मलाई कथाहरू असाध्यै मन पर्छन्। सुनेका कथालाई म त्यत्तिकै बिर्सिन सक्दिनँ। कागजमा कोरिहाल्ने बानी छ। २-४ वटा कविता र रचना यदाकदा प्रकाशित पनि नभएका होइनन्। यस अर्थमा कलम चलाउनैका निम्ति पनि मलाई कल्पनाको खाँचो पर्छ।
तैपनी सपना मलाई मन पर्दैन।
आइ डोन्ट लाइक ड्रीम्ज्।
यो आफैँमा शायद एक ‘सेल्फ कन्ट्राडिक्टरी’ भनाइ हो। आफ्नो कुरो आफैँले काटे जस्तो। लेख्न मन लाग्छ रे, कल्पना गर्छु रे, तर सपनादेखि यो कस्तो समस्या? के गरेको छ र त्यो बिचरोले?
सानै थिएँ म जब एउटा राजकुमारको कथा सुनेकी थिएँ। राजकुमार दिक्पाल। १६ वर्ष पुगेपछि लिन आउने शर्तमा एक जोगीले एक राजदम्पत्तिलाई त्यो बालक सुम्पिएका हुन्छन्। तर १६ वर्षको लामो अन्तरालमा आफ्नै छोरो जसरी हुर्काएको त्यो केटोसँग राजारानीको स्नेह बस्छ। उसलाई आफूबाट टाढा पठाउन उनीहरुको मनले मान्दैन। त्यसैले एउटा नक्कली राजकुमार तयार पारी जोगीको साथमा पठाइदिन्छन्।
जोगी पनि के कम? साथमा आएको युवकको परीक्षा लिन्छन्।
दोबाटोमा पुगेपछि प्रश्न गर्छन् - ‘हे राजकुमार, अगाडि दुइटा बाटा छन्। एउटा बाटो लामो छ तर सुरक्षित छ। अर्को बाटो छोटो छ तर बाघ भालु लाग्छ। तिमी कुन बाटो रोज्छौ?’ नक्कली राजकुमारले जवाफ दिन्छन् - ‘साधु महाराज, हामी लामो बाटो नै जाऔँ।’
साधु क्रोधित भएर दरबार फर्किन्छन् र भन्छन् -‘राजारानीले विश्वासघात गरे। नक्कली दिक्पाल दिएर पठाए। अब म श्राप दिन्छु।’ यो सुनेर राजारानीले डराउँदै सक्कली राजकुमार जोगीलाई दिई पठाउँछन्।दोबाटोमा पुगी जोगीले फेरी उही प्रश्न दोहोर्याउँछन् तर उत्तर बिल्कुल फरक पाउँछन्। ‘छोटो बाटो जाऔँ साधु महाराज, बाघ भालुको केको डर?’ तब बल्ल उनी विश्वस्त हुन्छन्। हो, यी राजकुमार नक्कली होइनन्।
यो कथा आजसम्म मेरो मानसपटलमा ताजै छ। मानौँ कुनै शिलालेख होस्। कुन्नी कस्तो गज्जबको आकर्षण थियो मलाई दिक्पालप्रति। तर यो कुनै किशोरीको एउटा काल्पनिक राजकुमारप्रतिको वासना थिएन, न त दिक्पाल मेरो लागि कुनै ‘रोल मोडल’ थियो जसको तराजुमा जोखेर म जिउँदा मानिसहरुको मूल्याङ्कन गर्न चाहन्थेँ।
म दिक्पाल जस्तो प्रेमी वा रक्षक चाहन्थिनँ। म त स्वयम् दिक्पाल जस्तो बन्न चाहन्थेँ। वीर, चतुर, साहसी र सुन्दर। जो आफ्नो युद्व आफैँ लड्न सक्षम छ। किन, के गलत थियो र त्यसमा? के म मात्र एउटी ‘केटी’ भएकोले ‘हिरो’ हुन सक्थिनँ?
दिक्पालको काल्पनिक अस्तित्त्वलाई मैले उति नै बेला सपना होइन यथार्थसँग जोडेर बुझ्ने जमर्को गरेकी थिएँ।
त्यसो त मलाई सपनासँग कुनै शत्रुता छैन। अझ भन्ने नै हो भने सपना शारीरिक, मानसिक, आध्यात्मिक र आत्मिक स्वतन्त्रताको प्रथम आयाम हो जस्तो लाग्छ मलाई।
भनिन्छ, कुनै समयमा अमेरिकामा अश्वेत जातिलाई सपना देख्न मनाही थियो। किनकि उनीहरुलाई गोराहरुले जनावरको थान्कोमा राखेका थिए। भेँडा बाख्राले सपना देख्छन्? उनीहरुमा बुद्धिविवेक कहाँ हुन्छ? सोच्ने क्षमता भएको व्यक्ति पशु कसरी हुन सक्छ?
तर सपना देखियो। एउटा कालो जातिको मानिसले सपना देख्ने दुस्साहस गर्यो। र जब उसले त्यसका बारेमा बोल्यो, उसका शब्द-शब्दले क्रान्तिको अद्भुत तरङ्ग छोडेँ। उसले भन्यो -‘मसँग एउटा सपना छ।’ आई ह्याव अ ड्रिम। त्यो मानिस मार्टिन लुथर किङ्ग थियो। अमेरिकाको अश्वेत आन्दोलनको एक प्रमुख व्यक्तित्व।
मानिसको सपना उसका अभाव, आशक्ती र असन्तुष्टिहरुसँग कहीँ न कहीँ कुनै न कुनै रूपले जोडीएको हुन्छ। फ्रायड भन्छन्- कुनै मानसिक रोगीको उपचार गर्नुछ भने सबैभन्दा पहिले उसको अचेतन मनमा दबिएका चाहना र सपनाको बारेमा अनुसन्धान गर। लकाँले त झन् भाषाको संरचनालाई नै अचेतन मनसँग तुलना गरेका छन्। हरेक मानिस अँध्यारो गल्लीमा भट्किए जसरी शब्दका गोरेटोमा अर्थको चौतारी खोज्दछ। मानिसका इच्छा असिमित हुन्छन्। यी केवल मृगतिष्णा हुन् जसको पूर्तिका लागि मानिस कुनै बौलाहा जसरी रमिरहन्छ, बराल्लिरहन्छ। सभ्यताको झीनो मुखौटा भिरेर।
एउटा प्रश्न यहाँ आफैँलाई सोध्न सकिन्छ- के सपनाले साँच्चै स्वतन्त्रता दिन्छ कि स्वतन्त्रताको भ्रममा बाँधेर अझै धेरै परिधीहरुको लक्ष्मणरेखा तय गर्छ?
त्यसो भए कस्तो सपना देख्ने त? यो प्रश्नको उत्तर व्यक्तिपिच्छे फरक हुन्छ। भर्खर कुर्कुरे बैँसमा टेकेका तन्नेरी मायाको सपना देख्छन् भने जीवनलाई आकाशसरी भोगिसकेका वृद्धवृद्धा मुक्तिको। जेलमा थुनिएको कैदीका निम्ति स्वतन्त्रताको सुवासभन्दा मीठो सपना सायदै कुनै होला।
त्यस्तै दिर्घरोगीका निम्ति सुस्वास्थ, टुहुराका निम्ति परिवारको न्यानो माया र मगन्तेका निम्ति आम्दानी अनि आश्रय, किसानका निम्ति वर्षा र नवजात शिशुका निम्ति दूध चुसाउने आमाभन्दा कम होलान् र?
तर के हरेक मानिसलाई वल्लो छेउको भन्दा पल्लो छेउकै घाँस हरियो लाग्छ? के हामी आफ्नै दुबोमा कहिल्यै खुल्ला हृदयले रुझ्न-भिज्न सक्दैनौँ?
हिन्दू दर्शनले भन्छ - सन्तोषम् परमम् सुखम्। तिमीसँग जे छ त्यसमै खुसी रहन सिक। के यो हाम्रो सपना देख्ने असीमित स्वतन्त्रतामाथि पाबन्दी हो? जन्जीरमा जकडिएर बस्न कसलाई मन लाग्दो हो? सपना त्यसैले त हामीलाई यती प्यारो छ। किनभने यसले मनको विमानमा उडानको प्वाँख भर्छ।
छि: यथार्थ कस्तो उराठलाग्दो! जता हेर्यो दु:ख, पीर, वेदना। जाऔँ न बरु केही बेर सयर गरौँ सपनाको जादुई कार्पेटमा जहाँ एउटा नीलो जिनीले हरेक इच्छा भुइँमा झर्नासाथ चुट्की बजाएर पुरा गरिदिन्छ। जो व्यक्ति जति धेरै दुःखी, उसका उति धेरै सपना। त्यो भनिन्छ नि-एस्केपिजम्। हो, क्षणभरका लागि उम्किने, भाग्ने, फुत्किने। भरे फेरि फर्किनु त छँदैछ।
कहिलेकाहिँ त यस्तो लाग्छ मानिसलाई मृत्युको भयले नभई सपनाको मोहले सताउँछ किनकि जीवनको अन्त्य भन्नु नै सपनाको पनि अवसान हो।
हुन त धेरै ठूला विद्वान, दार्शनिक र कविले भनेका छन्, जसले सपना देख्दैन, ऊ सफल हुँदैन। इफ् यु डोन्ट् ड्रिम्, यु डोन्ट् सक्सिड्। र पनि यो विन्दुमा आइपुगेपछि मलाई चाहिँ थोरै भट्किन मन पर्छ, सपनाको खोजिमा होइन, यथार्थको गहिराइमा।
सपना यस्तो चीज हो जसको कुनै स्थान, समय र उमेर हुँदैन। यो आफैँमा अथाह छ, यथेष्ट छ। जोसँग केहि छैन, ऊसँग सपना छ। र त्यसैले म भन्छु-सपना वास्तवमै खतरनाक हुन्छन्। ड्रिम्ज् आर् रियल्ली डेन्जरस्।
मानिलिउँ तपाईँको सामु एउटा यस्तो ऐना छ जसले तपाईँका ठूलाभन्दा ठुला सपनाको दुरुस्त आकृति तुरुन्तै उतारिदिन्छ। एउटा तिलस्मी ऐना जसबाट तपाईँको ध्यान कहिल्यै हट्दैन। सपनामा देखेको हरेक चीज आँखा अगाडि। अब भन्नुस्-जब सपना यति धेरै सुन्दर छ, के फर्कन चाहनुहुन्छ विपनामा?
सपना मिथ्या हो, विपना सत्य। सपना सुन्दर तलाउमा देखिने चन्द्रमाको प्रतिबिम्ब हो जसले केवल भ्रमको खेती गर्छ।
भुल्याउँछ, लट्ठ्याउँछ र दिनको पहिलो झुल्कासँगै गायब हुन्छ। यो यस्तो अप्राप्य खुसी हो जसमा क्षणभङ्गुरता मात्र छ। यस्तो मदिरा हो जसको मादकताले मन तफुर्किएला तर आत्मा कहिल्यै रसाउन सक्दैन।
प्रश्न उठ्छ- त्यसो भए के अब हामी पशु भएर बाँच्ने? सिसिफसको जस्तो जीवन छ हाम्रो। भोलिको सपनाको भरमा आजको चट्टान गुडाउँदै छौँ हामी।
त्यसमा सपनाले ल्याएको थोरै हरियाली पनि मासिदिने? संसारलाई पुरै भावनाशून्य खण्डहरमा परिणत गरिदिने?
होइन।
सपना मन नपर्नुको अर्थ सपना नदेख्नु होइन। सपनाको पासोमा नअल्झिनु हो जुन हामी विपनाको जन्जालबाट उम्किने नाममा आफ्नै घाँटिमा बेर्न पुग्छौँ। आफूलेआफैँलाई थाहै नपाई रेट्न थाल्छौँ। हाम्रा सपना यस्ता होउन् जसले हामीलाई आँखा चिम्लन होइन खोल्न बाध्य तुल्याउन्। हामीभित्र यस्तो चेतना ल्याउन् कि कुनै सपनाको व्यापारीले हाम्रो आत्मसम्मानको चितामाथि स्वार्थको शिशमहल ठड्याउने मौका नपाओस्।
हाम्रा सपना कमजोरी होइन शक्ति बनून्। समाचार होइन कविता बनून्। रोदन होइन गीत बनून्। मालिक होइन पथप्रदर्शक बनून्।
र यो तब मात्र सम्भव हुन्छ जब हाम्रा सपनाले महत्त्वाकांक्षाको रूप लिन्छन्।
सपना जताततै मिल्किएका छन्, तितरबितर भएका छन्। यिनको कुनै मोल छैन। रत्तिभरको हैसियत छैन। चुरोटका ठुटामा, रक्सी र चियाका रित्ता गिलासमा, लवलेटरका थोत्रा पानामा, फेसबुकका भित्तामा, फुटेका चुरामा, लुटिएको अस्मितामा, भोको पेटको ज्वालामा, हिंसाको विभत्सतामा, मृतकको चित्कारमा, जिवितको मौनतामा।
सपना। केवल सपना। बुनिँदै गरेका,बुनिइसकेका,बुनिन नसकेका अनि ओइलाई झरेका सपना।
हो, मलाई सपना मन पर्दैन।
किनकि सपना सपना मात्र रह्यो भने यसले सपना बाहेक अरु केहि दिन सक्दैन। सपनाको सार तब मात्र हुन्छ जब यो महत्त्वाकांक्षा बन्छ। यस्तो चन्द्रमाको के औचित्य जो अँध्यारो रातमा उदाउँछ र गुमनामीमै अस्ताउँछ। चन्द्रमाको चाँदनी त तब सार्थक हुन्छ जब त्यसले बटुवाको तन्द्रा तोड्छ र उसलाई ठेस लाग्नबाट जोगाउँछ।
हो, मलाई सपना मन पर्दैन किनकि म महत्त्वाकांक्षाको अनुयायी हुँ। मैले दिक्पालको चरित्रलाई उद्देश्य होइन, प्रेरणा बनाएँ। सपना देख्ने र तिनलाई महत्त्वाकांक्षामा परिणत गर्न सिकाउने सैयौँ पुस्तकहरुको तुलनामा दिक्पालको त्यो दन्त्यकथाले मलाई धेरै मार्गनिर्देशन गरेको छ जीवनमा।
सायद, महत्त्वाकांक्षाको उद्गमस्थल पनि सपना होला तर यसको लक्ष्य केवल अनन्त हो। त्यसैले मलाई महत्त्वाकांक्षा मनपर्छ, सपना होइन।