दुर भूमिबाट
तिमीले त सम्भि्कयौ
तर के जवाफ दिऊँ नानी ...?
यो स्काइपमा।
अझै पनि
मेरो घरकै
छेउ भएर हिनहिनाइरहेछन्
आततायी मानव झुण्ड।
भयको भुमरीमा
थुर थुर छु म
कति खेर कसरी सकिन्छ? यो एकसरो जिन्दगी ....!!!
अस्ति त हो नि सपनाको गोटी चालेर
युग हाक्ने रहर बोकेर
खेल्दा खेल्दै
नाबालक टेकेन्द्र ठाउँको ठाउँ ठहरै भएको।
कसरी दुर्दशा व्यक्त गरूँ नानी?
भुकम्पको विनासमा
पोहोरको महामारीमा
ज्यान जोगाउने ठेक्कानै परे जस्तो
देशका निम्ति मरिहत्ते गर्दै
खटिइरहने पहरेदारहरु
जिउँदै जलाइएका छन्।
कसरी हेरुँ म त्यो मुर्दा बनेको ठाउँ ...?
अझै आलो मासुको गन्ध आइरहेछ।
तातो खरानी रापिलो दिन सँगै उडिरहेछ।
समय कतिञ्जेल यसरी चल्छ नानी?
सत्ते
अचेल त मनमा अडिन्न
एक चिम्टी पनि भरोसा।
पल्लो घरको छिमेकीको
मेरो जस्तो बान्की नपरेको अनुहार देख्ता पनि
भयको आँधीनै उर्लन्छ मनमा।
ऊ पनि मेरो चुच्चे नाक देखेर
ठोकिन्छ कि झैं गरेर तर्कन्छ।
यहाँ मात्र हैन नानी!
देश भरनै यस्तै छ रे
भागबण्डाका बखेडामा
सिमाङ्कन र जाति–उपजातिका निहुमा
खण्ड–खण्ड त्रासदी पो उम्रदै छ।
खै कस्ले रोपेछ?
सद्भाव टुक्रयाउने यस्तो षडयन्त्रको विउ?
खै नानी!
घर बाहिर त कसरी निस्कम्लार .....?
घर भित्रैबाट भए पनि
यो नेटमा
धन्न बोली त सुन्न पाएका छौ आजसम्म।
लाइन पनि कति खेर काटिन्छ?
के नै भर छ र!!!???
नानी!
त्यताका ती बैज्ञानिक भन्नेहरुले
पत्ता लाउँदैन्?
कतिञ्जेल यस्तो खडेरी पर्छ?
हामी त यहाँ सोच्नै नसक्ने गरी
थिलथिलिएका छौं।
कसरी सामना गर्ने परिस्थितिसँग ......???