ऊ सधैँ हाँसिरहने मान्छे। साथीहरु जम्मा हुँदा उसका कुरा सुनेर हाँसोका फोहोरा छुट्थे। स्कुले जिवनदेखिको दोस्ती हाम्रो। तराईमा हुर्किएका हामीलाई दिउँसोको टन्टलापुर घाममा निस्कनु नौलो कुरा थिएन। छातिमा एउटा टाँक खोलेको फिर्फिरे सर्ट र कम्मर मुन्तिर एउटा जाँगे। बस्, त्यत्ति भए पुग्थ्यो हामीलाई संसार जित्न। गर्मी महिनामा बिहानको स्कुल हुँदा हामी दिनभरि नदिमा पौडी खेल्थ्यौँ; हातमा गुलेलि बोकि जङ्गल चाहर्थ्यौँ। ऊ २-४ वटा चरा मारि पनि हाल्थ्यो, म भने निराश हुन्थे। हामी बर्सातमा पोखरी र खेतहरुमा गंगटा समात्थ्यौँ, रील धागो र 'स्टेडलर' बलपेनको स्प्रिङ्गको बल्छि बनाएर माछा मार्थ्यौँ। दिनभरि भुत जसरी डुलेपछि साँझ मात्र घर फर्कन्थ्यौँ।
अनि म क्षेत्री हुन्थे र ऊ थारु।
भोलिपल्ट फेरि निस्कन्थ्यौँ हामी उही खेतका मेडिहरु; जङ्गलका गोरेटोहरु; नदीका डीलहरु; बयरका झ्याङ्गहरु; टन्टलापुर घाममा सुसेली हाल्ने जङ्गली बतासहरु। उसका पछि लागेर म घरभन्दा धेरै अघि पुग्थेँ, अरुका खेतका काँक्रो, बोडि चोर्थेँ, गुलेलि मारेका चरा पोलि खान्थेँ। अनि राति पेट फुट्ने गरि भात र बुवाको गाली खान्थेँ,
"त्यहि थारुको बच्चासँग डुल हैन दिनभरि। पढ्नुलेख्नु छैन।"
म सोच्थेँ के उसले पनि यस्तै गाली खाँदो हो घरमा?
"थारुको बच्चासँग डुलिडुलि आफु पनि थारु जस्तै भइसक्यो।"
ममि भात र गालि एकैपटक पस्किन सिपालु हुनुहुन्थ्यो।
सधैँ जोडले बोल्नु पर्ने ऊ आज शान्त थियो। हारेको सिपाही जस्तो अनुहार।
"तँलाई म आतंककारी जस्तो लाग्छ?"
अचानक उठेको यो प्रश्नले म झस्किएँ। उसका आँखा रसाएका थिए।
"के भन्छस् यार तँ! दुई-चार जनाले त्यसो भन्यो भन्दैमा तैँले चित्त दुखाउन हुन्न।"
टिकापुर घटना लगत्तै फेसबुक र ट्विटरका भित्ताहरु भरिएका थिए। तिनीहरुमा आक्रोस थियो र अधिकांश आक्षेप थारु जातिमाथि नै लागिरहेका थिए। "थारुहरुलाई गोली ठोक्नु पर्छ", "थारुहरु आतंककारी हुन्", "सेना लगाएर यिनीहरुलाई ठिक पार्नु पर्छ", आदि, इत्यादि।
"दुख मलाई पनि लागेको छ प्रहरीहरु मारिएकोमा। मन मेरो पनि रोएको छ। तर तैँ भन, के २-४ जना सत्ताका लोभिहरुले भड्काएको भरमा मुठ्ठिभर दिमाग नभएका मान्छेहरुले गरेको पापको सजाय पुरा थारु जातिले भोग्नुपर्छ?"
ऊ चियाको कपमा घोरिईरह्यो।
म के उत्तर दिन्थे उसलाई? जातीयताको फोहोरी राजनीतिको दुष्परिणाम आँखा अगाडि थियो। अनि थिए अनाहकमै मारिएका निर्दोष प्रहरीहरुको बिभत्स शरीर, जलेका, भाला रोपिएका। चार महिना पनि बितेको थिएन महाभुकम्पले देशमा प्रलय मच्चाएको। महाभुकम्पमा आफ्नो ज्यान नै जोखिममा राखेर हजारौँको उद्धार गरेका प्रहरीहरुको क्षतबिक्षत अवस्थाको लासहरु देखेर मेरो पनि मन भाँडिएको थियो। उद्धार कार्यमा कैयौँ प्रहरीहरुले ज्यान गुमाएका थिए, कैयौँ घाइते भएका थिए। आज तीनै प्रहरीहरुलाई प्रदर्शनकारिहरुले जिउँदै जलाएका थिए, लखेटि लखेटि मारेका थिए। कस्तो कहालिलाग्दो!
"हिजो साँझ मेरी छोरीले मलाई सोधी- “बाबा तपाईँले पनि मान्छे मार्नुभएको छ?” म हक्क न बक्क भएँ। मैले सोधेँ-“किन छोरी कसले भन्यो यस्तो कुरा?” उसले भनि-“मेरो साथीहरुले भनेको थारुहरुले मान्छे मार्छन् रे।" म एकछिन बोल्न सकिन। पछि छोरीलाई सम्झाएर सुताएँ। तर म आफैले आफूलाई सम्झाउन सकेको छैन।"
कहिलेकाहिँ तपाईँ आफुलाई यस्तो मौकामा पाउनुहुन्छ जहाँ तपाईँको बोलि मुखबाट फुट्दैनन्। तर पनि मैले कोसिस गरे,
"म बुझ्न सक्छु तेरो अवस्था। तर यस्तो बेलामा भावुक मात्र भएर पनि हुदैन। ती प्रहरीहरुको के गल्ति थियो? जिउँदै जलाएर मारिएका छन् । ती मर्नेका परिवार भन्दा के तेरो पीडा ठुलो हो?"
चिया पसलको सानो टिभीमा टिकापुर घटनाका समाचारहरु बजिरहेका थिए। मुटु नै चिरिने द्रिश्यहरु टिभीमा देखिईरहेका थिए। पसलकी साहूनी दिदी एकनासले मरेका प्रहरीहरुप्रति सहानुभुति र आन्दोलनकरिहरुलाई सराप दिरहेकि थिइन्।
"मर्न नसकेका असत्तिहरु। त्यस्तो पनि कसैले गर्छ? यसरी मरेकाहरुको आत्माले कैले शान्ति पाउँदैनन्"
साहूनी चुक्चुकाईरहेकि थिइन्।
यति असजिलो मलाई कहिल्यै महसुस भएको थिएन उसँग। हामी मनमा लागेका कुरा एकअर्कालाई प्याचपुच भन्थ्यौँ, गालि गर्थ्यौँ, उडाउँथ्यौँ, अनि फेरि उहि हुन्थ्यौँ। तर आज समय फेरिएको थियो। त्यो असजिलो नचाहाँदा नचाहाँदै गाडिएको थियो हामिबिच।
"मलाई के दुख लागेको छैन? थारूहरुका नाममा भएको आन्दोलनमा थारुलाई नै मारेका छन् त्यहाँ। तर पुरै थारु जातिमाथि नै दोष लगाउनु कत्तिको जायज हुन्छ? मान्छेहरु सेना लगाएर थारुहरुलाई ठोक्नुपर्छ भन्दैछन्। एक चोटि थारु भएर सोचुन् त।" उसको स्वर व्यथित थियो।
"थारुहरुले पनि त संयम अपनाउनु पर्ने हो नि। अपराध त अपराध नै हो। त्यसलाई जस्टिफाई गर्न सकिँदैन। त्यसो गर्ने हो भने त यो देश रणभूमि बन्छ। मान्छेहरु एकअर्कालाई काँचै खान थाल्छन्।"
पल्लो टेबलमा बसेका एक हुल केटाहरु चुरोटको सर्को तान्दै राजनैतिक गफ ठोक्दै थिए। विषय उहि थियो। टिकापुरको थरुहट आन्दोलन। कुरो उत्सर्गमा पुगेको थियो। एउटाले मुखै फोरेर भन्यो –“हैन यि हत्याराहरुलाई के को अधिकार?”
ऊ सबै सुनिरहेको थियो। तर उसलाई यी सब कुराहरुको सायद बानि परिसकेको थियो। स्कुलमा ऊ पढाईमा कहिले राम्रो भएन। दिनहुँजसो कुटाई भेटेकै हुन्थ्यो उसले। तर सायद त्यो कुटाईभन्दा बढि उसलाई सर म्याडमका मुखबाट निस्कने शब्दहरुले दुख्थे-"तँ थारुको बुद्धि सधैँ पछाडिको पछाडि नै रहने भयो।"
जीवनका अनेकौँ प्रहरहरुमा उसले अनेकौँ पटक सुनेको हुँदो हो यस्तो र पचाएको हुँदो हो। कैले समुहको हाँसोमा त कैले कोठाको एक्लो घोत्लाईमा।
"संयमको कुरा गर्छस् तँ। जसले आफ्नो सारा जीवन अरुका खेतहरुमा बँधुवा मजदुर भएर बिताएका छन्, जसलाई आफ्नो दुरावस्था भगवानको इक्षा नभई अधिकारको बिमुखता हो भन्ने थाहा छैन, जसले आफ्नो भलो कुभलो छुट्ट्याउन सक्दैनन् उनीहरुबाट तँ के संयमको अपेक्षा गर्छस्? अनि के तलाईँ साँच्चिकै लाग्छ यो घीनलाग्दो काम तीनै थारुहरुले गरेका हुन्। बिल्कुल हैन। कुन समाजमा उच्छ्रिन्खल तत्व हुँदैनन्? तीनिहरुलाई राज्यले समातेर सजाय दिलाउन सक्नु पर्छ। तर त्यो भन्दा बढि ती सत्ताका भोका नेताहरुलाई सजाय दिनुपर्छ जसले ती उच्छ्रिन्खल जमातलाई यस्तो कुकर्म गर्न उक्साए। हैन भने थारुहरुका काँधमा राखेर चलाईएको बन्दुकले थारुहरुलाई नै मार्नेछ। तीनिहरुका आवाजलाई मार्नेछ, भबिष्यका सम्भावनाहरुलाई मार्नेछ।“
ऊ बोलिरहेको थियो। ऊ आज त्यो बच्चा थिएन जोसङ्ग मैले बाल्यकाल बिताएको थिएँ। हाफ पाइन्ट र टाँक खोलेको सर्टमा गाउँ चहारेको थिएँ। मेहनतले पढेलेखेको थियो ऊ। एउटा औषधि कम्पनिमा एमआरको जागिर गर्थ्यो। राम्रै पैसा कमाउँथ्यो। आफ्नी सानी छोरीलाई काठमाडौँको राम्रो स्कूलमा हालेको थियो। उसको मेहनत र शिक्षाले अब ऊ त्यही थारु थिएन। उसका तर्कहरु उसका पाखुरा भन्दा बलिया थिए। ऊ सहि र गलतको निर्णय लिन सक्थ्यो।
"यो तँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ थारुहरु कति पिछडिएका छन्। थारुहरुले अधिकार पाउनु पर्छ।"
हो मलाई थाहा थियो थारुहरु कति पिछडिएका थिए भन्ने। उनीहरुको शोषणको कथाहरु देखेको र सुनेको थिएँ मैले। बर्षौँदेखि गरीबि, अशिक्षा र भोकका मारमा परेका थारुहरु आफ्ना छोराछोरीलाई घरमा राख्नुभन्दा धनी पहाडियाकहाँ मजुरी गराउनु बेस सम्झिन्थे। म त्यहि प्रथाको तीतो यथार्थमा हुर्किएको हुँ।अहिले अवस्था कस्तो छ मलाई त्यति थाहा छैन।
परिवर्तनका सपना अक्सर तराईको चर्को घाममा सुकेर चाउरिने गर्छन्। हिउँमा कठ्याङ्ग्रिन्छन् र भिरहरुमा खच्चड्सँगै खस्छन् सयौँ फिट तल नदिहरुमा कहिल्यै नफर्किने गरी।
"कस्तो कुरा गरेको तैँले? नेपालको कुन भुभाग पिछडिएको छैन? काठमाडौँलाई छोडिदिने हो भने कसले अधिकार पाएका छन् यहाँ? तर अधिकार दिलाउने नाममा यस्तो बितन्डा त मान्न सकिँदैन नि।" मैले भनेँ।
"त्यसैले त अधिकारको लडाईँ लड्न पाउनु पर्छ सबैले। तर त्यो अधिकारको लडाईँको नाममा अस्ति जे भयो त्यसको जति निन्दा गरे पनि कम हुन्छ। त्यसका दोषिहरुलाई कारबाहि हुनुपर्छ। हैन भने थारुहरु फेरि यो लडाईँमा चुक्नेछन्। म त भन्छु थारुहरुको यो लडाईँमा पर्बतियाहरुले पनि साथ दिनुपर्छ। अमेरिकामा कालाहरुको अधिकारको आन्दोलनमा गोराहरुको समेत सहभागिता थियो। त्यसैले उनीहरु सफल भए। एकअर्काको अधिकारको लागि एकजुट हुनुको बिकल्प छैन।"
चियाको गिलास अनायसै टेबुलमा बजार्यो उसले। लाचारी थियो, रीस या कुण्ठा मैले बुझिनँ।
"अनि के सधैँभरि लडेर मात्र बस्ने? अरु देशहरुले त्यत्रा प्रगति गरिसके हामि चाहिँ सधैँ अधिकार-अधिकार भनेर लडिमात्रै रहने?”
म झिँझिँएँ तर ऊ शान्त भयो।
शान्ति पनि अनौठो चिज हुँदो रहेछ। मानिस शान्तिका लागि युद्ध गर्छ अनि युद्ध गरेर शान्ति खोज्छ। तर कहिले काहिँ त्यो शान्तिले तपाईँलाई कोपर्न आउँछ। के ती प्रहरीहरुका म्रित शरीरको शून्य शान्तिले उनीहरुका परिवारजनलाई कोपर्दैन होला?
सायद समयसँगै उसले पनि शान्त बन्न सिकेको थियो। समय पनि अचम्मकै कुरो रहेछ। म उसँग त्यहाँ बसिरहँदा दुई समय बाचिरहेको थिएँ। एक जो धेरै बर्ष पहिले छुटेको थियो मेरो बाल्यकालको ।अनि एक जो म त्यस चिया पसलमा बिताईरहेको थिएँ। सायद समयको एक मात्र डिमेन्सन हुँदैन। मानिस अनेकौँ समय साथै बोकेर हिँड्छ। ती प्रहरीहरु मर्ने बेला कुन समय बोकिहिँडेका थिए? आफन्तसँग बिताएको समय? साथीहरुसँग बिताएको समय वा श्रिमती अनि छोरा-छोरीसँग बिताएको समय? कुन समय थियो उनीहरुसँग यो संसार छोडि जाँदा? अनि कुन समय थियो ती आन्दोलनकारीहरुसँग जसले तीनलाई मारे? के उनीहरु आफ्नै समय बोकिहिँडेका थिए वा तीनका जसले तीनलाई त्यो क्रुर हत्या गर्न उक्साएका थिए?
सयौँ बिघा खेत जोतिसकेजस्तो क्लान्त स्वरमा ऊ बोल्यो।।
"मसँग यी सबैको उत्तर छैन। ती जो आन्दोलनमा छन् सायद तीनिहरुसँग मसँग जति पनि उत्तर छैनन्। तर मलाई डर लाग्छ कतै मेरो भर्खरको भतिजो पनि त्यहि आन्दोलनमा मारिने त हैन या फेरि त्यसले कसैको भड्काउमा लागेर यस्तै जघन्य अपराध त गर्ने हैन? मसँग उत्तर छैनन् केबल शंका छन्। अनि मलाई शंका छ थारुहरुको नाममा भएको यो आन्दोलनले झनै कतै थारुहरुलाई हानि त गर्ने हैन?"
मसँग पनि उसका यी प्रश्नका उत्तर थिएनन्। सायद केहि प्रश्नको उत्तर समय आफैले दिन्छ।