स्वच्छ विचारहरुको अभावमा
अनि बेमेल भावनाहरुको प्रतिष्पर्धामा
आगोको रापमा जलिरहेको मेरो देश
यतिखेर शितल छहारीको खोजीमा
भौंतारी रहेछ क्षतविक्षत बन्दै
खै! कस्ले बुझीदिने उस्को जलन?
अनि...,
कस्ले लगाई दिने शितलताको मल्हम?
सबै आगो बनेर दन्किईरहेछन् यतिखेर
पानीको मूल्यलाई यतिखेर सबैले
आफ्नो अभीष्टको बिपरित अर्थ लगाई
खडेरीमा अनुवाद गरिरहेछन्
निस्फिक्रीसँग|
हर नेपाली मन मुटुलाई क्रान्ति होइन
शान्ति चाहिएको छ,
हर नेपाली आँखामा
नेपालको सिंगो चित्र छाएको छ
तरपनि किन....,
अशान्तिको बज्रपात भईरहेछ?
नेपालीको स्वच्छ मन आज किन
कुबाटोमा गईरहेछ?
कोही आगो भए
कोहि पानी बनोस्
कोही मुर्ख भए,
कोही ज्ञानी बनोस्
तब पो देश एकत्वमा अडिग रहला
कसैले, कसैको भावना बुझोस्
अनि उसरी नै...,
कसैले कसैको चाहना बुझोस्
अनि त....,
सबैको मन मिल्ला
मेरो गोरूको बाह्रै टक्काले
देश कसरि चल्ला?
त्यसैले आउँ सबै मिलि
एकत्वको गीत गाउँ
देशमा भएको अशान्तिलाई
सबै मिली निर्मुल गराउँ
मेरो देश नेपाल भन्ने
स्वच्छ भावना जगाउँ...।