परेवाहरु बाझ्न थालेपछि मलाई सबैभन्दा धेरै डर लाग्छ । देश, समाज र व्यक्तिबीच हुनुपर्ने सामञ्जस्यता टुटिरहेको छ कि झैँ लाग्छ त्यतिखेर । भन्नेहरुले परेवा प्रेमको प्रतीक हो भने । मैले पनि मानेँ । त्यस अर्थमा, परेवाहरु बाझ्नु प्रेमको पहाड ढल्न खोज्दैछ भन्ने संशय देखिनु पनि हो । कुनै एउटा साँझ, झ्यालबाहिरका परेवाहरु धपाएर मैले प्रेमको प्रतीक ज्युँदै राख्ने प्रयास गरेको थिएँ ।
…
तिहारको बेला थियो । घरभरि मान्छे नै मान्छे थिए । सेलरोटीको बास्ना, परबाट आइरहेको 'देउसी रे' को मधुरो आवाज, भाँडाहरु बज्दाको ध्वनि, तलैसम्म झुण्डिएका पिलिकपिलिक बल्ने बत्तीहरु– यी सबको माझ म मन्द मुस्काएँ । तर त्यो मुस्कान कति फिक्का थियो । भर्खरभर्खर लिएको मोबाइल फोन हेरिरहेँ । नामहरु सरर्र हेरिसकेपछि 'आर' थिचेँ । त्यसपछि एउटा नाममा आफूलाई अल्झाएर मुसुक्क हाँसेँ । त्यो मुस्कान कति मायालाग्दो ! भुराहरु रोटी गन्दै थिए । अरु कसैले पनि मतिर हेरेका थिएनन् । म पल्लो कोठामा गएँ, रिसिभर उठाएँ र नम्बर थिचेँ । दुई घण्टीमा फोन उठ्यो । एकफेर 'हेलो' सुन्नेबित्तिकै भनेँ, 'गीत गाऊ न ।' एकछिन सास फेरेको पनि नसुनिने गरी मौन भयो सबथोक । मैले पर्खिरहेँ । एकफेर लामो सास फेरेको ध्वनि मेरो कानसम्म आइपुग्यो । त्यसपछि 'तुम्को देखा तो ए खयाल् आया' लाग्यो, मिठोसँग छोइदियो कसैले मनसम्मै ।
लियो टल्सटयले आफ्नो विश्वप्रसिद्ध उपन्यास 'वार एण्ड पिस' मा लेखेका छन् अरे, 'मैले जे जति कुरा जानेको छु, त्यो मैले प्रेम गरेको भएर मात्रै जानेको हुँ ।' म पनि मान्छु यो कुरा । शिरीषका फूलहरुको बिम्व धेरैचोटि समाएको छु मैले । यसपालि ती फूलेका बेला मैले हावाका हरेक कणहरुमा प्रेमका निशानीहरु महशुश गरेको थिएँ । शिरिषको फूल उड्दाखेरि मन पनि फेरि उडेर कतै न कतै पुगिदेओस् भन्ठानेँ किनभने म चुपचाप धेरैजनालाई प्रेम गर्नसक्ने मान्छे । बेलाबेलामा यस्तो भलाद्मी प्रेम गरिबस्न मन पर्छ मलाई । यसो हुँदाखेरि प्रेमका नाममा सीमाहरु बन्न पाउँदैनन् ।
समयक्रममा आफूलाई मन परेका स्त्रीहरुलाई म सम्झिइरहेको छु । जीवनका धेरैखाले रिक्ततालाई तिनले कुनै न कुनै रुपमा सम्बोधन गरेका थिए । एकोहोरो-दोहोरो जे जस्ता भए पनि ती मेरा लागि अत्यन्तै सम्माननीय सम्बन्ध हुन् । कसैले कुनैबेला छतमाथि, कालो ट्यांकीको छेउबाट मतिर हेरेर हात हल्लाएको सम्झना मलाई प्रिय छ । त्यतिखेर, चलाउँदाचलाउँदैको साइकल आलुबारीमा खस्दा पनि मैले गुनासो गरिनँ । होलीको दिनमा गल्लीको एकातिर छेलिएर असाध्यै भद्र पाराले कसैलाई पानी खन्याइदिएको सम्झनाले म बेलाबेला एकोहोरिन्छु । कहिले कसैको गालाको खोपिल्टो हेरेर पनि मख्ख परियो । चिना हेर्दा बाजेले भनेथे, 'तँलाई माया गर्ने स्त्रीहरु धेरै छन् । तिनले तँलाई जीवनभरि पुग्ने साथ दिनेछन् । तिनको प्रभाव र सद्भावले तैँले जीवनको विशिष्ट अनुभव लिनेछस् ।'
कतिपय छुवाइहरुको विकल्प खोजिँदैन । ती विकल्पहीन छुवाइहरु मलाई फूलजत्तिकै कोमल लाग्छन् । मान्छेको स्वाभाव नै हुन्छ, ऊ दुई दिनको भोगाइलाई पनि वर्षौँसम्म अवचेतनमा खेलाइरहन सक्छ । मलाई अवचेतनमा गढेर बसेका ती सबै स्पर्श हिउँजत्तिकै कञ्चन लाग्छन् । मसँग असंख्य प्रश्नहरु छन् । घरिघरि तिनले म बाँचेको समय ताकिरहन्छन् । तर समयको त्रासदीभित्र उनीहरु पनि थिए कहीँकतै । मलाई ती त्रासदीहरु पनि सम्झिइरहन मन लाग्छ । अब उनीहरुको तस्बिर धमिलो नभईदिए हुन्थ्यो ।
प्रेम परिस्थिति पनि हो रैछ । जीवन भनेकै गम्भीर सत्य हो भन्दै प्रेमलाई जटिलतामा उभ्याउनेहरु नै एकाएक आफैँसँग अगाध प्रेम भएर रमाएको मैले देखेको छु । नगरेका धेरै कुराहरु ती आज गर्दैछन् । अनि सतहभन्दा बाहेकको एकपाटो पनि नदेखेका-नभोगेकाहरुलाई एकपछि अर्को गर्दै गम्भीरताहरु छोडिदियो समयले । ती हिँड्ने बाटाहरु पहिलेजस्तो सजिला भएनन् । तर तिनले प्रेम गर्न थाले ती गम्भीरताहरुसित । प्रेममा कसैको स्वरुप नै चाहिन्छ भन्ने आवश्यकता रहेन र रहने छैन पनि । परिस्थितिका फराकिला चौरहरुमा फैलिएका तिनका आकृतिहरु कहीँकतैबाट टिपिन्छन् । आखिर सबै विश्लेषण गरिने कुराहरु हुन् । त्यसक्रममा बरु दृष्टिदोष चाहीँ हुनसक्छ कहिलेकाहीँ ।
कहिलेकाहीँ प्रेममा यस्तो पनि हुन्छ– हामी एकखाले समानता खोजिरहेका हुन्छौँ । यस किसिमको खोजमा सबैभन्दा बढी त्यही गर्न खोजिन्छ जो कमजोरी भन्दै लुकाइएको हुन्थ्यो आफैँले । स्कुलका कार्यक्रमहरुमा आफूलाई मन परेकाहरु अरु कसैसँग नाच्दाखेरि खुब अप्ठेरो लाग्थ्यो । तर त्यसपछि सायद म धेरैपल्ट नाचेँ । सकी नसकी केही रमाइला लिफ्टिंगहरु पनि गरेँ । नाच्दाखेरीको अनुहारको भावले मोहित भएर मैले कलेजमा एकदम मिल्ने साथीलाई प्रेमप्रस्ताव पनि राखेँ । कसैलाई प्रेम प्रस्ताव राख्नुको आनन्द साँच्चै गजबको हुन्थ्यो । स्कूलमा हुँदा, कुनै एउटा दिन, कसैले 'आज प्रेम दिवस हो' भन्दिएपछि मैले ५ रुपियाँको सानदार कार्ड किनेर कसैलाई उपहार दिएको थिएँ । मेरो कलिलो प्रेमको प्रस्तावमा कुल्चिएर उनले भन्दिइन्, 'कस्तो प्लेब्वाइ रैछ ।' सुनेर म एकछिन रन्थनिएँ । त्यो मैले पहिला नसुनेको शब्द थियो । म त्यतिखेर फुटबल खेल्थेँ । त्यही खेलेको देखेर त्यसो भनी होला भन्ठानेर मख्ख परेँ । तर पछि अर्थ थाहा पाएपछि म रोएँ ।
…
ओशोले भनेथे, 'हामी प्रेमका नाममा लेनदेन मात्रै गरिरहेका हुन्छौँ ।' मैले तँलाई यति माया गरेँ तर तैँले गरिनस्' यस्तै गुनासा तेस्र्याएर हामी आफ्नो असुरक्षा देखाइरहेका हुन्छौँ । जीवनको कुनै मोडमा यही भनाइलाई आधार बनाएर सम्बन्धहरुको पुनर्लेखन पनि गरियो । कसैले लेखेको थियो, 'किनारा तिम्रा सायद, गहिराई सायद मेरा ।' सम्बन्धको कुरा यस्तै हुन्छ । कहीँ न कहीँ, कोही न कोही किनारामै हुन्छ । गहिराइ भोग्ने पनि समयक्रममा फरकफरक भइरहन्छन् । सम्बन्धहरु संयोग हुन् । तर सुरु भएर निकै पर पुगिसक्दासम्म ती संयोग सहज हुन थालिसकेका हुन्छन् । जीवन वास्तवमा नमिल्दै हुन्छ । धेरै कुराहरु नमिलिरहेको बेलामा सम्बन्धका क्षणहरु पनि नमिल्दै भईदिन्छन् कहिलेकाहीँ । हरेक सम्बन्धहरु प्रेम हुँदैनन्, यो फेरि अर्को सत्य हो ।
स–साना अर्धसहरी वस्तीका प्रेमकथाहरुले मलाई धेरैपल्ट छोएका छन् । महानगरमा प्राय: आफू र आफ्नो अस्तित्व हराउने डर हुन्छ । ठूलो सहर, ठूला सपनाहरु । ती साना वस्तीहरुमा छरिएका सपनाहरु साना नै सही तर तिनमा पनि जीवन हुन्थे । मलाई राजधानीसँग त्यस्तो भयंकर गुनासो त छैन तर धेरै कुराहरु जटिल भएका छन् यहाँ । जटिलताका बीचमा नागरिकहरु हराउनु, अल्मलिनु या तिनका सपनाहरु तीसँगै छोपिनु नौलो लाग्दैन मलाई । तर यो सहरले मलाई ती साना वस्तीहरुमा जस्तै साना सपनाहरु हुर्काउन सिकायो । ती सपनाहरुमा प्रेमका कथा पनि अनगिन्ती थिए ।
जीवनमा संवादका अवस्थाहरु सोचेजस्ता सजिला हुँदैनन् । संवाद स्वयंमा एउटा चुनौती हो । कहिलेकाहीँ जटिल ठानिएका संवादहरु नै पनि सहज र स्वाभाविक हुन सक्छन् । जीवन हो, सामान्यता र जटिलतालाई छुट्याउने झिनो रेखा हुन्छ । प्रेममा संवादहरु मौनतामा बढी खुल्छन् जस्तो लाग्छ । फ्रान्सेली फिल्म 'आमोर' हेरेर म खल्बलिएको छु । जीवनको करिबकरिब अन्तिम अवस्थामा रहेका श्रीमान–श्रीमतीको कथाले मलाई एकफेर फेरि त्यही कुरा सम्झाइदिएको छ, 'कुनै उमेरले प्रेमको परिभाषा कोर्न सक्दैन ।' चुपचाप धेरै कुराहरु हुन सक्छन् प्रेममा । प्रशान्त रसाइलीको 'कथा' भन्ने फिल्म तीनपल्ट हेरेर म झण्डै बहुलाएँ । प्रेमको पयार्य पर्खाइ हो र पर्खाइको पर्याय पीडा हो भने प्रेमको पर्याय नै पीडा हुन पनि सक्छ । यही कुराले मलाई फिल्मको प्रेमी पात्रलाई सम्मान गर्न मनलाग्ने बनाइदियो । बाक्लो कम्बल ओडेर, ठूलो झोला बोकेर एक्लै बर्बराउँदै सडकमा हिँड्ने मान्छेहरुलाई 'बहुला' भनेर कहिल्यै पनि वास्ता गरिएन । 'कस्तो एक्लै बोल्न सकेको होला' भनेर बेलाबेला हाँसिन्थ्यो । अहिले मैले बुझेको कुरा के हो भने, ती मान्छेहरुले साँच्चै कसैसँग संवाद गरिरहेका हुन्छन् । ती दिग्भ्रमका यस्ता उदाहरणहरु हुन् जसलाई कहिल्यै पनि गहिरिएर विश्लेषण गरिएन । 'स्किजोफ्रेनिया' भन्ने मानसिक रोग त्यही भएर बडो आत्मीय लाग्छ अचेल । आफ्नो बेग्लै काल्पनिक दुनियाँ बनाएर, सबैले बहुला भनेका ती स्किजोफ्रेनिकहरु कसैसँग संवाद गरिरहन्छन् । जब सबैभन्दा नजिकको कोही संसारको अस्तित्वबाट लोप हुन्छ, आफ्नो जीवनको उद्देश्य नै उसैमा समर्पित गरेकाहरु नराम्ररी खल्बलिन्छन् । उनीहरुको उद्देश्यका अठोटहरु टुट्छन् । अनि प्रेम एउटा कथा मात्रै हुनपुग्छ । 'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा'– यो सर्वकालिक गीत मैले फेरी सम्झिएँ । सौगात दाइप्रतिको सम्मान अझ आकाशियो । किनभने, एउटा मिस्टिक लेभलमा पुगेर प्रेम गर्ने चरित्रलाई फिल्ममा त्यति विश्वसनीय तरिकाले उतार्नु भनेको गजबको काम हो ।
…
एउटा फोटोमा लेखिएको थियो, 'कुनै साथीहरुसँग मेरो अत्यन्तै अन्तरंग सम्बन्ध छ तर म उनीहरुलाई प्रेमिका भन्दिनँ किनभने म उनीहरुसँग सुत्दिनँ ।' प्रेम र अन्य सम्बन्धहरुलाई छुट्याउने आधार कति धरासायी हुँदोरहेछ भन्ने वास्तविक प्रमाण यही हो । प्रेमका नाममा धेरै कुराहरु सतही भएर देखा पर्न थालेका छन् । समाजको यथार्थ यो पनि हो । भन्ने नै हो भने, प्रेम त कतै पनि छैन । सबैतिर भ्रमहरु मात्रै छन् । तर यी भ्रमहरुलाई नै हामी प्रेम सम्झिन्छौँ । मलाई यी सबै भ्रमहरु प्रिय छन् ।
मेरा केही महत्वाकांक्षाले मलाई बाँधेका छन् । त्यही भएर कहिलेकाहीँ मलाई लाग्छ, म कोही एकजनासँग मात्रै इमान्दार हुन सक्दिनँ । म भिन्दाभिन्दै स्त्रीहरुमा मैले खोजेका गुणहरु भेटिरहेको हुन्छु । ती सबैलाई सग्लो स्वरुप दिने मेरो उच्च आकांक्षा घरिघरि भत्किइरहन्छ । तर समयक्रममा मलाई मेरा विश्रृंखलताहरुबाट तिनै खोजहरुले सम्हालेका छन् ।
…
अग्लो रुखको छिद्रहरुबाट अस्ताउँदै गरेको घाम देखिन्छ । म एकफेर पारि डाँडातिर हेर्छु । हुस्सु उडेर त्यो सुन्दर देखिएको छ । 'कति कुरुप होस् के !', मेरो गाला तानेर मुसुमुसु हाँस्दै कसैले मायाले भनेको सम्झिन्छु । इयरफोनमा गीत बजिरहेको छ । तर यतिखेर झ्यालबाहिर परेवाहरु बाझेका छैनन् ।
adrishya.ashok@gmail.com
(शायद अशोकको ब्लगबाट)