भाइ,
तिमी प्रवासमा छौ
तरपनि....,
तिम्रो बन्धकी जिन्दगीको
दिर्घायुको कामना गर्दै
यो चेली सयपत्री उन्दै छे
तिम्रै सुस्वास्थ्यको कामना गर्दै
सप्तरंगी टिको निधारमा लर्काई दिने
अनि.....,
सयपत्री माला तिम्रो गलामा सजाई दिने
यो अमीट चाहनालाई
थाँती राख्दै,
दिदी आशिष साँच्दैछे
मायाको चिनो उपहार रुमालभरी |
सम्झिँदा हौ झल्झली
बिगतका तिहारका दृश्यहरु
र ........,
झार्दा हौ आँसु चेलीको सम्झनामा
प्रवासी जीवनलाई धिक्कार्दै
हो .....भाइ, कठिन छ
प्रवासी जीवन भोग्न
तर... विवश बन्नु पर्छ प्रवासीले
घर सम्झी उठेको कदम रोक्न |
नियतिले भिराई दिएको
तीतो प्रवासी भोगाई
भाइ टिकाको आगमनले कहाँ मेट्न सक्छ र ?
आफ्नै कर्मलाई धिक्कार्दै
खाली निधार गाली गला
केवल......,
कल्पनाको मिठासमा रमाउँदै
यसपल्टको भाइ टिकापनि
सम्झनामै बिताउँदो हौ
तर ....बिश्वास गर भाइ
यो चेली रित्तो गोरेटोमा
तिम्रै आगमनको कल्पना गर्दै
गाँस्दैछे सयपत्रीको हार
अनि... सजाउँन लालायीत छे
तिम्रो खाली ललाटमा
सप्तरंगी ईन्द्रेणीको लर्को |
हो .....भाइ बिश्वास गर
यो दिदी तिम्रै प्रतिक्षामा
प्रतीक्षारत छे,
यो सालको भाइ टिकामापनि .