोट सम्झिदैं सोच्यो उस्ले।
आफ्नो बिहेमा पनि उस्ले त्यही इस्टकोट लगाएको थियो। तर अहिले इस्टकोट थिएन। त्यसैले एक हजार चैं निकाल्न सजिलो होस भनेर टाउकोमा टोपी भित्र राख्यो अरु चार हजार चैं सुरुवालको इँजार बाँधेको ठाउँमा दोब्र्याएर राख्यो। राखेको ठाउँमा एक दुई चोटि तानेर हेर्यो खस्छ कि खस्दैन भनेर, खसेन। अनी जगते लाग्यो आर्खौले बजार तिर। जाँदा बाटामा ऊ आफ्नो कम्मरमा भएको पैसाको डल्लो बेला बेलामा छामीरहन्थ्यो न कतै झर्यो कि भनेर। तर त्यो डल्लो हरेक चोटि त्यहीं भेट्दा मुसुक्क मुस्कुराउँथ्यो मनमनै।
हिँड्दै जाँदा उस्ले सोच्यो 'साँहिलीलाई फरिया र चोलो किन्दिनु पर्यो। कती अरुले देका थोत्रा मात्रै लावोस? एक बोरा चामल, दुई किलो चिनी, एक पाथी मकै, एक बट्टा बिजुली चुरोट पनि किन्छु कती यो बिंडी तान्नु? आफुलाई एक जोर राम्रा चप्पल पनि किन्नु पर्ला।' मनमा अनेक योजना बनायो अनी हिसाब लगायो। उस्को मनले अड्कलेका जे जे किने पनि पैसाले पुग्ने भयो। अभाव बिनाको अनुभव उस्लाई नौलो लाग्यो। उडुँ उडुँ जस्तो, नाँचुम नाँचुम जस्तो भयो।
अर्खौले बजार पुग्ने बित्तिकै पहिले कपडा पसलमा गयो। राता, पँहेला, हरिया अनेक थरी फरिया हेर्यो तर खै किन हो चित्त बुझेन। पैसा खर्च गरेर किन्नु छ किन चित्त नबुझाई किन्नु भनेर फेरी अर्को पसलमा गयो। रातो पारीमा हरियो लहराका बुट्टा भएको एउटा फरिया मन पर्यो त्यहाँ। अनी डेढ मिटर फलाटिनको कपडा पनि काट्न लगायो चोलो सिलाउन।
साँहिलीलाई चोलो र फरिया किनी सकेर अब आँफुलाई चप्पल किन्नुपर्यो भन्ने सोचले पसलबाट निस्किएर उकालो लाग्दै थियो साना काजी भेट भए। साना काजी उनै बस्नेत बाका कान्छा छोरा। माओवादी क्रान्तिमा लागेर हिंडेका थिए। त्यही कारणले बाउले पनि घरबाट निकाली दिए। माओवादीले पनि आफ्ना क्रान्तिकारीलाई पुच्छर देखाइदिए पछी अचेल बिच्किएका कामरेड भएका छन। प्राय भट्टी तिर भेटिन्छन्।
'के कामले यता आइस है जगते', सोधी हाले।
'केही हैन हजुर, एक खेप भारी बोक्नु थियो त्यही भएर', जगतेले ढाँट्यो।
'हतार छैन भने खाजा खाएर जा', साना काजिले प्रस्ताव गरे।
साना काजीसँग खाजा खाने? जगतेलाई आफ्नो औकात ह्वात्तै बढे जस्तो लाग्यो।
'हतार छैन हजुर', भन्दै ऊ पनि साना काजीको पछी लाग्यो।
उनिहरु एउटा भट्टिमा छिरे। साना काजिले एक गिलास रक्सी र एक पिलेट मासु चिउरा मगाए। जगतेले एक पिलेट मासु चिउरा मात्रै मगायो।
'किन रक्सी पिउँदैनस?', सोधे साना काजिले।
'हैन हजुर भारी बोक्नु छ त्यसैले', जगतेले फेरी ढाँट्यो। खास डर त उस्लाई पैसाको थियो।
'एक गिलास रक्सीले पनि घर्तिको छोरोलाई छुन्छ? साउनी, अर्को एक गिलास रक्सी पनि ल्याइदिनुस् त यता', उनी आँफैले मागे।
'आ खाइदिन्छु। एस्तो खुशीको बेलामा नखाए कैले चैं खानु त?' जगतेले रक्सी खाने भयो।
नखानु खाइसके पछी एक गिलास मात्रै खाएर के मुखलाई जिस्क्याउनु? अर्को गिलास पनि थपियो, अनी फेरी अर्को। चौथो गिलास सक्किने बेलामा जगतेलाई झल्यास्स भयो उता साँहिलीले के खाइ होली भन्ने। अनी लरबरिएको स्वरले साना काजीसँग बिदा मागेर भट्टीबाट निस्कियो।
'होस् गरेर हिंड है दाजु फेरी भिरबाट लडेर मरौला नि,' पैसा तिर्दा मोटी साउनीले जिस्काइन।
नभन्दै, जगतेको खुट्टाले भनेको ठाउँमा टेकेन।
यस्तो बेलामा चामलको भारी बोकेर त झन कसरी हिंड्न सक्नु? आ उतै किनौंला भनेर त्यै साँहिलिको फरियाको पोको हल्लाउँदै फर्कियो।
खुट्टोले साथ नदिए पनि रक्सीको मातले भने साथ दिएकै थियो। त्यसैले बेला बेलामा ऊ सुसेल्थ्यो। बेला बेलामा भाका हाल्थ्यो। एक ठाउँमा त तीन बल्ड्याङ पनि खायो तर दुखेन। तीन घण्टाको बाटो झन्डै पाँच घण्टा लागेर घर पुग्दा झमक्क साँझ पर्यो। साँहिली भित्र टुकी बालेर धुम्धुम्ती बसेकी थि। जगतेलाई रक्सीको रमरम अझै बाँकी थियो।
'कहाँ जानु भको थियो यत्रो बेर? बिहानै हिंडेको मान्छे,' साँहिलिले रिसाएर भनी।
'नरिसा न। ला तँलाई नयाँ फरिया ल्याइदेको छु। चोलो पनि छ’, भन्दै जगतेले साँहिलीलाई पोको थमायो।
‘यहाँ एक छाक खाने जोहो छैन तपाईं चैं रक्सी पिएर आउनु भको?,’ साँहिली झन रिसाइ।
‘कती रिसाउँछे। अब तेरा रिसाउने दिन सक्किए,' भन्दै जगते इजारको प्वालमा राखेको पैसो छाम्न थाल्यो। तर भेटेन। राखेको ठाउँबाट सर्यो कि भनेर कम्मरको वरिपरी छाम्यो फेरी तर भेटेन। अनी सुरुवाल खोलेर भुइँमा फाल्यो। फेरी सुरुवाल उल्टो पारेर छाम्यो तर पैसोको नामो निसान थिएन।
साँहिली लोग्नेको चर्तिकला देखेर अचम्म परी तर केही बुझिन।
'हैन के खोज्नु भको?'सोधी।
पैसो नभेटे पछी अली अली बाँकी भएको रक्सीको रम रम चिसो पानीमा नुहाए झैं हरायो। तर उस्ले साँहिलिले सोधेको प्रश्न सुनेन। एकछीन पछी जगते साना काजिलाई सराप्दै घुक्क घुक्क रुन थाल्यो।
साँहिली अलमल्ल परेर घरी लोग्नेलाई हेर्थी घरी हातको नयाँ फरियाको पोकोलाई। उस्को पेट भने भोकले कोक्याइ राखेको थियो।