‘हेलो, सुजाता सञ्चै छौ ? अनि केटाकेटी नि ? यो पर्देशमा तिमेरुको न्यास्रो खूब लाग्छ,’ उसले दुःखेसो पोख्यो ।
‘यता सबै ठीकै छ, चिन्ता नलेऊ, यहाँ बसेर नै त के हुन्छ र? २–४ वर्ष उतै बसेर अलि कमाइधमाइ गर्नुपर्छ । अनि सुनन... यो महिनाको तलब बुझ्यौ ? खातामा पठाइदेउ है, यी केटाकेटी मलाई पटक्कै टेर्ने होइनन् । बोर्डस् गर्दिएँ । व्यवहार मिलाउन गाह्रो छ, । मङ्गी उस्तै छ फेरि..’ एकै स्वासमा उसले सिध्याई ।
‘हे भगवान्...’ ऊ अन्कनायो ।
‘त्यो भक्तेको पैसा दियौ त ? मर्न नसकेको भक्ते ! राति सपनामा समेत हुर्मत तोड्छ मेरो ।’ लामो निश्वास छाड्दै ऊ बोल्यो ।
‘त्यस्को टेन्सन नलेऊ तिमी, मैले सबथोक मिलाइसकेँ, बरु त्यहाँ राम्रो सँग बस्नू,आफ्नो ख्याल राख्नू... ’ उसले भनी, ‘भोलि म यतैबाट फोन गरौँला नि, अहिले राख भो, किन पैसा खर्च गर्नु यत्तिकै ।’
‘धन्य ईश्वर ! तिमीजस्तीलाई आफ्नी बनाउन पाउने मजस्ता भाग्यमानी कमै होलान् यो संसारमा.....’ ऊ भन्दै थियो । फोन काटियो ।
...
ऊ चंगा थिई, पुतलीझैँ । त्यो चंगा कहिले पार्कमा पुग्थ्यो त कहिले स्टेसन । प्रेमी छ हावाझैँ चञ्चल, जसले समाएको छ उसको डोरी ।
एकदिन ऊ बोल्यो, ‘तिमी मलाई माया गछ्र्यौ ?’
‘छिः यो पनि सोध्ने कुरा हो ?’
‘अनि तिम्ले नि ?’ अन्तै हेर्दै बड्बडाई ऊ ।
पहरोबाट आवाज आएझैँ बोल्यो, ‘सुजाता अब सोच्नुपर्छ । केही गर्नुपर्छ ।’ सहर नजिक छाप्रो बनाउनु पर्छ...अनि के, जिन्दगीभर सँगै बाँचौँला हुँदैन ?’
तिमी भन न मात्र । म तिम्रो निम्ति जे पनि गर्न सक्छु,’ उसले छताछुल्ल हुने गरी प्यास पोखाई ।
ऊ सम्हालिन खोज्यो ।
पुतली बोली, ‘धेरै प्रिय छौ तिमी । म कति धेरै माया गर्छु ।’
काँधको ब्याग छामी, दिँदै भनी, ‘राख यो १ लाख २५ हजार । यत्ति छ यसपालि, धेरै भएन । यतिले त के होला र ? रमेशलाई अझै २–४ वर्ष बस्न भन्नु पर्यो, अनि केही होला....।’
‘कति माया गछ्र्यौ है मलाई तिमी ? आउ न त आज यो खुसीमा रमाइलो गरौँ ।’
उनीहरू रेष्टुराँको कुनामा खाँदिए । पिए । पिलाए परस्परमा ।
उसले गाउँ भुली । लोग्ने भुली । सासुससुरा भुली । बच्चा भुली ।
लोग्नेको कमाइ पनि ।
उसले श्रीमती भुल्यो । सबै भुल्यो । अहो भुलको संसार ।
‘सुजाता म भोलि घर जाँदैछु,’ रक्सी बर्बरायो उसको ।
‘किन ?’
‘यसपालि घरमा गएर मेरो अंश माग्छु अनि त संसार आफ्नै .......।’
‘छिटै फर्क है ! तिमी त गएपछि भुलिहाल्छौ मलाई ।’
‘म पनि तिमी भनेपछि हुरुक्कै हुन्छु ।’
सन्निकट वियोगको क्षतिपूर्ति उठाएझैँ उसले फेरि पिई ।
‘हँ, सात बजेको हो त ? कति छिटो बित्छ यो दिन पनि,’ रेस्टुरेन्टको धमिलो प्रकाशले उसको हातमा टल्केको विदेशी घडीमा घुर्दै उसले भनी ।
‘दोबाटोमा पुगेर उसले भन्यो, ‘हामी कहाँ टाढा छौँ र सुजाता । म छिट्टै आइहाल्छु नि ।’
ऊ गयो । प्यारीले दुवै हात हल्लाई । कसैले देखेन । टाढासम्म हेरी । साँझको छायाँमा ऊ भूतझैँ देखियो ।
...
बितेको दुई वर्षदेखि सुजाता एकैपटक कामधेनु र मेनका बनेकी छ ।
कतैबाट आवाज सुनियो, ‘सुजाता तँ यो के गर्दैछस् ?’
‘प्रेममा सबै जायज हुन्छ ।’ यत्ति बोल्ने उसको क्षमता हो होइन तर उसको मनसाय यही थियो ।
आमाले भनेको सम्झी, ‘जतापाओ तेता नहिँन्नु ।’
सानोमा त ऊ लडिन । अहिले पनि लडेकी कहाँ हो र ? केवल विशाल चट्टानबाट बजारिई ।
फोनमा लोग्नेको खुशी सम्झी, ‘प्यारी म भोलि उड्दैछु नि, आहा कस्तो आतुरी भा छ ह्याँ मलाई ।’
उदासीन मनलाई मलजल गरेझैँ कसैले सुनायो, ‘थाहा छ भाउजू त्यो चन्द्रे दाइ त दलाल पो र छ ! ए, त्यस्ताले पनि हजुर्लाई दिदी भन्दै खूब चेपारो घस्थ्यो है ?’
‘एऽऽऽ हो र ? कसरी थाहा भो हजुर्लाई बाबु ?’
‘खै मैले पनि सुनेको । जेलको हावा पो खाँदै छ रे त ।’
ऊ भित्रभित्रै निसास्सिई ।
‘सुन्नुभो भाउजू, हिरा अन्टीको सब्बै पैसा खा को र छ नि त्यस्ले त । अंकल युकेबाट आएपछि कत्रो बबाल परेछ ।’ ‘ए हो है,’ उसले यत्तिमात्र भनी ।
ऊ उड्न चाही तर चरो थिइन ।
प्रायश्चित्त हुन सक्ला ?
मानौ ऊ तनावको खातमा च्यापिएर मर्न लागी । उसले चन्द्रेलाई सम्झी, साथसाथै लोग्नेलाई पनि ।
ऊ आत्तिई । उसको लोग्ने मुस्कुरायो । उसले सोची, ‘साँच्चै यस्तै भैदिए ।‘
साँझमा दियो जल्यो । तर भगवान् सम्झन मन लागेन उसलाई ।
मनमनै लाग्यो, ‘सबैले मानेका देउताले घृणा गर्छन् होला मलाई ।’
सोची । चकमन्न रात । कर्कश कुकुरको आवाजलाई चुनौती दिँदै ढोका उघारी । घर्याक्क ।
डराई । कसैले देख्यो भने ?
मृत्युभन्दा बेइज्जतीको डर लाग्यो उसलाई । रातमा मृत्युइच्छाको घुम्टो ओढेर कालसँग विवाह गर्न चाही ।
थाहा छैन यो काम कति वैधानिक हो ? एकेैसाथ उसले आफ्नो अतीत सम्झी घृणा र त्रासको भावलाई जागृत पार्दै मर्ने इच्छालाई मजबूत पार्न खोजी ।
अचानक ऊ झस्की, जब उसले बाल्यकालको सखा सन्देशलाई सम्झी, तत्क्षण उसलाई त्यहाँ पाई ।
सोधी, ‘को हौ तिमी ? यस रात बीचमा हिँड्ने तिमी बटुवा हौ ? कुनै वन्यजन्तु, कुनै भूत या कुनै देवता ? मलाई मार, पिट, झम्ट । तरबार होस् या कुनै ढुंगाले । म बाँच्नयोग्य होइन ।’
रुँदै चिच्याई ।
‘तिमी मलाई तिम्रो अनुहार देखाऊ, तिम्रो परिचय देऊ, विश्वास गर । म मानव हुँ । अनुभूत गर्न सक्छु तिमीलाई । तिम्रो पीडालाई ।’
त्यो कुनै पहाडमा ठोक्किएर दोहोरिएको आवाज थिएन, उसकै सामुन्नेको सन्देशको थियो ।
घनचक्कर मा फसेकी उसको बर्र्बराहट अरु थपिँदै थियो, ‘हे ईश्वर तिमी मलाई अझै किन मार्छाै ? म मरिसकेँ । खै कहाँ छ परिचय ? ए बटुवा तिमी जाऊ तिम्रो बाटामा । जाऊ अन्त कतै । किन अल्मलिन्छौ मलाई देखेर ?’
मुख लुकाउँदै रोई त्यो ।
‘तिमी मलाई तिम्रो अनुहार देखाऊ, या त उघारिदिनेछु तिम्रो घुम्टो । म छुने छैन तिमीलाई सत्ते ।’
‘किन यसबेला रातमा ?’ ऊ मानिन अझै । ओढ्नेले मुख ढाकी, ढाक्न खोजी । उसले घुम्टो तान्यो । चिहायो । टर्चको थोरै उज्यालो बाँकी रहेछ ।
‘सुजाता ! सुजाता ! ! सुजाता ! ! तिमी यस्तो हालतमा !’
त्यो बोली, ‘मलाई थाहा छ तिमी सन्देश हौ । जब म दुःखमा हुन्छु तिमी आइपुग्छौ सन्देश किन, भन न ?’
मानौ रोएर ऊ आँशु निथार्न खोज्दैछे ।
उसले अतीतलाई छर्लंग देख्यो ।
सुजाता उसकी रानी थिई । माम पकाएर ख्वाउँथी उसका खेलहरुमा । तर उसले गुमाएको थियो । आजन्म बिहे नगर्ने सर्तमा कतै गयो र संयोगवश आज भेट्टायो ।
‘अब मलाई जान देऊ । सुन्यौ ओ तिमीले ? जान देऊ मलाई !’ सबै कुरा बताइसकेपछि चित्कार छाड्दै उसले भनी ।
‘तिमी किन यसो भन्छेउ हँ ? तिमीमा मेरो पे्रम छैन ? के आउँदैन ती दिनहरुको याद तिमीलाई जति बेला तिमी मेरी हुँ भनेर स्वघोषणा गथ्र्यौ ?’ ऊ चर्को स्वरमा बोल्यो ।
‘छ, छ, छ । धेरैे छ तर म सुहाउँदिन तिमीसँग ।’
‘किन चिन्ता लिन्छेउ, म एक्लो छु यो संसारमा । तिम्रो बिहेपछि धेरै उतारचढाव भोगेको छु मैले सुजाता । म थकित छु धेरै । चुसेको छ समयले जुको बनेर । म तैपनि पर्खँदैछु तिमीलाई......।’
ऊ थचक्क बस्यो ।
‘अब नयाँ जिन्दगी जिउनुपर्छ, धेरै टाढा कतै....।’
‘तिमी मेरो भगवान् हौ सन्देश !’
‘म भगवान् होइन सुजाता, प्रेमी हुँ तिम्रो । उठ हिँड । पार गरौँ यो विक्षिप्त बाटो । अब छिटै उज्यालो हुनेछ ।’
‘म यही चाहन्छु मेरो प्राण !’
दुवै हिँडिरहे ।
–पर्वत । हालः पृथ्वीनारायण क्याम्पस, पोखरा ।