म पात्रमा नायकत्व कति जरुरी छ ? मेरो कलमले अघि बढ्दाबढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न बाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।
कथाभन्दा थोरै अघि,
फ्लाइट डिले भएकाले हुनुपर्छ एयरपोर्टमा भिडभाड थियो । आकृतिहरु दिमागमा छाप बनाउन नपाई देखिँदै बिलाउँदै गए । प्लेन डिले भएकाले हुनुपर्छ, भिडभित्रका झुण्ड, उपझुण्डहरुमा मान्छे रमाइरहेका थिए ,कोही गम्भीर देखिन्थे।
किन आएँ आज एयरपोर्टमा चाँडो । म एक घण्टाअघि आएँ, फ्लाइट एक घण्टा डिले भयो । के गर्ने होला दुई घण्टा ? समय जति खाली भयो त्यति गह्रुंगो हुन्छ!
"फ्लाइट डिले भो नि त केटी !" उसलाई केटी भन्न मलाई रमाइलो लाग्छ। शुरु शुरुमा उसले अचम्म मानेर हेरेकी थिई। तर पछि उसले मलाई र मैले दिएको विशेषण दुवैलाई अंगाली !
सुधालाई सुचना दिनु आवश्यक थियो । बेक्कारमा अतालिन्छे, मोवाइल स्विच अफ भएको बेला पर्यो भने त झन् उसको होशले ठाउँ छोड्छ । तर आवश्यकताबोध भन्दा पनि मेरो लत भयो– मोबाइल टेक्स्ट,फेसबुकका प्राइभेट म्यासेज वा कल जे बाट भएपनि मैले सुधासँग शब्द साटासाट गर्नैपर्ने । कहिलेकाहिँ जिस्किनुपर्छ, ठुस्केकी उसलाई मनाउनु पर्छ। उ रिसाएकी हुन्न तर पनि म उसलाई मनाइ टोपल्छु, किनकि मलाई थाहा छ मैले धेरै मेहनत नगरी उ रमाउनेछे।
कहिलेकाहिँ म आफुलाई उसको नजरबाट हेर्न खोज्छु। मलाई थाहा छ, ममा औसत पुरुषभन्दा बढी केही छैन।बरु कमी होलान, केहि दुर्गुण होलान् । तर जब जब म आफुलाई उसको आँखाबाट हेर्न खोज्छु, आफूमा स्वाभिमान देख्छु, एउटा अनौठो आकर्षण भएको व्यक्तित्व देख्छु, मन पगाल्न सक्ने पुरुषत्व देख्छु,खुशी हुन्छु अनि फेरि आफ्नो जीवनमैँ फर्किन्छु। कसैको जीवनमा आफ्नो उपस्थितिले पार्ने फरकमा रमाउनु नै माया होला शायद!
"किन र ?" उसको निन्याउरो आवाज फर्कियो। मोबाइलमा निराशा चुहियो सुधाको!
"वेदरको प्रोव्लेम, तिमीसँग भेट हुन नदिने षड्यन्त्र गरे जस्तो लाग्यो !" मैले उसको निराशा हलुक्याउन खोजेँ!
"म त तपाईं आउने होला भनेर अफिस छोडिँदेँ आजको !" उसले हाँस्दै भनी ! उसले गुनासो पोखेको हुनुपर्छ आफ्नै प्रतिक्षाप्रति ।
उसको म तिमीलाई माया गर्छु भन्ने शव्द छनौट पनि अचम्मको छ। उ भन्दिन तर म उसले नभनेको बुझ्छु। जहाँ मौनता रमाइलो हुन्छ, त्यो पल शब्दहरु झुर हुन्छन् मौनताको सुन्दरताको अघि।
"कि कुद्दै आउँ त ?"
"अलि टाढैपर्छ होला, भो छोड्दिनु गल्नुहुन्छ!" उ खितित्त हाँसी । मलाई सन्तोक भयो।
"ल बेलुकासम्ममा आइपुग्छु, खास त्यही भन्न फोन गरेको । राखेँ है मैले!" मैले फोन काटेँर चुरोट कक्षतिर लागेँ।
…
"तिमीले चुरोट खान अझै छोडेको छैनौ है?" आवाज मधुरो थियो। अनि पुरानो पहिचान बोकेको पनि !
"आशा दिदी ! वाट ए प्लिजेन्ट सरप्राइज!" मैले भनेँ पनि मलाई थाहा छैन यो भेट सुखद थियो वा थिएन, तर सरप्राइज भने अवश्य थियो।
"कता ?"
"घर हिँडेको दिदी !"
"अल्लारेहरुको घर हुन्न नि आकाश, तिमीले नै भन्थ्यौ हैन र ?" आशा दिदी थोरै मुस्कुराउनुभयो। मैले वहाँको अनुहार नियालेँ,पृथक केही देखिन। करिब एक वर्ष भयो होला भेट नभएको ! पहिले जसरी नै मुस्कुराउनु भयो । गहिरा शव्दहरुमा जिस्किने बानी उस्तै रैछ दिदीको । परिवर्तन त ममा थियो। किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ?
"मान्छे सँधै अल्लारे रहँदैन नि त दिदी !" म पनि वहाँको मुस्कानको साथ दिँदै मुस्कुराएँ। घर शव्द मात्र होइन। घर भौतारिनेको लागि स्थिरता हो। घर बाँध हो, पर्खाल हो अनि दुइ मुटु जोड्ने पुल पनि।
"बिहे गर्यौ कि के हो ?" वहाँले आश्चर्य मान्नुभयो ! आश्चर्य मानेकोमा मलाई आश्चर्य भएन, छवि नै त्यस्तै बनाएको छु मैले । छाप नै त्यस्तै छोडेको छु मैले ! म जे देखाउन चाहन्छु, संसारले त्यही न देख्छ। रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ।
मैले टाउको हल्लाएँ।
"अचम्म छ, तर खुशी लाग्यो ! "
बुद्द एयरबाट पोखरा जाने विमानमा पाल्नुहुने यात्री महानुभावहरु कृपया गेट एतर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
सँधैझै सुमधुर आवाजमा एउटी युवतीको ध्वनि गुन्जियो!
"ल म लागेँ, यु मेड अ गुड डिसिजन फाइनल्ली !" आशा दिदीले आफ्नो ब्याग उठाउनु भयो !
"दिदी तपाईंले मलाई परिवर्तन गरिछाड्नु भयो, हुन त मैले माफी माग्न नमिल्ने हो ! तर गर्न सक्नुहुन्छ भने तपाईंले मलाई माफ गर्नुहोला !" बोल्न गाह्रो भएको थियो! तर बोलेपछि हलुका भयो मनबाट भार हटे जस्तो !
"कमअन ! इट्स ओके ! मान्छे पल पल फरक हुन्छ! त्यो तिम्रो हैन पलको दोष थियो !" मेरो दुइ काँधमा हात राख्दै जवाफ आयो आशा दिदीको !
विस्तारै भिँडमा आशा दिदी हराउनु भयो। मेरो दुइ घण्टा अब खाली छैन! त्यसमा अतीतले समय पाएको छ!
यहाँबाट कथाको शुरुवात हुन्छ।म स्वार्थी भएर हुन सक्छ,कथा मैले मबाटै शुरु गरेको छु। जीवन अचम्मको छ,वृत्तको केन्द्रमा सदैव म हुन्छ, म जे गर्छ सही हुन्छ। म स्वार्थी हुन्छ, स्वार्थलाई फरक फरक नाम दिन्छ। मेरो मात्र किन प्रत्येक कथा मबाट शुरु हुन्छ,शुरु नभएकामा मको खोजी हुन्छ, म भेट्टाइन्छ र त कथाले महत्व पाउँछ।
म (करिब एक वर्ष अघि)
उ भिँडबाट टाढा एउटा कुर्सी आफ्नो लागि मात्र बन्दोबस्त गरेर बसेकी थिइ, एउटा हातमा वाइनको ग्लास लिएर। तर मैले भन्नैपर्छ परबाट वाइन भन्दा उ नै मादक देखिन्थी । क्रस लेग पोजिसनमा उसको देखिएको घुँडासम्मको अंशले उसलाई हेरिरहने रहर पलाउँथ्यो । उसको इयररिंग रातो प्रकाशमा टल्किएको थियो। बेला बेला उ आफ्नो कपाल मिलाउन आफ्ना औँला कपालमा कुदाउँथी। पटकपटक उसको इयररिंग गालामा ठोक्किएर मेरो मनमा अनौठो काउकुती लगाउँथ्यो।
"मौनता, एकान्त अनि वाइन, जीवन एक्लिएर पनि नशालु छ !" मैले पनि चुस्की लगाउँदै उसको छेउमा गएर मौनता तोडेँ।
"तपाईंलाई मेरो एकान्तमा किन इर्ष्या त?" उसको मुस्कानले मेरो बाटो खोल्यो।
"राम्री केटीहरुलाई पिउन साथ दिने मेरो राम्रो बानी छ, आज पनि बानीले विवश बनायो !"
"म यसलाई तारिफ सम्झिउँ ?"
"जे सम्झे पनि हुन्छ, म त मात्र साँचो बोल्छु ! मैले एकान्त तोड्न मिल्छ भने म अर्को कुर्सी ल्याउँछु !"
"एकान्त पातलो हुन्छ,सानो क्षणले पातलिन्छ, सानो साथले चिरिन्छ,करिब दुइ मिनटदेखि म एक्ली छैन, ल्याए हुन्छ !" उसले स्विकृति दिई। पहिलो चरण मैले सफलतापूर्वक पार गरेँ! वाइनमा डुवेर उसको ओठ अझ रसिलो देखियो। मैले आँखा हटाउन सकिन।
"कुर्सी लिन जाने भनेको होइन ?" मेरो ध्यान भंग भयो।
"उभिएर यति राम्रो चिज हेर्न पाएको छु, कुर्सी लिन जाने समयको लोभ लागेको छ !"
"नहतारिई गए हुन्छ ! मलाई कुनै हतार छैन ! म समयमा कन्जुसी गर्दिन, आफूसँग कति छ भन्ने थाहा भएको वस्तुमा न हो कन्जुसी गर्ने ! मसँग दुई दिन छ वा सय वर्ष कसलाई के थाहा ? अनि थाहै नभएको वस्तुमा भएको खर्चमा के चिन्ता ?" उसको अनुहारमा हलुका गुलाबी लाली छायो। थोरै लागेको हुनुपर्छ उसलाई। मान्छे जब वेहोस हुन्छ अनि चिन्तन फुर्छ, सोचका क्षितिजका दायरा हरु चौडिन्छन् । मोक्ष वेहोसीमै हुन्छ। उसको वेहोसी त मेरो लागि बरदान नै हो। मन खुशी भयो।
"वाइ द वे मेरो नाम आकाश हो !" मैले कुर्सी ल्याउँदै गर्दा आफ्नो परिचय दिएँ। उसलाई मेरो नाम आवश्यक थियो थिएन थाहा छैन।
"सरी नाम नसोधेकोमा, म रितु !"
"पक्कै वसन्त हुनुपर्छ !" म जिस्किन चाहेँ। उसले पनि साथ दिई, धक फुकाएर हाँसी यसपाली।
"हरियो देखिएको छु हो ?"
"हैन मलाई वसन्त रितु मन पर्छ त्यही भएर, यहाँ कसरी त ?" मैले प्रश्न मोडेँ । हुन त मलाई उसको उत्तरमा मतलव छैन । तर पनि प्रश्नले शिष्टता थप्छ र म उसको बारेमा जान्न चाहन्छु भन्ने बुझाउँछ ।
"वर्थडे गर्लको एउटी साथी मेरो पनि साथी हो, उसैसँग आएको तर उ अन्तैतिर व्यस्त भई जस्तो छ!" उसले आँखा यता उता डुलाउँदै जवाफ फर्काई । उसको आँखाले उसको साथी खोजेको हुनुपर्छ। मलाई डर लागेर आयो। कतै उसले खोजेकी उसको साथी भेट्टाइ भने ?
"मेरो साथ मन नपरेको हो ?" मैले इशारा उसको आँखा घुमाइतिर गरेँ।
"हैन ! तर पनि !........ उ हराई, उसले पनि आकाश भेट्टाइ जस्तो छ !" उसले मलाई जिस्क्याई।
"मेरो भाग्य राम्रो भन्नुपर्छ, उ हराई !"
"तिमी शव्दहरुसँग राम्ररी खेल्दा रैछौ । धेरै चोटी खेलेजस्तो ! खप्पिस छौ !" उसले कटाक्ष गरी ।
"त्यो त कसको अगाडि खेल्दैछु, त्यसमा भर पर्छ! कहिलेकाहिँ सुन्दरताको अघि शब्दहरु विवश हुन्छन्, फुर्नलाई आतुर हुन्छन्, मन पग्लिएर तरल हुन्छ, अनि वाक्यहरु गजल बन्छन्।"
"तिमीलाई लागे जस्तो छ, कविता फुर्न थाल्यो ! यति लागिसकेको मान्छे, घर कसरी पुग्छौ?"
उ खित्का छोडेर हाँसी।
"अल्लारेको घर हुँदैन, उ त यात्रा गर्छ, रितुले जता डोर्याउँछे त्यतै डोरिन्छ !" मैले जवाफ फर्काएँ उसले मलाई हेरीरही धेरैबेर ! अनि मेरो हात समाती, कुनाकै अँध्यारो ढोकाबाट हामी बाहिर निस्कियौँ ! गोजीबाट मोबाइल निकाली अनी मादक स्वरमा बली "ओइ सुन त ! मलाई सन्चो भएन, एकजना साथी मलाई पुर्याउन कोठा जाँदैछ! यु इन्जोय द पार्टी !"
यसरी नै मेरा शिकार भेटिए र फेरिए, रातका परिदृश्यहरु फेरिए,म माझिँदै गएँ। झन झन चम्किलो भएँ, झन धैर्यवान भएँ अनि झनै शितल भएँ। भो अहिलेलाई! कति आफ्नो पुरुषार्थ आफ्नो कथामा व्याख्या गरौँ?कथामा थोरै गति थप्छु, कथालाई थोरै अघि लैजान्छु।
दृष्टिको बिहे
"आइस् तँ पनि !" दृष्टि मलाई हेर्दै हाँसेकी थिई। उमेरले चार महिना भए पनि उसको दाजु नै थिएँ। तर उसले कहिल्यै तपाईं भनिन मलाई ।मैले पनि सम्बोधनमा "तपाईं" खोजिन।
"किन आउँदिन जस्तो लागेको थियो र?" मैले ब्याग उसको खाटमा हुत्याउँदै प्रश्न गरेँ ।
"के भर तेरो ! मलाई त ठूलोमामु मात्रै आउनुहुन्छ कि जस्तो लागेको थियो!"
"इक्जाम सिद्दियो, कामबाट पनि छुट्टी पाइयो ! तँ रोएको पनि हेर्न मन लाग्यो!"
म थोरै ढल्किएँ,उसैको खाटमा।बिहेको सामानहरुले कोठा अस्तव्यस्त थियो।उसको कलेजको ग्र्याजुएसनको फोटो उसको टेवलमा थियो।
"तेरा साथीहरु त आउँदैनन् होला है काठमाण्डुबाट?" मैले ग्र्याजुएसनको फोटो हेर्दै प्रश्न गरेँ।
"आउँदैनन् होला ! यति टाढा!! फेसवुकमा म्यासेज त पठाको हो ! के गर्छन् थाहा छैन !"
उसले मेरो प्रश्नको आशय बुझिन र सादा उत्तर फर्काई। मेरो आँखा अझै तस्बिरमै अडिएका थिए । कन्या क्याम्पसका पुतलीहरुले दृष्टिलाई घेरेको तस्बिर ! आमा आफ्नै बहिनीसँग गफमा व्यस्त होला। सके मेरो लागि पनि केटी खोज्नुपर्छ भन्नेसम्म कुरा पुगिसक्यो होला। अरुले पनि भनी सके होला "हो दिदी अब सत्ताइस् पनि भयो,काम पनि गर्दैछ ! मास्टर्स सिध्यायो ! अग्लो गोरो राम्रो केटो जसले पनि केटी दिन्छ ! अहिल्यै हो विहे गर्ने पनि!"
आमा दंग परि नै सक्नु भयो होला बुहारीको सपना देख्दै !
"दृष्टि चिया खान निस्की न बाहिर कति कोठामा घोत्लिरहन्छेस् ?हामी सँग पनि गफ गरे हुन्छ !" आवाज मधुरो, मेरो ध्यान तान्न सक्ने गरी पर्याप्त थियो। मैले अनुहार हेरिसकेको थिइन तर अनुहार पक्कै राम्रो हुनुपर्छ मैले अनुमान गरेँ
"को हो दृष्टि ?" मैले ढोकातिर नजर दौडाउँदै प्रश्न राखेँ। ढोकाको खुलेको भागबाट केही देखिएन । मात्र पदचाप सुनियो, किचनतिर कोही गएजस्तो ।
"तँ चिन्दैनस्! आशा दिदी ! मेरो काकाको छोरी !"
आशा मात्र दृष्टिकी दिदी हो नि ! मेरो मनमा उठेको पहिलो सोच थियो।कथा त्यहि समयको त्यो सम्वन्धबाट डोरिनु परेकोले अहिले दिदी शव्दलाई म थोरै विश्राम दिँदैछु।कथामा शव्द शव्दका अर्थ हुन्छन् दिदी शव्द जबसम्म प्रयोग हुन्छ तबसम्म मेरो मनको भार हट्नछैन। म कथा सुनाउन सक्ने छैन।जीवनका घुम्तीहरुमा उ पनि कुनै सम्वन्धको भार नबोकी छिरेकी थिई। सारांशमा कथाको त्यो मोडमा उ मात्र आशा थिई।
आशा
म साँझमा छतमा थिएँ।विराटनगर पहिलेको जस्तो थिएन। शहरको एक कुना जस्तोमा नै भए पनि पर परसम्म खेत देखिन्नथ्यो। घाम घरहरुको बीचबाट अस्ताउँदै थियो। प्रकाश गुलाबी थियो। लामखुट्टेको गुनगुन बढ्न थालेको थियो। म भने शुन्य प्राय भएर आफुले नै उडाएको धुवाँ नियाल्दै थिएँ।संसारले मलाई दुई चरित्रको व्यक्ति मान्न सक्छ,किनकि म घरमा पृथक हुन्छु बाहिर भन्दा ! कहिलेकाहिँ सोच्छु "म मेरी माया गर्ने आमालाई किन कुरा लुकाउँछु ?" उत्तर पाउँदिन, खोज्न छोडिदिन्छु।
आशा पनि एकान्त खोज्दै हुन सक्छ छतबाट उक्लिएको मैले देखेँ । मैले हत्तपत्त सल्किएको चुरोट निभाएँ।म चाहन्न मैले समाजकोअघि ठड्याएको अर्को मेरो स्वरुप झर्यामझुरुम होस् एउटा चुरोटले।
"बिहेको माहौल मन पर्दैन हो ?" उसले नै कुराको शुरुवात गरी!
"किन र?" मैले अचम्म माने जस्तो गरेँ।
"एक्लै छतमा किन त ?"
"मलाई भिडभाड मन पर्दैन खासै!"
"त्यो भनेकै पहिलो प्रश्न हैन र ? बिहेको माहौल भिडभाड !" उसको मुस्कानमा धेरै रंगहरु थिए।केहि अस्पष्ट आकृति थिए। सरल त पक्कै पनि थिएन उसको मुस्कान।
"कैद कसलाई मन पर्छ र ? त्यसमाथि जन्मकैद !" मैले उत्तर फर्काएँ।
"कैद किन र?"
"बिहे भनेको सिमा तोकेको त हो नि ! मान्छे त स्वच्छन्द हुनुपर्छ ! पखेटा फिँजाउनुपर्छ,उड्नुपर्छ!"
"केही सम्बन्धहरु आकार नपाउन्जेल छताछुल्ल हुन्छन्,पोखिन्छन्! बोक्ने भाँडो चाहिन्छ !"
"छताछुल्ल भएर त यात्रा तय गरिन्छ,आकार त स्थिर हुन्छ !" मैले उसलाई नियाल्दै जवाफ फर्काएँ।
उसको भेषभुषा गम्भीर थियो त्यसैले मलाई उतिर आकर्षित गरेको थियो ! कुर्ताको टप, जिन्स प्यान्ट अधबैँसे अनुहार ! करिव म भन्दा पाँच छ वर्ष जेठी हुनुपर्छ उ ! अहिलेसम्मका केटीहरुभन्दा पृथक। अहिलेसम्म मेरो बरालिने मनले बरालिने मनलाई नै भेटिरहेको थियो ।
खहरेहरु रातका भेल बोकी आउँथे, दिनको प्रकाशमा उनीहरु सुकेजस्ता हुन्थे तिर्खा जस्ताको तस्तै, यात्रा जस्ताको तस्तै ! दिन फेरि अर्को खोजमा बित्थ्यो। एउटा स्थीर समुन्द्रले मेरो मनमा पौडी खेल्ने गरीको काउकुती लगाएको नै थियो त? जहाँ गहिराइ थाहा हुन्न,त्यहाँ डुब्नुको मजा नै बेग्लै हुन्छ !
"कहिलेकाहिँ गति हानीकारक हुन्छ, विशेषत लक्षको उल्टो हिँडियो भने !"
"लक्ष थाहा नपाइकन पक्डेको गतिको फेरि अलग्गै नशा हुन्छ !"
"आ-आफ्नो सोचाइ हो !" उसले थोरै भुइँमा झुक्दै जवाफ फर्काई।
"तपाईंको सोचाइ के हो त ?"
"कहिलेकाहिँ उत्तर नहुने प्रश्नहरुले पिरोल्छन् ! म तल झरेँ ल, पछि कुरा गरौँला ! तिमी साह्रै रमाइलो कुरा गर्छौ! अनि नडराए हुन्छ,म चुरोटको लतको बारेमा कसैलाई भन्नेछैन! ह्याप्पी स्मोकिंग!"
"तेरो आशा दिदी बस्ने चाहिँ कहाँ हो?" मैले दृष्टिलाई प्रश्न राखेको थिएँ हामी दुइजना मात्रै हुँदा। आमा मैले केटी मान्छेको चासो लिएको राम्रो मान्नुहुन्न। फेरि आशा त आइमाइ थिइ होला आमाको नजरमा, म भन्दा जेठी हुनाले !
"तेरो पनि दिदी नै हो, जेठी हो धेरै !" मनमा चस्स बिझ्यो। किन दिदी भन्नु ? जेठी भन्दे त भइगो नी !
"घर कहाँ हो वहाँको ?" मैले प्रश्न गर्न छोडिन।
"कुलेश्वरतिर होला बसाइ !" उसको उत्तरमा सोधेभन्दा बढी केही आएन। सामान्यतय केटी मान्छेहरुलाई एउटा प्रश्न गरेपछि उधार्न सजिलो हुन्छ। तर दृष्टि अपवाद निस्किई, उसले थाहा भएका धेरै कुरा लुकाए जस्तो लाग्यो। के उसले मेरो आशय बुझी ? डर लागेर आयो । यहाँ मलाई समाजको पनि त डर छ।
"कोको बस्छ र सँगै ?" मनमनैँ सोचेँ जे सुकै सोचोस् दृष्टिले ! मैले के नै गरेको छु र अहिलेसम्म !
"बुढाले छोडेपछि बसाइ एक्लै छ !"
मन एक तमासको भो ! उसको गम्भीर अनुहार अनि छतको वार्ता सम्झेँ । "कहिलेकाहीँ उत्तर नभएका प्रश्नहरुले पिरोल्छन् !" त्यसो भए आशाले उत्तर नभएका प्रश्न कोट्याइ नै किन त ? उसलाई थाहा थियो त्यो प्रश्न आउँछ, उ सँग उत्तर हुने छैन भन्ने। आखिर मेरो अघि निरुत्तर हुने रहर किन ? शायद उसले मलाई जाँच्न चाहेकी थिई, उसको रहस्यमा मेरो जिज्ञासा कति छ भनेर ! जब मान्छे सम्बन्धसँग वाक्क हुन्छ, उसले एकान्त खोज्छ तर सम्बन्ध र एकान्त दुवैसँग वाक्क भएको मान्छेले मजस्तो साथी खोज्छ। शायद आशाको खोज ममा आएर टुंगेको थियो। मन फुरुंग भयो, म फेरि धैर्यवान भएको छु, सही समयको खोजीमा !
आशा सुन्दर थिई । उ अद्दितिय थिई किनकी उ पारखी थिई । एउटा अनौठो मैले नचाखेको स्वाद थिई। भोगी म उतिर डोरिएको थिएँ। उसका रहस्यमयी शब्दहरुको मैले सुन्दर अर्थ निकालेको थिएँ।
"एक्लै त कता जानु ठूलो मामु ! फेरि मलाई विराटनगरको खासै थाहा पनि छैन" उसले म तिर हेर्दै भनी । उ स्कुटी स्टार्ट गरेर साथी खोज्दैथिई दृष्टिको बिहाको डेकोरेसनको सामान लिन जानलाई।
"म जाउँ त आण्टी ?" मैले उसको इशाराको अर्थ निकालेँ। उ मेरो साथ चाहन्छे।
"जा न त ! त्यो केदारको दोकान देखाइदे !"
म सिँढीबाट फटाफट झरेँ। अनि स्कुटीको नजिकै पुगेँ।
"आज म तपाईंको साथी !" भन्दैगर्दा मनमा अनौठो काउकुती लागेर आयो। किन म उसलाई अझै तिमी भन्न सक्दिन?
"पछाडि बसेर लडिएला, म खासै राम्रो कुदाउँदिन !" उ मुस्कुराई।
"म कस्सिएर पक्डिन्छु नि !" उसको कम्मर नियालेको मात्र के थिएँ, उत्तर फुर्न बेर लागेन।
उ खित्का छोडेर हाँसी पहिलो चोटि। सदा जस्तै पहिलो चाल सोचेको ठाउँमा पर्यो मेरो !
"बर्ब्रेरी ब्रिट, फ्रेन्च, एण्ड आइ लभ द स्मेल !" मैले स्कुटीबाट झर्दै गर्दा उसको छनौटको तारिफ गरेँ। हुन पनि स्कुटीमा बसुन्जेल उसको सुवाष मात्र घुम्यो, उसको हेलमेटवाट वाहिर निस्किएर पनि मेरो अनुहार छुन भ्याएका उसको कपालले मलाई अरुतिर हेर्न पनि दिएन। त्यो कालो वादल थियो जसले आकाशको आकाश छेकेको थियो।
"वाउ, आइ एम इम्प्रेस्ड!" उसले अचम्म मान्दै मलाई हेर्दै भनी "तिमीलाई पर्फ्युमको वारेमा धेरै थाहा छ जस्तो छ!"
"लगाउनेहरुसँग संगत छ !" म हाँसे। उसले मलाई घोरिएर हेरी। मैले त्यो रहस्यमयी नजरको अर्थ लगाउन सकिन। अर्थ लाउन नसकिने कुरा सुन्दर हुन्छन्।
"तिमी फरक छौ, केही न केही त फरक छौ !" उसले धेरैबेर मेरो कुरा सुनेपछि मलाई भनी । काम सिध्याएर हामी चिया पिउन "आँगन"मा छिरेका थियौँ। म जानीबुझी कुनाको कुर्सीमा गएर बसेँ।
"फरक भएर न मान्छे म हुन्छ ! नत्र त म पनि भिडभित्र हुन्छ, खोज्नुपर्छ!"
"अनि काठमाण्डौंमा कहाँ हो घर ? पुगेर पनि भेट्नुपर्छ बुझ्यौ ?"
"मलाई त बानी लागेपछि छुटाउन गाह्रो हुन्छ !"
"भन्नाले ?"
"मैले भेट्ने बानी भनेको !"
"भेट्ने पनि बानी हुन्छ कहिँ ?"
"हुन्छ त !" म हाँसे । उ पनि हाँसी।
"तपाईं हाँसेको मलाई खुब मन पर्छ,एकदम गहिरो !"
"तिमी जसलाई पनि हँसाउन सक्छौ !" उसले मेरो तारिफ गरी । म शब्दहरु बुन्दै गएँ किनकि मलाई पनि त शब्दको जालो बनाउनु थियो।
"जाने हैन त, अब घर?"
त्यहाँ खासै भीँड थिएन।फाट्ट फुट्ट मान्छे अनि कुनामा हामी ! आशाको उपस्थितिले गर्दा हुन सक्छ मैले बाहिर नियाल्न पनि भ्याएको थिइन। उसको घाँटीमा गरिएको पुतलीको ट्याटु मैले स्कुटरमा हुँदा देखेको थिएँ। मलाई अचम्म लागेको थियो। उसले समाजसँग लुकाएकी होला ट्याटुलाई आफ्नो लामो कपालले । दृश्यहरु सही गलत हुँदैनन्, मात्र समाजको नजरमा पाच्य र अपाच्य हुन्छन् । मैले त्यही निष्कर्ष निकालेको थिएँ।
"हेलो, कता हराएको ? ढिलो भएन भन्या?" उसले फेरि पनि जिद्दी गरी ।
"बसौँ न ! एकछिन, अनि फेरि अल्लारेको कुनै घर हुँदैन ! कुन घरलाई पो आफ्नो भनौँ ?" म हाँसे।
"आफूलाई अल्लारे बनाउने कत्रो धोको !" उ हाँसी ।
"मैले भनिसकेँ नि, मलाई स्वतन्त्रता मन पर्छ !"
"ओ यस, साँच्चि, चुरोट खान्नौ आज ?" उसले मलाई जिस्क्याई । मैले हाँस्दै टाउको हल्लाएँ ।
"एउटा कुरा सोधौँ ?" मलाई गोलघुम्ती घुमिरहन मन छैन । उ मेरो यति नजिक छे, उसको सुवाष अझै व्याप्त छ । मैले आफ्नो धैर्यताको धेरै परिक्षा लिइरहनु उचित हुन्न ।
"सोध न !"
"माया ठूलो कि आवश्यकता ?"
"मैले त माया भेट्टाएको छैन, मात्र भ्रम भेट्टाएको छु !"
"त्यसो भए आवश्यकता?"
"हुन सक्छ !" उ गम्भीर भएर मलाई हेरीरही !
"त्यसो भए तिमी मलाई आवश्यक छौ !"
मैले उसको हात समाउँदै भनेँ। पहिलोचोटि तिमी भने, लाग्यो म सँग अब तिमी भन्ने हक छ।
कहिलेकाहिँ एउटा प्रश्नले पिरोल्छ मलाई "वुद्ध कसरी वुद्ध वने ?" एउटा रुखको फेदमा बसेर उँघ्दा मात्रै त कसरी पो वुद्धत्व प्राप्त हुँदो हो ? घरपरिवार आवश्यक छ भनिन्छ, अनि मोह माया सँग दाँजिन्छ पनि ! यदि स्वतन्त्र हुनु वुद्धत्व प्राप्त गर्नु हो भने त म पनि अर्कै मानेमा स्वतन्त्र नै छु नि। सत्यवोध मलाई पनि छ। तर निष्कर्षहरु शास्वत हुँदैनन् । कथाले दृश्य फेर्छ, जसलाई साँचो मानेर मैले तपाईंलाई कथाको आधा पाटो भन्दा बढी डोर्याइसकेको छु त्यो सत्य थिएन भन्ने कुराको ज्ञान मलाई त्यो दिन भयो।
उसले जोडले मेरो गालामा थप्पड हानेपछि म एकचोटि अँध्यारोबाट उज्यालोमा निस्किँदा प्रकाश सह्य नभएर तिरमिराएझैँ भएको थिएँ। आशाको जवाफ सोचेभन्दा पृथक, मेरो निम्ति कष्टकर थियो । मैले वरिपरि हेरेँ । क्यासमा बसेको केटो बाहेक अरुले त्यो देखेनन्, मेरो सौभाग्य नै भन्नुपर्छ । ग्लानि त्यहाँ हुन्छ जहाँ कसैको नजरमा गिरिन्छ, हेर्ने नजर नै नहुँदो हो त ग्लानि पनि नहुँदो हो !
उ खुरुखुरु गएर दुइ जनाको चियाको पैसा तिरेर बाहिर निस्किई। मैले त्यति खेर आफूलाई नियालेर आफ्नो धरातल खोज्ने प्रयास गरेँ। समय शून्य थियो।
"म गलत थिएँ, तिमीलाई फरक ठानेँ।' उसले भनी 'कोही पुरुष फरक हुन्नन् ! तिमी पनि फरक रहेनछौ !" कानमा शब्दहरु अझै गुन्जिरहेका थिए। मैले विस्तारै छरपष्टिएको मनलाई बटुलेँ अनि वाहिर निस्किएँ। अचम्म उ मलाई पर्खिरहेकी थिई।
"मलाई थाहा छ, मैले छोड्नुपर्ने हो अनि एक्लै जानुपर्ने हो ! तर म फेरि चर्चाको विषय किन बनौँ ? अहिलेसम्म त बन्दै आएकी छु ! समाजकै आँखाले त होला तिमीले पनि हेरेको !"
म नाजवाफ थिएँ । के उत्तर दिउँ उसलाई?
"म अरु जस्तो केटो होइन, म त प्रत्येक दिन स्वाद फरक चाहन्छु त्यहि भएर न हो !"
भनौँ "सरी" भनौँ ? मैले चुप लाग्न नै उत्तम ठानेँ। शब्दका लागि त समयको समुन्द्र नै बाँकी छ। विराटनगर साँझ नै भए पनि तापिलो थियो ।गर्मीले उग्र थियो।
"बस !" उसले मलाई स्कुटरमा बस्न भनी ! म स्कुले केटा जस्तो चुपचाप बसेँ, उसलाई छोइएला जस्तो गरेर। वरवेरीको सुगन्ध अहिले पनि आइरहेको थियो। तर मेरो ध्यान तान्ने अरु नै केही थियो। म हराएको थिएँ। हो पराजयले शिक्षा दिन्छ, यसपालिको पराजय वास्तवमा पराजय थियो वा थिएन थाहा छैन तर त्यसमा शिक्षा अवश्य थियो। जीवन के हो ? आखिर सत्यवोध नै त हो !
"कता हराउँछस् हँ त ?" आमा छिर्दा म झसंग भएँ। हिजोको घटना अझै ताजै थियो । भनौँ छापिएको थियो ।
पहिलोचोटि मैले बुझेँ "नारी बुझ्न कठिन हैन असम्भव छ !" आखिर म त लगाम लगाएका घोडा न थिएँ, म मात्र अंगहरु देख्थेँ, अनि तिनलाई छिचोल्ने बाटाहरु। तर समवेदना सरल कहाँ हुन्छ र ?! खहरेमा त एकैचोटिको डुवुल्कीमा ढुंगा छुन सकिन्छ समुन्द्र त मोती लिएर बसेको हुन्छ, त्यही भएर गहिराइ जटिल हुन्छ। आंशिक ज्ञान अनि फुस्रा पलहरुले मोती टिप्न सकिन्न। मोती टिप्न समुन्द्रलाई बुझ्नुपर्छ।
"हैन टाउको दुखेको छ आमा !" मैले आफुलाई लुकाएँ।
"हिजो दिनभर थिइनस् नि !"
"त्यहि दृष्टिको डेकोरेसनको सामान लिन गएको थिएँ ! मलाई पोल्दैछ। जति छुनुहुन्छ, मलाई चर्याउनेछ। म एकान्त चाहन्छु, मलाई चिच्याउन मन लाग्यो, सकिन। फेरि निशब्द भएँ।
"सामान त तीन बजे नै आयो ! वावु एउटा कुरा भन्छु नरिसा ल!"
"भन्नु न !" मलाई कौतुहल जाग्यो।
"मैले धेरै पहिलादेखि चिन्छु आशालाई, उ राम्री केटी होइन ! संगत धेरै केटाहरुसँग छ! अलि टाढै बस!"
मैले आमाको आँखामा हेरेँ। चुप नै बसेँ । के भनौँ र खोई।
"तँ सोझो छस् ! उसको केटा खोज्ने बानीले चाँडै बिहे गर्दैका ! घर खान पनि सकिन ! अहिले पनि चर्ने रहर होला उसको ! केटामान्छे कतिखेर फस्छन् थाहै हुन्न, केटा बिगार्ने आइमाईले नै हो !"
मलाई आफूदेखि घिन लाग्दै आयो । आमामा मैले समाज देखेँ । हो, समाजको हेर्ने आँखा ले सोच्छ – पुरुषको पुरुषत्व हुन्छ, आइमाई त कि पतिव्रता हुन्छन् कि वेश्या हुन्छन्।
"आमा भयो त बुझेँ मैले कुरा !" म थोरै झर्किएँ।
"अरु मलाई थाहा छैन, आशासँग टाढै बस् !" आमा कठोर बन्नुभयो। कसरी भनौँ म आमालाई समाजको चश्मा दोषी छ भनेर !!
लेख्नेहरुको भाव समान नै भए पनि बुझ्नेहरुको मन फरक मात्रै हुँदा पनि कथा फरक हुन्छ। आशयले कोल्टे फेर्छन् पाठकको मन अनुसारले। ढल्किन कर नै लाग्छ किनकी पढिदिने त उनीहरु नै हो। आफुलाई जत्ति नै खुला ह्रदयको छु भनिठाने पनि प्रत्येक व्यक्ति समाजको कोकुनभित्र छिर्छ। भिँडमा हराउँछ , किनकि लुक्नु मानवको स्वभावमा छ।
म एक किसिमले दोधारमा परेको थिएँ। मैले आशा सँगको साथबाट जे भोगेँ, जे ज्ञान लिएँ त्यो मैले आमालाई सुनाएर आफुलाई दोषी देखाएँ भने आशाको छवि सुध्रिन्छ ? तर फेरि सोचेँ त्यो चश्मा लगाएर समाजले आशालाई मात्र क्षणिक उन्मुक्ति दिन्छ। उसलाई फेरि माया गाँस्ने स्वतन्त्रता दिनेछैन ! उसका कुरा काट्न रोकिने छैनन् ! अनि म जस्तै उसलाई फेरि पनि शिकार सम्झिनेहरु अनुहार बदलिएर आइरहनेछन्। आशा खुशी देखिएकी थिई किनकि उसले लड्न सिकी सकेकी छे, अरुसँग अनि एकान्तमा आफूसँग।
म किन त्यति लाचार बनेँ त ? प्रश्नको जवाफ छैन, मैले कथाको शुरुमै भनेको छु, ममा नायकत्व छैन। मैले औसत नै रहने सोच बनाएँ। कसैलाई केही भनिन, मनमा कुरा गुम्सिरह्यो ।
बुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
"सुधा, के गर्दैछौ ?" मैले फेरि सुधालाई फोन गरेँ। मेरो वर्तमानको मिठो प्रहर सुधा नै त हो।
"पर्खिराखेको छु !"
"बोर्ड हुने वेला भो, अब चाहिँ उड्छ होला !" मैले सुस्तरी जवाफ फर्काएँ ।
"आवाजमा खुशी छैन त मिस्टर, एयरपोर्टमैँ बस्ने मन थियो कि के हो?"
"मन त अघि घर पुगिसक्यो, म मात्रै एयरपोर्टमा हो अहिले त !"
आजकल म शव्दहरु मात्र सुधाका लागि प्रयोग गर्छु । म झन माझिएको छु। शब्दहरु पनि अर्थ पाएर खुशी भए जस्तै लाग्छ।