कतै टाढा रहेको एउटा घना जंगल। जंगलमा विभिन्न जनावर, चरा चुरूंगी, किरा फट्यांग्रा आदिमकालदेखि बसीआएका। सबैमा एक किसिमको मेलमिलाप थियो। शान्त र सुन्दर त्यस जंगलमा कुनै किसिमको समस्या थिएन।
त्यहाँ सबैकुराको आफ्नै नीति, नियम र पद्दति थियो। जंगलको राजा सिंह थियो र उसको आफ्नै मन्त्रीमण्डल थियो। कसैलाई केहि समस्या पर्यो भने सबै सिंहकहाँ जान्थे, सबैले छलफल गरेर कुनै न कुनै समाधान निकाल्थे। एक आपसमा सबै मिलनसार थिए, दुख सुख पर्दा सबैले एक अर्कालाई सहयोग गर्थे।
अझै भन्नुपर्दा आफ्नो अधिकार, कर्तव्य र दायित्वप्रति सबै सचेत थिए। आफ्नो अधिकार खोज्दा सबैले अरुको अधिकारको पनि ख्याल राख्थे। आफुले गर्नुपर्ने कर्तव्य र आफ्नो दायित्व सबैले निभाउथे। हात्तीहरु बाटोमा हिड्दा ख्याल गरेर हिड्थे, रुखका हाँगा भाच्दा त्यहाँ चराको गुड लगाएको छ कि छैन ख्याल गर्थे। किरा फट्यांग्राहरु पनि आफुलाई सुरक्षित महसुस गर्थे। कोहि कसैसंग भयवित हुनुपर्ने स्थिति थिएन। निकै सौहार्दपूर्ण वातावरण थियो।
सबैमा मेलमिलाप थियो भने कसैमा द्वेश र हेयभाव थिएन। बास्तबमै त्यो जंगल एउटा नमुना थीयो र त्यसले कुनै एउटा विकसित राज्यमा रहेको सभ्य समाजको झल्को दिन्थ्यो। निकै पहिले कुनै समय यस जंगलमा बस्ती बसाउन र जंगल हडप्न मानवजातिले ठूलो प्रयास गरेका थिए तर तिनीहरु सफल भएनन रे। जंगलमा निकै पहिले देखि बस्दै आएकाहरुको एकता र उनीहरुले आफ्नो बासस्थान जोगाउन देखाएको तत्परतासंग ति मानवजातिको केहि सिप लागेन अरे। सबैले आफ्नो वासस्थान बचाउन ठूलो त्याग गरे, सकेको योगदान गरे। त्यहाँ देखि सबैको मेलमिलाप र एकता झन प्रगाड भएको थियो।
एक समय हिउदमा ठूलो खडेरी पर्यो। जंगलका खोला-नाला, तलाउ, पोखरीहरु सबै सुके। आकासबाट पनि पानी परेन। ठुलै संकट आइलायो। सबै प्याकप्याक भएर मर्नलागे। कति त मरे पनि।
एक्कासी आइपरेको यस्तो विकराल समस्याको कसरी समाधान निकाल्ने भनेर भेला बोलाइयो। जंगलका सबै जनावर, चराचुरुंगी भेला भए। कसैले भने ठूलो पुजाआजा गर्नुपर्छ र इन्द्रलाई खुसी बनाउनुपर्छ, कसैले भने जंगलको बिचमा इनार खन्नुपर्छ, कसैले भने जंगलको एउटा छेउमा रहेको ठूलो तालबाट सुरुंग खनेर ल्याउनुपर्छ। अन्त्यमा सबैले एउटा कुरामा सहमति जनाए र एउटा निस्कर्ष निस्कियो।
जंगलको एउटा छेउमा रहेको तालबाट ठूलो कुलो बनाएर पानी ल्याउने र जंगलको विच भागमा स्थाई नहर बनाएर पानी त्यहाँ जम्मा गर्ने। यो नै अहिलेको तत्कालको समस्याको लागि समाधान र भविष्यको लागि पनि यस्तै समस्या आइपरेमा उपयोगी हुने भएकाले सबैले सहमति जनाए।
नहर बनाउन सबै दत्तचित्त भएर लागे। जंगलका राजा सिंह देखि बाघ, भालु, मृग, जरायो, चराचुरुंगी सबैले आ-आफ्नो भागमा परेको काम गरे। गैडा, हात्ती मिलेर कुलो खने, चराचुरुंगीहरुले छेउछेउमा बार लगाए, सबैले आफ्नो बल र बुताले भ्याएसम्म सहयोग गरे। अन्त्यमा लामो मेहिनत र परिश्रम पछि काम सफल भयो र जंगलमा नहर बन्यो।
खडेरी र पानीको समस्या अहिलेलाई मात्र हैन सधैको लागि समाधान भयो। आखिर सबै मिलेर एउटा लक्ष्य जसरी पनि पुरा गर्ने अठोटका साथ लागे पुरा नहुने के नै रहेछ र। एकतानै बल हो भन्ने नैतिक उक्तिलाई उनीहरुले चरितार्थ गरेर देखाइदिए।
समय बित्दै थियो। कहिलेकाँही चराचुरुंगीको भिडमा केहि बाहिर अर्को जंगलबाट आएका हुलहरु पनि मिसिन्थे। कहिलेकाँही अर्को जंगलबाट आएका केहि हिंस्रक जनावरहरुले यहाँको स्थानीयलाई आक्रमण गर्थे। बिस्तारै हरेकको समूह समूहबीच नै तिक्तता देखिन थाल्यो। एउटा समुह र अर्को समूहबीच मनमुटाव र झैझगडा देखिन थाल्यो। चराचुरुंगीको समूहले आफु बाँदर र अरुहरुबाट हेपिएको भने। विषालु सर्पले आफ्नो बच्चा खाइदिने र गुड पनि भत्काइदिने भनेर रुस्ट भए।
मृग, जरायो आदिले पनि आफुहरुको बथानलाई वाघ र सिंहहरुले लखेट्ने र दुख दिने गरेको दुखेसो गरे। बाघ र सिंह नै को शक्तिशाली भन्ने विषयमा झगडा गर्न लागे। राजा बन्नको लागि यी दुई नै एक आपसमा लड्न लागे।
यसरी वर्षौसम्म मिलेर बसेका प्राणीहरुबीच एक्कासी फाटो पैदा भयो। विषेश ठूलो कारण केहि नभए पनि केहि बाहिरी तत्वहरुको प्रभाव र भित्रकै केहि भड्काउहरुले गर्दा त्यहाँ अशान्ति मच्चियो। उनीहरु समूह समूह बनाएर हिड्ने र आफ्नै समूहबीचको राजनीति गर्ने र एक आपसबीच फुट ल्याउने गर्न थाले।
अन्त्यमा जे नहोस भनेर कल्पना गरिएको थियो त्यहि भयो। एक प्रजाती र अर्को प्रजातिबिच भिडन्त कै स्थिति सिर्जना भयो। आफ्नै साझा वासस्थान तोडफोड गर्न लागे। उनीहरुले रुख लडाउन लागे। घाँस बुट्यान उखेल्न लागे। आगो लाउन लागे। उनीहरुको त्यत्रो परिश्रम र एकताले बनेको नहर पनि भत्काउन र पूर्न लागे।
तर, आखिर त्यो सबै उनीहरुकै साझा सम्पति थियो, साझा घर थियो। त्यस जंगलको हरेक बस्तुमा उनीहरुको रगत र पसिना जोडिएको थियो, बाबुबाजेको मेहिनेतको फल थियो। तर उनीहरुले ति सब ध्वस्त बनाउन लागे। अब कसैलाई केहि नचाहिने झैँ गर्न लागे। आखिर उनीहरुलाई फेरि पनि बस्नु त त्यहि नै थियो।
जंगलको राजा सिंहले स्थिति बिग्रदै गएको देखेर बृहत भेला गराउने निर्णय गरे। तर, भेलामा कोहि गएनन। स्थिति सुध्रने भन्दा नि झन झन् विग्रदै गयो।
कसैले अव हाम्रो जाति बेग्लै बस्छौं भने। कसैले अर्को जातिलाई निकाल्छौं भने। एक आपसको हिंसाले विकराल रुप लिन लाग्यो। कतिले त जंगल छोडे पनि, कति अरु पनि छोड्ने तयारी गर्न लागे। “भाइ फुटे, गवार लुटे” भन्ने उखान उनीहरुले भुले।
त्यहाँ भइरहेको द्वन्द र कलह नजिकै रहेको मानव समुदायले पनि थाह पाए। तिनीहरु एक आपसमा नै लडेर बसेका छन्, कमजोर भएका छन र मेलमिलाप सब भाडिएको छ भन्ने कुरा सुने। अव जंगल हडप्ने, ठूलो उद्योग कलकारखाना खोल्ने र मानव बस्ती बसाउने योजना बनाए।
उनीहरु त्यहि योजना अनुरुप बन्दुक, गोला बारुद लिएर आए। कति आपसी हिंसामै मारीइसकेका थिए, कतिले जंगल छोडिसकेका थिए। बचेखुचेका थोरैले आधुनिक हातहतियारसहित आएका मानिसहरुसंग लड्न सक्ने सामर्थ्य थिएन।
मानिसहरुले सबैलाई गोली हान्न लागे, कसैलाई पासोमा पारेर लान लागे।
ढ्वाSSSSSSSSSग!!!
“आइSSSSSSSSSSSया” आफैलाई छातीमा लागेझैँ भयो।
झसङ्ग ब्युझिए। चारैतिर अन्धकार र सुनसान थियो। भित्तेघडीको टिक टिक आवाज बाहेक केहि सुनिएको थिएन। ओर टेवलमा रहेको मोबाइल खोलेर हेरें २ बजेको रहेछ। शरीर पुरै पसिनाले भिजेको थियो। धत्त कस्तो नराम्रो सपना देखिएछ। हिजो मात्र टिकापुरमा घटेको त्यो कहालीलाग्दो घटनाले अवेरसम्म निन्द्रा लागेन। के के सोच्दै सुतिएछ। अहिले यस्तो पो सपना देखियो। पंखाको स्पीड अझै बढाएर खाटमा कोल्टे फर्किएँ अनि मनमनै सोचे, भगवान यस्तो स्थिति देशमा कहिल्यै देख्न नपरोस।